जन्मेपछि एकदिन मर्नु त छँदैछ। चेतनशील प्राणी भएकाले जन्म र मृत्युबीचको छोटो क्षणलाई कसरी बिताउने भन्ने कुरा धेरै वा थोरै मात्रामा हाम्रै हातमा छ।
थोरै मात्र भए पनि गहिरिएर सोच्न सक्ने क्षमता भएको जो कोहीको पनि मनमा कहिलेकाहीँ एउटा प्रश्न उब्जिन्छ: 'जीवनको उद्देश्य के हो?' मानव सभ्यताको झिसमिसेदेखि नै धेरै विद्वान र दार्शनिकले यो प्रश्नको उत्तर खोज्दै आएका छन् र आफ्नो समय, परिवेश र मानसिकता अनुसारका उत्तर दिएका छन्।
प्राचीन सभ्यतामा के विश्वास गरिन्थ्यो?
प्राचीन कालमा अधिकांश मानिसको जीवन असाध्यै कष्टकर थियो। रोग, भोकमरी र हिंसाबाट धेरै मानिसको अकालमा मृत्यु हुन्थ्यो। परिणामस्वरूप, उनीहरूले मृत्युपछिको त्यस्तो सुन्दर संसारको कल्पना गरे, जहाँ जीवनमा पाउन नसकेका सबै सुखसयल पाइयोस्। त्यो संसारमा प्रवेश गर्ने एउटा मात्रै बाटो देवीदेवताको उपासना गर्नु हो भनेर टाठाबाठा पुजारीहरूले सिकाए। अझै पनि टाठाबाठा पुजारीहरू सोझासाझालाई यही कुरा सिकाउँछन्। स्वर्ग जाने बाटोका 'गाइड' बनेर उनीहरू दुनियाँसँग अहिले पनि कुस्त धन दौलत असुलिरहेका छन्।
प्राचीन मिश्र (इजिप्ट) का बासिन्दाहरू जीवन अनन्त यात्राको एक भाग मात्र हो, र मानिसको अन्तिम लक्ष्य मृत्युपछिको संसारमा अनन्त जीवन प्राप्त गर्नु भन्ने कुरामा विश्वास गर्थे। त्यस्तै, प्राचीन मेसोपोटामियाका बासिन्दाहरू मानव जीवनको उद्देश्य देवताहरूको पूजा अर्चना गर्नु हो भन्ठान्थे। मानिसको सिर्जना नै देवताहरूले गरेका कारण उनको उपासना अत्यावश्यक ठानिन्थ्यो।
त्यस्तै, प्राचीन भारतीयहरूले कर्म र पुनर्जन्मको अवधारणा विकास गरेका थिए। सोहीअनुसार अघिल्लो जीवनको कर्मको परिणाम यो जीवन भएकाले यसमा आफ्नो नियन्त्रण नरहेको ठानिन्थ्यो। यस जन्ममा सत्कर्म र पुण्य गर्न सके यसपछिको जीवन सुखमय हुन्छ भन्ने ठानिन्थ्यो।
तर सबै प्राचीन सभ्यतामा जीवनको उद्देश्य देवीदेवता र मृत्यु पछिको काल्पनिक संसारमा केन्द्रित थिएन। प्राचीन ग्रिस, रोम र चीनका बासिन्दा देवीदेवताको उपासना असाध्यै गर्थे, असाध्यै अन्धविश्वासी भए पनि तिनको जीवनको योजना, काम र लक्ष्य 'अर्को जन्म'का लागि थिएन।
प्राचीन ग्रिसमा मानव जीवनको उच्चतम लक्ष्य भनेको आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्नु हो भन्ने मानिन्थ्यो। त्यो क्षेत्र खेलकुद, संगीत, कला वा राजनीति जेसुकै हुनसक्थ्यो। त्यस्तै, प्राचीन रोममा जीवनको उद्देश्य सुखी तथा नैतिकतापूर्ण जीवन जिउनु र समाजप्रतिको कर्तव्य पूरा गर्नु हो भन्ने मानिन्थ्यो।
धर्म के भन्छ?
