जब केरुङ नाका काटियो

चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए- नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।

‘ग्लोबल ट्राभल डेस्टिनेसन’ले नेपाललाई सन् २०२५ मा घुम्नै पर्ने १० देशको सूचीमा राखेको समाचार आइरहँदा म केरुङ नाकाबाट तिब्बत जाँदै थिएँ। हाम्रो ‘गाइड’ले नेपालको भत्किन लागेको पुलिस चौकी र दुवै देशको अध्यागमन कार्यालयलाई ध्यानपूर्वक हेर्न सुझाव दिएका दिए।

केरुङमा नेपाल प्रहरीको भत्किन लागेको प्रहरी चौकीको छाप्रो काट्ने बित्तिकै चीनतिर भव्य महल देखिन्थ्यो। हाम्रो गाइडको मनसाय बल्ल बुझेँ। चीनको तुलनामा नेपालको पूर्वाधार कति कमजोर छ भनेर उसले आफ्ना नेपाली पर्यटकलाई देखाउन चाहेको रहेछ।

चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए, “नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।”

nullनेपालको नाका काट्ने बितिक्कै हामीलाई लिन चाइनिज गाइड आइपुगे। हामी तिब्बतको सबैभन्दा ठूलो शहर ल्हासा, त्यहाँको पोताला दरबार, सिगात्से, पुरानो मन्दिर जोखांग र सेरा गुम्बा हिँडेका थियौँ। आउनेजाने दूरी जोड्ने हो भने लगभग १६०० किमि यात्रा गर्नुपर्थ्यो।

यति लामो यात्रा सहज हुँदैन। हाम्रो असहजतालाई ख्याल गरेर होला, अलिअलि नेपाली पनि बोल्ने ती गाइडले भने, “तिब्बतको बाटो नेपालको जस्तो खराब छैन, धेरै राम्रो छ। यात्रा गर्न सजिलो हुन्छ।”

हाम्रो समूहमा पाँच जना थियौँ, तर म मात्र नेपाली। बाँकी चार जना नेपाल घुम्न आएका विदेशी पर्यटक थिए। तीमध्ये विगत चार वर्षदेखि विश्व भ्रमणमा रहेका ड्यानियल, पहिलो पटक एशिया आएका बेलायतका ल्यारी, इजराइलका नोहा र आमिर थिए।

nullनेपालको खराब बाटो चार जना विदेशीका निम्ति यात्रा अनुभव मात्र थियो, तर मजस्तो नेपालीका लागि भने हैरानी, कष्ट, हिनताबोध, दिक्कलाग्दो राजनीतिक दाउपेच र भ्रष्ट प्रशासनको उपज थियो। गाइडले भनेझैँ नेपालतर्फको बाटो कष्टकर थियो। तर उसले नेपाललाई होच्याएजस्तो पटक्कै लागेन। मन पटक्कै दुखेन।

उसको भनाइलाई एकदम सामान्य ठानेँ। खासमा मलाई रिस उठ्नुपर्ने हो। यसपटक मलाई सत्तामा बस्नेहरूसँग पनि रिस उठेन।

हो, मलाई पटक्कै रिस उठेन!

एउटा गरिब देशको नागरिक हुनु मेरा निम्ति दुर्भाग्य वा टाउको फुटाउनु पर्ने बर्बादीको उपज केही पनि होइन। विदेशीले पो हामीलाई फरक ढंगले हेर्छन्। उनीहरूका निम्ति हामी केबल ‘बिचरा’ हौँ। तर हामी बिचरा भनिनु पर्ने दुर्दशामा छैनौँ। अवस्था त्यति खत्तम पनि छैन, जति व्याख्या गरिएको छ।

nullअनि, हामी शान्त, असल, सहनशील भनिनुपर्ने खालका पनि होइनौँ। हामी सबै सामान्य मान्छे हौँ। न एकदम खराब, न एकदम सही। न त हामी उनीहरूले सोचेजस्तो विपन्न छौँ, न हामीले सोचेजस्तो उनीहरू सम्पन्न छन्।

