कश्मीर कत्तिको सुरक्षित छ भनेर प्रश्न गर्दा उनले भने, “काश्मीरबारे मिडियाले अफवाह फैलाउँछ। तर कश्मीर सुरक्षित छ। हामी पर्यटकलाई धेरे सम्मान गर्छौं, उनीहरू हाम्रा भगवान् र अन्नदाता हुन्।”
अप्रिल २२ साँझ एक्कासि भारत प्रशासित कश्मीरबाट अति दुखद समाचार आयो: पहलगाममा पर्यटकमाथि आतंककारी आक्रमण भयो। बैसारन उपत्यकामा रहेका २६ निर्दोष पर्यटकले त्यहाँ ज्यान गुमाए, जसमा एक नेपाली पनि परे। हामी कश्मीरबाट फर्किएको पाँच दिनमा भएको थियो निर्दोष यात्रीहरूमाथिको यो आक्रमण।
भ्रमणताक स्थानीयहरूले अतिथिहरूप्रति देखाएको सद्भाव र स्नेह देख्दा त्यहाँ पर्याप्त शान्ति सुरक्षा रहेको अनुमान गर्न सकिन्थ्यो। कश्मीर मा बिताएका पल ताजै छन्, तर पहलगामको त्यस अनपेक्षित घटनाले ती आफ्नो भ्रमणका क्षणसमेत बिझाउने बनेका छन्। पाँच दिन ढिला गरी हामीले त्यस क्षेत्रको यात्रा गरेका हुन्थ्यौँ भने हाम्रो नियति पनि त्यस्तै हुन्थ्यो होला भन्ने कुराले हामी कहालिन्छौँ। थाकेको मनको विश्रामका लागि शान्त डाँडा पाखा पुगेका यात्रीहरूमाथिको आकस्मिक आक्रमणले हामी त्रस्त र व्याकुल छौँ।
"धर्मभन्दा पहिले मानवता आउँछ। पर्यटकहरू हाम्रा अतिथि हुन्, उनीहरूलाई हामीले सहयोग गर्नु पर्छ। उनीहरू हाम्रा जीविकाका आधार हुन्। हामीले आफ्नो ज्यानको परवाह गरेनौँ, तत्काल घटनास्थल गयौँ र सक्दो सहयोग गर्यौँ। उनीहरू हामीसँग गुहार मागिरहेका थिए। जब मैले पर्यटकहरू रोएको देखेँ, मेरो मन थामिएन, आँखाबाट आँसु झर्यो। हामीहरूले घाइतेहरूलाई अस्पताल पुर्यायौं। उनीहरू यहाँ आएर त हाम्रो घर उज्यालो भएको छ, नत्र हामीले के खाने, हाम्रो रोजीरोटी भन्नु नै उनीहरू नै हुन्। पर्यटक आएनन् भने हाम्रो जीवन चल्दैन।"
यो भनाइ कश्मीरमा कश्मीरी सल बिक्री गरेर जीविका चलाउने स्थानीयवासी सजाद अहमदको हो। हो त नि, जुनसुकै संस्कृति र धर्मका भए पनि सर्वप्रथम हामी मान्छे हौँ। कतै कुनै अप्रिय घटना भइहाल्यो भने तत्काल उद्धारको भावना मान्छेमा स्वतःस्फूर्त आइहाल्छ। सजादको कुरो कति गहिरो र मानवताले भरिएको छ।
यात्रामा चालकसहित हामी छ जना थियौँ। काठमाडौँबाट उडेको पहिलो दिनमै हामी भारतको उत्तराखण्डस्थित हरिद्वार बास बस्न पुग्यौँ। भोलिपल्ट बिहानै उठेर गङ्गा नदीको बहाव र 'हरकी पौडी' भन्ने घाटमा भक्तजनहरूको भीड अवलोकन गर्यौँ। अर्को दिन देहरादून, चण्डीगढ निकट हुँदै अघि बढ्यौँ। बाटामा दुबैतिर गलैँचा बिच्छ्याएझैं गहुँ खेतहरू र ठुलो क्षेत्रमा फैलेको उखु खेतीले मनै लोभ्यायो। चण्डीगढको हरियाली, सुन्दर बगैँचा, विशाल ताल र व्यवस्थित शहर भारतको लागि मात्र होइन, दक्षिण एसियाको लागि पनि उदाहरण हो।
