यात्रा

सराङकोट हुँदै मार्फाको बास

समुन्द्र सतहबाट १ हजार ४५० मिटरको उचाइमा रहेको सराङकोट समग्रमा फेवा, पोखरा र हिमाल अवलोकनका दृष्टिले महत्त्वपूर्ण छ। जिपलाइन, हवाई साइक्लिङ र पिङमा पनि यहाँ पर्यटक झुम्मिन्छन्।

जीवनमा दोस्रो पटक सराङकोट जाँदै गर्दा उत्साहित थिएँ, साथमा थिए छोरा आदित्येन्द्र। उनको भने पोखराको भूगोलपछिको यो पहिलो भ्रमण थियो। नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको तेस्रो दिन–२०८२ वैशाख २९ गते। दोस्रो दिन अर्थात् हिजो सम्मेलनसँग सम्बन्धित सबै प्राविधिक सत्र/कार्य सम्पन्न गरी सहभागीहरू आज सराङकोट हुँदै मुस्ताङतर्फ जाने कार्यक्रम थियो। सबै सहभागी करिब सात बजेसम्म निश्चित ठाउँमा एकत्रित भइसकेका थिए। सबै नै उत्साहित देखिन्थे। स्वयम् पोखरावासीका लागि सराङकोट कति महत्त्वपूर्ण र लोकप्रिय छ? पोखराका स्थानीय बासिन्दा कतिले यो ठाउँको भ्रमण अवलोकन गरेका छन्? त्यो त थाहा छैन, तर एउटा कुरा भने पक्का हो, पोखराभन्दा बाहिरका देशी विदेशी पर्यटकबीच भने सराङकोट निकै लोकप्रिय छ। पोखरा आउने कुनै पनि पर्यटक एक पटक यहाँको भ्रमण निश्चय गर्न चाहन्छन्। 

सराङकोटको स्मृति, राकेशप्रति श्रद्धाञ्जली 
हामी पनि अपवाद हुने कुरा थिएन। ‘‘आखिर हामी पनि कहिलेकाहीँ न पोखरा आउने हो, घुम्नु त पर्‍यो नै। हामी पनि पर्यटकै न ठहरियौँ,’’ नजिकै रहेका बर्दियाका पत्रकार मित्र कृष्णप्रसाद बस्यालले भनेको कुरा यो सामग्री तयार पार्दा झलझली सम्झिरहेछु। म उनलाई कृष्णभन्दा राकेशका नामले बढी चिन्थेँ। नेपाल पत्रकार महासंघ बर्दियाका दुई कार्यकालका सभापति तथा महासंघकै पूर्व केन्द्रीय उपसभापति मित्र राकेश पछिल्ला समयमा संरक्षण र वातावरण पत्रकारितामा सक्रिय थिए। असहज लागे पनि स्वीकार गर्नै पर्छ, राकेश अब हामीबीच छैनन्। असार २९ गते बर्दियामा एक मोटरसाइकल दुर्घटनालाई कारण देखाउँदै उनी हामीबाट बिदा भए। हार्दिक श्रद्धाञ्जली राकेश।

बर्दियामा कृष्णसार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका राकेशले मलाई सराङकोटमा भनेका थिए, ‘‘यहाँ आउन पहिलाभन्दा सहज त भएको छ तर किन किन मलाई यो ठाउँले मौलिकता गुमाउँदै गएझैं लागेको छ।’’ उनले एक ठाउँमा फालिएका चुरोटका ठुटा देखाउँदै भने, ‘‘पछिल्लो समयमा यहाँको व्यावसायिक उपादेयतामा जति ध्यान दिइएको छ, वातावरणीय संरक्षणतर्फ त्यति ध्यान पुर्‍याउन सकिएको छैन।’’ राकेशका कुरासँग असहमत हुन सक्ने ठाउँ थिएन। मैले स्वीकृतिमा टाउको हल्लाएको थिएँ। काठमाडौँबाट म र राकेश सँगै आएका थियौँ र एक दुई दिन थप सँगै रहने कार्यक्रम थियो। राकेशको यही यात्रा मसँगको अन्तिम भेट हुन पुग्यो। 

