एनपीएल अनियमितता
नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ।
काठमाडौँ– सिंगापुरमा आयोजित विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक सम्मेलनअन्तर्गत गत शनिबारको सत्रमा नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काको प्रस्तुतिबाट त्यहाँ उपस्थित १०८ देशका प्रतिनिधि प्रभावित भए। उद्घोषक तथा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर मिखाइल वासवानीले पारसको प्रस्तुतिको सार्वजनिक रूपमै प्रशंसा गरे। प्रस्तुति दिँदादिँदै पारस आफैले पनि भने, “नाउ, नेपाल इज रेडी फर बिग स्टेज।”
नेपाली टिमका पूर्वकप्तान तथा अलराउन्डर पारसले आईसीसीको त्यो मञ्चलाई नेपालमा चुलिँदो क्रिकेट क्रेज र सरकारले क्रिकेट खेलको विकासमा गरिरहेका प्रयासबारे अर्थ्याउने अवसरका रूपमा पनि उपयोग गरे। जुलाई १७ देखि २० सम्म चलेको आईसीसीको यो सम्मेलनको अन्तिम दिन नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द ईयर’ अवार्डसमेत पायो।
सम्मेलनमा नेपाली क्रिकेटको वृहत् तस्वीर प्रस्तुत गर्नेक्रममा पारसले गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को बेलिबिस्तार लगाउँदा प्रतियोगिताको ट्रफी र त्यसमा प्रयोग भएको कालापत्थरको ढुंगाबारे पनि चर्चा गरेका थिए। बिग स्क्रिनमा एनपीएलको ट्रफी देखाउँदै उनले भनेका थिए, “तपाईं अहिले जुन ट्रफी हेरिरहनुभएको छ, त्यसको माथि ढुंगा राखिएको छ। यो ढुंगा हामीले सगरमाथा आधारशिविरबाट ल्याएका थियौँ। यसबाट हामी जलवायु परिवर्तन जस्तो विकराल समस्याबाट विश्वलाई बचाउन चाहेको सन्देश दिन चाहन्थ्यौँ।”

गत मंसिरमा एनपीएलको पहिलो सिजन शुरू हुनुभन्दा पाँच दिनअघि, प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरूले धरहरा परिसरबाट ट्रफी अनावरण गर्दा पनि पारसले ट्रफीको मुख्य आकर्षण सगरमाथा आधारशिविर, कालापत्थरबाट ल्याइएको ढुंगा नै रहेको बताएका थिए। उनले नेपालको हिमाललाई विश्वमा चिनाउन त्यसो गरिएको बताएका थिए।
पारसले त्यसबेला हिमालको प्रचार र अहिले जलवायु परिवर्तनसित जोडेर आईसीसीको मञ्चमा देखाएको एनपीएलको त्यही ट्रफीमा प्रयोग भएको पत्थर अर्थात् ढुंगा ल्याउन भ्रष्टाचार भएको तथ्य फेला परेको छ। एनपीएलको पहिलो सिजन नै भ्रष्टाचार र अपारदर्शीताको दलदलमा देखिइरहँदा त्यसकै ट्रफीमा प्रयोग भएको ढुंगासमेत यसबाट अछुतो देखिएन।
सगरमाथा आधारशिविरबाट ढुंगा ल्याउन एनपीएल परिचालन परिषद् संयोजकका रूपमा पारसले नै हिमाल आरोहीद्वय मिङ्मा डेभिड शेर्पा र निमा शेर्पालाई पठाएका थिए। उनीहरूलाई सिम्रिक एयरको हेलिकप्टरबाट कालापत्थर पठाइएको थियो।

हेलिकप्टर सित्तैमा, ८ लाखको बिल
ट्रफीमा राख्ने पत्थर ल्याउन काठमाडौँदेखि कालापत्थरसम्म दुई जना हिमाल आरोहीलाई हेलिकप्टरमा पठाउँदा सिम्रिक एयरले ‘राउन्ड–ट्रिप’ नै सित्तैमा उपलब्ध गराएको खोजबिनबाट खुलेको छ। अनौठो चाहिँ के भने, सित्तैमा उपलब्ध गराइएको हेलिकप्टरको खर्च भुक्तानीका लागि सिम्रिक एयरबाटै जारी भएको इन्भोइस उकालोलाई प्राप्त भएको छ।
