मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?

अन्नबाली लगाउने र उठाउने मौसममा वर्षाको प्रवृत्ति निरन्तर परिवर्तन भइरहँदा पनि किसानले परम्परागत बीउ र विधि नै प्रयोग गरिरहेको कारण उत्पादन घट्दो छ। के अब मौसम अनुकूल हुन बालिचक्र नै बदल्नुपर्ने हो?

काठमाडौँ– सिरहाको गोलबजारका अर्जुन थपलियाले यो वर्ष न रोपाइँ राम्रोसँग गर्न पाए, न त धान नै राम्रोसँग भित्र्याउन सके। मनसुनमा समयमा पानी नपर्नु र दाइँ गर्ने बेला नजिकिँदा अत्यधिक वर्षा हुनुले बालीमा क्षति पुग्यो। 

सधैँ असारमा धान रोपिसक्ने उनले यो वर्ष साउन अन्तिमतिर मात्र रोपाइँ गरे। आकाशे पानी नपरेपछि बीउ सुक्ने डरले बोरिङबाटै पानी तानेर रोपाइँ गरेका थिए।

यद्यपि, ढिला भए पनि पानी परेपछि रोपेको धानले ठिकै गाँज हाल्यो। बाली पनि ठिकै थियो। अर्जुनसहित धेरै किसानले बाली थन्क्याउने योजना बुन्दै थिए। मनसुन फेरि सक्रिय बन्यो। वर्षाले पाक्न लागेको धान खेतमै ढल्यो।

नेपालमा सरदर अक्टुबर २ मा बाहिरिने मनसुन यसपटक ढिलैसम्म बस्यो। यस वर्ष मनसुन आठदिन ढिलो गरी अक्टोबर १० मा बाहिरियो। मनसुन बाहिरिनुअघि भएकोे वर्षासँगै आएको बाढी पहिरोले धेरै किसानको बालीमा क्षति गर्‍यो।

यति मात्रै होइन, मनसुन भर्खर बाहिरिँदै थियो। बंगालको खाडीबाट आएको मोन्था चक्रवातका कारण कात्तिकमा फेरि वर्षा भयो। वर्षाका कारण धेरै किसानले काट्न थालेको र काटेर खेतमा सुकाएको धान भिजायो।

null

“राजमार्गमाथि धान अलिअलि काटिसकेका थिए। राजमार्गभन्दा तलका क्षेत्रमा काट्न थालेकै थिएन, त्यहाँ धेरै क्षति गर्‍यो। पाकेको धान सबै ढल्यो,” अर्जुन भन्छन्, “खेत हिलै भएको काट्न नसक्ने अवस्थामा पुग्यो, अहिलेसम्म पनि थन्क्याइरहेका छन्।”

तराईमा धान निकालेपछि खेतमा गहुँ छर्ने चलन छ। कतिपयले आलु, तोरी पनि लगाउँछन्। तर खेतको पानी अझै नसुकेका कारण नयाँ बाली लगाउन सकेनन्।  “हिलो भएकाले जोत्ने बीउ छर्ने उपाय भएन। यसपटक धेरैले एक बाली खेत बाँझै राख्नुपर्ने जस्तो देखिएको छ,” उनले भने।

वीगन्जका नवलकिशोर झाको खेतमा सधैँभन्दा धान कम फल्यो। सधैँ एक कठ्ठामा एक क्विन्टल फल्थ्यो। उनले भने, “अघिल्ला वर्षमा दुई क्विन्टल आउने ठाउँमा अहिले एक क्विन्टल मात्रै उत्पादन भयो। कतिपय ठाउँमा त कठ्ठामा ५० किलो हुन पनि मुस्किल छ।”

समयमा पानी नपर्दा धानमा किराको आक्रमण पनि धेरै भएको झाले बताए। उनले आफ्नो खेतमा सोना मन्सुली जातको धान लगाएका थिए। उक्त धानमा फौजी किराको आक्रमण कम भए पनि अन्य किसिमका किरा देखिएको उनले बताए।

“समयमा वर्षा नहुँदा बालीमा धेरै रोग लाग्दोरहेछ। धानको बालामा किरा लाग्ने, जरा काट्ने समस्या भयो। फड्के किराले पनि एकदमै धेरै समस्या भएको छ,” उनले भने।

null

वीरगन्जमा किसानले सोना मन्सुलीसहित विभिन्न प्रजातिका धान लगाउँछन्। कतिपयले हर्जिनाथ प्रजातिको धान लगाएका थिए। यो छिटो पाक्ने बाली भएकाले केहीले धान काटेर आलु रोपेका थिए, कतिपयले तोरी लगाएका थिए।

तर त्यो बाली पनि मनसुन बाहिरिएपछि आएको पानीले बिग्रिएको झाले बताए। “तोरी पहेँलिएर गयो। आलु खेतमै कुहियो। चाहिले बेलामा पानी नपर्ने, नचाहिएको बेलामा पानी पर्ने हुँदा अब त कुन बाली लगाउने भन्ने अन्योल बढ्दै गएको छ,” उनले भने।

