सन् १९४० को दशकदेखि वर्षाको रेकर्ड राख्न थालिएको भए पनि जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० यताको तापक्रम, वर्षा र बाढीको व्यवस्थित विवरण उपलब्ध छ।
काठमाडौँ– कतिबेला पानी पर्छ। अनि कतिबेला घाम लाग्छ। मौसम कस्तो हुनेवाला छ? कति मात्रामा पानी पर्यो? यस्ता खालका मौसमी सूचना अहिले हातहातमा बोकिने स्मार्टफोनमा सहजै प्राप्त गर्न सकिन्छ जसका आधारमा कहाँ कतिबेला यात्रा गर्ने वा नगर्ने त्यसको निक्र्यौल गर्न सजिलो भएको छ।
खेतीपाती गर्ने किसानलाई पनि त्यसरी सजिलै पाइने मौसमी सूचनाले अध्यावधिक जानकारीयुक्त बनाएको छ। अहिले मनसुनको समय छ। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कहाँ कति पानी परिरहेको छ, कुन खोलामा बाढीको अवस्था कस्तो छ भन्ने जिज्ञासाको जवाफ पाउन पहिले जल तथा मौसम विज्ञान विभागको भर पर्नुपर्थ्यो। तर अहिले यस्ता सूचना जो कोहीले आफ्नो मोबाइल वा ल्यापटपमा सजिलै संसारका जुनसुकै कुनामा बसेर हेर्न सक्छन्।
देशका विभिन्न ठाउँमा राखिएका स्वचालित मौसम तथा जलमापन केन्द्रमार्फत मौसमी सूचना प्राप्त गर्न सम्भव भएको हो। प्रविधिको विकासले मानिसलाई क्षण–प्रतिक्षणको मौसमसम्बन्धी सूचना पाउन सजिलो मात्र बनाएको छैन। बाढी, पहिरोजस्ता मौसमजन्य घटनाबाट हुने जनधनको क्षति कम गर्न पनि सघाएको छ।
जल तथा मौसम विज्ञान विभागले यसरी नागरिकलाई क्षण–क्षणको मौसमी गतिविधिका सूचना पुर्याउन शुरू गरेको झन्डै एक दशक भयो। तर कुनै बेला यस्तो समय पनि थियो, देशका विभिन्न ठाउँमा कति वर्षा भयो अनि त्यहाँको तापक्रम कस्तो रह्यो भनेर जानकारी पाउन महिनौँ कुर्नुपर्थ्यो। नेपालमा मौसम विज्ञान विभागको सेवा शुरू गर्ने संस्थापक एवं हावापानी वैज्ञानिक डा. जनकलाल नायवा श्रेष्ठका अनुसार पहिले देशका विभिन्न ठाउँको जल तथा हावापानी र मौसमको विवरण काठमाडौँसम्म आइपुग्न तीनदेखि चार महिनासम्म लाग्थ्यो।
“काठमाडौँभन्दा बाहिरका विभिन्न ठाउँमा भएका स्टेशनको विवरण आइपुग्न चार महिनासम्म लाग्थ्यो। स्टेशनमा लगबुक दिइएको हुन्थ्यो। त्यहाँको अवस्थाको बारेमा तोकिएको व्यक्तिले हरेक दिन एउटै समयमा लगबुकमा भरेर विवरण राख्थे,” उनी भन्छन् “महिनाभरको विवरण भरेर विभागमा हुलाकमार्फत पठाइन्थ्यो। त्यो सूचना आइपुग्दा तीन–चार महिना बितिसक्थ्यो।” श्रेष्ठका अनुसार स्टेशनमा दैनिक विवरण संकलन गर्ने व्यक्तिले पाउने मासिक ज्याला २५ रुपैयाँ मात्र थियो।
कहिलेदेखि नाप्न थालियो हावापानी?
