ताला क्वः अर्थात् पोखरीमुनिको ‘पोटरी स्क्वायर’

माटोमा कला हेर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हो दक्षिण भक्तपुरको पोटरी स्क्वायर। तर, रैथाने नेवारी समुदाय बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो, के हो खास नाम?

भक्तपुर– शरद ऋतुको पारिलो घाममा बिस्कुन सुकाएझैं सुकाउन राखिएका छन् माटाका भाँडा। छेउछाउका पसलहरू पनि बिक्रीका लागि राखिएका तिनै माटाका भाँडा, खेलौना तथा तिहारका लागि चाहिने पालाले सजिएका छन्।

माटोमा कला हेर्न चाहने आन्तरिक/बाह्य पर्यटकका लागि आकर्षक र मौलिक गन्तव्य हो, भक्तपुर दरबार क्षेत्रको २५० मिटर दक्षिणमा पर्ने पोटरी स्क्वायर। यो ठाउँ माटोको भाँडा बनाउने नेवारी समुदायका कुमाले अर्थात् प्रजापतिको बाक्लो उपस्थिति भएको क्षेत्र हो। यो उनीहरूको पुर्ख्याैली पेशा पनि हो। तर, रैथाने नेवारीहरू बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो?

त्यहाँका स्थानीय ३८ वर्षीय उकेश प्रजापति आफ्नो बाल्यकाल सम्झिन्छन्। गोरो छाला, खैरो कपाल अनि अंग्रेजी बोल्दै घुम्ने पर्यटकसँग उकेश परिचित थिए। आफ्नो टोलमा आएर ती पर्यटकले फोटो खिच्ने, माटोका भाँडा बनाएको ध्यान दिएर हेर्ने जस्ता गतिविधिलाई उकेशले नियालीरहन्थे। उनीहरू कहाँबाट आए र अब कहाँ जालान् भन्ने कौतुहलाता पनि भइरहन्थ्यो। तर भाषाका कारण बाल्यकालमा उनले ती प्रश्नको जवाफ पाउन सक्दैन थिए।

null

घुम्न आउने विदेशीहरूले नै पोटरी स्क्वायर भन्ने गरेको उनको सम्झनामा ताजै छ। उनले पनि त्यही सिके। यहाँ माटोका भाँडाहरू बनाइने/पाइने भएकाले विदेशीहरूले नै यस स्थानको नाम पोटरी स्क्वायर राखेको हुनसक्ने उनी बताउँछन्। उनी भन्छन्, “यहाँ टुरिस्टहरू धेरै आउने भएकाले उनीहरूले नै यो नाम राखेको  भन्ने हामीले बुझेका छौँ।”

खासमा यस ठाउँलाई स्थानीयले कुम्हः त्वः भन्छन्। कुम्हः अर्थात् कुमाले अनि त्वः को अर्थ टोल। माटाका काम गर्नेलाई कुमाले भनिन्छ। कुमालेको काम गर्ने ठाँउलाई कुम्हः टोल भनियो। गैरनेवारीको लागि भने यो कुमाले टोल हो। माटाको काम गर्ने भएकाले कुमाले टोल भनिए पनि यस स्थानको वास्तविक नाम भने ताला क्व: अर्थात कुण्ड/पोखरी तलको ठाँउ हुन्छ।

पोटरी स्क्वायरको पछिल्लो भागमा सानो थुम्को छ जहाँ गोरखनाथको मन्दिर नजिकै कुण्ड (नाउलो) भएको मान्यता स्थानीय राख्छन्। अहिले त्यहाँ सानो आकारमा गहिरो खाल्डोमात्र पाइन्छ। थुम्कोको उत्तरतर्फको क्षेत्रलाई ताला चोः भनिन्छ भने दक्षिणतर्फको पोटरी स्क्वायरलाई ताला क्व: भनियो। नेपाल भाषामा तालाको अर्थ कुण्ड, चोः को अर्थ माथि र क्वः को अर्थ तल हुन्छ।

null

इतिहासकार डा. पुरुषोत्तम लोचन श्रेष्ठले २०७७ साल फागुनको भक्तपुर मासिकमा लेखेअनुसार, कुम्हः त्वः को शिरैमा रहेको थुम्को वा डाँडामा गुरु गोरखनाथ र भैरवनाथ स्थापित देवस्थल छ। श्रेष्ठले उक्त लेखमा कुम्हः टोल लिच्छविकाल पूर्वदेखि नै विकसित भएको बस्तीको रूपमा उल्लेख गरेका छन्।

