आन्दोलनका क्रममा वा सवारीसाधन, कार्यस्थल तथा अन्य दुर्घटनापछि मेरुदण्ड, हड्डी र नसामा चोट पुगेका घाइतेलाई थप क्षति पुग्न नदिनेगरी उद्धार गर्दा दीर्घकालीन अपांगता हुने जोखिम कम हुन्छ।
काठमाडौँ– निर्माणाधीन भवनबाट झारिएको सामानले लागेर २०८१ माघमा गोरखाको भीमसेन थापा गाउँपालिका–८ का २८ वर्षीय विकास श्रेष्ठ भुईंमा ढले। कामदारले फालेको सामान उनको घाँटीको पछाडिको भागमा लागेको थियो। बेहोस भएका उनलाई त्यहीँका कामदार र अन्य स्थानीयले अस्पताल लगेका थिए।
उनलाई बसबाट गोरखा सदरमुकामको अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो।
दाजु प्रदीपका अनुसार विकासको घाँटी पछाडिको मेरुदण्डको हड्डी भाँचिएको र नसा चुटिएको थियो। जसकारण उनको शरीर चल्न सक्ने अवस्थामा छैन। उनलाई अस्पताल पुर्याउँदासम्म कसरी उठाउने र चोटलाई जोगाउने ज्ञान नहुँदा थप क्षति पुगेको थियो।
उचित तरिकाले अस्पताल पुर्याउन सकेको भए शारीरिक क्षति कम हुने चिकित्सकहरूले बताएको प्रदीपको भनाइ छ। “खाल्डाखुल्डी बाटो र लामो दूरीको यात्रामा घाइतेको अवस्था हेरेर मिलाएर ल्याउने भन्ने कसैलाई आएन, थाहा पनि थिएन। अलिकति ख्याल गरेर अस्पताल ल्याएको भए उपचारपछि मेरो भाइ हिँड्न सक्ने थियो,” उनले भने।
करिब एक महिना अन्नपूर्ण अस्पतालमा राखेपछि विकासलाई साँगाको स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर भर्ना गरियो। त्यहाँ उपचारमा संलग्न डा. राजु ढकालका अनुसार उनको ‘सर्भिकल स्पाइन’को केही भागमा गम्भीर चोट थियो।
पाँच महिना लामो उपचारपछि उनको हातमा अलिकति शक्ति छ, तर शरीरका अन्य भाग चलाउन सक्दैनन्। डा. ढकाल भन्छन्, “मेरुदण्डमा चोट लाग्दा शरीरको तल्लो भाग पूर्णरूपमा अक्षम हुन सक्छ। प्रारम्भिक क्षणमै घाइतेलाई सही तरिकाले उठाएर अस्पताल ल्याउन सके थप जटिलता कम गर्न सकिन्छ।”
उनका अनुसार, घाइतेलाई झुन्ड्याएर बोक्दा वा गलत तरिकाले उठाउँदा मेरुदण्डको नसामा क्षति पुग्छ। विकासको हकमा पनि त्यही भएको थियो।
चार वर्षअघि रुकुम पश्चिमकी २३ वर्षिया महिला घाँस काट्ने क्रममा रूखबाट खसिन्। उनी काठमाडौँस्थित ट्रमा सेन्टर आइपुग्दा शरीर शिथिल भइसकेको थियो। उनको मेरुदण्डको नसा चुटिएको थियो, जसकारण कम्मरमुनि चल्न छाड्यो।
लडेको केही दिनपछि मात्र उनी अस्पताल आइपुगेकी थिइन्। त्यस बेलासम्म अलिअलि शरीर चल्दै थियो। शुरूमा चलिरहेका खुट्टा पछि शिथिल हुन थाले। बिस्तारै कम्मरमुनिको भाग चल्न छाड्यो।
उनको उपचारमा संलग्न डा. सविन पोख्रेलका अनुसार, उनलाई जथाभावी उठाउँदा चोट अझ बढेको हो। “मेरुदण्डको चोट लागेको शंका लागेमा घाइतेलाई कहिल्यै घिसारेर वा काँधमा बोकेर लैजानु हुँदैन। सिधा सतहमा राखेर स्थिर अवस्थामा अस्पताल पुर्याउनुपर्छ,” उनी भन्छन्।
तर ग्रामीण क्षेत्रबाट सही ढंगमा अस्पताल पुर्याउन सम्भव नहुने पनि डा. पोख्रेल बताउँछन्। “उहाँको हकमा स्थिर अवस्थामा राख्न सम्भव थिएन, त्यसले अझ क्षति भयो,” उनी भन्छन्।
बझाङका १० वर्षीय बालक अल्ना (नारीको) हड्डी भाँचिएको भन्दै भदौ २८ गते काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरिए। घटनापछि अस्पताल नलगी गाउँमै उनको हातमा काँसको काम्रो बाँधिएको थियो। काम्रो बाँध्ने क्रममा हात तानेर मिलाउन खोजिँदा गलत तरिकाले कसिएको थियो।
त्यसले चोट निको हुनुको साटो झन् बढ्दै गयो। अन्ततः १८ दिनपछि सुन्निएको हात लिएर उनलाई अस्पताल लगियो। डा. पोख्रेलका अनुसार, उनको हातको तीन पटक शल्यक्रिया भइसकेको छ।
तर संक्रमण बढ्न थालेपछि प्रभावित भाग नै काट्नुपर्ने अवस्था आएको छ। “हातलाई झुन्ड्याउने वा लत्र्याउने नगरी एल आकारमा हलुका तरिकाले बाँधेर स्वास्थ्य चौकी लैजाँदा सामान्य उपचारबाटै निको हुने थियो। तर अब हात काट्नुपर्ने अवस्था आएको छ,” डा. पोख्रेलले भने।
