अब जेनजीले संविधानका धारा आफै पढ्न पर्छ, त्यसका कानूनी गाँठाहरूमा आफै घोत्लिनुपर्छ। राजनीति र कूटनीतिबाट भागेर होइन, त्यसमा होमिनुपर्छ। किनभने धेरै कुराको उत्तर च्याटजीपीटी र ग्रोकमा भेट्टाइँदैन।
जेनजी आन्दोलनले नेपाल तताएको अवस्थामा अनेक खालका एक्स्ट्रिम र र्याडिकल खालका आकलन, विचार, विमर्श सुन्न, हेर्न र देख्न पाइयो। टिकटकदेखि फेसबुक, इन्स्टाग्राम र रेडिटसँगै प्रायः किशोर किशोरीले प्रयोग गर्ने डिस्कोर्डबारे अन्य पुस्ताले थाहा पाए।
नेपालको हकमा केही ठूला आन्दोलन छोडेर, अनेकन् मुद्दामा एकाध वर्षमा भइरहने आन्दोलनहरूलाई खासगरी राजनीतिक/प्रशासनिक तप्काले सामान्यीकरण गर्ने गरेको भए पनि यसपालिको जेनजी आन्दोलनले भने सबैको मुटु कमाइदिएकोमा दुई मत छैन। सुरु भएको केही घण्टामै १९ जनाको ज्यान लिएको यो आन्दोलनमा हप्ता गुज्रिसक्दा पनि शवको गणना रोकिएको छैन। यो लेख लेख्दासम्म मृत्यु हुनेको संख्याले ७४ पार गरिसक्यो। ३० वर्ष नकटेका कलिला उमेर समूहले देशमा व्याप्त भ्रस्टाचारविरुद्ध छेडेको यो आन्दोलनले यस्तो त्रासदी निम्त्याउँला भनेर त यो आन्दोलनका सूत्रधार जेनजी आफैले पनि कल्पनासम्म पनि गरेका थिएनन्।
सिंहदरबार जलेको छ, प्रहरी कार्यालय, भाटभटेनी सुपरमार्केट, सर्वोच्च अदालतलगायत कतिपय जनप्रतिनिधि र नेताका घर जलेका छन्, जेनजीका शवहरूको गणनासँगै काठमाडौँमा सडक, संसद्सँगै देशका अनेकन् ठाउँका संरचना जलेका छन्। यी सबैका बाबजुद जेनजी शपथ खाएर कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई खबरदारी गर्दैछ। त्यससँगै हजारौँ व्यक्तिहरू जेनजीसँग डिस्कोर्डमा बसेर कसलाई मन्त्रीको बनाउने र आगामी बाटो कस्तो हुनपर्छ भन्नेबारे छलफल पनि गर्दैछ। हिजोका दिनमा समाचार हेर्न मन नपराउने पुस्ता आज समाचारका विषय भएका छन्, आफ्नो सामाजिक सञ्जालको पेजमा लाइक र भ्युज पनि बटुलिरहेका छन्, भाइरल भइरहेका छन्।
फास्टट्र्याकमा भएका यस्ता घटनालाई लिएर उनीहरूबारे प्रतिक्रिया जनाई हाल्नुभन्दा पहिले जेनजीको 'थट प्रोसेस' बुझ्न र उनीहरूबारे जिज्ञासु हुन जरुरी हुन जान्छ। नेपालको हकमा पेजर र मोबाइल फोनसँगै जन्मिएको यो पुस्ता प्रविधिको विकाससँगै हुर्किएको हो। हजुरबा/हजुरआमा पुस्ताले कल्पना पनि नगरेको, बाआमा पुस्तालाई प्रविधिको प्रयोग गर्न सिकाउने यो पुस्ता आज आइओएस र एन्ड्रोइड्को लेटेस्ट अपडेटेड टेक्नोलोजीमा दक्खल राख्छ। कोठैमा बसेर संसार घुम्छ, हत्केलामा अटाउने मोबाइलमार्फत आफ्नो कल्पनाको संसार प्रस्तुत गर्छ। कसैलाई ज्युज्यु गर्दैन, आफ्नो गरिखान्छ (सुतेरै बस्नेहरू थोरै होलान्)।