आँखै अगाडि हिमशृंखला
थोरै विषयान्तर हुन खोजियो क्यारे। पोखरा जाने पर्यटकमाझ फेवाताल निकै लोकप्रिय छ। पर्यटकबीच निकै प्रचारित छ–भ्रमणको वास्तविक आनन्द लिनु छ भने सराङकोटको विकल्प छैन। ओहो! आँखै अगाडि हिमशृंखला। अविश्वसनीय। पोखरा महानगरपालिका वडा नम्बर १८ मा अवस्थित सराङकोटबाट पोखरा र हिमशृंखलाको दृश्यावलोकनको शब्दमा वर्णन नै गर्न सकिँदैन। सराङकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, धौलागिरि, हिमचुली, लमजुङ र मनास्लु हिमालको दृश्यले जो कोहीको पनि मन लोभ्याउँछ।

यसअघि म २०६६ सालमा पोखराबाट केही परसम्म गाडीमा र त्यसपछि पैदल यात्रा गर्दै यहाँसम्म पुगेको थिएँ। पछिसम्म सराङकोट परेलीमा टाँसिएको थियो। यस पटक आउँदा पनि त्यो स्मृति शेषको बोध थियो नै। यस पटकको यात्रा सहज थियो, अब त केबलकार बनेछ। पहिलाजस्तो घुमाउरो बाटो हुँदै पैदल यात्राको बाध्यताको अन्त्य भएको छ। अहिले पोखरा महानगपालिका–१६ स्थित पामे सेतीबगरमा अन्नपूर्ण केबलकारको निर्माण भएको छ। दुई हजार दुई सय ६५ मिटर लामो यो केबलकारको प्रयोग गरेर अब करिब दस मिनेटमै सराङकोट पुग्न सकिन्छ। पहिला लेक साइडबाट यहाँसम्म पुग्न निकै समय व्यय गर्नुपर्थ्यो। पत्रकार वासुदेव पौडेल मलाई जानकारी दिइरहेका थिए, ‘‘केबलकारले  सराङकोटको दुरी घटाएको छ। विगतमा सडक मार्गबाट मात्र जाने विकल्पका रूपमा अहिले केबलकार बनेको र पर्यटकलाई सहज भएको छ।’’ पौडेलका अनुसार पर्यटकले सराङकोटको भ्रमण रोज्ने प्रमुख प्रमुख कारण सूर्योदय एवम् हिमाली दृश्यावलोकन हो। 

यहाँको अर्को आकर्षण प्याराग्लाइडिङ, जिपलाइन आदि हुन्। साहसिक पर्यटनका साधनका रूपमा चर्चित प्याराग्लाइडिङ देखाउँदै मैले आदित्येन्द्रलाई चढ्ने रहर छ कि भनेर सोधें। तर हामीसँग समय मिलाउन उति सहज थिएन। उनले पनि ‘‘अब अर्को पटक’’ भने। नागरिक उड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएपछि पहिले सराङकोटबाट हुने प्याराग्लाइडिङ कास्कीकोटको मान्द्रेढुुङ्गामा सारिएको थियो। नागरिक उड्डयन प्राधिकरणकै निर्णयअनुसार अहिले भने सराङकोटको बाहाकोटबाट नै प्याराग्लाइडिङ उडान भइरहेको छ। 

बाँकी अब अर्को पटक
सराङकोटबाट हावामा कावा खाँदै पोखरा र हिमाललाई एकसाथ नियाल्दै फेवातालको पामे फाँटमा प्याराग्लाइडर अवतरण गर्दा कस्तो अनुभव हुँदो हो? मेरो मनमा उब्जिएको प्रश्न थियो। मैले पनि आदित्येन्द्रलेझैँ सन्तोष गरेँ–बाँकी अब अर्को पटक। समुन्द्र सतहबाट १ हजार ४५० मिटरको उचाइमा रहेको सराङकोट समग्रमा फेवा, पोखरा र हिमाल अवलोकनका दृष्टिले महत्त्वपूर्ण छ। सराङकोट पुगेपछि पर्यटक जिपलाइन, हवाई साइक्लिङ र पिङमा पनि झुम्मिने गरेका छन्। यस अतिरिक्त पर्यटकसँग समय छ भने भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, बागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदिको पनि भ्रमण गर्न सक्छन्। 