समय अभावले हामी त्यहाँ रोकिन सकेनौँ र अन्ततः पन्जाबको अमृतसरमा दोस्रो दिनको बास भयो। अमृतसर भारतको अर्को सुन्दर सहर हो। पन्जाब राज्यस्थित अमृतसरलाई सिखहरूको पवित्र स्थल मानिन्छ, जहाँ स्वर्ण मन्दिर र मन्दिर वरपर अमृत-सरोवर रहेको छ। भोलिपल्ट बिहानै त्यहाँबाट हामी अघि बढ्यौँ। बाटामा पठानकोट पर्छ। यो जम्मू-कश्मीर , हिमांचल प्रदेश र पन्जाबको संगममा रहेको छ।
त्यसपछि हामी लाग्यौँ जम्मूतिर। त्यहाँबाट सहयात्रीहरूको चाहनाअनुसार वैष्णोदेवीतिर लाग्यौँ। वैष्णोदेवी जम्मू-कश्मीर को कटरामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो। त्यहाँ एक रात बिताएर भोलिपल्ट करिब दस बजे कश्मीर भ्याली प्रस्थान गर्यौँ। त्यहाँबाट अगाडि बढ्दा उधमपुर भन्ने सुन्दर पहाडी सहर आइपुग्यो। नदीको किनारैकिनार हुँदै पहाडी उकालो बाटोहरूबाट जाँदा कताकता हामी नेपालमै छौं कि झैं भान भयो हामीलाई। त्यसपछि क्रमशः उकालो बढ्दै जान्छ अनि सुरुङ मार्ग सुरु हुन्छ। हाम्रो गाडी एउटा लामो सुरुङभित्र पस्यो, जसलाई चेनानी-नासरी सुरुङ भनिन्छ। यो भारतको सबैभन्दा लामो दुईतर्फी राजमार्ग-सुरुङ हो, जसको लम्बाइ ९.२ किलोमिटर छ। यसले जम्मू र कश्मीरको दुरी घटाउँछ, करिब दुई घण्टाको समय बचाउँछ। यस सुरुङले हिउँ र पहिरो प्रभावित क्षेत्रहरूलाई 'बाइपास' गर्छ, जसले गर्दा यात्रा सहज बन्न जान्छ।
यात्रा अगाडी बढ्छ र क्रमशः हामी नासरी क्षेत्र, रामबन हुँदै बनिहाल पुग्छौँ, जुन कश्मीर प्रवेश गर्ने अन्तिम स्थान हो। यहाँबाट २.८५ किलोमिटरको जवाहर सुरुङ पार गरेपछि हामी क्वाजीगुन्ड पुग्छौँ, जुन कश्मीर उपत्यकाको प्रवेशद्वार मानिन्छ। क्वाजीगुन्डबाट यात्रा अनन्तनाग, पहलगाम, गुलमर्ग र श्रीनगरतर्फ अघि बढ्छ। श्रीनगरबाट कश्मीर उपत्यकाको अनुपम सौन्दर्य नियाल्न सकिन्छ। त्यहाँका फाँटमा लहलहाएका अन्नबाली, वरिपरिका पहाड, हरिया रुख जंगल साँच्चै मनमोहक छन्।
क्रमशः हामी डल झीलको निकटवर्ती क्षेत्रतिर लाग्छौँ। यो क्षेत्र हजरतबल र बुलेवार्ड रोडमा पर्छ। हामी दुई रात डल झील नजिकको होटेलमै बिताउँछौँ। त्यस होटेलका टिममध्ये तीन जना त नेपाली नै थिए, जसले गर्दा हाम्रो बसाइ झनै सहज र रमाइलो भयो। धेरै दिनपछि नेपाली खानाको स्वादसमेत पाइयो।
