भारी मनका उनले भने, ‘म विवाहित कि अविवाहित?’

बहुविवाहको मस्यौदाले साँच्चिकै कानूनी रूप लेला भन्ने त्रासकै कारण सामाजिक सञ्जालमा भने बहस छेडिएको मात्रै छैन, अधिकारकर्मी सडकसम्म आउन थालिसके।

विशेष परिस्थितिमा बहुविवाह गर्न दिने गरी सरकारले कानुनी मस्यौदा तयार गरेको समाचार हालै बाहिरियो। विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिनेलगायत व्यवस्था विधेयकको मस्यौदामा राखिएको खबर बाहिरिए लगत्तै त्यसको चौतर्फी आलोचना भइरहेको छ।

बहुविवाहको मस्यौदाले साँच्चिकै कानूनी रूप लेला भन्ने त्रासकै कारण सामाजिक सञ्जालमा भने बहस छेडिएको मात्रै छैन, अधिकारकर्मी सडकसम्म आउन थालिसके। महिलाको आत्मसम्मान, सम्पत्ति, राजनीति, राज्य र प्रशासनमा समान अधिकारका लागि धेरै महिलाले सयौँ वर्षयता प्रशस्त आन्दोलन गरे। फलस्वरूप: धेरै अधिकार स्थापित भइसके, केही अधिकार कार्यान्वयन हुने क्रममा छन् भने कतिपय अधिकारका लागि आवाज उठाउन/लड्न बाँकी नै छ।  

अधिकारसम्बन्धी कतिपय कानून कार्यान्वयन भए भने कतिपय बाँकी छ। श्रीमतीलाई शारीरिक आक्रमण, गाली बेइज्जती र यौनहिंसा गर्ने थुप्रै घटना अहिले पनि हुन्छन्। तर यति खेरचाहिँ एक जना पुरुषले बताउनुभएको कथा बाँड्न चाहेँ: 

"अंकलाजी, तपाईं महिला हक अधिकारबारे लेखेर थाक्नुहुन्न। पक्कै पनि हाम्रो समाजमा पुरुषभन्दा महिला नै बढी उत्पीडनमा परे छन्। अन्यायमा परेकाहरूबारे लेख्नु उत्कृष्ट मानवीय कर्म हो। तर कहिलेकाहीँ कतिपय उत्पीडनमा परेका मजस्ता पुरुषका कुरा पनि सुन्नु न है। आज मेरै कथा सुन्नुस् ल!" 

मैले हुन्छ भनेँ। उनी बताउन थाले: 

बाआमाको प्रेमको पहिलो निशानी थिएँ। घरको पहिलो सन्तान थिएँ। हाम्रो ठूलो परिवार थियो। बाजेबजू डाँडा माथिको घाम हुनुहुन्थ्यो। पहाडी जीवन, स्रोत सीमित भएका कारण भाइबहिनी जन्मेपछि त एक पेट खान पनि धौधौ हुन थाल्यो। आमाले ढिँडोको बान बसालिदिनु हुन्थ्यो। म ढिँडो मस्काएर बाँड्थेँ। कहिलेकाहीँ त आमा र मलाई भाग पुग्दैनथ्यो। त्यसो हुँदा पनि रहलपहल चाटेर अलि टाढाको गोठमा बाजेसँग सुत्न जान्थेँ म। बर्खाभरि गरेको खेतीपातीले आधा साल पनि धान्दैनथ्यो। आमाले झैं दुःख बाबाले गरिदिनु भएको भए कुरा अलग हुन्थ्यो, तर आमालाई खेतीपातीमा सघाउनुको साटो उहाँ रक्सीले मात्दै जतासुकै हिँड्नुहुन्थ्यो।  

गोठमा बस्दा बाजे सधैँ भन्नुहुन्थ्यो, "ठुले नाति, तेरो बाउले मति गर्दैन। तैँले धेरै दुःख पाउँछ। दुखै गरेर भए पनि आमा र भाइबहिनीलाई ख्याल गरे है।" यसरी नै हाम्रो दैनिकी बित्दैथ्यो। एक दिन पखालाकै कारण बाजे गोठमा ढल्नुभयो। फेरि कहिल्यै उठ्नुभएन। बाजेको गोठमा भरथेग थियो, बाजे नभएपछि घर व्यवहारको कामले झनै थिच्यो, खान लाउन झनै कष्ट हुन थाल्यो। त्यतिखेर म स्कुल जाने भइसकेको थिएँ। रात साँझ-बिहान घरका सारा काम भ्याएर, आमालाई सघाई वरी म स्कुल जान थालेँ। अन्ततः म एसएलसी (अहिले एससीईई) परीक्षामा पास भएँ।

घरको अभावका कारण शहर जाने निधो गर्दै एक दिन आमासँग भनेँ, "म सहर जान्छु। उतै पढ्छु र कमाएर पठाउँछु है आमा!"