त्यो इन्भोइसमा राउन्ड–ट्रिपको भाडाबापत सात लाख ७५ हजार रुपैयाँ उल्लेख गरिएको छ।
सहयोगस्वरूप सित्तैमा उपलब्ध गराइएको हेलिकप्टरको भाडा असुल्न सिम्रिकले इन्भोइस किन जारी गर्यो त? हामीले यसबारे बुझ्न सिम्रिक एयरकै एक सिनियर कर्मचारीलाई सम्पर्क गर्दा उनले भने, “ढुंगा ल्याउँदा त सित्तैमा नै हेलिकप्टर उपलब्ध गराइएको हो नि। त्यसमा कुनै शंकै छैन। ढुंगा ल्याउन सहयोग गर्नुपर्यो भनेर पारसजी आफैले प्रस्ताव गर्नुभएको थियो।”
त्यसबेला सिम्रिक एयरको फेसबुक पेजमै एनपीएलको ट्रफीका लागि पत्थर ल्याउन सहयोग गरेको भनेर पोष्ट गरिएको छ। क्यान आफैले एनपीएलको औपचारिक युट्युब च्यानलमा अपलोड गरेको कालापत्थरसम्म पुगेर ढुंगा ल्याउँदाको भिडियोमा सिम्रिक एयरलाई ‘विशेष धन्यवाद’ दिएको छ।

हामीले यसबारे थप बुझ्न क्यानका एक पदाधिकारीलाई सोध्यौँ। उनले क्यानले सिम्रिक एयरबाट सहयोगस्वरूप कालापत्थरको राउन्ड–ट्रिप पाएको कुरा नै सत्य भएको बताए। “तर पनि सिम्रिक एयरलाई पैसा तिरेको गाइँगुइँ सुनेको छु,” उनले भने।
क्यानकै पदाधिकारीले यसो भनेपछि सिम्रिक एयरबाट जारी भएको इन्भोइसको वास्तविकता जान्न हामी सिम्रिककै कार्यालय पुग्यौँ। त्यहाँ वित्तीय विभागमा कार्यरत ‘रेभेन्यु इन्चार्ज’ रोजेश केसी भेटिए। केसीलाई हामीले एनपीएल ट्रफीमा राख्ने पत्थर ल्याउन क्यानले काठमाडौँ–कालापत्थरसम्म गरेको हेलिकप्टर ट्रिप ‘पेड’ हो कि ‘स्पोन्सर्ड’ भनेर सोध्यौँ। उनले बिनाहिचकिचाहट भने, “त्यो त एफओसी (फ्री अफ कस्ट) नै हो।”
हामीले दोहोर्याएर, तेहेर्याएर सोध्यौँ। उनले फेरि पनि ‘एफओसी’ नै भएको उल्लेख गर्दै थपे, “पछि ब्रायन लारा र चितवन राइनोजबाट केही मान्छे जानुभएको थियो। उहाँहरूको चाहिँ पेड हो। तर ब्रायन लारा जाँदाको पैसा अहिलेसम्म भुक्तानी भएको छैन।”
काठमाडौँ–कालापत्थर राउन्ड–ट्रिपको सिम्रिक एयरबाटै इन्भोइस जारी भएको बताएपछि भने उनी एक्कासि हच्किए। इन्भोइस जारी भएको मिति नै भनेपछि उनले तुरुन्तै कम्प्युटर खोलेर त्यो मितिको इन्भोइस खोज्न थाले।
त्यही मितिको इन्भोइस कम्प्युटरमा भेटेपछि उनले आश्चर्य मान्दै भने, “यो कसरी भयो? एफओसी थियो यो त।”
इन्भोइसमा वित्तीय विभागका रेभेन्यु इन्चार्ज केसी अर्थात् उनकै हस्ताक्षर छ। सोही मितिको इन्भोइस र भुक्तानी पनि भइसकेको देखेपछि उनी झस्किए।
हामीले यसबारे बुझ्न सिम्रिक एयरका निर्देशक सच्चन थापालाई सम्पर्क गर्यौँ। उनले आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताएपछि फेरि सिम्रिककै प्रबन्ध निर्देशक मुरलीधर जोशीलाई सोध्यौँ। खासमा जोशीले नै सिम्रिक एयरका तर्फबाट क्यान सचिव पारससँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।