विश्वको सबैभन्दा पुरानो एक-ईश्वरवादी धर्म मानिने जोरोस्टर धर्म (जसलाई अचेल पारसी धर्मको नामले चिनिन्छ) का प्रवर्तक जोरोस्टर (जराथ्रुस्ट) का अनुसार जीवनको उद्देश्य असल र खराबबीचको अनन्त संघर्षमा असलको पक्षमा भाग लिनु र सद्गुणको बाटो रोज्नु हो।
जोरोस्टर धर्मकै देखासिकीबाट कालान्तरमा विकास भएको यहुदी धर्मअनुसार जीवनको उद्देश्य परमेश्वरले दिएको काम पवित्रता, धार्मिकता र नैतिकवान् भएर सम्पन्न गर्नु हो। यहुदी धर्मकै एउटा हाँगा इसाई धर्मका अनुसार परमेश्वरले मानिसलाई एक विशेष उद्देश्यले सृष्टि गरेका हुन् र त्यो उद्देश्य उनीसँग व्यक्तिगत सम्बन्ध स्थापना गर्नु, उनलाई प्रेम गर्नु र उनको भक्ति गर्नु हो। यहुदी धर्मकै अर्को हाँगाका रूपमा विकसित भएको इस्लाम धर्मका अनुसार जीवनको उद्देश्य अल्लाहप्रति जीवन समर्पण गर्नु र पैगम्बर मुहम्मदले कुरानमा दिएका निर्देशनको पालना गर्नु हो। मुस्लिमहरू अल्लाहले मानिसलाई एक मात्र उद्देश्यले सृष्टि गरेका हुन् र त्यो उद्देश्य उनको सेवा र उपासना गर्नु हो भन्ने कुरामा विश्वास गर्छन्। यसरी तीन वटा ठुला पश्चिमेली धर्महरूले परमेश्वरको भक्तिमा जोड दिएका छन्।
हिन्दू धर्मका अनुसार जीवनको उद्देश्य पुनर्जन्म राम्रो बनाउन धर्मकर्म गरेर पुण्य कमाउनु हो भनेर माथि नै उल्लेख गरी सकिएको छ। हिन्दू धर्मले कल्पना गरेको अर्को अवधारणा मोक्ष हो। जन्म र मृत्युको चक्रबाट मुक्ति पाउनु र ईश्वरसँग एकाकार हुनु नै मोक्ष हो। हिन्दूहरू यो विश्वास गर्छन् कि धेरै जुनीमा पुण्य कमाएपछि अन्त्यमा मोक्ष प्राप्त गर्न सकिन्छ।
सायद बुद्ध आफैँ नास्तिक भएकाले होला, बुद्ध धर्मले भने अलिक पृथक् विचार राखेको देखिन्छ। बुद्धले जीवन दुःखमय छ, दुःखको प्रमुख कारक सांसारिक मायामोह हो र त्यसबाट उन्मुक्ति पाउने एउटै मात्र उपाय ज्ञानको खोजी गरेर बुद्धत्व प्राप्त गर्नु हो भनेका थिए।
बुद्धका अनुसार जीवनको उद्देश्य ज्ञान आर्जन गरेर बुद्धत्व प्राप्त गर्नु नै हो। बुद्धले दिएका शिक्षामा आठ मार्गहरू पर्छन्: सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि। बौद्ध धर्म मात्रै सायद त्यस्तो धर्म हो जसले जुनसुकै जीवन र त्यसपछिका यावत् परिणामहरू आफ्नै चिन्तन, वाणी र व्यवहारका उपज हुन् भन्ने मान्दछ र कुनै अदृश्य वा काल्पनिक ईश्वरको अस्तित्त्व स्वीकार्दैन। त्यसकारण यसका प्रणेता बुद्धलाई पूर्वीय संसारका सबैभन्दा महान् प्राचीन दार्शनिक मान्न सकिन्छ।