नेपालमा सरकारले अनुसन्धान गरेर जलवायु अनुकूल बीउबिजन नल्याउँदा किसान मारमा परेको उनको भनाइ छ। बीउ, मल र विषादी देशमा नहुँदा बाहिरबाट ल्याएका बीउले यहाँको मौसम अनुकूल नहुने उनको भनाइ छ। त्यसैले सरकारले बीउहरू परिस्कृत गर्दै लैजान र जलवायुमैत्री बाली लगाउन किसानलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

बाली लगाउने शैली नै बदल्नुपर्छ
राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका धान प्रजननकर्ता विश्वास बास्तोला जलवायु परिवर्तनसँगै खेतीबाली लगाउने तरिका पनि परिवर्तन गर्नुपर्ने बताउँछन्। पछिल्ला वर्षहरूमा धान लागउने समयमा एकदमै सुक्खा हुने क्रम बढेकाले किसानले ‘डाइरेक्ट सिडिङ’ विधिबाट लगाउन थाल्नुपर्ने उनको सुझाव छ।

अब हिल्याएर रोपाइँ गर्नुको साटो नयाँ प्रविधिबाट धान रोप्नुपर्ने बास्तोला बताउँछन्। उनी भन्छन्, “यो विधिमा खेतलाई सामान्य जोतेर मेसिनबाट दाना बीउ नै रोप्ने गरिन्छ। यसरी रोपेको बीउ गाँज आएपछि सजिलै ढल्दैन। यो दुईचार ठाउँमा प्रयोग पनि भयो। तर पछि मेसिन नभएर फेरि छाड्दै पनि जानुभयो।”

यसरी रोप्ने बीउ भने फरक किसिमको छ। धान अनुसन्धान केन्द्रले सुक्खा सहने विभिन्न जात उत्पादन गरेको छ। केन्द्रले सुक्खा धान—१ देखि सुक्खा धान—६ सम्मका प्रजाति उत्पादन गरेको छ। यीमध्ये सुक्खा धान—२ र ३ नेपालमा उत्पादन राम्रो भइरहेको प्रजननकर्ता बास्तोलाले बताए। “पानी नभएर बाला निस्किन नसकेको  अवस्थामा हामीले यो जातको धान उत्पादन गरेका हौँ,” उनले भने।

null

अनुसन्धान केन्द्रले यसबाहेक धरहरा–१, राम धान, हर्जिनाथ धान पनि उत्पादन गरेको छ। यी पनि चाडै पाक्ने जात हुन्।

ढिलो पाक्ने जातहरूलाई ढिलो रोप्दा हुन्छ। तर चाँडो पाक्ने धानको बीउ ४५ दिन अगावै रोप्नुपर्छ। पानी नभएको अवस्थामा चाँडै पाक्ने जातलाई छरुवा प्रविधिमा रोप्न सक्दा राम्रो हुने उनले बताए।

“यसपटक मधेश प्रदेशमा सुक्खा एकदमै धेरै भयो। त्यस बेला धेरै बीउ राखेकै ठाउँमा मरे। यस्तो अवस्थामा चाँडो पाक्ने जातहरूलाई रोप्न सकेको भए खेत हिल्याउनु पर्दैन थियो। छरुवा प्रविधिमा रोप्न सकिन्थ्यो। चाँडै पाक्ने भएकाले पछि आएको पानीले पनि भेट्दैन थियो,” उनले भने।

पछिल्लो समय पश्चिमका जिल्लाहरूमा यस किसिमका धानका प्रजाति लगाउने क्रम बढेको छ। मौसममा भइरहेको परिवर्तनलाई पनि ध्यान दिएर पूर्वसूचना अनुसार खेतिबाली लगाउनुपर्छ। “मौसम पूर्वानुमान अनुसार बेर्ना राख्ने, रोप्ने बाली भित्र्याउने गर्नुपर्छ। प्रविधिको प्रयोगले हामीलाई छिटो काम गर्न सहज हुन्छ,” उनले भने।

गहुँ अनुसन्धान केन्द्र भैरहवाका बालीविज्ञ नारायण खत्री किसानले अब मौसम अनुकूलन बाली लगाउन थाल्नुपर्ने बताउँछन्। मुख्यगरी धान लगाउने र त्यसपछि गहुँ लगाउने चलन छ। तर कहिलेकाहीँ मौसमअनुसार बालिचक्रमै परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ।

“एग्रोबुलेटिनहरू आइरहेका हुन्छन्, त्यसलाई सुन्नुपर्छ। कहिले एकदमै ठूलो पानी परेर गहुँ लगाउन नसक्ने अवस्था हुन्छ। पानी जम्यो भने गहुँ हुन्न। त्यस्तो अवस्थामा मुङ दाललगायतका बाली लगाउन सकिन्छ, जसले माटोको उर्वरा शक्ति पनि बढाउने गर्छ,” उनी भन्छन्।

