घुमिफिरी पुबुदुः पहिले नेपालका उद्धारक, अहिले बाधक!

यो कथा नेपाली क्रिकेटको मात्र होइन, पुबुदु दासानायकेको मात्र पनि होइन र अमेरिकी क्रिकेटको मात्र त हुँदै होइन। तर यी तीनै पक्षको कथा हो, जसलाई पुबुदुले नै जोडेका छन्।

काठमाडौँ– नेपालले ठीक एक वर्षअघि लिग–२ अन्तर्गतकै श्रृंखलामा अमेरिका भ्रमण गरेको थियो। त्यस बेला नेपालका प्रतिद्वन्द्वी अमेरिका र स्कटल्यान्ड थिए। नेपाली टोलीको प्रशिक्षक मोन्टी देशाई थिए भने, मेन्टरमा अमेरिकाकै स्थानीय र फ्रेन्चाइजी टिमलाई प्रशिक्षण दिइरहेका पुबुदु दासानायके नियुक्त भएका थिए।

त्यस बेला दासानायकेबाट नेपालले फाइदा उठाउन सकेको भए अहिले लिग–२ को अंक तालिकामा नेपाल र अमेरिकाको स्थान फरक हुनसक्थ्यो। तर नेपाल अमेरिकासँगका दुवै खेलमा पराजित भयो। अहिले तिनै पुबुदु अमेरिकाको मुख्य प्रशिक्षक भएर दुबई पुगेका छन्।

नेपाली क्रिकेटमा कुनै बेला पुबुदु ‘हिरो’ थिए। नेपाललाई पहिलो पटक टी२० विश्वकपमा पुर्‍याएर उनले इतिहासमा नाम लेखाएका छन्। नेपालका लागि ओडीआई मान्यताको जग बसाइदिने पनि उनै थिए। 

अहिले पुबुदु मुख्य प्रशिक्षक रहेको त्यही अमेरिका लिग–२ मा नेपालको एउटा प्रतिद्वन्द्वी छ। उनी पछिल्लो समय लयमा रहेको अमेरिकी टोली सम्हाल्न दोस्रो पटक त्यहाँ पुगेका हुन्।

अमेरिकाले सन् २०२५ मा खेलेका लिग–२ का आठमध्ये ६ ओडीआईमा जित हासिल गरेको छ। पुबुदु गत वैशाखमा मुख्य प्रशिक्षक नियुक्त भएयता भने अमेरिकाले लिग–२ को एउटा मात्र श्रृंखला खेलेको छ, जसमा चारमध्ये तीन खेल जितेको छ।

त्यही बलियो अमेरिकासँग नेपाल कात्तिक ९ गतेदेखि यूएईमा हुने लिग–२ अन्तर्गत आफ्नो पाचौँ त्रिकोणात्मक श्रृंखलाको पहिलो खेल खेल्दैछ। लिग–२ को यो सिजनमा अमेरिका २० खेलमा २८ अंक बटुलेर दोस्रो स्थानमा छ। नेपाल भने १६ खेलबाट १२ अंक बटुलेर आठ देश सम्मिलित प्रतियोगिताको सातौँ स्थानमा छ।

null

नेपाललाई ओडीआई स्टेटस जोगाउन अबका हरेक खेल महत्त्वपूर्ण छन्। यही प्रतियोगिताबाट ओडीआई स्टेटस जोगाउँदै विश्वकप क्रिकेट २०२७ को छनोट प्रतियोगितामा पुग्न अंक तालिकाको कम्तीमा चौँथो स्थानमा पुग्नुपर्छ। अन्यथा ‘प्लेअफ’तर्फ धकेलिनुपर्छ, जहाँ शीर्ष चारमा नपर्दा ओडीआई मान्यता गुम्छ। गत सिजन यही प्रक्रियाबाट पपुवा न्यु गिनीले ओडीआई मान्यता गुमाएको थियो।

अमेरिका भने अहिलेसम्म सुविधाजनक स्थानमा छ। अमेरिकाभन्दा माथि अंक तालिकामा स्कटल्यान्ड मात्र छ। चार खेल बढी खेलेको ऊ अमेरिकाभन्दा २ अंक मात्र अघि छ।

