राशिफल र नक्षत्र पलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षण आदि अवधारणाहरूको विकास र सूत्रबद्ध गरिएका छन्।
अघिल्लो हप्ता 'ज्योतिष साइत'सहित देशका कार्यकारी प्रमुख पुष्पकमल दाहाल 'प्रचण्ड'को बालुवाटार प्रवेशको कुरा समाचारहरूमा आयो। त्यस समाचारको कतैबाट खण्डन गरिएको थाहा भएन। शुभचिन्तकहरूको सल्लाहमा होस् या विवादको घेरामा पारिदिन खोज्ने खेलाडीहरूको प्रभाव/उक्साहटमा अथवा आफ्नै मनमौजीमा तथाकथित साइत हेराएर ठाउँ सर्ने 'कार्यकारी'को कर्मले द्वन्द्वात्मक भौतिकवाद र मार्क्सवादी चिन्तनप्रतिको प्रचण्डको निष्ठामा शंका उत्पन्न गराएको छ।
गैर-मार्क्सवादी र द्वन्द्वात्मक भौतिकवाद इतर विचार राख्नेहरूबाट यस्ता कृत्य भएको भए कुनै अचम्म लाग्ने थिएन। भौतिकवादी सिद्धान्त मान्ने पार्टीका प्रमुखबाट भएको यो कृत्यले अन्ततः अन्धविश्वास र अलौकिकवादले गाँजिएको हाम्रो समाजलाई थप त्यसतर्फ प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ। विज्ञानको हुर्मत लिनेछ। 'के नै पो बिग्रिहाल्छ?' भन्दै गरिने यस्ता हर्कतहरूले दैवी र अलौकिक शक्तिप्रतिको आम भ्रम र अन्धविश्वास अनि यसैको जगमा व्याप्त सामाजिक कुसंस्कार, अन्याय, विभेद र शोषणलाई झनै मलजल गर्छन्।
तथ्यमाथि फूलबुट्टा
ग्रह/उपग्रह, तारा, तारामण्डल (राशि/नक्षत्र) लगायतका खगोलीय पिण्डहरू निश्चित समय कालमा दोहरिने र नदोहोरिने घटनाक्रम, स्थिति र ज्यामितिलगायत पहिले थाहा नभएका धेरै विषयहरू वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेका छन्। पत्ता लाग्ने क्रम जारी छ। तर प्राप्त तथ्यमाथि कैयौँ काल्पनिक फुल बुट्टा भरेर 'ज्योतिषी' र 'हात हेर्ने'हरूले आफ्नो धन्दा चलाइरहेकै छन्। 'फूलबुट्टे' धन्दा हो फलित ज्योतिष।
'ज्योतिष शास्त्र' भन्दै गरिने यस्तो अभ्यासमा राशि, नक्षत्र, पाउ (प्रत्येक नक्षत्रका एक चौथाइ खण्ड), सूर्य, पृथ्वी, चन्द्र र अन्य ग्रहहरूको एक आपसबीचको ज्यामितीय अवस्थालाई विभाजन गरी त्यस्ता फरक ज्यामितीय अवस्थामा जन्मिएका मानिसहरूलाई फरक तरिकाले राशि र नक्षत्रका नाममा वर्गीकरण र नामकरण गर्ने चलन छ। मानिसका जीवन-परिस्थिति, क्रियाकलाप, चरित्र, शुभ/अशुभ आदि पनि सोही अनुसार निर्धारित हुन्छन् भन्ने कुरामा विश्वास गरिन्छ। समग्र खगोलीय वस्तु र शक्तिको स्थितिले सिंगो धर्ती र जीव वनस्पतिमा प्रभावहरू त पार्छन् तर फलानो व्यक्तिलाई प्रभाव पार्ने र ढिस्कानोलाई नपार्ने भन्नु बेतुक हो।
खगोलीय-ज्यामितीय अवस्था यथार्थ भए पनि त्यससँग मानिसको प्रकार, चरित्र, जीवन-भोगाइ र परिस्थितिहरू निर्धारित हुन्छन् भन्नु कपोलकल्पित हो। त्यस्ता दाबीमा वैज्ञानिक प्रमाण छैनन्। आकाशीय पिण्डका आधारमा मानिसलाई विभाजित गर्ने र सो अनुसार व्यवहार/ विभेद गर्ने चलन आधारहीन र असंगत छ। त्यसैका आधारमा मान्छेका गुण र जीवन परिस्थितिको भविष्यवाणी गर्न सकिन्न। गरिए पनि ती मेल खान्नन्। खाए नै भने पनि ती केबल संयोग मात्र हुन जान्छन्। एकाध संयोगहरूलाई सामान्यीकरण र सैद्धान्तीकरण गर्नु भूल हो।
