विशेष महाधिवेशनले पुरानै अनुहार ल्याउँछ

२०७३ सालयता कांग्रेसका सम्पूर्ण भातृसंस्थाका नियमित महाधिवेशन हुन पाएका छैनन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाएको छ।

कुशासनविरुद्ध र सुशासनका पक्षमा थियो जेन–जी आन्दोलन, भलै आन्दोलनको दोस्रो दिन घुसपैठ भयो। राष्ट्रिय सम्पत्तिको समेत नास गरियो। सुशासन 'डेलिभरी' गर्न नसक्नुको जिम्मेवारी वर्तमान कांग्रेसले लिँदै वडादेखि केन्द्रसम्मको नेतृत्वले बिदा लिनुपर्छ। जेन–जी आन्दोलनले केन्द्रमा ओली, देउवा र प्रचण्डको विकल्प खोजेको छ भने वडाका ओली, देउवा र प्रचण्डचाहिँ बसिरहने भन्ने हुँदैन। 'टप टु बटम' र 'बटम टु टप' नै परिवर्तनको माग हो अहिलेको। र, समूल परिवर्तन कांग्रेसको नियमित महाधिवेशनले मात्रै गर्न सक्छ।

संघीय संसद्को घोषित निर्वाचन (आउँदो फाल्गुण २१) अघि नै कांग्रेसको नियमित अधिवेशन (१५औँ महाधिवेशन) गर्नुपर्छ। पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व चुनेर कांग्रेस चुनावमा हेलिनुपर्छ। अतः यतिखेर विशेष महाधिवेशनको माग अनुचित छ। विशेष महाधिवेशन भयो भने त्यसले पुरानै नेतृत्व कायम राख्ने खतरा छ। कांग्रेसभित्रको विशेष महाधिवेशनको माग गर्नेहरूले महाधिवेशन नै टार्न खोजिरहेका छन्।

हामीले कांग्रेस नेतृत्वको आलोचना गर्दैगर्दा त्यसमा सभापति शेरबहादुर देउवादेखि सबैभन्दा कम उमेरको केन्द्रीय सदस्यसमेत पर्छन्। उनीहरूले कांग्रेसभित्रको जेन–जीलाई संगठित र सक्रिय राख्नुपर्नेमा त्यसलाई बिथोले। कांग्रेसभित्रका जेन–जीलाई सक्रिय राख्ने मूल संस्था यसको विद्यार्थी संगठन–नेपाल विद्यार्थी संघ (नेविसंघ) हो। तर यस विद्यार्थी संगठनमा नयाँ विद्यार्थीहरू आउने बाटो बन्द गर्‍यो कांग्रेसको वर्तमान नेतृत्वले। संगठनहरूलाई तदर्थवादमा लगियो।

पार्टीभित्रका जेन–जीलाई बन्धक बनाउने काम गर्‍यो अध्यक्ष र महामन्त्रीलगायत सिंगो कांग्रेस नेतृत्वले। यदि समयमै नेविसंघको नियमित महाधिवेशन भएको थियो, विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचन दुई दुई वर्षमा भइरहेका थिए भने आज ३० प्रतिशत जेन–जीलाई नेविसंघले समेटिरहेको हुने थियो। त्यस्तो अवस्थामा जेन–जी खोज्न बाहिर सडकतिर निस्कनै पर्दैनथ्यो। आफ्ना जेन–जीलाई नेतृत्वमा आउन रोक्ने, बन्धक बनाई पार्टीलाई झोलेकरण गर्ने, अनि सडकतिर उफ्रनेलाई चाहिँ अहिले आएर जेन–जी देख्ने? यस्तै अभ्यासले पार्टी कमजोर भएको हो।

