सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्त सिंहलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।
“वेश्यावृत्तिभन्दा खराब तीनवटा पेसा छन्– राजनीति, वकालत र पत्रकारिता। मैले यी तीनवटै पेसा गरिसकेको छु,” अंग्रेजी भाषाका भारतीय घागडान लेखक खुशवन्त सिंहको भनाइ यत्रतत्र चल्तीमा हुनेगर्छ। दक्षिणपन्थको पुनर्जागरणको युगमा पत्रकारितालाई ‘पञ्चिङ ब्याग’ बनाइरहेकाहरूका लागि खुशवन्तको भनाइ महावाणी बन्न पुग्छ। धन्न उनले पत्रकारितासँगै वकालत र राजनीतिलाई घालमेल गरिदिँदा कतिपय खुशवन्तको भनाइ भाइरल बनाउन सक्तैनन्।
कानूनको डिग्री हासिल गरेपछि केही समय वकालत र पत्रकारितामार्फत शक्तिकेन्द्रको सेवा गरेबापत राज्यसभाको एक कार्यकाल राजनीतिमा बिताएका खुशवन्तले पत्रकारितामा लामै अवधि बिताए। आत्मकथा ‘ट्रुथ, लभ एन्ड लिटल मालिस’मा उल्लेख गरिएका केही उदाहरणमार्फत उनको पत्रकारिता कस्तो थियो बुझिन्छ।
खुशवन्त ‘द इलुस्ट्रेटेड विक्ली अफ इण्डिया’ (टाइम्स अफ इण्डियासमेतको प्रकाशक बेन्नेट एन्ड कोलम्यानद्वारा प्रकाशित) को सम्पादक रहँदा मेनका गान्धी सम्पादक रहेको म्यागेजिन ‘सूर्या’मा योगदान गर्न प्रस्ताव आउँछ। प्रस्ताव मेनकाकी आमा अमतेश आनन्दले गरेकी छन्। त्यो समय भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले इमर्जेन्सी (१९७५–१९७७) घोषणा गरेकी हुन्छिन्, जहाँ श्रीमती गान्धीका कान्छा छोरा (मेनकाका श्रीमान्) सञ्जय गान्धीको हालिमुहाली छ।
खुशवन्त बेन्नेट एन्ड कोलम्यानका महाप्रबन्धकसँग अनुमति माग्छन्। इमर्जेन्सीमा गान्धी परिवारकै सदस्यको प्रकाशनका लागि आएको प्रस्तावलाई महाप्रबन्धक सहर्ष स्वीकार्न अनुमति दिन्छन् नै, अधिकतम योगदान गर्न सल्लाह पनि दिन्छन्। एउटा प्रकाशन गृहमा सम्पादकीय नेतृत्वमा रहेका खुशवन्त अर्को प्रकाशकको म्यागेजिनमा पनि सल्लाहकार सम्पादक भई काम गर्छन्।
त्योबेला बेन्नेट एन्ड कोलम्यानको प्रधान कार्यालय बम्बईमा थियो भने, सूर्या दिल्लीमा थियो। “शुरूका आधा दर्जन अंक त पूरै मैले नै लेखेँ वा सम्पादन गरेँ,” खुशवन्त लेख्छन्, “प्रधानमन्त्री श्रीमती गान्धी, सञ्जय, मेनका र अमतेशसँग घनिष्ट हुनुमै म प्रसन्न रहेँ।”
सूर्याको लागि उनी बम्बईबाट १५ दिनमा कम्तीमा एकचोटि दिल्ली पुग्थे। स्कच ह्विस्कीका पारखी उनको साँझ दिल्लीमा मेनकाको माइतीमै बित्थ्यो। सञ्जय–मेनका भेट्न प्रधानमन्त्री निवास पनि गइरहन्थे। “सूर्याको सम्पादनमा मात्र किन, विज्ञापन संकलनमा पनि सघाएँ,” उनले लेखेका छन्।
