थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।
पछिल्लो एक महिना कर्मथलो घोराही, दाङका केही धार्मिकस्थल घुम्ने मौका जुर्यो। पहिले नै खुम्चिएका धार्मिकस्थलमा थप संरचना थपिई नै रहेका छन्। मानिसहरूको आवतजावत बाक्लिएको छ। जसका कारण स्थानीय व्यापार पनि बढ्ने नै भयो। सजिलो भाषामा भन्ने हो भने स्थानीय धार्मिक पर्यटनसमेत बढेको छ।
धार्मिकस्थल अवलोकन गर्दा मूर्ति, सहायक मन्दिर, घण्टा, शिवलिंग, हवन कुण्ड, यज्ञ मण्डप, गजुर इत्यादिका लागि सौजन्यकर्ता दानी र समाजसेवी असंख्य छन्। मन्दिरमा तीर्थालु बस्न भनेर गाडिएका फलामेकुर्सी छन्, त्यसमा पनि नाम कुँदेर सौजन्यकर्ता अमर बनेका छन्। पाँचदेखि हजार पर्ने भित्तेघडीमा पनि नामै टाँसिएको छ। यो अलग कुरा भयो।
घुमेका सबै स्थलका दान या सेवाको एकीकृत मौद्रिक मूल्यको हिसाब गर्ने हो भने दशौँ करोड हुँदो हो भन्ने अनुमान छ। शिलालेखमा नाउँ खोपिएका दानीमा मूलतः बाहुन, ठकुरी र क्षेत्रीको बाहुल्य छ। आधारभूत रूपमा इतिहासमा असीमित भूस्वामित्वको लाभ लिएर त्यसकै जगमा आर्थिक समृद्धि हासिल गरेका र संरचनाको सबैभन्दा माथिल्लो तहमा बसेका यी समुदायले 'दानी वा समाजसेवी’ हुने क्षमता बनायो। ऐतिहासिक रूपमा पिँधमा परेकाले यी देवालय बनाउन श्रम र सीप दान गरे, तर त्यो कहिल्यै दान या समाजसेवा हुन पाएन। तिनका नाम कुनै इँटा र भित्तामा टाँसिन सम्भव भएन।
र, दान प्राय: देवालयमा मात्र हुन गए। दान कहाँ गर्ने भन्ने कुरा व्यक्तिको निजी छनोटको विषय हो। आफ्नो पैसो जसले जहाँ दान गरे पनि कसलाई के चासो भन्न सकिएला, तर 'समाजसेवा'को हैसियत भएकाले समाजसेवाको महत्त्वपूर्ण र प्राथमिक क्षेत्र पहिचान गर्ने विषयमा पहिले र अहिले पनि चुक भएको छ कि भन्ने लाग्छ।
हाम्रोजस्तो विपन्न, दरिद्र र पछौटेपन भएको समाजमा संरचनात्मक रूपमा युगौँदेखि लाभमा परेका समुदायले देवालय जत्तिकै प्राथमिकता शिक्षा, शिक्षालय र अस्पताल निर्माण/उत्थानमा दिएको भए या दिन सक्दा समाज अझै उन्नत हुन सक्थ्यो कि भन्ने मेरो मत हो। धार्मिक सम्पदा; मन्दिर, मस्जिद, चर्ज, गिर्जाघर, गुम्बा इत्यादि हाम्रा धार्मिक आस्थाका प्रतीक हुन्। पुर्खाले पहिले नै हामीलाई त्यस्ता प्रशस्त सम्पदा छाडेर गएका छन्। कतिपय पुराना सम्पदा भत्केका र मक्किएका छन्। तिनको जीर्णोद्धार, संरक्षण र सामान्य श्रृंगारपटार गरे मात्रै पनि हामीलाई देवालय पुग्दो छ। अतः यस्ता काममा दान गर्नु नै हुँदैन भन्ने कुरा होइन, तर यसमा दानको सानो हिस्सा पर्याप्त हुन्छ।
लोभलाग्दो स्थानीय दृष्टान्त