आन्तरिक लोकतन्त्र सखाप पार्‍यो चौधौँ महाधिवेशनबाट आएको कांग्रेस नेतृत्वले। यहाँनिर ख्याल राख्नुपर्ने कुरा छ कि नेतृत्व भन्नेबित्तिकै शेरबहादुर देउवामात्रै होइनन्। अहिले आफूलाई युवा नेतृत्व भन्दै दाबी गर्ने कतिपय कांग्रेसी नेताको उमेर समूह र तिनको नेतृत्व क्षमताले पनि ती युवा छैनन्। अनुहार र उमेरका आधारमा मात्रै युवा ठान्ने गल्ती गर्नुहुँदैन।

सिंग्रो कांग्रेस नेतृत्वको अकर्मण्यताको कारण आजको दुष्परिणाम आएको हो। र, अब आउने निर्वाचनमा पहिले अवसर पाएका र परिचित अनुहारहरू नै दोहोरिए फेरि उही गोलचक्करमा पुग्नेछौँ हामी। नयाँ, इमानदार, सदाचारी, वैचारिक रूपमा प्रस्ट, मेहनती र राजनीतिक अनुहारले अब कांग्रेसमा अवसर पाउनुपर्छ। 

कतिपय साथीहरू विशेष महाधिवेशनको कुरा गरिरहनुभएको छ, त्यसले त झनै हामी प्रतिगमनतर्फ जान्छौँ। त्यसका कारणहरू छन्। विशेष महाधिवेशनको भनेको आकस्मिक महाधिवेशन हो। चौधौँ महाधिवेशनबाटै आएका महाधिवेशन प्रतिनिधिहरूले त्यसमा नयाँ नेतृत्व छान्नुपर्नेछ। र, त्यसबाट जितेर आउने नेतृत्व त फेरि पनि पुरानै ठहरिनेछ। 

पुरानै महाधिवेशन प्रतिनिधिहरूले चुन्ने अनुहार कसरी नयाँ हुनसक्छ? यो त झनै गलत हुनेछ। त्यसो हुँदा वडादेखि केन्द्रसम्म नै नयाँ अधिवेशन हुँदै आउनुपर्छ। संघीय संसद्को चुनावअघि नै कांग्रेसमा नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व ल्याउन सम्भव छ। नयाँ ऊर्जा सहितको नेतृत्वले मुलुकलाई नयाँ गति दिन सम्भव छ। 

त्यसो भए विशेष महाधिवेशनको हतारो किन गरेका त कांग्रेसभित्रका केही 'आशालाग्दा अनुहार'ले भनेर पनि कांग्रेसीजनलाई प्रश्न सोधिन्छ। यस प्रश्नमा हामी यत्ति नै भन्न सक्छौँ कि नेतृत्वमा पुग्ने हतारोले उनीहरू विशेष महाधिवेशन मागिरहेका छन्। समय हुन्जेल काम नगर्ने र समय घर्केपछिको स्टन्टबाजी हो मात्रै हो यो। यो हतारोले सही नेतृत्व चुन्न र बन्न सक्दैन। पुरानो प्रतिनिधिबाट नयाँ नेतृत्व आउँदैन। अक्षम भनिएका/ठहरिएका अहिलेकै नेता आउनेछन्। एउटै ल्याबमा उही 'स्वाब' परीक्षण गरिरहँदा फरक परिणाम आउने कल्पना गर्न सकिँदैन।

कतिपयले यति छोटो अवधिमा, दबाबका बीच नियमित महाधिवेशन गर्न सकिन्छ त भनेर प्रश्न गर्छन्। सक्रिय भएर लाग्दा यो काम एक या डेढ महिनामा सहजै सम्पन्न गर्न सकिन्छ। तर त्यसका लागि कांग्रेसीजनमा इच्छाशक्ति चाहिँ चाहियो। केन्द्रीय कार्यसमितिको बैठकले यस कुरालाई अनुमोदन गरेर छिट्टै लैजाने भयो भने नियमित महाधिवेशन गर्न सक्छौँ हामी।

