‘भिगनिजम’को झोली बोकेर हिँड्दा…!

पृथ्वीको खेतीयोग्य भूमिको करिब ७० प्रतिशत केवल मासु, अण्डा र दुग्धजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ जबकि कुल खाद्यान्न आपूर्तिमा मासु, अण्डा र दुग्धजन्य पदार्थको योगदान १० प्रतिशतभन्दा पनि कम छ।

२०६६ साल। महिना र गते स्मरणमा रहेन। बारा जिल्लाको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलाको समय थियो। लाखौँको संख्यामा पशुबलि दिने सन्दर्भमा त्यो मेला ‘प्रसिद्ध’ रहेछ। त्यो समयमा बलिप्रथाको व्यापक विरोध भएको थियो। विभिन्न मिडियाहरूले सो मेला र बलिसम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रसारण गरेका थिए। म टिभीमा सोहीबारेको समाचार हेर्दै थिएँ। खुला चौरभरि टाउको गिँडेका पशुहरूको रास छ। त्यत्तिकैमा बलि दिन भनी ठिक्क पारी राखिएको एउटा राँगो वधकर्ताको हातबाट फुत्किएर तिनै मुर्कट्टा पशुहरूको रासमा टेक्दै उफ्रिँदै भाग्यो। वधकर्ता र बलि दिन भनी ‘पुण्य कमाउन’ त्यो राँगो डोर्‍याउँदै ल्याएका साहुजीले पनि भेट्न सकेनन्। राँगो अलप भयो। 

ठ्याक्कै त्यही समयमा मेरो कानमा ‘आकाशवाणी’ भयो, ‘मनुष्यको जातले प्राणीहत्या गर्नु महापाप हो। शाकाहारी बन, मासु नखा।’ मैले शिरोपर गरेँ। त्यस दिनदेखि मासु र मेरो सम्बन्धविच्छेद भयो। धत्! यो पनि कहीँ मासु छोड्ने उमेर हो? अब पोषण तत्त्व कहाँबाट पाउँछस्? अहिले चटक्क छोडेँ भन्नुहुन्न केटा। पछि खान मन लागे के गर्छस्? साथीभाइ र परिवारजनबाट यस्ता टिप्पणी आइरहे। म परे अटेरी, बैगुनी केटो। 

‍………………………….

२०५४/५५ सालतिरको घटना हो, त्यसबेला हाम्रो छिमेकी बराल दाजुभाउजू पितृश्राद्ध गर्न गयाजी भारत पुगेर फर्कनुभएको थियो। आउँदा ५ लिटरको जर्किनमा ‘गंगाजल’ ल्याउनुभएको थियो। गाउँमा कोही वृद्धवृद्धा प्राण त्याग गर्ने समयमा तुलसी मैरो (तुलसी मठ) नेर सार्ने अनि भागवत गीता सुनाउने र गंगाजल पिलाउने चलन थियो। 

गयाजीको गंगाजल लिन बराल दाइको घरमा मानिस आइरहन्थे। त्यो बेला हाम्रो घरमा खसी काट्ने तयारी थियो। केहीबेर अघिसम्म उत्तेजित भएको म, खसी काट्ने समय आइपुग्दा पिलपिल गर्न थालेछु। झट्टपट्ट बराल दाजुको घर पुगेर एक बिर्को जति गंगाजल लिएर त्यो गिँडिसकिएको टाउकोमा मुख चोइट्याएर पिलाइदिएँ। वरिपरि सबै छक्कै परे हुन् सायद। त्यो पटक मैले मासु खाइनँ। मलाई अहिले के लाग्छ भने प्राणीहत्या गलत हो भन्ने कुरो सुषुप्त ढंगले त्यही बेला मेरो मस्तिष्कमा परिसकेको हुँदो हो।

……………………………..

