भिजिट भिसामा सेटिङः नेपालमा कडाइपछि धमाधम भारतको बाटो

नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्‍याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।

काठमाडौँ– बबरमलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा साउन ९ गते महिलाहरू खचाखच थिए। २० देखि ४० वर्ष उमेरका ती महिलालाई प्रहरी अधिकारीहरूले सोधपुछ गर्दै थिए।

दुई दिनअघि मात्र ४७ जनाको समूहलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्काइएको थियो। नक्कली एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) र भिसामा तेस्रो देश जान लागेका उनीहरूलाई भारतीय अध्यागमन अधिकारीले नेपाली दूतावासको जिम्मा लगाएका थिए।

तीमध्ये रुपन्देही घर भएकी ३२ वर्षीया कमला (नाम परिवर्तन) पनि थिइन्। उनी घरेलु कामदारमा कुवेत जान हिँडेकी थिइन्। शुरूमा दलालले उनलाई नेपालकै विमानस्थलबाट कुवेत उडाउने भनेका थिए।

वैशाख पहिलो साता उनलाई जेठ महिनाभित्रै उडाउने आश्वासन दिएका थिए। त्यति बेला उनीसहित तीन महिलालाई काठमाडौँ ल्याएर गोंगबुको एउटा होटलमा दुई महिना राखेका थिए। तर भनेको समयमा उडाउन सकेनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै कुवेत लैजाने भनेका दलालले एकाएक बोली फेरे। भारतको बाटो भएर कुवेत छिर्ने बताए। साउन पहिलो साता तीनै जनालाई भारत पुर्‍याए।

उनीहरूलाई दिल्लीको एउटा होटलमा राखे। त्यहाँ अरू नेपाली महिलालाई पनि राखिएको थियो। दलालले भिसा र एनओसी थमाएर साउन ७ गते दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याए। तर उनहरूको कागजात शंकास्पद लागेपछि भारतीय अधिकारीले छुट्टै कक्षमा लगेर केरकार गरे।

दलालले थमाएको एनओसी र भिसा नक्कली रहेछ। त्यसपछि सबै ४७ जनालाई भारतस्थित नेपाली दूतावासको जिम्मा लगाएर नेपाल फर्काइयो।

त्यसैगरी, साउन २२ गते पनि भिजिट भिसामा तेस्रो मुलुक छिर्न लागेका अरू ४० महिलाहरू भारतबाट फर्काइएका छन्। दलालहरूले उनीहरूलाई भैरहवा र नेपालगन्ज नाका हुँदै भारतको दिल्ली पुर्‍याएका थिए। उनीहरूलाई भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरू लैजान लागिएको थियो। 

भारतको बाटो भएर भिजिट भिसामा तेस्रो मुलुक छिर्न खोज्दा पछिल्ला यी दुई घटनामा मात्रै ८७ महिलाहरू फर्काइएका छन्। तर हेरक दिनजसो फाटफुट नेपाली महिला भारतबाट फर्काइरहिएका छन्। 

नेपालमा कडाइपछि भारतको बाटो 
भिजिट भिसामा भारतको बाटो भएर विभिन्न मुलुक छिर्ने चलन नयाँ होइन। विगतदेखि नै ‘सेटिङ’मा मानव तस्करहरूले भारत हुँदै नेपालीलाई अवैध रूपमा खाडी मुलुक तथा युरोप पठाउने गरेका थिए।

घरेलु कामदारका लागि महिलालाई खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि भारतको बाटो दुबई, कतार, ओमन, कुवेतजस्ता मुलुक लगिने गरिएको छ। नेपाली युवालाई भिजिट भिसामै युरोपलगायत विभिन्न मुलुकसमेत पुर्‍याइने गरिएको छ।

पछिल्लो समय भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङमा भिजिट भिसामार्फत खाडी, युरोप, क्यानडालगायत देश लगिने गरिएको थियो। एक प्रहरी अधिकारीका अनुसार नेपाली मात्र नभई, विदेशी नागरिकलाई समेत तेस्रो मुलुक पुर्‍याउन मानव तस्करहरूले नेपालको विमानस्थल प्रयोग गर्थे।