जोरोस्टर धर्मको अनुसरण गर्दै विकास भएका यहुदी, इसाई र इस्लाम धर्महरूले ईश्वरको पूजा, अर्चना र भक्तिमा झनै जोड दिए। हिन्दूहरूले पुनर्जन्म र मोक्षमा झनै जोड दिए। त्यो हुनुको मुख्य कारण त्यस समय विकास भएको सामन्तवादी आर्थिक, राजनैतिक र सामाजिक अवस्थालाई मान्न सकिन्छ। आजभन्दा केही शताब्दी अघिसम्म सर्वसाधारणहरूको जीवन असाध्यै कष्टकर थियो। सुखी जिन्दगी त शासक र सामन्तहरूको 'भाग्य'मा मात्रै पर्थ्यो। अधिकांश मानिस केही न केही रूपमा दास, बन्धक वा नोकर-चाकर थिए। औषधी उपचारको अभावले धेरै मानिस अल्पायुमै मर्थे। गरिबीबाट उम्किने सपना देख्नु पनि आकाशको फल आँखा तरी मर भनेझैँ हुन्थ्यो। त्यो समयमा एक मात्र सान्त्वना थियो: मरेपछि अर्को जन्म या स्वर्गमा सुख र न्याय पाउने कल्पनामा रमाउनु।
त्यस समयका शासक र पुजारीहरूले यस्ता अन्धविश्वासलाई मलजल गरेर हुर्काए, बढाए र फैलाए, किनभने त्यसमा उनीहरूको स्वार्थ गाँसिएको थियो। जबसम्म शासित र शोषितहरूलाई मृत्युपछिको सुन्दर संसारको मिठो सपनामा भुलाएर राख्नु सकिन्थ्यो, तबसम्म तिनीहरूबाट विद्रोहको डर हुँदैन थियो र तिनीहरूमाथि निर्धक्क शासन र शोषण गर्न सकिन्थ्यो। सायद, परलोकको त्रास देखाएर मान्छेमाथि भएको अनन्त शोषण देखेर होला, अठारौँ शताब्दीका फ्रान्सेली दार्शनिक डेनिस डिडेरोले आक्रोश पोखेका छन्, 'जबसम्म अन्तिम राजालाई अन्तिम पुजारीको आन्द्राले घाँटी बेरेर मारिँदैन, तबसम्म मानिसहरू स्वतन्त्र हुँदैनन्।'
दार्शनिक के भन्छन्?
प्राचीन ग्रीसका दार्शनिक सोक्रेटिजलाई पश्चिमी संसारको सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक मानिन्छ। उनले नै आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) र तर्कसंगत अनुसन्धानको (रासनल् इन्क्वाइरी) को जग बसालेका थिए। हुन त सोक्रेटिजले जीवनको अर्थ र उद्देश्यबारे केही पनि भनेका छैनन्, तर मानिस निरन्तर ज्ञानको खोजीमा लाग्नुपर्छ, तर्क र सद्गुणद्वारा निर्देशित जीवन जिउनुपर्छ भन्ने विचार थियो उनको।
उनका चेला प्लेटोका अनुसार जीवनको उद्देश्य र आत्माको विभिन्न पक्षहरूबीच सामञ्जस्य प्राप्त गरेर उत्कृष्ट मानव बन्नु हो। प्लेटोका चेला तथा विश्व विजेता अलेक्ज्यान्डर द ग्रेटका गुरु अरिस्टोटलका अनुसार जीवनको मुख्य उद्देश्य सुख प्राप्त गर्नु हो। खुशीसाथ बाँच्नु नै जीवनको मुख्य र एउटै लक्ष हुनुपर्छ भने उनले।