पोखरा लेक साइडबाट हामीलाई बसले पामेस्थित केबलकार स्टेसनसम्म ल्याएर छोडेर सराङकोटतर्फ लागेको थियो भने हामी सहभागीहरू केबलकारबाट सराङकोट डाँडो उक्लिएका थियौँ। माथि डाँडो पुगेर सबै दृश्यावलोकनमा तल्लीन हुन पुगेका थिए। हामी पनि अपवाद हुने कुरा थिएन। हामीले त्यहाँ करिब एक घण्टा बिताउँदा बिहानको करिब नौ बजिसकेको थियो। बसहरू आइपुगेका थिए। अघि जो जुन बसमा थिए, त्यही बसमा चढ्ने पूर्व सहमति थियो। हाम्रो बसको मूल जिम्मेवारी बेहोर्ने गरी पत्रकार टंक अधिकारीले नेतृत्व गरिरहेका थिए। टंकले जति हतार गर्दा पनि त्यहाँबाट प्रस्थान गर्दा करिब दस बजिसकेको थियो। 

अन्नपूर्णमा कोदोको सेल
खाजा खाने कार्यक्रम तय थियो कास्कीको अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा। सायद समूह ठूलो भएर पनि होला, यात्रामा ज्यादा समय लागिरहेको थियो। हामी अन्नपूर्ण पुग्दा करिब साढे एघार बजेको थियो। अध्यक्ष शिव लम्साल र विदेशी पाहुनाको टोली पहिले नै पुगिसकेको थियो। हामीलाई पालिका अध्यक्ष विष्णुबहादुर केसीले स्वागत गरेका थिए। उनका अनुसार पालिकाले अहिले कोदोको खेती र बजार प्रवर्द्धनमा जोड दिएको छ र पालिकालाई कोदोमा आत्मनिर्भर बनाउने मात्र नभई कोदोका विविध परिकारको ब्रान्डिङ गर्ने नीति पनि लिएको छ। बडो सुखद रह्यो, त्यहाँ खाजाका रूपमा कोदो नै प्राप्त भयो। कोदोको सेल रोटी र आलु काउलीको तरकारी। सबै नै स्थानीय उत्पादन। सबै जना भोकाएका थिए र यसको प्रभाव सेल ग्रहणका क्रममा स्पष्ट देख्न सकिन्थ्यो। 

त्यहाँबाट प्रस्थान गर्दा करिब एक बजेको थियो। अब हामी बिस्तारै कास्कीबाट पर्वत जिल्लातर्फ बढिरहेका थियौँ। जति जति अगाडि बढिरहेका थियौ, भौगोलिक संरचनामा बिस्तारै परिवर्तन अनुभूत भइरहेको थियो। भूगोल जटिल बन्दै थियो। यो बाटोमा म्याग्दीको बेनीसम्म मैले अनेकौँ पटक र मुस्ताङ (मुक्तिनाथ)सम्म एक पटक यात्रा गरेको छु। अब जति अगाडि बढिन्छ, बाटो त्यति नै असहज हुँदै जान्छ भन्ने मेरो बुझाई हो। करिब एक घण्टाको यात्रापछि सदरमुकाम कुस्मालाई पछाडि छोड्दै हामी पर्वतको जलजला आइपुगेका थियौँ। यहाँको  सुविधासम्पन्न होटेल ज्ञानगौरीमा हाम्रो भोजनको कार्यक्रम निर्धारित थियो।

जलजलाको ज्ञानगौरी
बागलुङका पत्रकार प्रकाश बरालका अनुसार स्थानीय व्यवसायी कृष्ण केसीले ३० करोड रुपैयाँको लागतमा जलजला गाउँपालिका ३ को वारी बेनीमा सुविधासम्पन्न होटेल ज्ञानगौरी सञ्चालनमा ल्याएका हुन्। २३ रोपनी क्षेत्रफलमा रहेको यो होटेल म्याग्दी र मुस्ताङसम्मको यात्रा गर्नेलाई उपयोगी छ। 

जलजला गाउँपालिका पर्वतको साबिक बाँसखर्क, माँझखर्क, लेखफाँट, शालिजा, बनौ, धाइरिङ र नाङलीवाङ गाविस मिलेर बनेको छ। यो पालिकामा हम्पालको पहाड पर्छ। धार्मिक ग्रन्थमा कालाञ्जर पर्वतको रूपमा यसको चर्चा छ। समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा हम्पाल रहेको छ। सूर्योदयको दृश्यावलोकन गर्ने, धौलागिरि, अन्नपूर्ण, निलगिरी, पुथा उत्तरगंगा, माछापुच्छ्रे, मनासलुलगायत हिमाली शृंखलासमेत यहाँबाट अवलोकन गर्न सकिन्छ। प्रकाशले जानकारी दिँदै भने, ‘‘हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको किंवदन्ती छ।’’ 