धेरैजसो किसानले मिठो खानका लागि ढिलो पाक्ने जातहरू पनि लगाउँछन्। पछिल्लो समय अनुसन्धानबाट विकसित भएका छिटो पाक्ने जात लगाइयो भने बालिचक्र मौसम अनुकूल चल्छ। “छिटो पाक्ने धान लगाइयो भने गहुँ पनि छिटो लगाउन सकिन्छ। यसपालि धान थन्क्याउन ढिलो भयो। खेत अझै सुकेको छैन। गहुँ ढिला लगाउँदा यसको उत्पादन पनि घट्छ,” उनले भने।

null

मौसमको चक्रमा आएको परिवर्तनले बालीमा किरा र रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। गहुँ अनुसन्धान केन्द्रले पनि अहिले जलवायु अनुकूलन जातहरू अनुसन्धान गरिरहेको खत्री बताउँछन्।

“गहुँलाई सुरुमा उम्रनलाई चिसोपना र त्यसपछि बीचमा पनि सिँचाइ चाहिन्छ। तर समयमा वर्षा नहुँदा किराहरूको आक्रमण बढ्ने हुन्छ। त्यसैले हामीले रोग प्रतिरोधी जातहरू उत्पादन गरिरहेका छौँ,” उनले भने।

मौसमको फेरबदलले पछिल्लो समय गहुँमा लाइकिरा एकदमै बढेको खत्री बताउँछन्। जसले बालीमा आक्रमण गरेर उत्पादन घटाउँछ। यस्तै, जरामा पनि किरा लाग्ने गरेको छ। गहुँ अनुसन्धान केन्द्रले अहिले जिंक गहुँ, बुर्लक–२०२० लगायत रोग प्रतिरोधी जातहरू निकालेको छ।

कृषकले बाली लगाउँदा यस्ता किसिमका बीउ रोज्नुपर्ने खत्रीले बताए। “नयाँ जातका बीउ हामीले अनुसन्धान गरेर उत्पादन गरेका हुन्छौँ। अनुसन्धानमा आठदश वर्ष लगाइको हुन्छ। देशका विभिन्न भागमा लगेर परीक्षण गर्छौँ,” उनले भने।

कृषिमा छैन पर्याप्त अनुसन्धान
राष्ट्रिय कृषि तथा वातावरण अनुसन्धान केन्द्रका कृषिविज्ञ रामेश्वर रिमालका अनुसार यस केन्द्रले विभिन्न बालीमा अनुसन्धान गरिरहेको छ। तापक्रम वृद्धि, मौसमका अन्य किसिमलाई एकरूपता बनाएर गर्ने गहिरो खालको अनुसन्धान भने नभएको उनले बताए। “त्यो लेभलको रिसर्च गर्न बजेट पुग्दैन। सरकारको प्राथमिकतामा पनि पर्दैन। रिसर्चमा लगानी गर्दा राज्यलाई कति फाइदा हुन्छ भनेर सोच्ने मान्छेहरू सरकारमा अलि कमै छन्।” 

अनुसन्धान नभएकाले कुनै पनि बालीलाई जलवायु परिवर्तनको असरले उत्पादन घट्यो भनेर दाबी गर्न नसकिने उनी बताउँछन्। किनकि, धान रोपेपछि त्यसलाई चाहिले पानी, मल पुग्यो पुगेन हेर्नुपर्छ। बालीलाई चाहिले वातावरण पुग्यो कि पुगेन हेर्नुपर्छ।

null

रोपेको समयमा पानी नपरेको अवस्था र उत्पादनलाई मात्रै हेरेर जलवायु परिवर्तनको नकारात्मक असर भन्न नमिल्ने कृषिविज्ञ रिमालको भनाइ छ। “यसका लागि लामो समय एउटै वातावरणमा बालीलाई अध्ययन गर्नुपर्छ। त्यो अनुसन्धान गर्न सक्ने अवस्थामा हामी छैनौँ,” उनले भने।

यद्यपि, पछिल्लो समय मनसुनको चक्र फरक प्रकृतिको हुन थालेको छ। वर्षामा पानी नपर्ने र असोजतिर पर्ने भइरहको छ। यसले आकाशे पानीमा भरपर्ने किसानलाई मार परेको अनुसन्धान केन्द्रका अर्का कृषिविज्ञ डा. प्रदीप साह बताउँछन्।

आकाशे पानीको भर हुने ठाउँमा पानी नपर्दा एउटा बालीले अर्को बालीलाई असर गर्ने साहको भनाइ छ। उनका अनुसार, पछिल्लो समय गहुँ, तोरीको उत्पादन कम हुँदै गएको छ। उनी भन्छन्, “एउटा बाली समयमा भित्र्याउन नसक्दा अर्को बाली लगाउने समय घर्किन्छ। यसपटक मधेशमा एक बाली खेत बाँझै छाड्दिनुपर्ने अवस्था बन्दै छ।”