प्राचीन चीनका अर्का महान् दार्शनिक कुङ-फुजु हुन्, जो पश्चिमेलीहरूले दिएको ल्याटिन नाम कन्फ्युसियसद्वारा बढी चिनिन्छन्। उनका अनुसार जीवनको उद्देश्य प्रकृतिसँग सुमधुर सम्बन्ध स्थापित गरेर जीवन यापन गर्नु र देश तथा समाजको उन्नति हुने काम गर्नु हो। उनको विचारमा त्यस्तो जीवन गहिरो चिन्तन र गहन अध्ययनबाट मात्र सम्भव हुन्छ।
त्यस्तै, रोमन सम्राट मार्कस अरेलियस् (जसलाई रोमको पाँच महान् सम्राटमध्ये एक मानिन्छ र जो दार्शनिकको रूपमा पनि प्रख्यात छन्) को भनाइ अनुसार जीवनको उद्देश्य असल चरित्रको निर्माण गरेर समाजलाई केही योगदान दिनु हो।
आधुनिक युगका सबैभन्दा महान् दार्शनिकहरूको नाम लिनुपर्दा जर्मन दार्शनिक फ्रीड्रिक निच्चको नाम प्रायजसो पहिलो स्थानमा आउँछ। निच्चले 'गड् इज् डेड्' (भगवान् मरिसके) भनेर १९औँ शताब्दीको धार्मिक रूढिवादी युरोपेली समाजमा तहल्का मच्चाएका थिए। उनको विचारमा जीवनको उद्देश्य कुनै झुटको सहारा नलिईकन सच्चा र प्रभावशाली जीवन जिउनु हो। उनले उबर्मेन्स (जर्मन भाषाको शब्द, जसको नेपाली अनुवाद श्रेष्ठ मानव हुन्छ) को अवधारणा निकाले। उबर्मेन्स भनेको त्यस्तो व्यक्ति हो, जो आफ्नै सामर्थ्यले परम्परावादी समाजले स्थापित गरेको अन्यायपूर्ण र विभेदकारी मूल्य र मान्यताहरूभन्दा माथि उठेको हुन्छ र जसले आफ्नो जीवनको उद्देश्य आफैँ पहिचान गरेको हुन्छ र समाजको उन्नति हुने काम गर्छ।
आधुनिक दर्शनशास्त्रका पिता मानिने जर्मन दार्शनिक इम्यानुएल कान्ट्ले 'पर्सुट् अफ हाइेस्ट् गूड्' लाई जोड दिए। जीवनको उद्देश्य उच्चतम असलको खोजी गर्नु हो भने। अर्थात् हामी जतिसक्दो असल मानव बन्नु कोसिस गर्नुपर्छ र त्यसलाई नै जीवनको लक्ष्य बनाउनु पर्छ।
प्रख्यात फ्रान्सेली अस्तित्ववादी दार्शनिक जँ-पल सार्त्रका अनुसार जीवनको कुनै उद्देश्य छैन, तर उसलाई आफ्नो उद्देश्य आफै चुन्ने स्वतन्त्रता छ। त्यस कारण प्रत्येक मानवले आफ्नो जीवनको उद्देश्य आफैँ पहिचान गर्नुपर्छ। अस्तित्ववादले हामी मानव जाति स्वतन्त्र र जिम्मेवार प्राणी हौँ र हामी आफ्नै इच्छा शक्ति प्रयोग गरी आफ्नो भविष्य निर्माण गर्नु सक्षम छौँ भन्छ। यसरी प्राचीन कालदेखि आधुनिक कालका दार्शनिकहरूले असल, सार्थक र सुखी जीवन बिताउने उद्देश्य राख्नुमा जोड दिएका छन्।
विज्ञान के भन्छ?