इमर्जेन्सीमा सञ्जयको आदेशमा भएको ठानिने जबर्जस्ती नशबन्दी र झोपडपट्टी (सुकुम्बासी बस्ती) मा बुलडोजर लगाउँदा तीन बित्ता उफ्रेर समर्थन गर्छन्। ‘मारुती परियोजना’लाई लिएर भइरहेको सर्वत्र आलोचनालाई अफवाह करार गर्ने उनी त्यसमा पनि ‘सञ्जयको समर्थन गर्ने म एक्लो पत्रकार थिएँ’ लेख्छन्। कांग्रेसको मुखपत्र ‘नेशनल हेरल्ड’ को लागि ६ महिना स्वयंसेवी सम्पादक भइदिन्छन्।
इमर्जेन्सी हटाई गरिएको आमचुनावमा कांग्रेस पहिलोचोटि पराजित भई जनता पार्टीको सरकार बनेको समय (सन् १९७८) थियो। उनको टेबुलमा तत्कालीन रक्षामन्त्री जगजीवन रामका छोरा सुरेश र उनकी गर्लफ्रेन्डबीच भएको रतिक्रियाका फोटोहरू भएको खाम आइपुग्छ। एकैछिनमा रक्षामन्त्रीका मान्छेहरू आई ती फोटो नछाप्ने शर्तमा जगजीवन राम कांग्रेसमा प्रवेश गर्ने सुनाउँछन्।
अब निर्णय गर्न खुशवन्त श्रीमती गान्धीकै शरणमा पुग्छन्। गान्धी परिवारकै आदेशमा ती फोटोहरू नेशनल हेरल्ड र सूर्या म्यागेजिनमा छापिन्छन्। फोटो छापिएपछि जनता पार्टीमा गहिरिँदै गएको विवादबीच सम्भावित प्रधानमन्त्रीको रूपमा हेरिएका जगजीवन रामको सपना चकनाचुर हुन्छ। त्यो ‘फोटो काण्ड’ नभएको भए जगजीवनको रूपमा भारतले दलित प्रधानमन्त्री पाइसक्थ्यो भनिन्छ।
सन् १९८० को चुनावअघि ‘इन्दिरा गान्धी रिटर्न्स’ शीर्षकमा लेख लेखेर आफूले श्रीमती गान्धी र उनको परिवारप्रति कर्तव्य पूरा गरेको खुशवन्त सगर्व सुनाउँछन्। सत्तामा इन्दिरा गान्धीको शानदार वापसीपछि पनि सञ्जय नै शक्तिशाली (सुपर प्रधानमन्त्री) बन्छन्। “गान्धी परिवारबाट इनाम आश गरी बसेको थिएँ, सञ्जयले लण्डनको हाइकमिश्नर पद अफर गरे,” खुशवन्त लेख्छन्, “मैले समय नलिइकन अस्वीकार गरेँ।” अब सञ्जय उनलाई डबल इनाम अफर गर्छन– राज्यसभा (माथिल्लो सदन) सदस्य र ‘हिन्दूस्तान टाइम्स’ को सम्पादकीय प्रमुख।
हिन्दूस्तान टाइम्सका सम्पादक हिरण्यमय कारलेकर पश्चिम बंगालका मुख्यमन्त्री सिद्धार्थशंकर रेको दबाबमा सम्पादकीय प्रमुख बनाइएका थिए। रे कमजोर भइसकेकाले श्रीमती गान्धी र सञ्जयले उनीहरूका लागि उपयोगी ठह¥याई आफ्नो नाम सिफारिस गरेको पनि उनले लेखेका छन्।
हिन्दूस्तान टाइम्सको सम्पादकको पद सम्हालेपछि सञ्जयले त्यहाँबाट बर्खास्त गर्नपर्ने पत्रकारहरूको लामै सूची खुशवन्तलाई पठाइदिन्छन्, जो उनलाई प्राप्त सूचनाअनुसार कम्युनिस्ट थिए। बुझ्दा सञ्जयलाई प्राप्त सूचना सही नै देखे पनि आफूले राजनीतिक आस्थाका आधारमा पत्रकार निष्कासन नगरेको दाबी गर्ने उनी तीन जनाले चाहिँ स्वेच्छाले छाडेको लेख्छन्।
विमान दुर्घटनामा सञ्जय गान्धीको निधन (२३ जून १९८०) भएपछि ‘ब्याक टु ब्याक’ श्रद्धान्जली (अबिच्युरी) लेखेर सञ्जयले पाइआएको जिम्मेवारी (सुपर प्रधानमन्त्री) स्वतः मेनकाले पाउनुपर्ने ‘लबिङ’ थाल्छन्। भारतको भविष्यबारे सञ्जयले देखेको सपनामा मेनकाको हिस्सेदारी भएकाले उनैले पाउनुपर्ने (कु)तर्क गर्छन्।