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले यो क्षेत्रको विकासका लागि पर्यटन गुरुयोजना बनाएको, केही लगानी गरेर पर्यटन प्रवर्द्धनको काम थालिएको बताए। जे होस्, ज्ञानगौरीको भोजन र एक छिनको बसाइ राम्रै रह्यो। यो एउटा उदाहरण हो, अब दूरदराजका स्थानीय स्तरमा पनि करोडौँ लगानी गरेर व्यवसाय प्रवर्द्धनको प्रयास भइरहेको छ। कसैले सोध्ला, गणतन्त्र आएर के भयो? मलाई लाग्छ, ज्ञानगौरी एउटा गतिलो जवाफ हुन सक्छ। भोजनपश्चात् यहाँबाट हामी प्रस्थान गर्दा करिब तीन बजिसकेको थियो। 

मुक्तिनाथको आधारभूमि वेनी र गलेश्वर 
हामी आजै कम्तीमा मार्फा पुग्नुपर्ने थियो। त्यहाँबाट अगाडि बढ्दै बेनी बजार पुगिसकेका थियौँ। म्याग्दीको सदरमुकाम बेनी एक किसिमले मुक्तिनाथको आधारभूमि हो। वास्तविक अर्थमा यहीँबाट मुक्तिनाथको यात्रा प्रारम्भ हुन्छ। पहिलेको समयमा मुक्तिनाथका लागि यहीँबाट पैदल यात्रा प्रारम्भ हुन्थ्यो। अब त मुक्तिनाथसम्मै यातायातको साधन पुग्छ। मुक्तिनाथसम्म जनपहुँचमा वृद्धि भएको छ। हामी गलेश्वर आइपुगेका थियौँ। बेनीबाट तीन किलोमिटरको दुरीमा अवस्थित गलेश्वर मन्दिर गयौँ। हाम्रो यात्रा एकै पटक धार्मिक, सांस्कृतिक र भौगोलिक महत्वको भइरहेको थियो।  

मन्दिर व्यवस्थापन समितिले उपलब्ध गराएको विवरणअनुसार, बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरधाम रहु नदी र काली गण्डकीको पवित्र सङ्गममा अवस्थित छ। नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ। जनश्रुतिअनुसार भगवान महादेव सतीदेवीको मृत शरीर बोकेर कृष्णगण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतीदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहेकाले यसको नाम गलेश्वरधाम रहन गएको हो। एक अर्को मान्यताअनुसार गालव ऋषिले यसै धाममा शिवजीको तपस्या गरेकाले पनि यो स्थान गलेश्वर नामले प्रसिद्ध हुन गएको हो। यस स्थानलाई मुक्तिनाथ प्रवेशद्वारका रूपमा समेत चिनिन्छ। विशेष गरी गलेश्वरधाममा बालाचतुर्दशीमा देश विदेशबाट सद्बिज छर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। 

रूप्सेको सौन्दर्यपान
गलेश्वरधामको दर्शनपश्चात् हामी अगाडि बढेर रुप्से झरना नजिक रोकिएका थियौँ। यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना नामक स्थानमा अवस्थित छ। बेनी बजारदेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने यो झरना ७५ मिटर अग्लो छ। यो झरना अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्। हामीले यसबारे निकै सुनेका र तस्बिरमा देखेका थियौँ। तर प्रत्यक्ष देख्दाको अनुभूतिको बयान नै गर्न सकिँदैन। हामी त्यहाँ निकै बेर अडियौँ। फोटाहरू खिचिए। हामी रुप्सेलाई  पछि पार्दै अघि बढिरहेका थियौँ। यात्रा जतिजति अघि बढिरहेको थियो, रोमाञ्चको डिग्री पनि उत्तिकै बढिरहेको थियो। त्यसो त बेनीपछिको यो मेरो दोस्रो यात्रा थियो। यसअघि २०७९ को जेठको दोस्रो साता मैले मुक्तिनाथसम्मको भ्रमण गरेको थिएँ। तर रोमाञ्च र उत्सुकतामा कुनै कमी थिएन। 