हामी अर्को मान्छेलाई व्याख्या गरिराख्दा स्वयंलाई उसको ठाउँमा राख्छौँ। जस्तो, कतिपय मानिस यात्रामा रहँदा आफ्नो घरको ‘वासिङ मसिन’ सम्झिएर खोला किनारमा लुगा धुँदै गरेकी महिलालाई विचरा भन्छन्। अरूको अभाव र आफ्नो सुबिस्तालाई तुलना गर्दागर्दै कतिपय पर्यटकको यात्रा टुंगिन्छ।

यो यात्रामा म तिब्बतलाई नजिकबाट बुझ्न चाहन्थेँ। मसँगै यात्रामा रहेका चार जना विदेशी पर्यटकलाई पनि नजिकबाटै बुझ्न चाहन्थेँ।

nullहामीमध्ये ल्यारी कम बोल्थ्यो। ड्यानियल र म कफी पिउन बस्दा प्रायः राजनीति, अध्यात्म र इतिहासका कुरा गर्थ्यौं। ल्यारी कफीको चुस्की लिँदै गफ सुनिरहन्थ्यो। कहिलेकाहीँ भन्थ्यो, “ह्वाट ए नाइस कफी।”

सात दिनको अवधिमा ल्यारीले ड्यानियल र मेरो गफ खुब सुन्यो। उसलाई अल्छी पनि लाग्यो कि, तर केही भन्दैन थियो। उ यत्ति भन्थ्यो, “मलाई खासै बोल्न आउँदैन, स्कुल ड्रप–आउट हुँ।”

ल्यारीभन्दा ड्यानियल फरक छ। उ बोल्न रूचाउँछ। संसार घुम्ने भनेर जर्मनी छाडेको पनि चार वर्ष पुगिसकेछ। उसलाई घर कहिले फर्किन्छु भन्ने थाहा छैन। या कहिल्यै फर्किंदैन कि!

nullमलाई ल्यारीको बानी पनि मनपर्छ। उ कफी पिउँदा त्यसैमा मग्न हुन्थ्यो, बाँकी संसारको उसलाई ख्याल हुँदैन थियो। त्यसैले त उसँग गफगाफ हुँदैन थियो। कहिलेकाहीँ त लाग्छ, उजस्तै बनौँ– थोरै बोल्ने, बढी सुन्ने, धेरै बुद्धिविलास नगर्ने।

यही अगस्टमा ५० वर्ष उमेर पुग्दै गरेका बेलायती नागरिक ल्यारीको क्यामेरामा ठूला झरना, ताल, हिमालका असंख्य फोटोहरू कैद छन्। ऊ बाटोमा देखिने हरेक सानासाना ताल, हिमाल चाख दिएर हेर्छ। यस्तो लाग्थ्यो, मानौँ उसले जिन्दगीमा योभन्दा अगाडि ताल र हिमाल देखेकै छैन। शायद उसको त्यो सम्यक दृष्टिले सानो र ठूलो तुलना गर्दैन! उसलाई जुन चिज जुन क्षण मनमोहक लाग्छ, त्यही क्षणलाई ‘सेलिब्रेट’ गर्छ। ऊ वर्तमानमा बस्छ। केवल त्यो क्षणमा अडिन्छ।

पर्यटक बनेर भर्खर घुम्न निस्किएका ल्यारी जस्ता यात्रीका लागि प्राकृतिक सुन्दरता अनमोल उपहार हुने रहेछ। अनि, ड्यानियलका लागि संसारका लगभग सबै झरना, पहाड, खोला, ताल उस्तैउस्तै हुन्। मैले सोधेँ, “ड्यानियल, संसारको सबै प्रकृति उस्तैउस्तै छ भने, के हेर्न हिड्छौँ?”

उसले जवाफ दियो, “मान्छे, खाना, संस्कार, संस्कृति। यसले हरेक देशलाई विशेष बनाउँछ।”
मैले पुनः सोधेँ, “नेपालको के मन पर्यो, के मन परेन?” 