सञ्जयको निधनको केही समयपछि नै इन्दिरा–मेनकाको सम्बन्ध चिसिन्छ, त्यसको बाछिटा खुशवन्तसम्म पुग्छ। हिन्दूस्तान टाइम्सको सम्पादकीयमा एकचोटि मेनका र उनकी आमा अमतेश्वरलाई गोदेर लेखिएको लाइन खुशवन्तले हटाइदिएको चुक्ली उनका डेपुटी एनसी मेननले प्रधानमन्त्री कार्यालयमै लगाइदिएपछि प्रकाशक केके बिडलाले बोलाएर सम्पादकीय टिम फेरबदल गर्न चाहेको सूचना दिन्छन्। मेनन नै सम्पादक बनाइन्छन्।
सम्पादकीय नेतृत्वबाट बेदखल गरिए पनि स्तम्भ लेख्न ठाउँ पाइरहेका खुशवन्त एउटा अन्तर्वार्तामा भन्दिन्छन्, “दिल्लीमा सबैभन्दा बढी बिक्री हुने सबैभन्दा घटिया अखबार हिन्दूस्तान टाइम्स हो।” उनी थप भन्छन्, “अनपढ पत्रकारले भरिएको न्युजरुम हो, किनकि सत्ताधारीलाई नाईं भन्न नसक्ने प्रकाशक छन्।”
प्रतिवादमा सम्पादक मेननले पनि ‘नालायक सम्पादक खुशवन्त सिंह उत्तराधिकारीलाई मुख छाड्ने छाडा साँढे हो’ लेख्दिन्छन्। उनको स्तम्भ पनि बन्द हुन्छ।
सम्पादकका रूपमा सत्ताको नजिक हुन जेपनि गर्ने आफ्नो चरित्रबारे आत्मकथामा खुलस्त लेख्ने खुशवन्त ‘केके बिडला अरू धन्दा चलाउन सजिलोका लागि हिन्दूस्तान टाइम्स चलाइरहेका थिए, स्वायत्ततामा फिटिक्कै रुचि थिएन। मन्त्रीका छोराछोरीले अरू काम नपाए जागिर खाने ठाउँ बनाएका थिए’ लेख्न पछि पर्दैनन्। सत्ताको भक्तिमा लिन सम्पादक भइकन प्रकाशकले स्वायत्तता दिए न लेख्नसक्छन्, खुशवन्त।
प्रकाशकबाट हिन्दूस्तान टाइम्समा स्तम्भ सुचारु गर्न प्रस्ताव आएपछि सम्पादकले आफूउपर छेडछाड गर्न नपाउने घोषणा फ्रण्टपेजमा गर्नपर्ने र पारिश्रमिक बढाउन पर्ने शर्त राखेर फेरि लेख्न थाल्छन्।
इमर्जेन्सीमा सरकारप्रति आलोचनात्मक देखिएको एउटा मात्र मिडिया हाउस मानिने इण्डियन एक्सप्रेसले समेत हतियार बिसाउने निधो गरी प्रधानमन्त्रीको परिवारका बफादार खुशवन्तलाई सम्पादकीय नेतृत्व अफर गर्छ। कुलदीप नैयरले आत्मकथा ‘बियोन्ड द लाइन्स’मा उनले नै प्रकाशक रामनाथ गोयन्का र खुशवन्तबीच भेटघाट मिलाइदिएको लेखेका छन्। “मौखिकरूपमा सबै कुरा टुंगिइसकेको अवस्थामा इमर्जेन्सी हट्ने र चुनाव हुने भएपछि गोयन्काले खुशवन्तलाई सम्पादक बनाउन चाहेनन्,” कुलदीपले लेखेका छन्।
सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्तलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।
सम्पादकका रूपमा उनले गरेका अनैतिक/गैरव्यावसायिक अभ्यासको फेहरिस्त आत्मकथामा खुलाएका छन्। पत्रकारिताकै आलोचना गर्नेका लागि मसला र पेसामा जस्तोसुकै सम्झौता गर्ने पत्रकारका लागि बहानाबाजीको अस्त्र बनेका छन्, उनको माथि उल्लिखित भनाइ, अनि सम्पूर्ण पत्रकारिता। तर सबैको पत्रकारिता खुशवन्तकै बाटोमा हुन्छ त?