सफल पुबुदु, असफल पुबुदु
पुबुदु दासानायके सन् २०११ मा पहिलोपटक मुख्य प्रशिक्षक भएर नेपाली क्रिकेट टोली सम्हाल्न आइपुगेका थिए। त्यसको अघिल्लो वर्ष डिभिजन–५ जित्दै नेपाल डिभिजन–४ मा बढुवा भएको थियो।

उनी आएको अर्को वर्ष, सन् २०१२ मा नै नेपाल डिभिजन–४ को उपाधि जितेर डिभिजन–३ मा बढुवा भयो। उनले त्यस बेला सुवास खकुरेल र अनिल मण्डललाई ओपनिङ जोडीका रूपमा प्रयोग गरेका थिए। दुवैले प्रतियोगितामा एक–एक शतक बनाएका थिए। खकुरेलले बनाएको शतक अमेरिकाविरुद्ध नै थियो। उनले १४२ खेल्दै ११५ रन बनाएका थिए।

नेपालले डिभिजन–४ को उपाधि जित्ने क्रममा सबै ६ खेल जितेको थियो। त्यसपछि, सन् २०१३ मा भएको डिभिजन–३ को उपाधि पनि जितेर नेपाल २०१४ मा बर्मुडामा भएको एक दिवसीय विश्वकपको छनोटसम्म पुगेको थियो। सन् २०१४ मा पनि नेपाल डिभिजन–३ को उपाधि जितेपछि डिभिजन–२ मा बढुवा भयो। त्यस प्रतियोगितामा ज्ञानेन्द्र मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए।

पुबुदुले नै सन् २०१३ मा यूएईमा भएको टी२० विश्वकप छनोट पार लगाएर नेपाललाई सन् २०१४ को विश्वकपमा पुर्‍याएका थिए। त्यस विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदा बांग्लादेशसँग पराजित भएको थियो। उक्त विश्वकप खेलेका सोमपाल कामी अझै पनि नेपाली टिममा छन् र आइतबार अमेरिकाविरुद्ध उत्रिँदै छन्।

यी सबै सफलतामा नेपाली टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल थिए। अहिले मल्ल नेपाली टोलीको सहायक प्रशिक्षक भएर दुबई पुगेका छन्।

null

‘स्टार’ लेग स्पिनर सन्दीप लामिछानेलाई पहिचान गर्ने र मौका दिने पनि पुबुदु नै थिए। सन् २०१४ मा सन्दीप भरतपुरस्थित राजु खड्काको एकेडेमीमा क्रिकेट सिक्थे। तत्कालीन प्रशिक्षक पुबुदु र कप्तान पारस खड्का एकेडेमी भ्रमणमा पुगेका थिए। त्यस बेला पुबुदुले सन्दीपलाई नेटमा बलिङ गर्न लगाए। उनको बलिङ देखेपछि १४ वर्षका सन्दीपलाई सिधै यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएका थिए।

तर यू–१९ राष्ट्रिय टीममा सन्दीपको डेब्यु भने पुबुदु फर्किएपछि मात्र सम्भव भएको थियो। उनले बांग्लादेशमा सन् २०१६ मा भएको यू–१९ विश्वकपमा मौका पाउँदा सनसनी मच्चाए। नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गर्दा सन्दीपले ह्याट्रिक विकेट लिएका थिए। ‘म्यान अफ द म्याच’ भएका उनले २७ रन दिएर ५ विकेट पनि लिएका थिए। सन्दीप पनि अमेरिकाविरुद्ध आइतबार खेल्ने नेपाली टोलीमा छन्।

ओपनिङमा नै कमजोर रहेको र मध्यक्रम पनि भरपर्दो नभएको त्यस बेलाको नेपाली टोलीको मनोबल उकास्न पुबुदु सफल भएका थिए। तर नेपाल क्रिकेट संघ (क्यान)भित्रको किचलोका कारण उनी सन् २०१५ मा राजीनामा दिएर क्यानडा फर्किए। यद्यपि, उनले व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका थिए।

