यूएईले रोक्यो नेपालीलाई भिसा, यही गरिएको थियो बांग्लादेशी नागरिकलाई

गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।

काठमाडौँ– नेपाली श्रमिकहरूको प्रमुख रोजगार गन्तव्यमध्ये एक रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिसा दिन रोक लगाएको छ। यूएई सरकारले औपचारिक जानकारी वा सूचना जारी नगरे पनि यो व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ।

पछिल्ला केही दिनयता नेपाली नागरिकको भिसा रोकेर राखेको दुबईमा व्यवसाय गरिरहेका दाङका केशवप्रसाद बोहराले बताए। उनी आफ्नो व्यवसायका लागि नेपालबाट एकजना श्रमिक लैजान खोजिरहेका थिए। तर सबै प्रक्रिया पूरा हुँदा पनि भिसा भने रोकेर राखेको उनको भनाइ छ। बोहराका अनुसार भिसा लागिसकेकाहरू यूएई आइरहेका छन् तर वर्क पर्मिट आएर पनि भिसा नआएकाहरूको भने रोकिएको छ।

“म आफै इमिग्रेसन (अध्यागमन) अफिस गएको थिएँ। वर्क पर्मिट आइसक्दा पनि भिसाको लागि इन्ट्रि पर्मिट लिनुपर्ने हुन्छ, त्यो रिजेक्ट गरिदियो,” उनले भने, “त्यसपछि म दुबईको जफलियामा रहेको अध्यागमनको हेड अफिसमै गएर बुझ्दा त्यहाँका कर्मचारीले एक हप्ता पनि लाग्न सक्छ, एक महिना पनि लाग्न सक्छ भन्ने कुरा गरे।”

उनका अनुसार अध्यागमनका कर्मचारीले पनि भिसा किन बन्द गरिएको हो र कहिले खुल्छ भन्नेबारे ठ्याक्कै बताउन चाहेनन्। तर आशय बुझ्दा नेपालमा दंगा भएकाले रोकेको हो कि भन्ने लागेको उनको भनाइ छ।

“मैले नेपालको भिसा किन रोकेको हो भनेर सोधेको थिएँ, उनीहरूले प्रष्ट त केही भन्न चाहेनन् तर नेपालमा दंगा भएकाले रोकेको हो भन्नेखाले आशय थियो,” उनले भने, “सबै प्रक्रिया पूरा भइसक्यो भिसाको लागि मात्र बाँकी छ भन्दा उनीहरूले नेपालको पूरै फाइल क्लोज गरिएको छ, अहिले केही गर्न सकिँदैन भने।”

लामो समयदेखि यूएईमा होटल व्यवसाय गरिरहेका अर्का व्यवसायी, जे सागरले गत सोमबारदेखि नेपालीलाई भिसा दिन रोकिएको बताए।

“भिजिट, कामदार सबै भिसा रोकेको छ,” उनले भने, “अहिलेसम्म औपचारिक सूचना जारी गरेको त छैन, तर भिसाको लागि नेपालीको निवेदन नै लिएको छैन।”

यसबारे बुझ्न यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग सम्पर्क गर्दा उनले पनि भिसा रोकेकोबारे प्रष्ट पारे। तर कति समयको लागि हो भन्ने प्रश्नमा उनले छोटो जवाफ दिँदै भने, “केही समयको लागि हो भन्ने छ।” के कारणले बन्द गरेको हो भन्नेबारे भने उनले बोल्न चाहेनन्।

दूतावासका प्रथम सचिव तिलबहादुर सुनारले यस विषयमा दूतावासलाई आधिकारिक  जानकारी प्राप्त नभएको बताए।

यूएईमा सात लाखभन्दा धेरै नेपाली छन्। वैदेशिक रोजगारीबाहेक ठूलो संख्यामा त्यहाँ नेपालीहरू आफ्नै व्यवसायमा पनि संलग्न छन्। अध्ययन तथा घुमघामका लागि पनि यूएई नेपालीको रोजाइको मुलुक बन्दै गएको बेला एकाएक सूचना नै नदिई यसरी भिसामा प्रतिबन्ध लाग्नुले त्यहाँ जान खोजिरहेका नेपाली समस्यामा परेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा प्रत्येक महिना नेपालबाट २०–२५ हजार नेपाली रोजगारीका लागि यूएई जाने गरेको देखिन्छ। गत साउनमा मात्र २३ हजार ८३८ जनाले यूएईको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। यूएईले यसरी भिसा रोक्दा जान तयार भएका नेपाली श्रमिक समस्यामा पर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष भुवन गुरुङ बताउँछन्। तर अर्को मुलुकको तयारी वा निर्णयबारे आफूहरूले केही पनि भन्न नसक्ने र जे निर्णय गरे पनि राम्रैका लागि गरेको होला भन्नेमा आफूहरू आशावादी रहेको उनले बताए।