विद्यार्थी जीवनमा भारतीय जनता पार्टीमा आबद्ध अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) को राजनीति गरेका रामबहादुर राय पत्रकारितामा प्रवेश गरेपछि पुरानो संगठनप्रति कतै नरम नदेखिएका पत्रकार हुन्। सन् १९८० को दशकको उत्तरार्धमा विश्वनाथ प्रताप सिंहको नेतृत्वमा बोफोर्सलगायतका काण्ड उठाई कांग्रेसविरोधी अभियान चलिरहेको बेला जनता दल ‘बिट’ मा रिपोर्टिङ गरेका उनले सन् १९८९ मा जनता दल सरकारमा पुगेपछि सत्तासँग लसपस हुनसक्छ भनेर अर्को बिट रोजेका थिए।
सबैले आफूअनुसारको नैतिकताको मापदण्ड निर्धारण गरेका हुन्छन्, व्यसायिक आचरणको लक्ष्मणरेखा कोरेका हुन्छन्। खुशवन्तभन्दा अब्बल आचरणको अभ्यास गर्ने पनि हुन्छन्, उनीभन्दा कमसल आचरणको कमी पनि हुँदैन्। मानक खुशवन्त हुन सक्तैनन्, बहानाबाजीको अस्त्र हुनसक्छन्। भारतमा सरकार समर्थक मिडिया/पत्रकारले सरकारले राम्रो गरे तारिफ र नराम्रो गरे आलोचना गर्ने भन्छन्– तर तिनका नजरमा सरकारले नराम्रो गर्दै गर्दैन। भख्खरै पाकिस्तानसँग तनावमा ‘लाहोरमे घुसगया भारत’, ‘कराँची बन्दरगाह नियन्त्रणमे’ जस्ता हेडलाइन बनाउँदा पनि राष्ट्रिय स्वार्थको खातिर भन्दिए पुग्यो, फेक न्युजका लागि माफी पनि माग्न पर्दैन।
तर पत्रकारिताले सरकारको तारिफ अनावश्यक ठान्नसक्छ। किनकि, पहिलो त राम्रो गर्छु भन्ने प्रतिबद्धताका साथ सरकारमा पुगेको हो, उसले केही राम्रो गर्दैमा तारिफ गर्नैपर्छ भन्ने छैन। अर्को कुरा, राम्रो गरेको छ भने सरकारी मिडियासहितका प्रचार संयन्त्र छँदैछन्, अरूले टाउको दुःखाइरहन वा ठेक्का लिइरहन पर्दैन। तर प्रश्न र आलोचना त अवश्यम्भावी छ।
सत्ता/नेताको भक्तिगान पत्रकारिता हुनसक्तैन। न सत्ताबाट प्राप्त सूचना उसले चाहेजसरी प्रस्तुत गरी न्यारेटिभ बनाउन सघाएर नै पत्रकारिता हुन्छ। हो, पत्रकारितामा यस्तै कु–अभ्यास गर्नेका लागि खुशवन्त बहाना हुन्, मानक हुन पनि सक्छन्।
भारतको पत्रकारितामा सरकारको छायाँ नयाँ हैन, सन् २०१४ पछि थप घनिभूत भएको हो। तिनै रायका अनुसार भारतमा १४ वटा व्यापारिक घरानाको नियन्त्रणमा पत्रकारिता छ, ती घरानाहरूलाई नियन्त्रणमा लिने सरकारले पत्रकारिता नै नियन्त्रणमा लिनसक्छ। नरेन्द्र मोदीको नेतृत्वमा आएको सरकार बलियो भएकाले ती घरानालाई नियन्त्रण गर्न सजिलो भइदियो।
रायले इंगित गरेका घरानाका मिडिया हाउस मोदी र डोनाल्ड ट्रम्पको घनिष्ट दोस्तीयारीको भजन गाउँदै नागरिकलाई भ्रमित पार्न खोज्छन्। तिनै ट्रम्पले ब्याक टु ब्याक मोदीलाई ‘जलिल’ गर्न थालेपछि कोही ट्रम्पलाई गाली गर्न थाल्छन्, कोही घनिष्ट साथी भए पनि मोदीले राष्ट्रहितका लागि ट्रम्पलाई पनि छाडेन भनेर चिच्याउन थाल्छन्। यस्तै हाउस पत्रकारका लागि खुशवन्त बहाना बनाउने पात्र बन्छन्, सबैका लागि होइन।
नाम कमै सुनिएकी एक जना भारतीय अभिनेत्री/मोडल खुशी मुखर्जीको तल्लो वस्त्ररहित पोशाकमा बनाइएको रिल केही हप्ताअघि भाइरल भयो। सामाजिक सञ्जालमा देखिएका ट्रोलहरूलाई उनले मुख फर्काइन्, “यही भिडियोबाट कति कमाइसकेँ, तिमीहरू कराउँदै गर।” अब खुशी मुखर्जी नै सबैका लागि अन्तिम सत्य त होइनन् नि।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