त्यस बेला क्यान र खेलाडीबीचको विवाद उत्कर्षमा पुगिसकेको थियो। विश्वकप खेलेर बांग्लादेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै कप्तान पारसले क्यान‍विरुद्ध विद्रोह गर्ने चेतावनी दिएका थिए। किनभने, बिनापारिश्रमिक खेलिरहेका नेपाली खेलाडी असन्तुष्ट थिए।

null

क्यान पुनर्संरचना र सुविधा माग गर्दै खेलाडीले राष्ट्रिय लिग नै बहिष्कार गरे। त्यति मात्र नभई, क्यान पदाधिकारीविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरीसमेत पर्‍यो। यी सबै लफडाबीच पुबुदु बाहिरिएका थिए। उनी बाहिरिएको एक वर्षपछि सन् २०१६ मा क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले निलम्बन गरेको थियो।

पुबुदुले नेपाली टोली छाडेको ६ वर्षपछि उनी पुनः नेपालको राष्ट्रिय टोली सम्हाल्न फर्किए। त्यस बेला नेपाली टोलीको स्तर धेरै परिवर्तन भइसकेको थियो।

क्यान निलम्बनमै हुँदा नेपालले सन् २०१८ मा ओडीआई स्टेटस पाइसकेको थियो। यसबीच नेपालमा क्रिकेट प्रशिक्षक आउने र जाने क्रम चलिरह्यो। धेरै समय नेपालकै जगत टमाटा प्रशिक्षक भए। छोटो समय उमेश पटुवाल र डेभिड ह्वाटमोरले पनि नेपाली राष्ट्रिय टोली सम्हाले। त्यहीबीच सन् २०२१ मा पुबुदु फर्किए।

त्यस बेला नेपाल लिग–२ को पहिलो सिजन खेल्दै थियो। सात देश सम्मिलित उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेर ओडीआई मान्यता जोगाउने दबाबमा थियो।

तर उनी फर्किंदा नेपाली क्रिकेट सहज अवस्थामा थिएन। खेलाडी र क्यानबीच विवाद थियो। क्यानले अनुशासनको कारबाही गर्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएको थियो। सन्दीप लामिछाने नयाँ कप्तान छानिएका थिए। तर खेलाडीबीच नै गुटगत द्वन्द्व थियो।

यी सबै समस्या समाधान गर्ने चुनौतीलाई पुबुदुले पार लगाउन सकेनन्। उनी प्रशिक्षक भएको आठ महिनामा खेलिएका १४ मध्ये ९ वटा ओडीआईमा नेपाल पराजित भयो। एक खेल बराबरीमा टुंगिएको थियो। टी२० मा भने १३ खेलमा १० जित हासिल गरेको थियो। 

तर ओडीआई मान्यता जोगाउने दबाबबीच उनी प्रशिक्षक भएर खेलिएका लिग–२ का अन्तिम चार खेलमध्ये तीन वटामा नेपाल पराजित भयो। त्यो श्रृंखला स्कटल्यान्ड र अमेरिकाविरुद्धकै थिए। त्यसपछि उनी राजीनामा दिएर हिँडे।

नेपालमा राजीनामा दिएकै दिन उनी क्यानडाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भए। उनले क्यानडालाई सन् २०२४ को टि२० विश्वकप क्रिकेटसम्म पुर्‍याएका थिए। नेपाल पनि उक्त विश्वकपमा छनोट भएको थियो।

null

तर विश्वकपको ठीकअगाडि क्यानडाले उनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो। खेलाडी छनोटमा क्यानडाको क्रिकेट बोर्डसँग विवाद भएपछि उनी बर्खास्तीमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका थिए। यद्यपि, विश्वकपसम्म क्यानडाले उनलाई नै मुख्य प्रशिक्षकको निरन्तरता दिएको थियो। सन् २०११ मा नेपाल आउनुअघि पनि उनी चार वर्ष क्यानडाको प्रशिक्षक थिए।

दोस्रो कार्यकालयमा क्यानडाबाट निकालिएपछि पुबुदु फेरि नेपालसँग जोडिए। सन् २०२४ मा उनी मुख्य प्रशिक्षक नभई ‘मेन्टर’का रूपमा नेपाली क्रिकेट टिमको हिस्सा बने।