हुन त पछिल्लो चोटि यही पुस्तालाई लाई 'जेनजीज् आर बेड रटिङ' मिमसँग नजोडिएको पनि होइन, बेलाबेला यिनको व्यवहार हेर्दा त्यस्तै नदेखिएको पनि होइन। एक्लै, कोठामा बस्न मन पराउने, स्क्रिनसँग सजिलो मान्ने, मानिसहरूको भीडबाट टाढा बस्न रुचाउने, साथीहरू सामाजिक सञ्जालमा जोडिने तर भौतिक रूपमा धेरै साथी सर्कल बनाउन नसक्ने वा नचाहने, समूहमा काम गर्न नसक्ने, एक्लै काम गर्न रुचाउने हुँदा यो पुस्ता धेरै नै आउटसोर्सिङ र विशेषतः इन्टरनेटसँग जोडिएको काममा रमाएको पाइन्छ। यसो हुँदा, जेनजी धेरै बिदेसिनुको कारण पनि स्वतन्त्र बिचार अनि जीवनको चाहना पूर्तिको लागी होइन भनेर यकिनसाथ भन्न सकिन्न।
जेनजी कसरी यस्तो भयो भनेर विचार गर्ने हो भने कोभिड संक्रमण अगाडि र पछाडिको यो पुस्ताको जीवनशैलीलाई ननियाली धरै छैन। सन् २००६ को दोस्रो जनआन्दोलनले निर्माण गरेको प्रजातन्त्रको भाष्यसँगै २००८ को संविधानसभा निर्वाचनले दिएको परिणामबाट उब्जिएको राजनीतिक, सामाजिक, पारिवारिक, सांस्कृतिक, वैचारिक, वैयक्तिक, भौगोलिक, आर्थिक र सञ्चारजस्ता क्षेत्रमा आएको तीव्र तर मौन परिवर्तनको मुख्य साक्षी र भागिदार दुवै कलिलैमा बन्न पुगेको थियो यो पुस्ता। दुःखले पाएको प्रजातन्त्र र १२ बुँदे सहमतिपछि विश्राम लिएको माओवादी द्वन्द्वपश्चात् नेपाल बल्लतल्ल सास फेर्दै थियो।
लचिलो आर्थिक नीति र उदारीकरणसँगै नेपाल पनि विश्वसँगै तीव्र गतिमा प्रविधिमा भइरहेको विकासलाई पछ्याउँदै अगाडि बढ्दै थियो तर जेन एक्स र वाइ भन्दा जेनजी पुस्ता प्रविधि पछ्याउने क्रममा सबैभन्दा अगाडि रह्यो। जिज्ञासु उमेर र प्रविधिको पहुँच अनि सामाजिक र पारिवारिक संरचनामा आएको परिवर्तनले तिनमा जिज्ञासुपन बढाएको हुनसक्छ। यता, राजनीतिक तप्का भने भर्खर खेल्न सुरु गरेको 'म्युजिकअल चेएर' छोड्न चाहेन, लोभी देखियो। उल्टै नयाँ सोच र नयाँ परिवेशमा हुर्किँदै गरेको यो पुस्तालाई पनि अघिल्ला पुस्तासरह आफ्ना अनुयायीहरूझैँ ठान्दै त्यसअनुसार व्यवहार गर्दै गयो। त्यस्तो अभ्यास समय अनुरूप कदापि थिएन।
सूचना-प्रविधिको विकाससँगै च्याउझैँ उम्रिएका सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा घण्टौँ बिताउने जेनजी भने विकसित देशहरूका गर्बिलो र चमचमाउँदो जीवनशैली मात्र नियाली रहेको थिएन, नेपाल र ती देशबीचका भिन्नता पनि खुट्ट्याइरहेको थियो। हामी कसरी पछाडि पर्यौँ, किन हेपिन्छौँ? हाम्रो पासपोर्ट किन कमजोर भएजस्ता प्रश्नहरू तिनका मनमा आइरहे र सामाजिक सञ्जाल ती प्रश्नहरू गर्ने थलोको रूपमा प्रयोग हुँदैगयो। यसैबीच, विश्वले अप्रत्याशित रूपमा कोभिड १९ महामारी भोग्नुपर्यो। आफ्नै परिवार, साथीभाइ र इष्टमित्रसँग जबरजस्ती अलग्गिनुपरेको यो पुस्ताले कोभिडको चौथो भेरियन्ट-ओमिकर्न पार लगाइसक्दा लगभग झन्डै चार वर्ष, जेनजी एक्लै स्क्रिन र सामाजिक सञ्जालको साथमा हुर्किन पुगेको कुरा कसैले पनि बिर्सिन हुँदैन।