विज्ञानले जे देख्छ, त्यही भन्छ। जुन कुरा तथ्यहरूबाट प्रमाणित गर्न सकिन्छ, त्यसलाई मात्रै सत्य मान्छ। भगवान्, स्वर्ग, नर्क र पुनर्जीवनजस्ता काल्पनिक र अप्रमाणित कुरालाई विज्ञानले सत्य मान्दैन। त्यस कारण जीवनको उद्देश्यको सवालमा पनि विज्ञानको तथ्यमा आधारित आफ्नै तर्क छ।
चाहे जनावर होस् वा बोटबिरुवा, सबैले बाँच्नुका लागि निरन्तर संघर्ष गरिरहन्छन् र गरिरहनुपर्छ। आफ्नो र आफ्नो प्रजाति (स्पिसिज्) को अस्तित्व बचाउने पहिलो उपाय आफू जतिसक्दो लामो बाँच्नु तथा अर्को उपाय जतिसक्दो धेरै सन्तान उत्पादन गर्नु हो। प्रकृतिको यही नियम पालन गर्दै जीवित प्राणीहरूले आफ्नो अस्तित्व बचाई राख्न अनेक उपाय गर्छन्।
बोटबिरुवाका बीचमा समेत राम्रो र मलिलो जमिनको लागि एक आपसमा सधैँ द्वन्द्व चलिरहन्छ। जित्नेको संख्या बढेर जान्छ र हार्ने मरेर जान्छ। बोटबिरुवालाई घाँसपात खाने जनावरहरूले खाने हुनाले आफ्नो अस्तित्व बचाउन बर्सेनि खर्बौँको संख्यामा बिउ उत्पादन गर्छन् ता कि कसैले खाएर पनि तिनको निरन्तरतालाई रोक्न नसकुन्। घाँस खाने जनावरलाई मांसाहारी जनावरले खाने हुनाले तिनले पनि अर्बौँको संख्यामा सन्तान उत्पादन गर्छन् ताकि कसैले खाएर तिनको निरन्तरता नरोकियोस्। मांसाहारी जनावरहरूको बिचमा राम्रो सिकार गर्ने ठाउँको लागि संघर्ष चलिरहन्छ।
संसारमा त्यस्ता जीवहरू पनि छन्, जसको जीवनकाल त्यति बेलासम्म मात्रै रहन्छ, जबसम्म तिनीहरूले प्रजनन क्रिया गर्दैनन्। उदाहरणको लागि भाले मौरीलाई लिन सकिन्छ। भाले मौरीले पोथी मौरीसँग यौनक्रिया गर्नासाथ त्यो भुईँमा खस्छ र मर्छ। त्यसको जीवनको उद्देश्य नै सन्तान उत्पादन गर्नु हो। त्यस्तै प्रेयिङ म्यान्टिस् (फट्याङ्राजस्तै एक खालको मांसाहारी कीरा) को भालेलाई प्रजनन क्रिया गर्दागर्दै पोथीले खानु सुरु गर्छ। त्यसको जीवनको उद्देश्य नै पोथी म्यान्टिसलाई गर्भवती बनाउनु र आफ्नै ज्यानको बलिदान दिएर त्यस अवस्थामा पोथीलाई आवश्यक पर्ने आहारा प्रदान गर्नु हो। त्यो पोथी म्यान्टिस् पनि बच्चालाई जन्म दिएको केही समयपछि मर्छ। त्यस्तै साल्मन माछा र अक्टोपस पनि सन्तान उत्पादन गरेको केही समयपछि मर्छन्।
प्रकृतिलाई एउटा व्यक्तिको भन्दा बढी प्रजातिको अस्तित्व कायम गरिराख्नु महत्त्वपूर्ण छ। यदि एउटा ठुलो समूहको फाइदाका लागि केही संख्या मर्नुपर्छ भने प्रकृति सधैँ ठुलो समूहको हित वा पक्षमा उभिन्छ। जस्तै, घाँसपात खाने जनावरहरूको संख्या धेरै ठुलो भयो भने तिनीहरूले सबै घाँसपात खाएर सिध्याउँछन् र त्यसपछि सबै जनावरहरू खान नपाएर मर्छन्। त्यस कारण, मांसाहारी जनावरहरूले घाँसपात खाने जनावरहरूलाई खाएर तिनीहरूको