यसमा प्रा.डा. सुदर्शनराज तिवारीको पुस्तक हाँडीगाउँमा पनि प्रजापतिलाई किराँतकालीन पुस्ताको रूपमा मान्न सकिने तर्क प्रस्तुत गरेका छन्।

यद्यपि, कुम्हः टोल मानवबस्तीको रूपमा मात्र नभई धार्मिक सांस्कृतिक महत्त्व पाउँदै आएको स्थानको रूपमा श्रेष्ठले व्याख्या गरेका छन्। पोटरी स्क्वायरको मध्य भागका सानो मन्दिरलाई ज्याठा गणशे भनिन्छ। भक्तपुरमा हुने ठूलो पूजा, जात्रापर्वअघि र पछि सो मन्दिरमा पूजा हुने गरेको उकेश प्रजापति बताउँछन्।

null

गाईजात्रा, बिस्टेक जात्रा, दशैंमा हुने पायो (खड्ग) जात्राको शुरूमा सोही मन्दिरमा पूजा ल्याएर जात्राको विधिवत् शुरूआत हुन्छ। त्यस्तै, नवदुर्गा र तलेजु भवानीका लागि आवश्यक पर्ने विशेष प्रकारको कलश पनि यही टोलबाट बनाएर लगिन्छ। स्थानीय उकेशका अनुसार, देवताको लागि बन्ने त्यस्ता कलश कुम्हः टोलकै निश्चित व्यक्तिले गोप्य रूपमा बनाउने, सुकाउने र पकाउने गर्छन्, जसको भनक पनि कसैलाई हुँदैन।

श्रेष्ठले यसको पुष्टि गरेका छन्। उनका अनुसार, गाईजात्रामा यो टोल प्रदक्षिणापथ हो। त्यस्तै, नवदुर्गा गणका वनमालाहरूले ख्वपाः (मखुण्डो) निर्माणका लागि हाकु ज्याः कुम्हः बाट विधिवत् कालीमाटी लिन्छन्। नेपाल भाषामा हाकुको अर्थ कालो, ज्याः को अर्थ काम, अनि कुम्हः को अर्थ कुमाले हुन्। पोटरी स्क्वायरका कुमाले कालो माटाबाट भाँडा बनाउँछन्। भक्तपुरको पूर्वी भेगमा पनि प्रजापति बस्छन्, जसले माटोका भाँडा बनाउन रातो माटो प्रयोग गर्छन्। जसलाई ह्यु ज्याः कुम्हः भनिन्छ। यसरी स्थानअनुसारले पनि कामका प्रकृति फरक छन्।

भक्तपुर दरबार स्क्वायरको आसपास पर्ने हुँदा यो हाकु ज्याः कुम्ह टोल बाह्य र आन्तरिक सबै पर्यटकका लागि सहज पहुँचको स्थान बनेको छ।

null

पुर्ख्याैली पेशामा आधुनिकताको मिश्रण
स्थानीय उकेश प्रजापतिले आफ्ना हजुरबुवासँगै माटाका भाँडा बनाउन सिके। माटाका भाँडा सुकाउने, उठाउने, पोल्न लैजाने  उनको दैनिकी नै थियो। बाल्यकाल माटोका भाँडासँग खेल्दै बिताएका उकेशले अहिले त्यसैलाई व्यवसायको रूपमा अँगालेका छन्। उनी अहिले पनि हजुरबुवाले भनेको कुरा सम्झिन्छन्,  “धेरै पढ्नु पर्दैन, पछि गएर यही माटोको काम गर्नुपर्ने हो तिमीले।”

२० वर्षको दशकमा माटोका कामबाट उकेश पर भए। उनी केही अलग गर्न चाहन्थे। यसक्रममा उनी विदेश पनि गए। विदेशी जीवन फरक भए पनि देखिने अनुहार उनलाई कहिल्यै अपरिचित लागेन। त्यस्तै अनुहार जो आफ्नो ठाउँमा घुमफिरका लागि पुग्ने गर्थे। तब उनले महसुस गरे आफ्नो ठाउँ र कामको विशेषता अनि महत्त्व।

उनी नेपाल फर्केर परम्परागत रूपमा हुने गरेको कामको प्रविधि र शैलीमा परिवर्तन गर्ने प्रयास गरे। परम्परागत शैलीमा आधुनिकता जोडेर व्यावसायिक उत्पादनको थलो बनाउने योजनामा जुटे। सोही कारण उनले पोटरी स्क्वायरमा ५ तले भवन भाडामा लिएका छन्। जहाँ भुई तलामा पोटरीका सामानको प्रदर्शनी र चियापान गर्ने कक्ष छ।