उनी अमेरिकाका फ्रेन्चाइज तथा राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीको प्रशिक्षक बनेर बसिरहेका थिए। २०२४ अक्टोबर २७ देखि नोभेम्बर ४ सम्म नेपाल लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डविरुद्ध अमेरिकामै खेल्दै थियो। त्यसका लागि मेन्टर बनाइएका पुबुदुबाट नेपालले कुनै फाइदा उठाउन सकेन। अमेरिकासँग दुवै खेल हारेको नेपाल स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल विजयी हुँदा अर्को खेल रद्द भयो। 

अमेरिकालाई पुबुदुमै विश्वास
नेपाल र अमेरिका अहिले मैदानमा मात्र होइन, प्रशासनिक र प्राविधिक कारणले पनि प्रतिस्पर्धामा देखिएका छन्। पुबुदु दासानायके अमेरिकाको मुख्य प्रशिक्षकमा गत मेमा नियुक्त भएका थिए, उनले तत्कालीन मुख्य प्रशिक्षक स्टुआर्ट ललाई प्रतिस्थापन गरेका थिए। भलै स्टुआर्ट लपछि विन्सेन्ट विनय कुमार अमेरिकाको अन्तरिम प्रशिक्षक थिए।

तिनै स्टुआर्ट ल अहिले नेपालको मुख्य प्रशिक्षक छन्। उनलाई अमेरिकी प्रशिक्षकबाट २०२४ अक्टोबरमा त्यहाँको बोर्डले बर्खास्त गरेको थियो। उनीमाथि अमेरिकी राष्ट्रिय टोलीका खेलाडीले भेदभाव, अविश्वास र पक्षपात गरेको आरोप लगाएका थिए। उनी २०२४ अप्रिलमा मात्र त्यहाँको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। अमेरिकाले उनकै प्रशिक्षणमा सन् २०२४ को टी२० विश्वकप खेलेको थियो।

null

पुबुदु मुख्य प्रशिक्षक नियुक्त भएपछि अमेरिकाले लिग–२ मा एउटा त्रिकोणात्मक श्रृंखला खेलेको छ। घरेलु मैदानमा खेलेको उक्त श्रृंखलामा क्यानडालाई दुवै खेलमा हराउँदा अमेरिकाले ओमानसँग एकमा जित र अर्कोमा हार बेहोरेको थियो। 

पुबुदु दोस्रोपटक अमेरिकाको प्रशिक्षक भएका हुन्। उनी पहिलोपटक २०१६ जुलाईमा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। त्यस बेला उनले नेपालको राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजीनामा दिएको करिब एक वर्ष भएको थियो। नेपाललाई टी२० विश्वकपमा पुर्‍याएका कारण उनको चर्चा निकै चुलिएको अवस्था थियो।

तर अमेरिकाले उनलाई एकैपटक मुख्य प्रशिक्षक भने बनाएको थिएन। त्यस बेला रिक्त मुख्य प्रशिक्षकको छोटो सूचीका चार उम्मेदवारमध्ये उनी पनि थिए। उनलाई शुरूमा राष्ट्रिय टोलीको शिविरमा अतिथि प्रशिक्षकका रूपमा राखिएको थियो। पछि वेस्ट इन्डिज क्रिकेट बोर्डको यू–१९ प्रतियोगिताका लागि अमेरिकी टोलीलाई प्रशिक्षण दिन पठाइएको थियो। त्यसपछि मात्र उनी मुख्य प्रशिक्षकमा नियुक्त भएको घोषणा गरिएको थियो।

पुबुदुले सन् २०१९ सम्म अमेरिकी टोलीलाई प्रशिक्षण दिए। अमेरिकी क्रिकेट बोर्डसँगको विवादका कारण त्यसपछि उनले राजीनामा दिए।

पुबुदुले प्रशिक्षण शुरू गरेलगत्तै सन् २०१६ मा अमेरिकाले डिभिजन–४ को उपाधि जितेको थियो। अमेरिका र नेपालका लागि पुबुदु दासानायकेको समानता के थियो भने, उनले प्रशिक्षण शुरू गर्दा दुवै देश डिभिजन–४ मा थिए। उनको प्रशिक्षणमा दुवै देशले डिभिजन–४ को रूपमा पहिलो उपाधि जित्दै अगाडि बढेका थिए। अहिले दुवै देश आईसीसीबाट ओडीआई मान्यता प्राप्त छन् र लिग–२ मा एकअर्काको प्रतिस्पर्धी पनि।