सन् १९४० को दशकदेखि नै वर्षाको रेर्कड राख्न थालिएको भए पनि जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि यताको तापक्रम, वर्षा र बाढीको व्यवस्थित विवरण उपलब्ध छ। विभागका अनुसार अहिले देशभरमा तापक्रम, वर्षा तथा नदीमा पानीको सतह नाप्ने ६०० भन्दा बढी मापनकेन्द्रहरू छन्।
सन् १९६७ मा विभागको स्थापना हुनुअघि नेपालको हावापानीको विवरण राख्ने कामको शुरूआत चाहिँ बेलायतीहरूले गरेका थिए। जनकलाल नायवा श्रेष्ठका अनुसार काठमाडौँमा रहेको बेलायती राजदूतावासले सन् १८७९ देखि दैनिक तापक्रमको विवरण लिन शुरू गरेको थियो। त्यतिबेला दूतावासले आफ्नो कार्यालय परिसरको तापक्रम नाप्न शुरू गरेको थियो। यो नै नेपालको तापक्रम मापनको थालनी भएको श्रेष्ठ बताउँछन्।
वर्षा र खोलाको पानीको मापन चाहिँ सन् १९४० देखि शुरू भएको मानिन्छ। त्यो काम नेपाली इन्जिनियरहरूले नै गरेका थिए। उनका अनुसार सन् १९३९ मा निर्माण सम्पन्न भएको नेपालको दोस्रो जलविद्युत आयोजना सुन्दरीजल निर्माणका क्रममा त्यहाँको वर्षा र पानीको विवरण संकलन गरिएको थियो।
सन् १९४७ मा भारतले नेपालको १०४ स्थानमा स्टेशन राखेर नेपालको तापक्रम तथा वर्षा र प्रमुख नदीहरूको जलसतहको सूचना राख्न थालेको इतिहास भेटिन्छ। नेपालले सन् १९७० मा मात्र भारतले राखेका १०४ स्थानमा नयाँ स्टेशन राखेर भारतीय स्टेशनलाई विस्थापित गरेको विभागका संस्थापक श्रेष्ठ बताउँछन्।
वर्षा मापनका लागि प्रयोग गरिने मेसिन ‘रेनगेज’ कामाडौँको बालाजुस्थित बालाजु यन्त्रशालामा निर्माण गरिएको थियो। त्यसमा आवश्यक पर्ने ‘स्टिक’ अमेरिका र तापक्रम मापनका लागि आवश्यक थर्मोमिटर चाहिँ जर्मनीबाट आयात गरिएको थियो।
भारतले दक्षिणको तराईदेखि उत्तरतर्फ चीनसँग सीमा जोडिएका उच्च हिमालसम्म मौसम स्टेशन राखेको थियो। उत्तरको उच्चस्थानमा रहेका स्टेशनहरूमा भने हावापानीसम्बन्धी सूचना लिन त्यतिबेला नै वायरलेस उपकरण राखिएको श्रेष्ठ बताउँछन्।
“ब्रिटिसको पालादेखि इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्टले नेपालको १०४ ठाउँमा स्टेशन राखेको थियो। कोशी पुल बनाउने सन्दर्भमा राखेको हुन सक्छ, त्यस्ता स्टेशन देशभर राखिएका रहेछन्,” श्रेष्ठ भन्छन् “नेपालमा विभाग स्थापना भएपछि नेपालसँग स्वीकृति लिन आउनुपर्थ्यो, अनि पैसा पनि दिनुपथ्र्याे। नेपालको आफ्नै विभाग भएपछि अरू देशको राख्न उचित नभएको र उत्तरी सिमाना जोडिएको तत्कालीन तिब्बतमा खम्पा विद्रोह भएकाले पनि सुरक्षाका कारण ती स्टेशन बन्द गरिए।”
जहाँ–जहाँ भारतीय मेट्रोलोजिकल डिपार्टमेन्टले स्टेशन राखेको थियो त्यहाँ नेपालले दुरुस्तै स्टेशन राख्नुको कारण चाहिँ तथ्यांकको निरन्तरता दिनु थियो। नेपाललाई १०४ ठाउँमा स्टेशन खडा गर्न दुई वर्ष लाग्यो। नेपालले विभाग स्थापना गरेपछि भारतीय हावापानीबाट नेपालसँग सम्बन्धित तथ्यांक ल्याएर प्रकाशित गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्मा भने भारतको रुचि नेपालको पानीमा भएकाले पहिलेदेखि नै यहाँको वर्षा र खोला तथा नदीहरूको वहाव नाप्न विभिन्न ठाउँमा स्टेशन राखेको बताउँछन्। “नेपालमा पर्ने पानी अन्ततः बगेर भारतमा जाने भएर पनि होला, भारतको रुचि यहाँको पानीमा देखिन्छ,” शर्मा भन्छन्, “अहिले पनि नेपालको डेटा नेपालले भन्दा धेरै भारतीयहरूले प्रयोग गरिरहेका छन्।”
हवाई सेवाले निम्त्याएको प्रविधि
नेपालमा सन् १९६७ (२०२४ साल) मा तत्कालीन जलस्रोत तथा जलवायु विज्ञान विभागको स्थापना भयो जुन कदम यहाँको हवाई सेवासँग जोडिएको छ। सन् १९४९ मा नेपालका लागि भारतीय राजदूत सरजित सिंह आफ्नो निजी विमान चढेर नेपाल आएका थिए। नेपालमा पहिलो पटक विमान अवतरण भएको घटना त्यही नै थियो।
सन् १९५० मा भारतीय हिमालयन एभियसनको डकोटा डीसी–३ ले नेपालमा पहिलो उडान अनुमति पाएको थियो। नेपालमा जहाज उडान भएपछि त्यसका लागि इनरुटको मौसमी सूचना आवश्यक पर्थ्यो। हवाई यातायातलाई मौसमसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को नियमपछि नेपालमा विभाग स्थापना गरिएको हो।
त्यसभन्दा अघि नेपालको हवाई यातायातमा आवश्यक पर्ने सूचना भारतीय मौसम विज्ञान विभाग अन्तर्गतको निकायले उपलब्ध गराउँथ्यो। भारतको कोलकातास्थित उक्त निकायको कार्यालय नेपालको विमानस्थलमा थियो। सन् १९६७ मा विभागको स्थापना भए पनि हवाईजहाजको इनरुटसम्बन्धी मौसमी सूचना भने सन् १९७० को अप्रिल २ देखि प्रदान गर्न थालिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