शाकाहार अभ्यास गरेको १२ वर्षपछि म भिगन अभ्यासतर्फ लागेँ। सामान्य अर्थमा दुग्धजन्य पदार्थसहितको फलाहारी भोजनलाई शाकाहारी भनेर बुझ्छौँ भने जनावरजन्य उत्पादनरहित भोजन नै भिगन हो। भिगनको अर्थ अझै व्यापक छ। यसअनुसार जनावरलाई निचोरेर र चिथोरेर उत्पादित कुनै पनि वस्तु उपभोग गरिँदैन। दूध, दही, अण्डा, माछा, मासु, महरहित पहिरनमा छाला जुत्ता, पर्स, ब्याग, सौन्दर्य सामग्री आदिसमेत वर्जित छन्।

भिगन भोजनको ठ्याक्कै नेपाली उल्था नभेटिए पनि लेखक/पत्रकार घनश्याम खड्काले २८ मंसिर २०७६ को कोसेलीमा ‘भिगन : बन्दै गरेको एउटा संसार’ लेखमा भिगन भोजनलाई ‘निरामिष भोजन’ नाउँ दिएका छन्। अहिले मेरो भान्छामा आउने दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्छ। तर यसको प्राकृतिक मूल्य यो हैन। यदि प्राकृतिक चक्रको स्वतःस्फूर्त पालना हुन्थ्यो भने यो दूध कम्तीमा पनि १५० रुपैयाँ प्रतिलिटर अवश्य पर्थ्यो।  दूध, दही, घ्यु, मही अनि अलि धेरै भयो भने कुराउनी। हामी सानो छँदा दूधका परिकार यत्ति थिए। पनिर, चिज, केक, आइसक्रिम, थरिथरिका मिठाई त धेरैपछि सुनिएको देखिएको हो। अहिले त दूधको ठूलो हिस्सा सौन्दर्य सामग्री र चकलेटका लागि प्रयोग हुन्छ। पहिले दूधको माग सीमित थियो। बिस्तारै यसको माग ह्वात्तै बढ्न गयो। माग बढेपछि आपूर्ति बढाउनैपर्ने दबाब भयो। आपूर्तिकर्ता वा उत्पादकले पनि जे कुराको माग धेरै छ त्यसकै आपूर्तिमा बढी मुनाफा देख्यो।

तर दूध अन्य वस्तुजस्तो कारखानामा एकातिरबाट कच्चापदार्थ कोच्ने अनि अर्को तर्फबाट तयारी माल निकाल्ने खालको वस्तु परेन। यो त जनावरबाट निचोरेर निकाल्ने वस्तु हो। यसको व्यापक आपूर्तिमा समस्या भए पनि मानिसले अनेक कृत्रिम र क्रूर प्रक्रिया अपनाउन थाल्यो। हामी आधुनिक, वैज्ञानिक कृषिको नाउँमा क्रूर र विवेकहीन कृषितर्फ दौड्न थाल्यौँ। नाफा नै अन्तिम सत्य हो भनेर पशुलाई निर्जीव ढुंगाझैँ व्यवहार गर्न थाल्यौँ।

अहिले व्यावसायिक डेरीका लागि पालिने गाई वा भैँसीको प्राकृतिक रूपमा गर्भधारण हुँदैन। त्यहाँ मैथुन प्रक्रियाका लागि बहर वा राँगोको आवश्यकता पर्दैन। "यसरी कुनै उपयोगिता नै नहुने बहर वा राँगो किन पाल्नु? गाई भैँसीले दिने दूधको केही मात्रा तिनका बच्चालाई किन ख्वाउनु?" जन्मेको केही समयमै बाच्छा र पाडाहरू कि त मारिन्छन्, नेपाल र भारतको हकमा यदि गाईको बाच्छा हो भने सडकमा मर्नकै लागि छाडिन्छन्। अबको युगमा हामीले बहर र पाडोलाई स्तनधारी नभने पनि हुन्छ किनकि यी दूधै पिउनै नपाई मर्छन्/मारिन्छन्। सुत्केरी गाई वा भैँसी प्राकृतिक रूपमा तंग्रिन नपाउँदै त्यसलाई जबर्जस्ती मेसिनको सहायताबाट गर्भधारण गराइन्छ। यदि मान्छेलाई यस्तो गरिन्थ्यो भने हामी त्यसलाई बलात्कार भन्ने थियौँ। 