अगाडि बढ्दै जाँदा टंकले थाहा पाए जति जानकारी हामीलाई दिइरहेका थिए, बायाँपट्टिको बिकट ढुंंगे पाखो काब्रे भीर हो। एकातिर बिकट भीर अर्कोतिर गहिरोमा कालीगण्डकी र त्यसको सुसेली। बीचमा ढुंगा बिच्छ्याइएको कच्ची बाटो। आङै सिरिङ्ग हुने भूगोल। जति उत्तर गयो हरियाली कम हुँदै गएको छ र विशालकाय नाङ्गा पहाडको उपस्थिति घनिभूत रूपमा देख्न सकिन्छ। काब्रेको भीरकै बीचमा एउटा सानो पुल छ। त्यही पुलले म्याग्दी र मुस्ताङको सीमा विभाजन गर्छ। अब हामी मुस्ताङ प्रवेश गरिसकेका थियौँ। बेनीको सीमादेखि नै छेउछाउ देखिने घरका शैली परिवर्तित देखिन्थे। ढुंगाको गारो भएको घर। माथि माटोको छानो। छानोमाथि दाउराका भारी। हिमाली क्षेत्रमा कोठा न्यानो बनाई राख्न यस्ता घर बनाइन्छन्। जति जति अगाडी बढ्दै गयो यस्ता घरका संख्या पनि बढ्न थालेको भान भयो। 

खुला संग्रहालय मार्फा
धवलागिरी (८१६७ मी.)  र निलगिरी (७०६०) हिमालको कापमा अवस्थित मुस्ताङलाई हिमाल पारिको जिल्लाका रूपमा चिनिन्छ। यसको अर्थ हो, नेपालका अन्य स्थानबाट हिमाल उत्तरतर्फ देखिन्छ, तर मुस्ताङबाट भने हिमाल दक्षिणमा देखिन्छ। लेतेबाट राम्रो पक्की सडक प्रारम्भ भएको छ। यो सडक अगाडिका सबै ठाउँमा त पक्की छैन, तर कालीगण्डकीलाई दायाँ पार्दै टुकुचेपछि सुरु भएको मैदानी भागमा सडक पक्की नभए पनि गाडीको गतिलाई खासै फरक पर्ने रहेनछ। 

केहीबेरमा हामी मार्फामा थियौँ। हाम्रो आजको बसाइ यहीँ थियो र हाम्रो आजको यात्रा टुंगिएको थियो। मार्फा अर्थात् नेपालकै सबैभन्दा धेरै र स्वादिलो स्याउ उत्पादन हुने ठाउँ। चारैतिर स्याउका बोट। मार्फामा उत्पादन भएको सबै स्याउले बजार पाउँदैन। बाँकी स्याउको ब्रान्डी बनाइन्छ। यहाँको ब्रान्डीको ब्रान्ड नै मार्फा हो। देश विदेशमा प्रसिद्ध मार्फा स्थानीयको आयआर्जनको राम्रो स्रोत बनेको छ। यस्तै यहाँ स्याउको सुकुटी र जुस पनि उपलब्ध छ। मुस्ताङको यात्रा गर्दै हुनुहुन्छ भने यी सामाग्री तपाईँले यहाँबाट उपहारका रूपमा लिन सक्नुहुन्छ।

हाम्रो बसाइ मार्फा गाउँनजिकै मूल सडकको छेवैमा अवस्थित एक होटेलमा थियो। साँझ परिसकेको थियो। होटेल खोज्दै केही समय व्यय भएको थियो। आज मार्फा गाउँ जान पाइएन। स्थानीय संस्कृतिको संरक्षणमा जुटेको मार्फावासीले आफ्नो गाउँलाई खुला संग्रहालयमा परिवर्तन गरेका छन् भन्दा अस्वाभाविक हुँदैन। युनियनका अध्यक्ष शिव र अन्य केही साथीहरू भोलीको कार्यक्रम संयोजन गर्ने सन्दर्भमा जोमसोम गएका थिए। मसँगै कोठामा बस्ने निश्चित भएका अग्रज हरिविनोद अधिकारी र तारानाथ दाहाल पनि प्रमुख जिल्ला अधिकारीको आमन्त्रणमा जोमसोमतिरै गएपछि एक्लिएको मैले के गर्नु? यसो विचार गरेँ-मार्फा आएर मार्फा नचाख्ने कुरा त हुन्न नि! आदित्येन्द्रलाई कोठामै छोडेर तल रेस्टुरेन्ट गएर म मार्फा चाख्ने प्रयत्न गर्न पो थालेँ।

अहा रमाइलो यात्रा वर्णन ।

yakindra timilsina

3 months, 3 weeks ago

अहा रमाइलो यात्रा वर्णन ।

yakindra timilsina

3 months, 3 weeks ago