पृथ्वी केन्द्रित सिद्धान्त
पृथ्वीलाई सूर्य, चन्द्र, शुक्र, मंगल, बृहस्पति, शनि आदि ग्रहले परिक्रमा गर्छन् भन्ने पुरानो भ्रमपूर्ण पृथ्वी केन्द्रित सिद्धान्तमा फलित ज्योतिष आधारित छ। पृथ्वी केन्द्रित सिद्धान्तले मानेजस्तो सूर्य पृथ्वीको ग्रह होइन। पृथ्वी सूर्यको ग्रह हो। चन्द्रमा पृथ्वीको ग्रह नभएर उपग्रह हो। राहु र केतु ग्रह नभएर खास स्थान/ बिन्दुहरू मात्रै हुन्। यम ग्रह नभएर पुड्के ग्रह हो। शुक्र, मंगल, बृहस्पति र शनि पनि पृथ्वीका नभएर सूर्यका ग्रहहरू हुन्।
पृथ्वी केन्द्रित सिद्धान्तको आधारमा खगोलीय घटनाक्रम जस्तै: औँसी, पूर्णिमा, ग्रहण, मलमास आदिको इतिहास नियाल्दै गर्दा यी घटनाक्रमहरूको भविष्यवाणी गर्न त सम्भव भयो तर तथ्य र कारणहरूको व्याख्या सम्भव भएन। तथ्य र कारणसहितको विस्तृत अध्ययनको क्रममा सूर्यलाई पृथ्वीलगायत शुक्र, मंगल, बृहस्पति, शनि आदि ग्रहले घुम्छन् भन्ने सूर्यकेन्द्रित सिद्धान्तको जन्म भयो।
ग्यालिलियो र कपर्निकसको समययता पृथ्वी केन्द्रित सिद्धान्त गलत रहेको प्रमाणित भइसकेको छ। उबडखाबड रहित जमिनमा एकनासको गतिमा गुडिराखेको गाडीमा सवार मान्छेले वरिपरिका रूखहरू कुदेको देखेझैँ प्राचीन खोजकर्ताहरू पृथ्वीलाई सूर्यले घुम्छ भन्ने भ्रममा थिए। तर पुरानो पृथ्वी केन्द्रित सिद्धान्तले अरू उपग्रह, पुच्छ्रे तारा, उल्का, बरफ, धुलकण, शून्य क्षेत्रलगायत आजको रकेट प्रक्षेपण, अन्तरिक्ष अनुसन्धान, भू-उपग्रहमार्फत इन्टरनेटको विकासदेखि मौसमको भविष्यवाणीसम्मको कुराको अलिकति पनि व्याख्या गर्न सक्दैन।
औँसी, पूर्णिमा र ग्रहणको केही भविष्यवाणी मिलेकै आधारमा खगोलीय वस्तुको अवस्था र ज्यामितिलाई काल्पनिक चारित्रीकरण गर्दै राशिफल र नक्षत्र फलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षणको झुटो अफवाह फैलाइएको छ। यो एक किसिमले भन्नुपर्दा केटाकेटीले धुलो माटोमा पिसाब फेरेर छेस्काले चलाएर `मेलै हलुवा पकाएँ´ भनेर खेलेजस्तै हो। जनतालाई सुसूचित गर्छु भन्ने टेलिभिजनलगायत आमसञ्चारका अन्य मिडियामा समेत यस्तो भ्रमपूर्ण धन्दा चलाइएको छ, जुन गलत छ।
तथ्यमा भ्रमको मिश्रण
फलित ज्योतिषले भ्रम मात्र पस्केको भए त्यस्ता भ्रमबाट धेरै मानिसहरू धेरै अघि नै मुक्त भई सकेका हुने थिए तर केही यथार्थसँगै भ्रम पनि मिसाएर व्यापार गरेका हुनाले धेरै मान्छेहरू भ्रम र असत्यमाथि विश्वास गरिराखेका छन्। मानौँ, आज मेष राशि भनिएकाहरूको राशिफलमा 'यात्रा योग' छ। त्यसो भए आज साइकल, गाडी, हवाईजहाज, पानीजहाज, घोडा लगायतमा यात्रा गर्ने सबैको राशि मेष नै हो त? वृष राशि भनिनेहरूको राशिफल 'स्वास्थ्य हानी' लेखिएको छ भन्दैमा त्यो दिन सबै स्वास्थ्य चौकी र अस्पतालमा भर्ना भएका संसार भरिका सबै मान्छे वृष राशिकै होलान् त? दशैँमा मिठो मसिनो खाने सबै एकै राशिका होलान् त! यति सामान्य विषयमा पनि धेरै मान्छे आज पनि अलमलिएका छन्। यस्ता भविष्यवाणीलाई अझै कति पत्याउने?