यो त भयो पशु सग्लो र स्वस्थ्य हुँदासम्मको कुरा। आफ्नो जीवन अवधिभर पशुले अनेक कष्ट त भोग्छन् नै तर जब उसको रस निख्रिन्छ, ती कि त छाडा छोडिन्छन् कि त मासुका लागि कसाइकहाँ पठाइन्छ। ट्रकमा खाँदेर भारततिर गाईगाेरु पठाएको र तराई मधेसबाट उसैगरी भैँसी ल्याएको हामी देख्ने गर्छाैं। बिना पानी र खाना कैयौँ दिन गाडीमा कोचिएका तिनको मरण कहालीलाग्दो हुन्छ। कति त एकअर्काबाट थिचिएरै बीच बाटैमा मर्छन्। यहाँ अधिक दूध उत्पादनका लागि जति अमानवीय र क्रूर कार्य गरिन्छ, त्यसो नगरी प्राकृतिक चक्रको पालना गरिने हो र त्यसको लागत दूधको उत्पादनमा जोडिने हो भने दूधको मूल्य आजको जस्तो सस्तो हुने थिएन। 

अर्को उल्लेख्य कुरा यो हो कि, स्तनधारी प्राणीको विशेषता नै के हो भने उसको दाँत परिपक्व नहुँदासम्म मात्र उसले आमाको दूध पिउँछ। उसको दाँत जब परिपक्व भएर ठोस खाने कुरा चपाउने क्षमता राख्छ, तब दूध खान बिस्तारै छोड्छ। तर, मानिस स्तनधारी भएर पनि यस्तो विचित्रको प्राणी हो जो दाँत परिपक्व भई दाँत झरेर मर्ने बेलासम्म पनि अरू नै प्राणीको दूध पिइरहन्छ। तर, एउटा सहरिया स्कुले विद्यार्थीले आफ्नो गिलासमा आउने दूध कुन मूल्य चुकाएर वा कुन क्रूरताको शृंखला पार गरेर आएको भन्ने थाहा पाउँदैन। कहिलेकाहीँ लाग्छ, यदि ती क्रूरताको शृंखला थाहा हुने हो भने सायद ‘दूध नाइँ नाइँ नाइँ’ भथ्यो कि!

तारनतार उठ्ने केही प्रश्नहरू: 

माछामासु अनि दूधसमेत नखाने भए पोषण तत्त्व कहाँबाट पाउने? 

पोषणका लागि माछा, मासु, अण्डा वा दुग्धजन्य पदार्थ मात्र हुन् भन्ने गलत भाष्यको व्यापक प्रचार गरिएको छ। यो बिल्कुल गलत हो। यस्ता पशुजन्य पदार्थबाट पाइने पोषणलाई विस्थापन गर्ने थुप्रै फलाहारी तत्त्व हाम्रै भान्सामा हुन्छन्। फलफूल, सोयाबिन, तोफु आदि (सामान्य दुःख तपाईं पनि गर्नुस् ल, इन्टरनेटमा खोज्नुहोला।) 

पशुजन्य पदार्थ नखाने हो भने त यिनको संख्या ह्वात्तै बढ्छ, कसरी सम्हाल्ने नि? 

अहिले वार्षिक अर्बौं पशुपक्षी मासुका लागि मारिन्छन् भने दूधका लागि पनि करोडौँ पशु पालिन्छन्। तर यो सबै व्यावसायिक उत्पादनका लागि कृत्रिम तरिकाले र प्राकृतिक क्षमताभन्दा दशौँ गुणा बढी उत्पादन गरिन्छन्। यदि प्राकृतिक चक्रलाई पालना गर्ने हो भने सन्तुलनको परिमाणमा मात्रै पशुपक्षीको संख्या हुनजानेछ। 

पशुपालनमै लाखौँको रोजीरोटी टिकेको छ, के गर्ने ? 

सन् २०१८ को तथ्यांकअनुसार भारतको राजस्थान राज्यमा ७४.९० प्रतिशत जनसंख्या शाकाहारी छन्। अर्थशास्त्रको नियमअनुसार कुनै वस्तुको माग बिस्तारै घट्यो भने त्यसको आपूर्ति पनि घट्छ र आपूर्तिकर्ता वा उत्पादकले पनि अरू विकल्प खोज्छ। राजस्थानमा पनि मानिस मासुजन्य पदार्थको विकल्पमा अन्य रोजीरोटी अपनाउँछन्। अर्थतन्त्र मज्जाले चल्छ। 

रूख, बिरुवा, तिहुन, तरकारी पनि त खान भएन नि, त्यहाँ पनि जीवन हुन्छ? 