उसले धेरै नसोची भन्यो, “यहाँका मान्छे मनपर्यो, सडक मन परेन।”

nullउसले यात्राबारे विस्तृतमा भन्यो, “सामान्य रूपमा बुझ्दा यात्रा भनेको एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्नु हो। तर यो यात्रा मात्र होइन। यसले फरक भूगोलका मानिस भेट्टाउँछ। यात्राले धर्म, संस्कार, राजनीति, भूगोल, विकासभन्दा माथि हामी सबै मान्छे हौँ भनेर बुझ्न सहयोग गर्छ। मानिसमा प्रेम, डर, आत्मीयता, रिस, डाह, प्रमोदजस्ता साझा अनुभूति छन् भनेर सिकाउँछ। यात्राले मानिस आफैलाई चिनाउँछ।”

ड्यानियलको गफ चाखलाग्दो थियो। म सुनिरहेँ। हामीसँगै यात्रामा रहेका दुई जना इजराइली भने प्रायः मौन थिए।

इरानसँग ‘सिजफायर’ भएको समाचार भर्खर आएको छ। यो सुखद् समाचार हो। किनभने, उनीहरूको परिवार युद्धभूमिमा थियो। सिजफायर भन्ने शब्द उनीहरूका लागि असाध्यै आत्मीय थियो।

यो यात्रा हाम्रा निम्ति जीवनभरि सम्झनलायक क्षण र मित्रताको अवसर बनेको थियो। जीवनशैली, राजनीति, सामाजिक सुरक्षा, बाटोघाटो र भौतिक विकासप्रति पर्यटक र स्थानीयको बुझाइ फरक हुनसक्छ। विकसित मुलुकबाट आउने नागरिकले नेपालको परिस्थिति देखेर आफूलाई भाग्यमानी पनि ठान्लान्। अभावमा पनि खुशी भएका नेपाली देखेर विदेशीलाई लागेको होला– नेपाली शान्त, सन्तुष्ट र खुशी प्राणी हुन्।

nullनेपालमा विविधता पनि छ। यात्रामा पनि विविधता भेटिन्छ, यसैले त संसारलाई सुन्दर बनाएको छ।

मानिसले संसारका हरेक कुनामा आफ्नैजस्तो तौरतरिका र जीवनशैली खोज्न मिल्दैन। यदि खोज्न थालियो भने, धेरैको पहिचान संकटमा पर्छ। प्रत्येक ४० दिनमा संसारबाट एउटा भाषा हराएको तथ्यांक छ। अबको १०० वर्षमा विश्वबाट ९० प्रतिशत भाषा हराउने अवस्था छ। भाषा हराउनु भनेको रैथाने समुदायको अस्तित्व हराउनु हो। संस्कार संस्कृति, परम्परा भेषभुषा मासिनु हो।

तिब्बतमा जताततै सीसीक्यामेरा जोडिएका थिए। ड्यानियल ती क्यामेरालाई सन्दर्भ बनाउँदै सन् १९५० पछि चीनको स्वामित्वमा आएको तिब्बतको इतिहास बताउन थाल्छ। उसलाई तिब्बतबारे राम्रो ज्ञान थियो।

तर उसलाई सीसीक्यामेराको निगरानीमा बस्दा निसास्सिएको अनुभूति हुन्थ्यो। मैले मनमनै सोचेँ– हरेक क्षण सीसीक्यामेराको निगरानीमा बस्नु स्थानीयलाई कति सहज होला! ‘यात्रा गर्दा कैदी नबन ड्यानियल,’ यस्तै भन्न मन थियो, तर म मौन बसेँ।

ग्लोबल ट्राभल डेस्टिनेसनको घोषणाले पर्यटकलाई नेपाल आउन प्रेरित गर्छ होला। पर्यटकलाई स्वागत गर्नु आवश्यक छ, तर हामी पनि पर्यटक बन्नुपर्छ। यो संसारमा हामी सबै यात्री मात्र हौँ। जीवनको हरेक यात्राले अस्तित्वको विशालता दर्शन गराएको हुन्छ। यसको बोध हरेक यात्रीमा समान रूपमा पाइँदैन।

यात्रामा अनुभूति गर्ने हो। तिब्बत यात्रा एउटा रमाइलो अनुभूति थियो।