संख्या नियन्त्रण गर्छन्। मांसाहारी जनावरहरूले पनि जथाभाबी सिकार गर्दैनन्, आफूलाई भोक लागेको बेलामा मात्रै सिकार गर्छन् ताकि आउँदा दिनमा सबै आहारा सकिएर भोकभोकै मर्नु नपरोस्। फेरि मांसाहारी जनावरहरूको संख्या धेरै भयो भने सबै शाकाहारी जनावरहरू खाएर सिद्ध्याउँछन्, त्यसपछि तिनीहरू पनि भोकभोकै मर्नुपर्ने हुन्छ। त्यस कारण मांसाहारी जनावरहरूले कम संख्यामा सन्तान उत्पादन गर्छन् र तिनका अधिकांश बच्चाहरू वयस्क हुन नपाउँदै मर्छन्।
लाखौँ वर्षको उद्विकास (इभोलुसन) बाट प्राप्त गरेको मस्तिष्क प्रयोग गरेर हामी मानव जाती (होमो सेपियन्स) 'मारेर खाऊँ अथवा मरेर अरूको आहारा बन'को चक्रबाट धेरै माथि उठिसकेका छौँ। तर हामीले पनि आफ्नो अस्तित्व बचाइराख्न निरन्तर संघर्ष गरिराख्नु पर्छ। जसले निरन्तर संघर्ष गरिराख्छ, त्यसैले जित्छ र त्यसको अस्तित्व रहिरहन्छ। जसले संघर्ष गर्दैन, त्यो हार्छ र त्यसको अस्तित्व मेटिन्छ।
त्यस कारण विज्ञान के भन्छ भने जीवनको मुख्य उद्देश्य जसरी हुन्छ, आफ्नो जीवन लामो बनाउनु र आफ्नो प्रजातिको अस्तित्व बचाइराख्नु हो।
अन्त्यमा,
जन्मेपछि एकदिन मर्नु त छँदैछ। हामी चेतनशील प्राणी भएकाले जन्म र मृत्युको बीचको छोटो क्षणलाई कसरी बिताउने भन्ने कुरा धेरै वा थोरै मात्रामा हाम्रो हातमा छ। आजको संसार विज्ञान र प्रविधिको देन हो। धर्मले हामीलाई हजारौँ वर्षसम्म अँध्यारोमा रुमल्लाएर राख्यो। विज्ञान र प्रविधिले ३०० वर्षमै चमत्कारी रूपमा परिवर्तन गर्यो। आजभन्दा एक डेढ सय वर्ष अघिसम्म शासकहरू बाहेक अधिकांश मानिसको जीवन असाध्यै कष्टकर थियो। धेरैजसो मानिस ५० वर्ष पुग्न नपाउँदै रोग, भोक, कुपोषण र औषधी उपचारको अभावले मर्थे। हाम्रा पुर्खाहरूले दर्जनौँ सन्तान जन्माउँथे, तर रहरले होइन। त्यस समयका बच्चा अधिकांश मर्थे। त्यो बेला मानिसको जीवनको ठुलो भाग आफ्नो र आफ्नो परिवारको अस्तित्व रक्षामै बित्थ्यो। आज त्यो अवस्था छैन। विज्ञान र प्रविधिको सहाराले मानव जातिको अस्तित्व बचाइराख्ने लडाइँ हामीले धेरै थोरै रूपमा जितिसकेका छौँ।
त्यस कारण, आज हामीले असल चरित्र निर्माण गरेर सफल, सार्थक, उपलब्धिपूर्ण र सुखी जीवन बिताउने उद्देश्य राख्नुपर्छ। तपाईँ जेमा रुचि राख्नु हुन्छ, जेमा दखल छ, जुन विषयमा शिक्षा वा तालिम प्राप्त गर्नु भएको छ, त्यसैमा अब्बल बनेर सफलताको शिखरमा पुग्ने कोसिस गर्नुहोस्। त्यसो गर्दा खुसी पनि सँगसँगै आउँछ। अन्त्यमा, यदि तपाईँ कुनै अपराध, ठगी र दुष्कर्म नगरीकन आफ्नो क्षेत्रमा सफल हुनुहुन्छ भने तपाईँको जीवनको उद्देश्य पूरा भइसक्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