कोभिडले विश्वको आर्थिक, सामाजिक, पारिवारिक अनि वैयक्तिक संरचनामा असाध्यै छोटो समयमा लिएर आएको परिवर्तनबाट नेपाल पनि अछुतो रहन सक्ने भएन। विशेषतः एक्स र वाई पुस्ता यो परिवर्तनको लागि बाध्यकारी भयो भने पछ्याउँदै आएको जी पुस्ताले यो परिवर्तनलाई छिट्टै आत्मसात् मात्र गरेन, यो परिवर्तनको बाहक पनि अनजानमै बन्न पुग्यो। सामाजिक र आर्थिक अनि पारिवारिक परिप्रेक्ष्यमा यति ठुलो परिवर्तन हुँदा पनि नेपालका विद्वत वर्ग र राजनीतिमा रजगज गर्ने समूह यसप्रति अलिकति पनि गम्भीर देखिएनन्। उल्टै, एक्स र वाई पुस्तालाई झैँ जेनजीलाई पनि आफ्नो स्वार्थको हतियार बनाइरहन चाहे।
बेवास्ता गरिएको तर कोठाबाट संसार हेरिरहेको जेनजी, आफ्नो उमेर समुदाय तथा परिवारका सदस्यले अस्थायी वा स्थायी रूपमा विदेश पुगेर त्यहाँका विकासक्रम, राज्य व्यवस्था, जनताले पाउने सुविधा, शिक्षा, स्वास्थ्य, पोषण, बिलासी जीवनशैली सामाजिक सञ्जालमा पोस्ट्याइरहँदा आफू भने आफ्नो देशको भ्रष्टाचार र व्यक्तिवादी राजनीतिबाट वाक्कदिक्क र निराश हुँदै भित्रभित्रै कुण्ठित हुँदै थियो। म्युजिकल चेयरमा रमाइरहेका नेता अनि राज्यप्रति आफ्नो आक्रोश र वितृष्णा हुर्काउँदै थियो।
ताजुब त के छ भने सन् २०२२ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू बालेन्द्र शाहको जीत र राष्ट्रिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र प्राप्त भारी जनमतलाई पनि पुराना राजनीतिक पार्टीहरूले गम्भीरतापूर्वक लिएनन्, न कुनै नेताले नै जनताको मत विषेशगरी युवा वर्गको सोचमा देखा परेको, परिवर्तनको चाहनालाई बुझ्ने कोसिससम्म गरे। उल्टै, सत्तालिप्त भएर आलोपालो कुर्सीको लागि कहिल्यै नटुंगिने म्युजिकल चेयर खेलिरहे। आफ्ना आसेपासेसँग मिलेर काण्डमाथि काण्ड मच्चाइरहे। जनताको आवाजलाई कहीँ कतै वास्ता गरेनन्। यो सबैलाई सामाजिक सञ्जालको माध्यमबाट युवा वर्गले हेरिरह्यो, यसप्रति व्यंग्य गरिरह्यो, खबरदारी गरिरह्यो। पुराना दलका आशा गरिएका नेतालाई सोधिरह्यो, तर जवाफ नपाउँदा भित्रभित्रै निराश पनि भइरह्यो। त्यही निराशा र आक्रोश यसपालि उनीहरूले प्रदर्शनमा बोकेका प्लेकार्ड र लगाएका नाराहरूमा छर्लंग हुन्छ।