त्यो दिन साँझपख हामी डलझीलको वरपर घुम्यौं। डलझील श्रीनगरको मुटुमा अवस्थित मनमोहक ताल हो। पर्यटकहरू यहाँको शान्त वातावरणमा रमाउँछन्। यसको शान्त पानीमा तैरिएका शिकारा डुंगा, वरपरका रंगीन मुगल बाग (बगैँचा) हरू र दूरदराजका हिमशृङ्खलाहरूको छायाले यात्रुलाई मोहित पार्छ। डलझील श्रीनगरको सांस्कृतिक विरासत पनि हो, जसले हरेक आगन्तुकको मनमा अनन्त सम्झना छोड्छ।
भोलिपल्टको बिहानी खाजापछि हामी गुलमर्गतिर लाग्छौं। श्रीनगरको बुलेवार्ड रोड हुँदै यात्रा सुरु हुन्छ। श्रीनगरका हेर्न लायक ठाउँमा निशात बाग र शालीमार बाग जस्ता मुगलकालीन बाग पनि पर्छन्। त्यतिखेर त्यहाँ सफाइ भइरहेकोले हामीले बगैँचाभित्र प्रवेश गर्न पाएनौँ। त्यसपछि श्रीनगरबाट बाहिरिँदै तंगमार्ग पुग्यौँ। हरियालीले भरिएको यो ठाउँबाट हिमाली शृङ्खलाहरूका अनुपम दृश्य देख्न सकिन्छ।
हरिया जंगल, पहाड, अन्न बालिका मैदान, घाँसे चौर, ससाना गाउँ र पर्यटकहरूको चहलपहलबीच हाम्रो यात्रा अगाडी बढ्छ। बाटोमा पनि हिमाली शृंखलाहरूको दृश्य देख्न सकिन्छ। टांगमार्ग हुँदै अगाडी बढ्दा एक छिनपछि उकालो सुरु हुन्छ, घुमाउरो तर चौडा बाटोका वरपर घना देवदार र पाइन (धुपीसल्ला) का जंगल भेटिन्छन्। हामी ती सुन्दर स्थलहरूको अवलोकन गर्दै र तस्बिर खिच्दै अघि बढ्छौँ।
गुलमर्ग नजिक पुग्दै गर्दा, मौसम परिवर्तन भएको आभास हुन्छ। मन्द हावाको शीतल स्पर्शले तनमन दुवै स्पन्दित हुन्छ। जंगलको बीचबीचमा देखिने टुक्रा टुक्रा कुइरोले जंगल अझै सुन्दर बन्न गएको छ। हामी बिस्तारै गुलमर्ग प्रवेश गर्न थाल्छौ। गुलमर्गको अर्थ 'फूलहरूको मैदान' हो। यो नाम फारसी भाषाबाट आएको हो, जहाँ 'गुल'को अर्थ फूल र 'मर्ग'को अर्थ मैदान हुन्छ। त्यहाँका स्थानीयहरू भन्छन्–गुल्मर्ग सधैँ सुन्दर रहन्छ। शीत ऋतुमा यो मैदान सेताम्मे हुन्छ भने ग्रीष्म कालमा यहाँका चौरभरी सुन्दर फूलहरू फुलेको देखिन्छ।
गुलमर्गमा तालको किनारमा कमलका फूलहरू फुलेका थिए, छेउमा मुगल बगैँचा 'जारोका बाग' अवस्थित छ। स्थानीयहरूका अनुसार सो बाग नूरजहाँ (१२ औँ शताब्दीका मुगल शासक जहाँगिरकी प्रमुख रानी) द्वारा निर्माण गरिएको थियो। मानसबल ताल चरा अवलोकनका लागि प्रसिद्ध छ। हामी त्यहाँ घोडा चढ्यौं र हिउँमा खेल्यौँ। गुल्मर्गमा हेर्ने र रमाउने कुरा धेरे छन् तर हाम्रो समय छोटो भएकोले हामीले सबै हेर्न भ्याएनौँ।