यसो किन पनि गर्नुपर्छ भने आउँदो मंसिरमा कांग्रेसका सबै 'संरचनाहरूको म्याद' सकिन्छ। विशेष महाधिवेशन भन्दै फेरि 'बाधा अड्काउ'अन्तर्गत कांग्रेसको कार्यसमिति डेढ वर्ष तन्काउने त्रास रहन्छ। त्यसैले नियमित महाधिवेशन कांग्रेसलाई पुनर्ताजगी गराउने एउटा अवसर हो। 

के भुल्नुहुँदैन भने २०७३ यता कांग्रेसभित्रका सम्पूर्ण भातृसंस्थाहरूका नियमित अधिवेशनहरू हुन पाएका छैनन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाएको छ। नयाँ आउने सबै ढोका बन्द बनाइएपछि युवाहरू कता जान्छन्? तिनले आफ्नो भूमिका खोज्दैनन्? अतः काबिल नेतृत्वलाई रोक्ने र छेक्ने काम गरेर वर्तमान कांग्रेस नेतृत्वले अहिलेको विद्रोहको आधार भूमिसमेत तयार पारिदियो। 

आवधिक निर्वाचनसमेत नगराउने पार्टी नेतृत्व पनि लोकतन्त्रवादी हुनसक्छ? यस्तो पनि हुन्छ, देशको सबैभन्दा पुरानो र ठूलो 'लोकतान्त्रिक दल'भित्रको लोकतन्त्र? स्मरणीय छ, १४औँबाट चुनिएर आएको कांग्रेस केन्द्रीय कार्यसमितिको कुनै पनि बैठकमा भातृसंगठनको अधिवेशन गर्नेबारे कसैले प्रस्तावसमेत लगेनन्। पुरानैलाई समय थप्दै प्रतिगमनकारी अभ्यास भयो। 

त्यससँगै, २०७९ को निर्वाचनमा पहिलो पार्टी भएर पनि यस दलले अरू दोस्रो, तेस्रो र चौथो दललाई बोकेर हिँड्ने मात्र काम गर्‍यो। अभिभावक र नेतृत्व बन्नुपर्ने कांग्रेस पार्टी एमाले र माओवादीको भरिया बन्यो। रथ हाँक्दै गर्दा घोडाले भीरबाट गुल्टाइदिँदै छ भन्ने ख्याल गर्न सकेन। आँगनैमा विध्वंस हुन लाग्दासमेत त्यसको अनुमान गर्न सकेन। 

यी सबैको बेथितिको कारण १४ औँ महाधिवेशनले चुनेको सिंगो नेतृत्व हो, केबल शेरबहादुर देउवामात्रै होइनन्। विधान मिचेर नेविसंघमा ८५० सदस्यको बनाउँदा बनाउँदा चुप लागेको नेतृत्व यही हो। १०० जनाको कोटा भएको तरुण दलमा ४०० जना बनाइँदा मौन बस्ने यिनै हुन्। यति धेरै बेथितिमा सभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूबीच कतै पनि फरक मत थिएन। यसरी नयाँ पुस्तालाई रोक्ने काममा यी सबैको मत मिलेको थियो र छ। अहिले कोही अघि सरेर क्रान्तिकारी बन्दैमा तिनलाई हामीले पत्याउनुपर्छ भन्ने छैन।

आज जनता के चाहन्छन् भन्ने कुराको निर्णय १४ ‍औँ महाधविशेनका लागि चुनिएका प्रतिनिधिहरूले गर्न सक्दैनन्। नियमित महाधिवेशन हुन सक्दा देशभरका कार्यकर्ता परिचालित हुने र त्यसबाट नयाँ प्रतिनिधि आउने हुँदा त्यो नै ताजा हुन्छ। त्यसो हुँदा कांग्रेसलाई पुनर्जीवन दिने एउटै उपाय हो–नियमित अधिवेशन। 

(दाहाल कांग्रेसको १४ औँ महाधविशेनका प्रतिनिधि हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)