विसं. २००० भदौमा घोराहीमा केही जागरूक दंगालीको पहलमा 'श्री ३ जुद्ध पब्लिक मिडिल स्कुल' स्थापना भयो। प्रधानाध्यापकमा छानिए तत्कालीन ब्रिटिस भारतीय राज्य पन्जाबमा उच्चशिक्षा प्राप्त गरेका सल्यान रानागाउँका सूर्यप्रकाश गिरी। आफ्नै नाउँमा खुलेको विद्यालय खुल्दासमेत ‘जनताले स्कुल सञ्चालन गर्न पाउने नीति नभएको’ भन्दै श्री ३ महाराज जुद्ध शमशेरले सो शिक्षालय बन्द गर्न आदेश दिए।
बडो उत्साहपूर्वक प्रधानाध्यापक भएका सूर्यप्रकाश गिरी फेरि भारत पसे। २००२ मा पद्मशमशेर श्री ३ महाराज भएपछि केही खुकुलो वातावरण बन्यो। फेरि केही जागरूक दंगालीहरू विद्यालय स्थापनार्थ श्री ३ महाराजसमक्ष बिन्तीपत्र चढाउन काठमाडौँ हानिए। स्कुल स्थापनाको आश्वासन बोकेर टोली दाङ उत्रियो। पद्मशमशेरको सुधारवादी योजनाबारे अखबारमा पढेका सूर्यप्रकाश गिरी नेपाल फर्किए। स्कुल स्थापना र सञ्चालनको विस्तृत खाका बोकेर गिरी फेरि श्री ३ महाराजकहाँ हाजिर हुन काठमाडौँ पुगे। अन्ततः २००३ सालको उत्तरार्धतिर स्कुलको स्वीकृति पत्र बोकेर उनी दाङ आइपुगे।
लामो रस्साकस्सीपछि २००४ सालको जेठ महिनामा 'पद्मोदय पब्लिक मिडिल स्कुल’को नाउँबाट स्कुलको थालनी भयो। सबैका अगुवा दाङ घनिबगियाका सम्पन्न र शिक्षित परिवारका दामोदर शर्मा घिमिरे थिए।
२००५ सालमा स्कुलको अस्थायी टहरामा प्रथम वार्षिकोत्सव मनाउने क्रममा नाटक मञ्चन गर्दैगर्दा मेन्टोल (पेट्रोम्याक्स) विस्फोट भई आगलागी भई सबै संरचना धुलोपिठो भयो। भर्खर हुर्कँदै गरेको शिशु स्कुललाई हुर्काउन फेरि उनै दामोदर अघि सरे। आफू र आफ्ना चार दाजुभाइ (दामोदर शर्मा, मिनकेतन शर्मा, भरतमणि शर्मा र चिन्तामणि शर्मा)ले भरतपुरको चार बिगाहा जमिन स्कुललाई दान गरे। आर्थिक सहयोग संकलनको नेतृत्व आफैँले दुई हजार ५०० रुपैयाँ दान दिएर शुरू गरे। आफ्नै परिवारमा शिक्षामा दानको महत्त्व बुझाउन उनलाई पहिले गाह्रो भयो। दाङको हापुरमा अति धनी एक गौतम परिवार थिए। आर्थिक रूपमा सम्पन्न, तर लोभी-कन्जुस त्यस परिवारमा यो अभियानको महत्त्व बुझाउँदा पनि सहयोग नपाएपछि उनी अनसन बसेरै सहयोग लिई छोडे। यसरी स्कुल हुर्किँदै, परिपक्व हुँदै साबिकको राप्ती अञ्चलकै एक प्रख्यात स्कुल बन्यो। आफ्नो समयमा जतिसक्दो शिक्षाको उज्यालो ज्योति छर्ने काम यसले गर्यो।
स्कुलसँगै साँध सिमाना जोडिएको महेन्द्र बहुमुखी क्याम्पस, महेन्द्र अस्पताल निर्माणमा पनि शर्माले अगुवाइ गरे। सल्यान, प्युठान र रोल्पालगायत टाढाटाढाबाट आउने विद्यार्थी र भारतबाट समेत आउने शिक्षकका लागि छात्रावास बनाउन आफैँ खटिए। उनकै अगुवाइ श्रमदानबाट शुरू भएको सडक अहिले 'दामोदर रोड’का नामले चिनिन्छ। यो साँचो अर्थमा समाजसेवा थियो। भन्नलाई त के पनि भन्न सकिएला, "निज दामोदर शर्मा घिमिरे एक सम्भ्रान्त, पुगिसरी भएका र असीमित भूस्वामित्वको लाभ लिएका जमिनदार थिए। यसर्थ उनको यो दान दातव्य ठूलो कुरो होइन।"