पहिलो तलामा माटोका भाडाँ बनाउने वोर्कसपलाई स्थान दिएका छन्। बाँकी तलामा क्याफे खोलेका छन्। घुम्न आउने विदेशीदेखि स्वदेशी पर्यटकको विश्राम अनि मनोरञ्जन स्थल उनको 'पोटरी कल्चर वोर्कसप एन्ड ट्रेनिङ सेन्टर' माटोका भाँडा बनाउने काम मात्रै होइन पोटरी बनाउने तालिमसहित पोटरी थिमको क्याफे संचालन गरिरहेका छन्।

null

पुर्ख्याैलीपेशामा आधुनिकताको नयाँ शैली समिश्रण गराउने प्रयास गरिरहेका छन् उनी। यसर्थमा, हजुरबाले दिएको अर्तिलाई आफूले पढेको 'हस्पिट्यालिटी बिजनेस'मार्फत नयाँ कोण दिएका छन्। यसलाई उनी आफ्नोमा मात्र सीमित राख्न खोजिरहेका छैनन्। नयाँ प्राविधिक उपकरणसँगै सोही कामलाई अझै विस्तारित स्वरूपमा फैलाउनको लागि उनी आफ्ना वरपरका आफन्त, साथीभाइहरूलाई पनि सुझाव दिइरहेका हुन्छन्।

यद्यपि, सोचजस्तो सहज भने नभएको उनी बताउँछन्। कारण अधिकांशलाई हालको दैनिकी नै कामकाजको लागि पर्याप्त भइरहेको छ। दशकअघि माटो बनाउने त्यहाँका स्थानीयले अपनाएको स्वचालित चक्का नै केही नयाँ हो। त्यसअघि काठे चक्कामा हुन्थ्यो, जसलाई हातैले घुमाएर काम गर्थे।

“ठिमी लगायतका माटो बनाउने विभिन्न स्थानमा यही काम उद्योगको रूपमा विकसित भइसक्यो, यहाँ भने त्यही परम्परागत शैली, प्रविधि अनि उत्पादनमा सीमित छन्,” उनी भन्छन्, “मैले यसमा आधुनिक प्रविधि र शैली जोड्दै थप व्यावसायिक गर्न खोजेको छु।”

सोही स्क्वायरमा पुर्ख्याैली पेशालाई निरन्तरता दिइरहेका अर्को व्यक्ति हुन्, विनोद प्रजापति। उनी आफू त माटाका भाँडा बनाइ नै रहका छन् तर मनोरञ्जनका लागि माटाका भाँडा बनाउन सिक्न आउनेलाई तालिम दिन्छन्। साना बालबालिकालाई एक पटक सिकाएको १५० रुपैयाँ लिन्छन् भने वयस्कलाई सो रकम ५०० सम्म पुग्छ।

null

सामाजिक सञ्जालमा चल्ने ट्रेन्डले गर्दा शुरू भएको पोटरी स्क्वायरका हरेक माटाका भाँडा बनाउने पसलमा यो सेवा शुरू भएको छ। यसमा विदेशीभन्दा पनि आन्तरिक पर्यटककै संख्या बढी छ।

“मानिसहरू सिक्नभन्दा पनि मनोरञ्जन अनि सामाजिक सञ्जालमा भिडियो राख्नको लागि उत्सुक देखिन्छन्,” उनले भने, “यस खालको ट्रेन्ड कोभिडपश्चात शुरू भएको हो।”

जीवनको पाँच दशक पार गरिसकेका उनीले हाते चक्का छाडेर मेसिनवाला चक्का प्रयोग गर्छन्। यसले उत्पादन छिटो र सजिलो हुने उनी बताउँछन्। पहिले यसरी तयार पारेका भाँडा परालको थुप्रोमा पोलेर पकाइन्थ्यो, अहिले उनी पसल छेउमा रहेको भट्टीमा पकाउने गर्छन्। उनले सेरामिक्सबाट पनि भाँडा बनाउने गरेका छन्।

“पहिले परालको आगोमा यी माटाका भाँडा पोलिन्थे। समयअनुसार त चल्नै पर्‍यो,” उनी भन्छन्, “कालीमाटीबाहेक सेरामिक्स लगायतका अन्य माटोका भाडा थोरै परिणाममा बनाउने गरेको छु।”