उदयपुरमा विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० घाइते

उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

उदयपुर– मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कूलका कर्मचारी सवार बा २ ख ६४३८ नम्बरको बस सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो। तीमध्ये उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका र उनी हाल प्रहरी नियन्त्रणमा रहेका छन्।