आमाले सहमति जनाउँदै कानको मुन्द्री बेचेर मलाई सहर पठाउनु भो। तर सहर सुने र देखेझैँ फिटिक्कै थिएन। शहरमा आएर काम गर्न थालेँ। आफूलाई क्याम्पसमा पढ्नु पनि थियो। तर क्याम्पस पढ्न गयो, पैसा छैन। पैसाको लागि सडकमा दौड्यो, पढाइ छैन। 

सामान लोडअनलोडको अवसर पाउन गाडी कुरेर खास खास ठाउँमा कुरेर बस्यो, सामान लिएर गाडी आए लोड/अनलोड गर्न पाइयो। बेलुका कोठामा भात पाक्थ्यो। पैसो हात पर्दा बन्दागोभीको तरकारीसँग, नहुँदा फुकैसमेत भात खान्थें। सकसै सकसबीच कक्षा १२ सकेँ र फेरि गाउँ फर्कने रहर जाग्यो। गाउँ फर्केर उतै 'शैक्षिक क्रान्ति'मा लाग्छु भन्ने आदर्श मनमा उर्लियो। गाउँमा टाढा थियो बच्चाहरूको स्कुल। पर्याप्त पोषण नपाएका बच्चा, त्यसमाथि एक डेढ घण्टाको ओहोरदोहोर! आफ्नै भाइबहिनीसमेत टाढाको बाटो पढ्न जाँदा थकित हुन्थे। गाउँमै स्कुलमा स्थापना गरेरै, तीन कक्षासम्म केही वर्ष बालबच्चा पढाएँ पनि। तर बच्चाहरूलाई पढाएर मात्र परिवार धान्न सम्भव रहेनछ! त्यसपछि मैले निचोड निकालें, "अब विदेश जान्छु।"

बीचमा मैले उनलाई सोधेँ, "विदेश गएपछि त सहज भयो होला जीवन! दुःखका दिन सकिए होलान्!" 

उनी भन्दै गए—मान्छेका दुःख किन सकिन्थे? अब शुरू भयो परदेशको जिन्दगी। विदेश पुगेर केही आफ्नो र परिवारको छाक टार्ने जोहो गर्दै थिएँ। गाउँकै एक जना महिलासँग प्रेम गरेँ। म विदेश, उनी स्वदेश। हामीबीच फोनमा कुरा हुन थाल्यो। स्वदेश आइवरी घर सल्लाहपछि उनीसँग विवाह गरेँ। केही वर्षमा छोरी जन्मिइन्। श्रीमतीले शहर बस्ने रहर गरिन्। अब श्रीमती र छोरीलाई शहरमा राखेर म विदेश फर्केँ। बाँकी परिवार गाउँमै थिए। छोरी हुर्कँदै थिइन्, म फुर्सदमा उताबाटै भिडियो कलमा छोरीलाई 'क'देखि 'ज्ञ'सम्म पढाउँथेँ। छोरीलाई बाउको अभाव नहोस् भनेर रातदिन काम गरेर भए पनि समय दिने प्रयास गर्थेँ। विदेश आउने जाने क्रम चलिरहँदा यसबीचमा छोरा जन्मियो।

मैले उनलाई सोधेँ, "छोराछोरी भएपछि त कम्प्लिट परिवार भयो। तब त जिन्दगी सफल भयो होला नि, होइन र?" 

उनी भन्न थाले–मैले त्यही सोचेको थिएँ, तर सोचेझैँ नहुने रहेछ। गाउँमा भाइबहिनी र आमा। यता छोराछोरी र श्रीमती। यत्तिकैमा छोरी बिरामी भइन्। महिनौँ अस्पताल राख्दासमेत रोग पत्ता लागेन। यति हुँदासम्म छोरीको शरीर गलिसकेको थियो। अन्तिम अवस्थामा डाक्टरले निमोनिया इमरजेन्सी भएको बताए। छोरीको अवस्था गम्भीर भइरहँदा म स्वदेश फर्कँदै थिएँ, छोरीलाई अस्पतालले मृत घोषणा गरी सकेछ! 

