गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि ठप्प रहेको रसुवागढी नाका खोल्न विकल्पमा बेलिब्रिज निर्माण भइरहेको छ। तर त्यसले उत्तरी नाकाबाट हुने आयातको भार थेग्ने देखिन्न।
काठमाडौँ– असार २४ गते ठूलो वर्षाबेगर नै आएको बाढीले रसुवास्थित नेपाल र चीनको सीमानामा रहेको मितेरी पुल बगाएपछि उत्तरतर्फको सबैभन्दा व्यस्त नाकाका रूपमा रहेको रसुवागढी–केरुङ नाका बन्द छ। रसुवागढीस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमानाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे नदी) मा अकस्मात् आएको बाढीले त्यो रात मितेरी पुल बगाएको थियो। त्यसयता रसुवागढी–केरुङ नाका पूर्णतः ठप्प छ।
भू–उपग्रहबाट खिचिएका तस्बिरहरू विश्लेषण गरेपछि त्यसबेला प्युरेपू हिमनदीमा अवस्थित सुप्राग्लेसियल तालको बाँध फुटेर बाढी आएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन प्राधिकरणले जनाएको थियो। त्यो बाढीले मितेरी पुल मात्र बगाए, १८ व्यक्तिसमेत बगायो। जसमध्ये केहीको शव भेटिए पनि कतिपयको अवस्था अझै खुल्न सकेको छैन। योसँगै रसुवागढी जलविद्युत् आयोजना, रसुवा भन्सार कार्यालयको यार्ड, भन्सार यार्डमा जाँचपासका लागि राखिएका मालवाहक कन्टेनर, अरू सवारी साधन र स्याफ्रुवेशी–रसुवागढी सडकखण्डमा समेत ठूलो क्षति पुगेको थियो।
सडक जसोतसो चल्ने अवस्थामा, तर पुल छैन
स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडकको दूरी १६ किलोमिटर छ। यो सडक खण्डका विभिन्न १३ स्थानमा भोटेकोशी नदीले कटान गरेर क्षति गरेको थियो।
नदीले कटान गरेको ठाउँमा सडकमा दुईतर्फी यातायात सञ्चालन हुन सक्ने अवस्था नरहेको गल्छी—मैलुङ—स्याफ्रुवेशी—रसुवागढी सडक सुधार आयोजनाका इन्जिनियर कुमार विक्रम पराजुली बताउँछन्। “त्यसबीचमा अरू ठाउँमा पनि स–साना कटान भएका छन्। तर मुख्यतः १३ ठाउँ जतिमा बाटो बगेको–भत्किएको छ। धेरै ठाउँमा खोलाले कटान गरेको छ। त्यस्तोमा भित्तातिर अलिअलि काटेर भए पनि सडक चल्ने बनाइएको छ,” उनले भने।

स्याफ्रुबेसीबाट जाँदा मेदाङमुदुङ, कुलुङ, फेङलुङ, तातोपानीमा दुई ठाउँ, बालुवाखानी, टिम्मुरे, डुम्रे बजार र भट्टेखोलाबीचको आर्मी चेकपोस्ट नजिकै पनि ठूलो कटान भएर सडक सञ्चालनमै समस्या भएको थियो। “यी ८ ठाउँमा मुख्य समस्या हो, बाँकी ठाउँमा धेरै समस्या छैन,” उनले भने, “यी खण्डमा भित्तामा कटिङ गरेर एकतर्फी सवारी चल्न मिल्ने बनाइएको छ।”
गल्छी—मैलुङ—स्याफ्रुबेसी—रसुवागढी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझा भने यो सडकलाई पहिलेकै अवस्थामा फर्काउनेगरी स्तरोन्नतिको काम भने चिनियाँ सरकारले नै गरिदिने सम्झौता–ठेक्का सम्झौता भएकाले आयोजनाले थप केही काम नगरेको बताउँछन्। ओझाका अनुसार सडक विस्तार लगायतको कामका लागि साइट क्लियरेन्सको काम मात्र आयोजनाले गरिदिने हो। आयोजनाले सडक निर्माणका लागि ढुंगा, गिटी, बालुवा निकाल्न विभागसँग सहमति मागेको, सहमति पाएपछि ठेकेदार कम्पनीले काम थाल्ने उनले बताए।
“अहिलेलाई हाम्रो मेशिनले केही मर्मत गरेर सवारी गुड्न मिल्ने बनाएका छौँ,” उनले भने, “भत्केका ठाउँमा अब चिनियाँ पक्षले नै बनाउने हो, स्तरोन्नतिको काम पनि उनीहरूले नै गर्ने हो। ठेकेदार पनि रेडी छन्, अब पुल खुल्यो भने काम पनि शुरू होला।”
कहिले खुल्छ नाका?