गत जेठमा अख्तियार अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा छापा मारेको थियो। त्यसपछि मानव तस्करसँग अध्यागमनका अधिकारीको मिलोमतो भएको खबर बाहिर आएको थियो। भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुख रहेका सहसचिव तीर्थ भट्टराईसहितका अधिकारीहरू पनि अनुसन्धानमा तानिएका छन्।

अहिले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका सबै कर्मचारी फेरिएका छन्। भिजिट भिसाका नाममा रोजगारीका लागि विदेश जानेमाथि कडाइ गरिएको छ।

अख्तियारका एक कर्मचारीका अनुसार, यसअघि प्रतिव्यक्ति ३० हजारदेखि ३ लाख रुपैयाँसम्म लिएर भिजिट भिसामा कामदार तेस्रो मुलुक पठाइने गरिएको थियो। “अन्य मुलुकका लागि १५ देखि ५० हजारसम्म लिन्थे” उनले भने, “युरोप हो भने प्रतिव्यक्ति ३ लाख रुपैयाँसम्म उठाइन्थ्यो।” 

नेपालबाट भिजिट भिसामा तेस्रो मुलुक पठाउन कडाइ गरे पनि मानव तस्करहरूले यो धन्दा रोकेका छैनन्। दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार पछिल्लो समय दिल्ली विमानस्थलमा तेस्रो मुलुक जाने नेपाली धेरै भेटिन्छन्। 

भारत हुँदै भिजिट भिसामा तेस्रो मुलुक जान दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनुपर्छ। तर अहिले एनओसी नै नक्कली बनाएर पनि दलालहरूले पठाउने गरेका छन्। “मानव तस्करहरूको सेटिङ यतिसम्म छ कि, एनओसी नै नक्कली बनाएर तेस्रो मुलुकहरू पठाइरहेका छन्,” दूतावासका अधिकारी भन्छन्।

वैदेशिक रोजगारमा गएर बेचबिखनमा परेकाको उद्धारको काम गरिरहेको संस्था रेस्क्यु नेपालका अध्यक्ष इन्द्रलाल गोले नेपालको अध्यागमनमा कडाइ गरिएपछि भारतको बाटो भिजिट भिसामा लैजाने क्रम बढेको बटाउँछन्। “पहिले नेपालको एयरपोर्टबाट दैनिक १२–१३ जनालाई भिजिट भिसामा पठाइन्थ्यो,” उनी भन्छन्, “अहिले त्यो काम भारतबाट भइरहेको छ।”

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवर पछिल्लो समय मानव तस्करहरूले भारतलाई ट्रान्जिट बनाइरहेको बताउँछन्। “नेपालमा भिजिट भिसामा कडाइ गरेपछि तस्करहरूले रुट बदलेका छन्,” उनी भन्छन्, “खुला सीमाको फाइदा उठाउँदै तस्करहरू नेपालीलाई भारतको बाटो अन्य मुलुक लैजान सक्रिय भएको देखिन्छ।”
 
विदेशी नागरिक उडाउन पनि सेटिङ
अख्तियारले यस प्रकरणमा अनुसन्धान गरिरहँदा नेपालीलाई मात्र नभई, विदेशी नागकिरहरूलाई पनि भिजिट भिसामा विभिन्न मुलुक पठाइएको खुलेको छ। आयोगका एक अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो पाँच महिनामा झण्डै २०० भारतीय तेस्रो मुलुक पुर्‍याइएका छन्।

ट्राभल एजेन्सीमार्फत नेपाल आएका ती भारतीयहरूबाट प्रतिव्यक्ति ४ लाख रुपैयाँसम्म असुली गरेर तेस्रो मुलुक पठाइएको पाइएको अख्तियारका एक अधिकारी बताउँछन्। उनी भन्छन्, “तीर्थ भट्टराईको नेतृत्वको समयमा आर्थिक लाभमा परेर कानूनी प्रक्रिया नै नपुर्‍याइ पठाइएको रहेछ।”