हामी करिब तीन बजेतिर श्रीनगर फर्कियौँ अनि केही दुरीमा नासबल नामक एक सुन्दर तालमा डुंगा सवारी गर्यौँ। कश्मीर को सबैभन्दा ठुलो प्राकृतिक जलचर चरा बस्नेमध्ये यो एक हो। त्यस तालमा डुंगा चढ्ने क्रममा डुंगा खियाउने/चलाउने माझीसँग भएको संवाद अविस्मरणीय छ। कश्मीर कत्तिको सुरक्षित छ भनेर प्रश्न गर्दा उनले भने, "कश्मीरबारे मिडियाले अफवाह फैलाउँछ। तर कश्मीर सुरक्षित छ। हामी पर्यटकलाई धेरे सम्मान गर्छौं, उनीहरू हाम्रा भगवान् र अन्नदाता हुन्।"
म ती युवा माझिलाई सम्झिरहन्छु। कश्मीरको भविष्यप्रति उनी धेरै आशावादी थिए। पहलगामको अप्रिय घटनापछि उनको शायद उनको आशा चकनाचुर भएको होला। तर समयसँगै फेरि कश्मीरमा आशाको नयाँ पालुवा पक्कै पलाउला।
त्यो रमाइलो डुंगा सवारीपछि हामीले त्यो रात पनि श्रीनगरस्थित होटेलमा बितायौँ। भोलिपल्ट बिहानी खाजालगत्तै पहलगामतिर लाग्यौँ। समयमै पहलगाम पुगेकोले हामी घोडा सवारीमा त्यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र बैसारन घाटीतिर, लाग्यौँ, जसलाई मिनी-स्विजरल्यान्ड पनि भन्ने गरिन्छ। यो स्थान पहलगामबाट करिब ७ किलोमिटरको दूरीमा छ। बाटो निकै अप्ठ्यारो र साँघुरो भएकाले केबल पैदल वा घोडा चढेर मात्र जान सकिन्छ। फराकिलो हरियो घाँसे मैदान, अनि चारैतिर फैलिएको देवदार र पाइनका रुखहरू, छर्लङ्ग देखिने हिमशृंखला आदिले बैसारचन निकै मनमोहक बन्न गएको छ। धेरै बलिउड चलचित्रहरूको सुटिङ स्थलका रूपमा पनि यो स्थान परिचित छ।
साँझमा स्थानीय बजार अवलोकन गरेर त्यहीँको होटेलमा रात बितायौँ। भोलिपल्ट सबेरै हामी पहलगामका अरू तीन पर्यटन स्थलतिर लाग्यौं:
बेताब भ्याली: पहलगामबाट करिब १५ किलोमिटरको दूरीमा अवस्थित एक रमणीय उपत्यका हो यो। यस उपत्यकाको नाम १९८३ मा रिलिज भएको र यहीँ छायांकन गरिएको बलिउड चलचित्र 'बेताब'को नामबाट राखिएको हो। हरियो घाँसे मैदान, बाक्लो बन, हिमालबाट निस्किएको लिडर नामक नदीको बहाब आदिले यो ठाउँ निकै सुन्दर लाग्छ।
चन्दनबारी: पहलगामबाट करिब १६ किलोमिटर टाढा अवस्थित एक सुन्दर स्थल हो चन्दनबारी। समुद्री सतहदेखि लगभग २,८९५ मिटरको उचाइमा छ यो। चन्दनबारी प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वका कारण प्रसिद्ध छ।