पूर्वीय हुन् वा पश्चिमा, दैवी शक्तिमा विश्वास गर्ने र खास गरी धर्मान्ध वर्गले पहिलेदेखि नै विज्ञानका तथ्य र चिन्तनमाथि प्रश्न र रोष प्रकट गर्दै आए। आज पनि त्यो जारी छ। आफ्नो अनुसन्धानमार्फत पृथ्वीलाई सूर्यले होइन, बरु सूर्यलाई पृथ्वीले घुम्छ भन्ने सिद्धान्त प्रतिपादन गरेबापत इटलीका ग्यालिलियो र पोल्यान्डका कपर्निकसलाई ईश्वर विरोधी, पापी र अपराधी करार गर्दै त्यहाँका क्याथोलिक चर्चका धर्मगुरु र अनुयायीहरूले हत्याको प्रयास गरे। बेलायतका डार्बिनले जीवहरूको क्रम विकासको सिद्धान्त प्रकाशमा ल्याउँदा विश्वभरका लगभग सबै धर्म सम्प्रदायका ईश्वरवादीहरूले 'मान्छे र बाँदरको पुर्खा एउटै हुने कुरा अपमानजनक' भन्दै निन्दा गरे। तर, आज सोही सिद्धान्तले जीवविज्ञान र चिकित्सालगायत धेरै विधामा मान्छे धेरै अघि बढेको छ।
प्राचीन ग्रिक र मेसोपोटामिया (इराकी) सभ्यताबाट फलित ज्योतिषको शुरूआत भएको बुझिन्छ। चौथो शताब्दीमै थाहा भइसकेको पृथ्वी केन्द्रित सिद्धान्तअनुसारको पृथ्वी, सूर्य, चन्द्र, मंगल, बुध, शुक्रलगायत केही तारा मण्डलको पहिचान त्यति बेलाका खोजकर्ताहरूले गरिसकेका थिए। सधैँ सँगै एउटै समूहमा हिँड्ने ताराहरूको समूह नै तारा मण्डल हो, जुन धरतीबाट हेर्दा कुनै खास जन्तु वा वस्तुको आकार जस्ता देखिए। भेडाजस्तो आकार देखिने तारा मण्डललाई मेष (भेडा) नाम दिए। धनुष आकारजस्तो देखिने तारा मण्डललाई धनु नाम दिए। यस्तै तरिकाले रवि मार्ग (पृथ्वीको सापेक्ष सूर्यले एक दिनमा घुम्ने वा सूर्यको सापेक्ष पृथ्वीले एक वर्षमा घुम्ने वृत्ताकार बाटो) मा पर्ने १२ वटा तारा मण्डललाई छुट्टाछुट्टै राशि र त्यही राशीमण्डलका छेउछाउको बाहिरी वृत्ताकार बाटोमा रहेका २७ वटा तारा मण्डललाई नक्षत्र मानियो।
पृथ्वीलाई वृत्तको केन्द्र मानी त्यस आसपासमा प्रत्येक ३० डिग्री कोणलाई एउटा राशि र प्रत्येक १३.३ डिग्री कोणलाई एउटा नक्षत्रको क्षेत्र मानियो। प्रत्येक नक्षत्रको क्षेत्रलाई पनि पुनः ४ भागमा विभाजन गरियो, जसलाई पाउ भन्ने गरियो । सूर्य (खासमा पृथ्वी) लाई एक राशि पार गर्न एक महिना र एक नक्षत्र पार हुन औसत १३ दिन लाग्छ। यस अर्थमा सूर्यले एक राशिको क्षेत्र पार गर्दा सवा दुईवटा नक्षत्रको क्षेत्र पनि सँगसँगै पार गरिसकेको हुन्छ। त्यसै गरी चन्द्रमालाई पृथ्वीको वरिपरि घुम्ने क्रममा एक राशि पार गर्न औसत २.५ दिन र एक नक्षत्र पार गर्न झण्डैझण्डै १ दिन लाग्छ।
ग्रहका पनि चरित्र !