चिकित्सकका अनुसार, अधिकांशलाई सवारीसाधन वा कार्यस्थलमा हुने दुर्घटनामा घाइतेको अवस्था बमोजिम कसरी अस्पताल लैजाने भन्ने ज्ञान हुँदैन। जसकारण चोटमा थप क्षति हुने गरेको छ।
विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी तथ्यांकअनुसार नेपालमा अपांगता हुनुको प्रमुख कारण सवारी दुर्घटना हो। त्यससँगै निर्माण क्षेत्र, उद्योगलगायत कार्यस्थलमा हुने दुर्घटना अर्को कारण हो। विभिन्न समयमा हुने आन्दोलनमा सहभागीहरू पनि घाइते हुने परिस्थिति बनिरहेको हुन्छ। यस्ता घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने तरिका नजान्दा थप हानि हुन्छ।
इमर्जेन्सी मेडिसिन विज्ञ डा. अजय थापाका अनुसार, हड्डीमा नोक्सान पुगेका घटनामा शरीरका भागहरूमा जथाभाबी समाउँदा थप असर पर्छ। नेपालमा यस प्रकारका घटना धेरै हुने उनी बताउँछन्।
नेपालमा घाइतेलाई उठाउने सामान्य ज्ञान नहुँदा समस्या बढ्ने गरेको डा. थापाको भनाइ छ। “प्राथमिक उपचारका प्रोटोकलहरूको अभाव र तालिमको कमीले गर्दा शारीरिक चोटपटकका घटनामा मृत्यु र अपांगता दर बढ्छ,” उनी भन्छन्, “स्थानीय स्तरमा तालिम र प्रोटोकलहरूको विकासले समस्यालाई कम गर्न सक्छ, तर नीति छ कार्यान्वयन छैन। आमजनतामा जनचेतना बढाउनुपर्छ।”
शुरूआतमा घाइतेको अवस्था मूल्यांकन गर्नुपर्छ। सास र नाडी चलिरहेको छ कि छैन जाँच गर्नुपर्छ। चेतना र स्मृतिको अवस्था परीक्षण गर्न बोलाउँदा वा छुँदा प्रतिक्रिया आउँछ वा आउँदैन हेर्नुपर्छ। बोल्न सक्ने भए दुखाइको भागबारे उद्धारकर्ताले थाहा पाउनुपर्छ।
चोटपटक लागेमा र बढी रक्तश्राव भए रोक्ने प्रयास गर्नुपर्छ। मेरुदण्ड वा हड्डी भाँचिएको आशंका भए घाइतेलाई जथाभाबी उचाल्नु हुँदैन। सिधा बोर्ड वा स्ट्रेचरमा राखेर मात्र अस्पताल लैजानु पर्छ। यस्तो बेला शारीरिक अवस्थिति महत्त्वपूर्ण हुने डा. थापा बताउँछन्।
दुर्घटनामा मेरुदण्ड वा हड्डीमा चोट लाग्ने सम्भावना धेरै हुन्छ। त्यस्ता घाइतेलाई प्रारम्भिक उपचार र अस्पतालसम्म लैजाने विधिबारे जनचेतना फैलाउनुपर्ने स्पाइनल कर्ड मेडिसिन विज्ञ डा. राजु ढकाल बताउँछन्।
उनका अनुसार, साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरमा मेरुदण्डसम्बन्धी दैनिक ७० जनासम्म नयाँ बिरामी भर्ना हुन्छन्। उपचारका लागि आउने अधिकांश लडेका घाइते हुन्छन्।
ग्रामीण क्षेत्रमा भिरपाखामा घाँस काट्दा, रुख चढ्दा वा अन्य अग्लो स्थानमा काम गर्दा लडेका हुन्छन्। निर्माण क्षेत्रमा काम गर्ने मजदुर र सवारी दुर्घटनामा पर्नेहरू पनि उपचारमा त्यहाँ पुग्छन्।
डा. ढकालका अनुसार यीमध्ये ८५ प्रतिशत गलत तरिकाले उद्धार गरिएका हुन्छन्। “दुर्घटनापछि सहयोगी भावनाले आउँछन्, अनि चारपाँच जना मिलेर लत्र्याएर वा काँधमा बोकेर उद्धार गर्छन्,” उनी भन्छन्, “मनसाय सही भए पनि तरिका गलत हो। थप क्षति नहुने गरी शारीरिक पोस्चर मिलाउनुपर्छ।”
यति मात्र होइन, नेपालमा जुनसुकै स्थानमा एम्बुलेन्ससँगै तालिम प्राप्त स्वास्थ्यकर्मी जाने चलन छैन। त्यसैले, यस्ता आधारभूत विषयमा स्थानीय तहलगायत स्वास्थ्य संस्थाले नागरिकलाई जानकारी र तालिम दिनुपर्ने डा. सविन पोख्रेल बताउँछन्।
दुर्घटनास्थलमा एम्बुलेन्सभन्दा अघि प्रायः स्थानीय नै पुग्छन्। “तसर्थ, स्थानीय स्तरमा तालिम दिँदा यस्तो समस्यालाई कम गर्न सकिन्छ,” डा. पाख्रेल भन्छन्, “तर नेपालमा अझैसम्म आपतकालीन सेवा प्रदायक र सुरक्षाकर्मीलाई व्यवस्थित तालिम दिन सकिएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