भिडिओ कलबाट आज सिकाएको कुरा भोलिपल्ट सोध्दा भन्न सक्ने मेरी छोरी साँच्चै तीक्ष्ण थिइन्। छुट्टी गएर छोरीसँग खेल्छु र उनलाई काखमा राख्छु, अझै बढी किताबी ज्ञान र अन्य कुरा सिकाउँछु भन्दाभन्दै उनले संसार छाडिन्। फोटोमात्रै बाँकी छोरीको मृत्यु संस्कार आदि नसकिँदै छुट्टी सकियो र विदेश फर्किनुपर्‍यो। त्यतिखेर कुन मन लिएर विदेश फर्केँ होला अंकलाजी म? उफ्, म सम्झन पनि चाहन्न त्यो क्षण।  

उनको कुराले मन भक्कानिएछ। आँखा रसाउन खोज्यो। कति निर्दयी रहेछन् भगवान् पनि! 

उनी भन्दै गए–विदेशको ठाउँ, मालिकको किचकिच। परिवार छोडेर बिदेसिनु र भर्खरै बितेकी छोरीको सम्झनाले आहत मन! कम्पनीमा जान्छु भनेर हिँड्दा एकोहोरो हिँडिरहँदा कताकता पुगेर आफ्नै कोठामा फर्किरहेको पो हुँदोरहेछु। अहो, म त काममा पो हिँडेको, के भएको मलाई भन्ने लाग्थ्यो। यसै गरी आफूलाई सम्हाल्दै र शहरमा रहेकी श्रीमतीलाई सम्झाउँदै मेरा दिन बित्दै गए। छोरी बिते पनि सानो छोराको मुख हेरेर हामीले उसको भविष्यका लागि काम गर्नुपर्ने थियो। बितेको कुरा भुल्दै अगाडि बढौँ भन्दै सम्झाउँथेँ म श्रीमतीलाई। छोरीको मृत्युले उनलाई पनि मलाईझैँ कष्ट भएको बुझेर ढाडस दिन्थेँ। 

तर मेरा दुःखका दिन किन सकिन्थे? हुँदाहुँदै मेरा दुई बच्चाकी आमा (श्रीमती) ले समेत मलाई छोडेर हिँडिन्। उनीबारे सर्वत्र खोजियो, सबैलाई सोधियो, तर कतै भेटिइनन्। मलाई छाडेर हिँडे पनि ३ वर्षको कलिलो छोरा छाडेर कसरी हिँडिन् उनी? त्यति सानो बच्चा नै छाडेर हिँड्नुपर्ने के महाभारत आइपरेको थियो उनलाई? उतिखेर त लाग्यो पनि–सार्‍है कमजोर मन बनाएर कतै उनले अनर्थ त गरिनन्? कुनै अप्रिय निर्णय त लिइनन्! 

श्वास फेरिरहे पनि मरेतुल्य जीवन थियो मेरो। कलिलो छोराले आमा खोज्छ, मैले देखाउन मिल्ने कोही थिएन। यस्तो संकटपूर्ण स्थितिमा समेत मैले छोरासँगै रहन सम्भव थिएन। जति नै शोक र संकट भए पनि पापी पेट नभरी नहुने रहेछ। आखिरमा बाँच्नु नै जीवनको पहिलो सर्त हुने रहेछ। गाउँ जाऊँ, छोरा र परिवार कसरी पाल्नु? विदेश बसौँ, बच्चा कसले हेरिदिने? घरमा बाआमा डाँडा माथिको घाम हुनुहुन्छ, कति बेला ढल्ने थाहा छैन।

फेरि आफूलाई सम्हाले। छोरालाई आफन्तको जिम्मा लगाएर विदेशमै पसिना बगाउन थालेँ। जीवनका चार दशकभन्दा समय व्यतीत भइसक्दा, छोरो जसोतसो क्याम्पस जाने भएको छ। भर्खरै जुँगाको रेखी हाल्न थालेको छोरा देख्दा बेलाबेला मन भारी हुन्छ–यसले कलिलोमा बाउ र आमाको ममता पाएन भनेर नमजा लाग्छ। टुहुरोझैँ हुर्केर पनि जब उ क्याम्पस जानका लागि पोसाक लगाएर हिँड्न थाल्छ, तब मन भारी हुन्छ। फिल्मी कथाको त्यस्तो पात्र म हुँ, जसको जीवनमा घाम झुल्कन बाँकी छ। मलाई यस्तै लाग्छ।  