यी राशि र नक्षत्रहरूसहित सूर्य, चन्द्रलगायत अरू ग्रहहरू कुनैलाई पनि मनगढन्ते हिसाबले थरिथरिका चारित्रिक बिल्ला लगाउन बाँकी राखिएन। सूर्यलाई मान-सम्मानको ग्रह, चन्द्रमालाई सुन्दरता र मानसिक स्थिरताको ग्रह, बुधलाई मानसिक तेजको ग्रह, शुक्रलाई भौतिक सुख सुविधाको ग्रह, बृहस्पतिलाई धर्म कर्म र विद्याको ग्रह, शनिलाई भाग्य/दुर्भाग्यको ग्रह, राहु र केतुलाई आकस्मिक लाभ/हानिको ग्रह, रातो रङ भएकै भरमा मङ्गललाई रिस र लडाइँको ग्रहका रूपमा 'चारित्रीकरण' गरिएको छ। त्यस्तै: मूल नक्षत्रलाई पिराहा नक्षत्रको बिल्ला भिराइएको छ आदि आदि। तारा मण्डल (राशि र नक्षत्र), ग्रह र पृथ्वीबिच मित्रता, बेवास्ता, तटस्थता, दुस्मनी लगायतका अनेक सम्बन्धहरूको कल्पना गरिएको छ। यिनै काल्पनिक सम्बन्धसँग निश्चित अवधिपछि दोहोरिई राख्ने एकअर्काबीचको सम्मुखता, विमुखता छड्के, वर, पर आदि ज्यामितीय अवस्थालाई जोडेर विविध परिस्थिति र घटनाहरूको चित्रण गरिएको छ। जबकि यी सबै बेतुक हुन्।
राशिफल र नक्षत्र पलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षण आदि अवधारणाहरूको विकास र सूत्रबद्ध गरिएका छन्। हामीमध्ये धेरैलाई लाग्छ, जुन ज्योतिषीलाई हेर्न लगाए पनि हाम्रो जन्म समयको राशि, नक्षत्र, तिथि,योग, गण एउटै हुन्छ, कसरी त? एउटै सूत्रमा आधारित विषयवस्तु मिल्छन्। उनीहरू सबैले एउटै भ्रमपूर्ण साँचोमा काम गरेका कारण राशि र नक्षत्रहरू मिलेको हो। तर मूल अवधारणा नै गलत भएका त्यसमा आधारित तथाकथित भविष्यवाणी पनि गलत हुने भयो। अझ थप कुरो, आधुनिक विज्ञानले ८८ वटा तारा मण्डल पत्ता लगाएको छ। त्यसमध्ये 'ज्योतिष शास्त्र'ले राशि र नक्षत्रको नाममा जम्मा ३९ वटाको भूमिकालाई उल्लेख गरेको छ, अरू बाँकीबारे मौन छ। त्यसो भए बाँकी तारामणण्डलका चाहिँ कुनै भूमिका नै हुन्नन्?