प्राकृतिक र वैज्ञानिक खोजअनुसार पनि मानिस मूल रूपमा शाकाहारी प्राणी हो। जनावर र बिरुवा दुवै सजीव भए पनि यी अतुलनीय कुरा हुन्। बिरुवामा दिमाग हुँदैन (र, विवेक पनि हुँदैन)। दुखाइका लागि मस्तिष्क र नशा प्रणाली आवश्यक हुन्छ, बिरुवामा त्यो हुँदैन।   

दूध, दहीसमेत नखाइकन यति ठूलाे त्याग केका लागि?

करुणा, प्रेम, स्नेहका लागि। हामीजस्तै कुनै प्राणी (जो केवल बोल्न र प्रतिकार गर्न मात्र सक्दैन) को हत्या वा शोषण नहोस् भन्नका लागि। स्वास्थ्य, मानवता र आत्मानन्दका लागि पनि पूर्ण शाकाहारी हुनु उचित छ। 

यसरी पर्यावरण र पृथ्वी रक्षा हुन्छ?

अहिले पृथ्वीको खेतीयोग्य भूमिको करिब ७० प्रतिशत केवल मासु, अण्डा र दुग्धजन्य पदार्थ उत्पादनका लागि दाना र घाँस उत्पादनका लागि प्रयोग हुन्छ जबकि कुल खाद्यान्न आपूर्तिमा मासु, अण्डा र दुग्धजन्य पदार्थको योगदान १० प्रतिशतभन्दा पनि कम छ (ग्लोबल एग्रिकल्चर डट कम)। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनअनुसार विश्व कार्बन उत्सर्जनमा जनावरजन्य उत्पादनको योगदान १४.५ प्रतिशत छ। संसारका धेरै जनसंख्याले माछामासु र दहीदूध छाड्ने हो भने धेरै जमिनहरू पूर्वअवस्थामै फर्कनेछन्। त्यसले कार्बन उत्सर्जनमा ठूलाे कमी ल्याउनेछ। 

आफैं हत्या नगरीकन या कष्ट नदिइकन जनावरजन्य भोजन गर्दा के फरक पर्छ र? 

हामीले सृजना गर्ने मागकै कारण कसैले प्राणी हत्या गर्छ भने त्यसको हिस्सेदार हामी पनि हौँ। र, भिगन जीवनको अभ्यास गर्न निक्कै गाह्रो भने अवश्य छ। हाम्रो भान्सा र पूजाकाेठा दुग्धपदार्थले युक्त छ। बिहानै दूध चिया, दालमा घ्यु, कतै पूजाआजामा गइयो भने पञ्चामृत लिनैपर्ने, घ्युमा पकाएका रोटी प्रसाद, जन्मदिन मनाउँदा केक काट्नैपर्ने। बाहिर रेस्टुरेन्टतिर जाऊँ भोकै बस्नुपर्ने जस्तो। साथीभाइ जमघट, इष्टमित्र भेटघाट,  चाडबाड, सभा समारोहमा सबतिर एक्लिने डर हुन्छ।

म वैयक्तिक स्वतन्त्रताको उच्च कदर गर्छु। मेरै भान्छामा पनि दूध नियमित आउँछ। तर कम्तीमा म चैँ खान्नँ या प्रयोग गर्दिनँ भने सानै हिस्सामा भए पनि यसले माग घटाउँछ। पृथ्वीको सु–स्वास्थ्य, आफ्नै स्वास्थ्य, दयामाया, प्रेम, करुणा, र मानवताका लागि सोची सम्झेर मैले सानो यत्न गरेँ। लामो प्रयासपछि बल्लबल्ल म बदिलएको कथाले यहाँलाई पनि थोरै प्रभाव पारोस् भन्ने मेरो इच्छा हो।