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी नाका कहिलेदेखि खुल्छ भन्नेबारे कुनै मिति तय नभएको र अहिले नै यसबारे भन्न नसकिने बताउँछन्। चीनले मितेरी पुल निर्माण गरेपछि मात्र नाका खुल्ने उनको बुझाइ छ।
“चिनियाँ पक्षले कहिलेदेखि खोल्ने भनेर केही डेडलाइन दिएका छैनन्,” उनले भने, “पुलको काम लगभग सम्पन्न हुने चरणमा पुग्दैछ। अब छिटै नाका सञ्चालनमा आउला।”
चीनले मितेरी पुलको ठाउँमा बनाउन लागेको बेलिब्रिज अस्थायी प्रकृतिको भएकाले पहिलेकै अवस्थाको सवारीसाधन आवतजावत भने नहुने उनले बताए।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई पुल भत्किएदेखि नै यो नाकामा आवतजावत पूर्ण रूपले बन्द भएको बताउँछन्। चिनियाँ पक्षले बेलिब्रिज बनाएर नाका सञ्चालन गरेमा पनि नाकाबाट पहिलेको जस्तो सामान ल्याउन कठिन हुने उनको बुझाइ छ।
“पुल अन्तिम चरणमै पुगेको जस्तो देखिन्छ, पुल बनेपछि चाँडै नाका खुलाउने भन्ने कुरा सुनिन्छ। तर आधिकारिक रूपमा उनीहरूले केही भनेका छैनन्। अहिले बन्नलागेकै बेलिब्रिजबाट पनि पहिले जस्तो सामान आउन कठिन छ,” उनले भने, “पहिले डबल लेनको पक्की पुल थियो। यो एक लेनको हो। एकपटकमा एउटा गाडी मात्र छिर्न सक्ने भएकाले पहिले जस्तो त हुँदैन।”
मितेरी पुलको स्थायी संरचना बनाउनेबारे अहिले केही छलफल नभएको र बनाउन पनि लामो समय लाग्ने हुँदा नाका पहिलेकै अवस्थामा फर्कन समय लाग्ने उनले बताए।

उत्तरतर्फको प्रमुख नाका नै ५ महिनादेखि नाका बन्द हुँदा व्यवसायीले ठूलो हैरानी बेहोर्नुपरेको छ। कतिपय व्यवसायीले दशैँ र तिहारका लागि ल्याएका सामान पनि अहिलेसम्म नाकामै रोकिएका छन्। चाडपर्वलाई ल्याइएका सामान बोकेका करिब १५० कन्टेनर अहिले पनि नाकामै थन्किएका छन्।
केरुङ नाकाको विकल्प सिन्धुपाल्चोकको तातोपानी नाका हो। तर यो नाकाबाट पनि धेरै मालसामान आउन सकेको छैन। यो वर्षायाममा पहिरो र सडकमा पुगेको अरू क्षतिका कारण अरनिको राजमार्ग पटकपटक अवरोध हुँदा तातोपानी नाका पनि राम्रोसँग सञ्चालन भएन। तातोपानी नाकासमेत राम्रोसँग नचलेपछि व्यवसायीले थन्किएका सामग्रीहरू मुस्ताङको कोरला नाकाबाट ल्याउनुपर्ने बाध्यता आयो।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भट्टराई भने अहिले धेरै सामान नाकामा नअड्किएको दाबी गर्छन्। “शुरूमा धेरै सामान अड्किएको थियो। जाडोका सामान, चाडपर्वका सामान थिए। ती सामानमध्ये धेरैजसो कोरला नाकाबाट ल्याइएको छ। केही तातोपानी नाकाबाट पनि आयो,” उनले भने, “नबिग्रिने सामान केही थन्किए पनि अन्य धेरै कुरा आइसकेको छ। इभी गाडीहरू सबै मुस्ताङको कोरला नाकाबाट ल्याइएको छ।”
यो नाकाको सामान कोरालाबाट ल्याउनुपर्दा व्यवसायीको लागत र समय बढेको उनले बताए। “व्यापारीलाई चाहिँ अलि धेरै लागत बढ्यो। त्यसले सामानको मूल्य पनि बढ्छ। यसको मार आममानिसलाई पर्ने हो,” उनले भने।
केरुङ नाका सञ्चालन नहुँदा त्यसको ठूलो असर राजश्व संकलनमासमेत परेको छ। रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४० अर्ब १६ करोड राजश्व उठाउने लक्ष्य थियो। “लक्ष्यअनुसार पहिलो चौमासिक (कात्तिक मसान्तसम्म) को राजश्व उठाउन सम्भव नै भएन। अब पनि नाका कहिले खुल्ने हो थाहा छैन,” भट्टराईले भने, “राज्यको तर्फबाट हेर्दा राजश्व घट्यो। आम मान्छेको तर्फबाट हेर्दा उनीहरूले भनेजस्तो सामान पाएका छैनन्। उनीहरूले जति पनि मूल्य हाल्नुपर्ने अवस्था हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