रविमार्गमा पर्ने राशिहरू :
मेष,वृष ,मिथुन,कर्कट,सिंह ,कन्या ,तुला,वृश्चिक ,धनु ,मकर कुम्भ र मीन
रवि मार्गमा पर्ने नक्षत्र (ताराहरूको समूह):
अश्विनी (Aristes), भरणी (35,39, 41 Aristes), कृतिका (Pleaiades), रोहिणी (Aldebran), मृगशिरा (Orions), आद्रा (Betalgues), पुनर्वशु (Caster & pollux) , पुश्य (Cancri), अश्लेषा (hydrae), मघा (Regulus), पूर्वफाल्गुनी (Leonis), उत्तरफाल्गुनी (denenola), हस्त (Covri), चित्रा (Spica), स्वाती (Areturus), विशाखा (Librae ), अनुराधा (Scorpionis T & Alpha), जेस्ठा (Scorpionis Theta & Eta) मूल (Scorpionis) पूर्वशाढा (Sagitari), उत्तर शाढा (Sigma sagitari), श्रवण (Delphinus), शत्भिशा (Aquari), पूर्वभाद्रपद (Pegasi) उत्तर भाद्रपद (Andromeda & Pegasi) र, रेवती (piscium ) हिन्दु-ज्योतिष परम्परामा भने उत्तर शाढा र श्रवण नक्षत्रका बिचमा अविजित नक्षत्रको पनि प्रचलन छ, जसलाई अठ्ठाइँसौ नक्षत्रको रूपमा लिइन्छ। यो अरू भन्दा एकदम सानो कोण (0.3°) को हुन्छ।
सबै संयोगको कारण भौतिक
यी नामहरू प्रयोग गर्दै र गराउँदै फलित ज्योतिषले अन्धविश्वासलाई बढवा दिएको छ। ज्योतिषमै टेकेर अनेक खालका दुर्व्यवहार समेत हुने गरेका छन्। समाजमा पहिले नै छाउ प्रथा, महिनावारीसँग गरिने अवैज्ञानिक व्यवहार, जातीय विभेद र दुर्व्यवहार, महिलामाथिको विभेद र दुर्व्यवहार, धामी झाँक्री र बोक्सी प्रथा त छँदै छ, राशि र नक्षत्रको नाममा कपोलकल्पित वर्गीकरणहरू गरेर शुभ/अशुभ, लक्षण/ कुलक्षण, फाप/ अफापका बिल्ला भराइने गरिएको छ। विश्वविद्यालयहरूबाट 'उच्चशिक्षा' पाएकाहरूसमेत यस्ता अवैज्ञानिक विषयलाई 'ज्योतिष विज्ञान' भन्दै प्रचार गरिरहेका छन्। यसको मतलब युवा र शिक्षित भनिएका समेत भुलभुलैयामा र भ्रममा छन्।
यस्तो अवस्थामा भौतिकवादी विचार राख्नेहरूले, अझ अन्धविश्वासविरुद्ध नै हिजो लडेका र आज राज्य सञ्चालनको अवसर पाएका पूर्वक्रान्तिककारीहरूले यस्ता छद्म विज्ञानलाई बढवा दिन कति सुहाउँछ? छद्म विज्ञानलाई सार्वजनिक रूपमा मानिसकेपछि अन्य खालका सामाजिक विभेद र रुढीवादविरुद्ध कुन नैतिक साहसले बोल्ने?
हाम्रा परिस्थिति, क्रिया र गुणहरू यही भौतिक जगतका वस्तु, पदार्थ र शक्तिहरूको अन्तर्क्रियाले निर्धारण गर्छन्। पृथ्वीमा बस्ने रामबहादुर या श्यामकुमारीलाई 'भाग्यमानी' या 'अभागी' बनाउँछु भनेर व्यक्ति व्यक्तिको पिछा गरेका बसेका छैनन् कुनै अन्तरिक्षका निर्जीव पिण्डहरू। पृथ्वीमा हामी मान्छे र अन्य जीवले समेत जे जति संयोगहरू भोग्छौ, त्यसमा भौतिक, सामाजिक, आर्थिक सांस्कृतिक र जेनिटिकलगायत अन्य भौतिक कारणहरू मात्रै छन्।
त्यसो हुँदा ज्योतिषीहरूले हेर्ने 'भविष्य' हावादारी हुन्। र, त्यस्ता भविष्यानुमानले एकैछिन् न्यानो मिल्न पनि जाला तर अन्ततः भ्रम, द्वेष र असमझदारी मात्रै निर्माण गर्छ। समग्र मानवको हित, खुशी र भलाइका लागि भ्रम र अन्ध आस्थाप्रति निर्मम समीक्षा गर्न जरुरी छ। कर्ममा विश्वास गरौँ, परिस्थिति सम्हालौँ। भाग्य भरोसे कुराको पछि लागेर समय र धनको बरबाद नपारौँ। ज्योतिष, भाग्यवाद र साइतका कुसाइतकाका बकम्फुसे अभ्यासले समाजलाई थप अन्धविश्वासी बनाउँछ। हिजो हामीलाई भौतिकवादको कक्षा लिने र आज राज्यको नेतृत्व गर्नेहरूले त्यस कुरालाई मनन गरून्।
रिमाल भाैतिकशास्त्रमा स्नातकोत्तर हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