यो निराशा विशेषतः काठमाडौँमा मात्र सीमित थिएन, नेपालमा केही हुँदैन भनेर विदेशमा 'भाँडा हान्न' गएका, छिट्टै पैसा कमाएर घर ठड्याउने आशामा मरुभूमिमा उँट चराउने युवा वा 'डंकी ट्रेल' हुँदै लाखौँ खर्चिएर अमेरिकन सपना देख्ने युवालगायत सबैले सामाजिक सञ्जालमा, पोखिरहेका थिए। तर नेता र तिनका सन्तानका रवाफिलो जीवनशैली, आसेपासेको उद्दण्डता, आफ्ना पोस्ने विकसित संस्कारले हरेक दिन त्रिभुवन विमानस्थलमा देश छोड्नेको भीड बढेकै थियो। सरकार भने नीतिगत र व्यवहारिक तहमा जनताको इच्छा अनुसारको कुनै काम नगरी बरु सामाजिक सञ्जालमा उठाइएका विषयहरूलाई बन्द गर्न सरकार उल्टै उद्धत भयो। भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने तयारी गरिरहेका जेनजीको आवाजलाई सम्बोधन गर्नुपर्ने अवस्थामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आन्दोलनको आगोमा घिउ थप्ने काम भयो, आखिरमा भाद्र २४ को कहिल्यै खाटा नबस्ने घाउ नेपालले पायो, दर्जन हाराहारी युवाले शहादत प्राप्त गरे, काठमाडौँ लगायत नेपाल भरि नै आगजनी भयो।
जेनजीको मनोविज्ञानको कुरासँगै यसको अर्को प्रकृति हामीले भुल्नहुँदैन। यो पुस्ता इन्टरनेटको विकाससँगै हुर्कियो, जतिजति प्रविधिको विकास हुन्छ त्यति नै आफूलाई पनि परिमार्जन गर्दै जानुपर्ने बाध्यता यसलाई थियो र रहने नै छ। कुनै समय मल्टिप्लेयर कन्सोलमा गेम खेल्ने यो पुस्ता अहिले रोब्ल्क्समा आफ्नो रुचिको गेम आफै बनाउँछ, पब्लिस गर्छ र मनिटाइज पनि गर्छ। सूचना प्रविधिमा भर्खरै उदाएर तीव्र गतिमा विकास हुँदै गरेको आर्टिफिसियल इन्टेलिजेन्सले यसलाई अझ रफ्तार दिएको छ। त्यसो हुँदा यो पुस्ता हतारमा छ। यसले आफू ओभरराइड हुनुको अर्थ बुझेको छ, त्यसको गाम्भीर्यता बुझेको छ। आएका अवसरलाई पक्रन (क्याँस गर्न) जानेको छ। तर धेरै युवामा रील र सर्ट्सको डुम्स्क्रोलिङ्ले गर्ने ऐड्क्टिभ नेचरले धेरैको धैर्य असाध्यै झीनो पार्न सक्ने सम्भावना नकार्न सकिन्न। इन्टेरनेटमा तुरुन्त उत्तर पाइने आचरण दीर्घकालीन बानीमै विकास हुँदै जाँदा बिस्तारै त्यो बाध्यतामा परिणत नगर्ला भन्न सकिन्न। त्योचाहिँ खतरा पनि हो।
अहिले जेनजीले रातारात विकास र परिवर्तन खोजेको छ। संक्रमणकालको नाममा लामो समय विकासको गति धिमा गराएको, देखेको जेनजी हतारिनु अनौठो भने होइन। तर के पनि बिर्सनु हुन्न भने नेपालको संविधान, जनशक्ति, भौगोलिक स्ंरचना जेनजीको रफ्तारमा दौडिन सक्ने हैसियत राख्दैन। यसलाई दौडाउन, जेनजी आफै लाग्नपर्छ। अबको दिन जेनजीले संविधानका धारा आफै पढ्न पर्छ, त्यसका कानुनी गाँठाहरूमा आफै घोत्लिनुपर्छ। राजनीति र कूटनीतिबाट भागेर होइन, त्यसमा होमिनुपर्छ। किनभने धेरै कुराको उत्तर च्याटजीपीटी र ग्रोक्मा भेट्टाइँदैन। कर्मचारीतन्त्रका खोक्रा तन्तुहरूलाई फालेर आफ्नो गतिमा हिँड्ने सारथि बनाउनुपर्छ। यो सबै सम्भव छ, तर यो सबै प्राप्त गर्न जेनजी अध्ययनशील हुनपर्छ, रिस्कटेकर हुनैपर्छ। यो हुन सकेन भने अबको कुनै जेनेरेसनले शायदै फेरि परिवर्तनको बिगुल फुक्ला, देश निर्माणमा जुट्ने आँट गर्ला।