“एक त यूएईमा भिजिट भिसामा जाने धेरै नै भइसकेका थिए, त्यसलाई पनि रोक्नुपर्ने थियो होला। अर्को कुरा, नेपालमा भएको आन्दोलनमा जेलबाट जति भागे उनीहरू यूएईमा प्रवेश नगरुन् भन्ने पनि त्यहाँको सरकारले चाहेको हुनसक्छ भन्ने हाम्रो बुझाइ हो,” उनले भने।

बांग्लादेशपछि नेपाल 
यूएई र त्यहाँका निकायले औपचारिक रूपमा केही नबताए पनि नेपालमा गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलन र त्यसपछिको राजनीतिक ‘उथलपुथल’ लगत्तै नेपालीलाई भिसा दिन रोकिएको देखिन्छ। एक वर्षअघि बांग्लादेशको हकमा पनि यस्तै भएको थियो।

गत वर्ष, २०२४ जुलाईमा बांग्लादेशका विद्यार्थीहरूले त्यहाँको सरकारविरुद्ध गरेको आन्दोलन हिंसात्मक आन्दोलनमा बदलिएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको थियो। देशमा बस्न सक्ने अवस्था नभएपछि उनी सेनाको हेलिकप्टरमा भागेर भारत पुगेकी थिइन्। त्यसलगत्तै यूएईले बांग्लादेशी नागरिकलाई भिसा दिन बन्द गरेको थियो।

त्यो रोक अहिलेसम्म पनि पूर्णरूपमा खुलाइएको छैन। बांग्लादेशी नागरिकको हकमा पनि कुनै औपचारिक सूचना जारी नगरेरै भिसामा प्रतिबन्ध लगाइएको थियो। यूएईको श्रम बजारमा नेपालीभन्दा धेरै करिब १२ लाख बांग्लादेशी नागरिक छन्।

यूएईले बांग्लादेशीहरूलाई भिसा दिन रोक्नुको अर्को कारण त्यही समयमा यूएईमा बांग्लादेशी प्रवासीहरूले गरेको अनधिकृत विरोध प्रदर्शनहरूलाई पनि बताइएको छ। यूएईमा भएका ती प्रदर्शनहरूमा ५७ बांग्लादेशी नागरिकलाई पक्राउ गरी देशनिकाला नै गरिएको थियो। त्यस घटनापछि बांग्लादेशीलाई भिसा जारी गर्न अस्थायी रूपमा रोकिएको थियो।

तर बांग्लादेशको निरन्तरको कुटनीतिक प्रयासपछि भने गत जुन महिनायता भिसा प्रक्रियालाई केही खुकुलो बनाइएको छ। अहिले दैनिकजसो ३०–५० भिजिट भिसा र कुशल कामदार तथा सुरक्षा गार्डहरूका लागि कामदार भिसा दिने गरिएको छ। अझै पूर्ण रूपमा, विशेषगरी कामदार भिसामा प्रतिबन्ध हटेको छैन।

बांग्लादेशको अन्तरिम सरकार (मुहम्मद युनुसको नेतृत्वमा) ले कूटनीतिक प्रयासहरू जारी राखेको छ, तर अझै केही आवेदनहरू सुरक्षा तथा दस्तावेज जाँचका कारण अस्वीकृत हुने गरेका त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

नेपालीले पनि बेलाबेला यूएईमा विरोध प्रदर्शन गर्ने गरेका छन्। त्यहाँस्थित नेपाली दूतावासले त्यसरी विरोध प्रदर्शन नगर्न, यूएईको कानून पालना गर्न भन्दै सूचना जारी गर्दै आएको छ। अहिलेको प्रतिबन्ध नेपालमा भएको जेनजी आन्दोलनको कारण हो वा त्यहाँ रहेका नेपालीले गर्ने विभिन्न प्रदर्शनको परिणाम हो भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन।

यूएईले भिसा प्रतिबन्ध लगाएका देशहरूको आधिकारिक सूचीमा अहिलेसम्म नेपालको नाम समेटिएको छैन। यूएई भिसा अनलाइन पोर्टलका अनुसार करिब १० देशलाई प्रतिबन्ध लगाएको उक्त सूचीमा बांग्लादेशसहित अफगानिस्तान, लिबिया, यमन, सोमालिया, लेबनान, क्यामरुन, सुडान र नाइजेरिया रहेका छन्। यस्तो सूची समय–समयमा थपघट भइरहन्छ।