जोशीले उक्त ट्रिप सहयोग स्वरूप सित्तैमा नभएको, बरु केही सहुलियत दिएको दाबी गरे।
“त्यो ट्रिप त महँगो पर्छ नि, उनीहरू कताकता पुगेका थिए कालापत्थरबाहेक पनि। १४–१५ लाख जति पर्छ त्यतिको। तर हामीले ६–७ लाख जति लियौँ,” उनले उकालोसँग भने, “हामीले सहयोग गरेकै हो तर सहुलियत दिएर। भुक्तानी पनि आइसकेको छ।”
मिङ्मा र निमा शर्पासँगै उक्त हेलिकप्टरमा क्यानका कोशी प्रदेशका पूर्वअध्यक्ष मिङ्मा डन्डु शेर्पा पनि गएका थिए। उनका अनुसार हेलिकप्टर कालापत्थरबाहेक अन्य कुनै ठाउँ नगई काठमाडौँ फर्किएको थियो। “हामी ११ बजेतिर उड्यौँ होला, दिउँसो २ बजे त काठमाडौँमै थियौँ,” उनले भने।
डन्डु हाल क्यान प्रवक्ता रहेका छुम्बी लामाका सहोदर दाइ हुन्।

जोशीले क्यानलाई सहुलियत दिएर सात लाख ७५ हजार तोकेको भने पनि र वित्तीय विभाग प्रमुख केसीले पहिले सित्तैको फ्लाइट भनेर पछि ‘स्पेसल रेट’ लगाएको बताए पनि सो रकम काठमाडौँ–कालापत्थर राउन्ड–ट्रिपमा लाग्ने मूल्यसँग मेल खाँदैन। सिम्रिक एयरकै प्रशासनमा फोन गरेर हामीले काठमाडौँ–कालापत्थर राउन्ड–ट्रिपको भाडादरबारे बुझ्दा जम्मा ४१०० अमेरिकी डलर भएको पत्ता लाग्यो। गत वर्ष पनि मूल्य यही थियो।
यो भनेको इन्भोइस जारी भएको मितिमा नेपाली पाँच लाख ४९ हजार ४०० रुपैयाँ हुन आउँछ। तर जोशीले भनेअनुसार सहुलियत दिएर नै सात लाख ७५ हजारको इन्भोइस जारी भएको छ।
इन्भोइसमा क्यानको प्यान नम्बर लेखिएको छैन। भुक्तानी क्यानकै नामबाट भए पनि सिम्रिक एयरकै को–पाइलट भास्कर पोखरेलमार्फत ‘स्पेसल रेट’ भन्दै भुक्तानी भएको सिम्रिककै रेकर्डमा देखिन्छ।
हामीले यो विषयमा क्यान र सिम्रिक एयरबीच के भएको हो भनेर बुझ्न सिम्रिककै अर्का एक उच्च अधिकृतसँग सम्पर्क गर्यौँ। उनले नाम नखुलाउने शर्तमा भने, “सित्तैमा पाएको सुविधामार्फत सिम्रिक एयरलाई अरू कसैबाट भुक्तानी गर्न लगाएर त्यो बराबरको रकम सेटलमेन्ट हुनेगरी सिम्रिकबाट गएको हो। औपचारिकताका लागि भुक्तानी भयो। पुनः त्यति बराबरको रकम बाहिरिएको हो।”
क्यानका कोषाध्यक्ष पदम खड्काले भने सिम्रिकलाई क्यानबाटै भुक्तानी भएको बताए पनि कुन मितिमा भुक्तानी भएको हो भन्नेबारे स्पष्ट गरेनन्। भने, “चेकबाट भुक्तानी भएको हो, तर कुन मितिमा हो ठ्याक्कै थाहा भएन। यसबारे सचिवज्यूलाई थाहा होला।”
क्यान सचिव एवं एनपीएल परिचालन परिषद्का संयोजक पारस खड्कालाई हामीले सोध्यौँ– सित्तैमा पाएको सुविधाको नाममा सात लाख ७५ हजारको इन्भोइस कसरी आयो? पारसले भने, “हामीले जति इन्भोइस आएको थियो, त्यति पैसा उसको खातामै जम्मा गरिसकेका छौँ।”
क्यानकै एक पदाधिकारीले संघलाई कुनै आर्थिक भारबिना सित्तैमा हुनसक्ने कामका लागि भएको यो चलखेल र भ्रष्टाचारले संघको बदनाम भएको भन्दै यसमा छानबिन हुनुपर्ने माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