यो सबै विचार गर्दा जेनजीको उमेर समूहलाई बिर्सन पक्कै हुँदैन। उमेरले कच्चा भए पनि यो अदम्य आँटको लागी उनीहरूलाई सलाम गर्नैपर्छ। उमेरले अस्ताएको घाम भएका वा मस्तको उमेरका, वर्षौं राजनीतिको पकड राखेका नेताहरूले नलिएको आँट जेनजीले आफ्नो काँधमा स्वस्फूर्त लिएको हो। यो उनीहरूको रहर थिएन, बाध्यता हुन पुगेको हो। यो बाध्यता निर्वाह गर्न ठुलो साहस र मानसिक शक्ति चाहिन्छ। आफूसँगै नारा लाउँदै गर्दा ढलेका साथीहरूको शव उठाउँदा जेनजीको कलिलो मन कति चुँडियो होला? रक्ताम्य साथीको शरीर बोकेर अस्पताल दौडाउँदा कठोर पार्नु परेको मन अहिले कस्तो छ होला? घरको स्क्रिनमा नाराजुलुश लाइभ हेर्दैगर्दा, 'ला मैले त देशको लागि केही गर्न सकिनँ भन्ने गिल्टले त्यो मन कति पोल्यो होला? जेनजीले नगरेको आगजनीमा आफू जबरजस्ती जोडिएको पाउँदा मन कति चिसियो होला? अब के होला, के हुन्छ होला र कसरी गर्नेजस्ता अप्रत्याशित आएका प्रश्नहरूको जवाफ नपाउँदा चिसिएको मनको उपचार के त?
देशलाई नयाँ बाटोतिर सकिनसकि, जानि-नजानि, भुल होलाकि भनेर हातखुट्टा कमाउँदै, डिस्कोर्डमा घण्टौँ भोकै विभिन्न कन्स्पिरेन्सी थ्योरीलाई चिर्दै गर्दाको पीडा जेनजीबाहेक अरूले बुझ्न सक्दैन। यो अवस्थामा धेरै जेनजीलाई मानसिक सुस्वास्थ्य कायम राख्न सघाउन जरुरी छ। जेनजी र यो आन्दोलनबाट कुनै न कुनै रूपमा मानसिक सुस्वास्थ्यमा असर परेको महशुस भएका सबैले आफ्नो ध्यान राख्न जरुरी छ।
आन्दोलनका घाइते अझै अस्पतालमै छन्, देशलाई अझै आफ्नो लयमा फर्कन समय लाग्ने छ। के युवा, के वृद्ध, के बालक सबैलाई यो समय सजिलो छैन। त्यसैले यो अप्ठ्यारो परिस्थितिमा, आफूलाई आवश्यक परेको सहयोग लिन हिचकिचाउन हुँदैन। आवश्यक सहयोग जुटाउनुपर्छ, जुटेको सहयोगको प्रयोग पनि गर्नुपर्छ। जेनजीलाई यो सहयोगको सबैभन्दा जरुरी देखिएको छ। यो याद राख्नुपर्छ कि स्वस्थ मनले मात्र स्वस्थ शरीर धारण गर्न सक्छ। मानसिक स्वास्थ्यलाई खेलाँची नगरौँ, भोलिको दिनमा हामी कसैले पनि कुनै किसिमको मानसिक क्षति बेहोर्ने दिन देख्न नपरोस्, देशले छिट्टै निकास पाओस्।
(लेखक साइकोथेरापिस्टका रूपमा 'काउन्सिलिङ साइकोलोजी नेपाल'सँग आबद्ध छिन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