चन्दनबारीको एकतर्फ लिडर नदी बग्छ भने अर्कोतर्फ हिमालीशृंखला छन्, जसले यस स्थानलाई अत्यन्त रमणीय बनाउँछ। चन्दनबारी विशेष गरी हिउँ खेल्नको लागि प्रसिद्ध छ, जहाँ पर्यटकहरूले हिउँमा स्लेजिङको मजा लिन सक्छन्। चन्दनबारी हिन्दू तीर्थस्थल अमरनाथ गुफा यात्राको प्रारम्भिक विन्दु पनि हो।
अरू भ्याली: पहलगामबाट करिब १२ किलोमिटर टाढा अवस्थित यो घाँसे मैदान, हिमाच्छादित शृंखलाहरू र स्वच्छ नदीहरूका लागि प्रसिद्ध छ। रमाइलो कुरा, अरूको अर्थ आरु फल हो। नेपालीभाषीले अरूलाई आरू भन्छन्। यहाँ कुनै बेला आरुको बगैँचा थियो अरे।
त्यस दिन हामी मध्यान्हतिर पहलगाम अथवा कश्मीरबाटै फर्कियौँ। हाम्रा लागि पहलगाम नै जम्मु कश्मीरको अन्तिम गन्तव्य हुनगयो।
त्यहाँबाट फर्किएको पाँच दिनपछि जे सुन्नु पर्यो, त्यसले एकैचोटी आश्चर्य र भय मनमा छाए। सुन्दर, मधुर र अविस्मरणीय सुखद स्मृतिहरू तत्काल पीडादायक यादमा परिणत भए। कसो हामी परेनौँ भन्ने अनुमानले हामीलाई गाँजिरह्यो। हाम्रो यात्रा केही गरी ढिलो हुन पुगेको भए या नेपालबाटै पाँच दिन ढिलो गरेर हामी त्यहाँ पुगेको भए हाम्रो नियति के हुन सक्थ्यो भनेर हामीले सोचिरह्यौँ। नेपालकै एक जना सुदीप न्यौपानेले त्यस आक्रमणमा आफ्नो ज्यान गुमाए।
पहलगामको निन्दनीय हर्कतको ध्येय र लक्ष्यबारे धेरै समाचार र विश्लेषण हामीले सुन्न पाएका छौं। त्यसको बेलिबिस्तार यहाँ आवश्यक छैन। इतिहासमा भएका अनेकन् आतंककारी हमलाझैं पहलगामको आक्रमणले मानव इतिहासलाई कलंकित बनाएको छ।
जहाँसम्म स्थानीयहरूको कुरा छ, इस्लाम धर्मावलम्बी बहुल कश्मीरका बासिन्दा अरूको आस्थाप्रति उत्तिकै उदार देखिन्छन्। त्यसो किन पनि हो भने जीवन सर्वोपरि हो। जिजीविषा सबैभन्दा महत्त्वपूर्ण हो। कश्मीरीहरूका लागि पर्यटन जीवन धान्ने महत्त्वपूर्ण स्रोत हो। जीवन रहे न धर्म र संस्कृति!
आतंकवादी हमलामा ज्यान गुमाएकाहरू र तिनका परिवार र साथीभाइ त पीडित भइहाले, आक्रमणपछि कश्मीरीहरूको पर्यटन बरबाद भएको खबर आएका छन्। कश्मीरीहरू पनि बरबाद भएका छन्। त्यस हमलाले हजारौँ/लाखौँ जीवनलाई नकारात्मक असर पार्दै छ। हामी जहाँ भए पनि मानवमाथिको पहलगाम बज्रपात प्रति असीम समानुभूति महसुस गर्छौँ। कश्मीरमा अवस्था सुध्रोस् भनेर हामी कामना गर्न सक्छौँ। मान्छेको जाति एउटै हो, हामीले मान्छेको धर्म भुल्नुहुन्न भनेर 'सद्जन'हरूलाई अनुरोध गर्न सक्छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
हरिबोल आचार्य