पहिले विदेशमै मर्छु कि जस्तो लागेको थियो। छोराले क्याम्पस टेकेपछि म नेपाल फर्केको छु। फर्किन त फर्केँ, तर आधा जिन्दगी लिएर फर्केको छु। मन्द डिप्रेसनमा छु, भित्तामा छोरीको फोटो छ। पेटमा अल्सर छ, आधा मुटुले काम गर्छ। प्रेसर/सुगर बढेको छ। कलेजो र फोक्सो पनि आधा नै छ। रातमा निन्द्रा आधा लाग्छ।

नौनाडी गलिसके तर पनि जीवनको मसिनो मोह त बाँकी नै छ। त्यसैले दोबाटो या गल्लीमा सानो चिया पसल राखेर भए पनि केबल बाँच्न मन छ। बाँच्नुको उद्देश्यसँग जोडिएको छ–छोराको भविष्य। तर एक्लै बाँच्न त कठिन छ! यति धेरै समय एक्लै बसेँ विदेशमा। जीवनको दोबाटोमा मलाई कसैको न्यानो हात  र सहारा चाहिएको छ। मजस्तै कोही त होलान्, जसले मसँगै दोबाटोको चिया पसलमा साथ दिन सक्ला!

अनि म सोच्छु–बितिसकेको छोरीको फोटो छोडेर, ज्यूँदो छोरालाई टुहुरो बनाएर, भएको रुपैयाँपैसा र गहना बोकेर बेपत्ता भएकी उनी फ्याट्ट घरै फर्किइन् भने के हुन्छ? यो प्रश्न यहाँ किन पनि उठाएको हुँ भने उनी सारसौँदो नै भएको थाहा लाग्यो केही वर्ष पहिले। आफ्नो माइती र मेरो परिवारसँग सम्बन्धमा नरहेकी उनी टिकटकमा भिडियोसमेत बनाइरहेकी छन्। (उनी विवाहित, 'लिभिङ टुगेदर' वा एक्लै छिन् भन्नेचाहिँ थाहा हुन सकेको छैन।) 

यस्तैमा विवाहित पुरुषले अर्को बिहे गर्न पाउने गरी कानून बनाउने चर्चा चल्दै गर्दा मैले आफ्नो हैसियत सम्झिएँ–म विवाहित कि अविवाहित? यो एक्लोपनबाट मुक्तिको लागि मैले कोही साथी रोजिहालेँ र उनी (मेरो छोराकी आमा, अहिले मसँग नभएकी श्रीमती) यसैबीचमा आएर "तैँले किन बिहे गरेको?" भनेर सोधिन् भने मैले के उत्तर दिने होला? साँच्चै मैले बहुविवाह गरेको ठहर्ला कि नठहर्ला?  

माथिको अवस्था काल्पनिक भए पनि यी अधबैँसेको अन्तिम प्रश्नले मेरो मथिंगल हल्लियो। भावनात्मक क्षतिपूर्तिको कुरा त अलग कुरा, साँच्चै यसको न्यायिक निरूपण कसरी गर्ने होला? 

अचेल विवाहबारे अनेकन् बहस उठ्छन्। कतिपय क्रान्तिकारी साथीहरू विवाह भन्ने संस्था शोषणको कारक हो पनि भन्छन्। मलाई पनि विवाह संस्था अनुचितझैँ लाग्छ। यसले मान्छेलाई बन्धनमा बाँधेर स्वतन्त्रतामा तारबार त लगाएजस्तो लाग्छ।

तर समाजमा माथिको जस्ता अपवादका केही घटना पनि छन्। विवाह, सम्बन्ध स्थापना र सम्बन्ध विच्छेदबारे कानून बनाउँदै गर्दा यस्ता विषयमा पनि विधायकहरूले ध्यान पुर्‍याउनुपर्ने देखियो। न्यायाधीशहरूले पनि यस्ता विषयमा संवेदना र विवेक राख्नुपर्ने देखिन्छ।