तर त्यो समयमा थुप्रै जमिनदार र सम्भ्रान्त समुदाय अहिलेझैँ मठमन्दिर र धार्मिक गुठीलाई दान गरेर पनि 'समाजसेवी’ कहलिन्थे। दामोदर शर्मा पनि त्यस्तै सहज बाटो रोज्न सक्थे। अनुमान गरौँ त, त्यस समयका जमिनदार र शिक्षित समुदाय सबैले देशैभर दामोदर शर्मा घिमिरेको झैँ पहल गरिदिएको भए समाजको विकासको गति कति अगाडि बढेको हुँदो हो? शर्माले देवालयको दानपेटीमा पैसा खसाल्ने सहज समाजसेवा रोजेका भए यस क्षेत्रमा शिक्षाको ज्योति छिर्न पक्कै अबेर हुने थियो।
प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, बहुआयामिक गरिबी सूचकांकका तथ्यांक केलाउने हो भने हामी अत्यन्तै पछौटेपन र दरिद्रतामा जीविका चलाइरहेका जनता हौँ। त्यसो हुँदा बिनापरिश्रम, बिनाअतिरिक्त मिहिनेत संरचनाको लाभ लिएको समुदायले झनै संवेदनशील भएर आफ्नो दानको ठूलो हिस्सा यो पछौटेपन र दरिद्रता हटाउन तर्फ लाग्नुपर्ने हो।
निश्चय नै, धार्मिक अनुष्ठान, मन्दिर, मस्जिद, चर्चमा हुने लगानी (दान) ले पनि अर्थतन्त्र चलायमान बनाउँछ नै। त्यसले पर्यटन प्रवर्द्धन पनि होला। तर सत्य के हो भने हामीसँग पहिले भएकै धार्मिकस्थल पर्यटन प्रवर्द्धनका लागि पर्याप्त छन्। थप कंक्रिट संरचनाहरू हाम्रा लागि आवश्यक छैनन्।
हाम्रोजस्तो विपन्न देशमा प्राथमिकताको लामो सूची छ। हरेक खर्चयोग्य कोषका लागि वैकल्पिक खर्चको सुविधा हुन्छ र त्यो वैकल्पिक खर्चले पनि त्यत्तिकै मात्रामा अर्थतन्त्र चलायमान बनाउँछ। अझ दरिद्रता, विपन्नता, अशिक्षा, कुपोषणविरुद्ध हुने सहयोग/दानको आर्थिक मात्र नभई बहुआयामिक लाभ हुन्छ। मानव विकासका काममा निजी दान र तिनै दानीको सुपरिवेक्षणमा गरिने खर्चको प्रभाकारिता सरकारी खर्चको तुलनामा निकै बढी हुन्छ।
राजनीतिक र प्रशासनिक नेतृत्वको पुच्छर निमोठ्न पनि समाजसेवाको क्षेत्र मानव विकासतर्फ केन्द्रित हुन जरुरी छ। मानव विकास र जनसाधारणको जागरूकता जति तीव्र हुन्छ, त्यही गतिमा राजनीतिक शुद्धीकरण र सुशासनको दबाब पनि बढ्छ।
सबै कानूनसम्मत कुरा नैतिकताको परिधिभित्र नपर्न सक्छन्। वैयक्तिक स्वतन्त्रताको उच्चतम उपभोग गरिरहँदा सबै धनीमानी, सम्पन्न, संरचनाको लाभ लिएर माथिल्लो तहमा आसीन र समाजसेवा गर्ने आर्थिक हैसियत भएकोलाई आफ्नो दानको क्षेत्र रोज्ने अधिकार हुने नै भयो। बलपूर्वक यता दान गर त्यता नगर भन्न मिलेन। तर थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।
आचार्य दाङमा रहेर उद्यम गर्छन्। यो लेखकको व्यक्तिगत विचार हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
