डार्विन बाजे जिउँदै हुन्थे भने कति रमाउँथे होला?

शाही बाज भनेर चिनिने ‘पेरिग्रिन फ्याल्कन’ संसारको सबैभन्दा द्रुत गतिमा उड्ने पक्षी हो। हेर्दा बाज वा चिलजस्तो देखिए पनि खासमा चिलभन्दा सुगासँग नजिकको सम्बन्ध भएको चरा हो।

आजभन्दा १६५ वर्षपहिले प्रकाशनमा आएको एउटा पुस्तक मानवजातिको इतिहास बदल्न सफल भयो। त्यो पुस्तक थियो, चार्ल्स डार्विनको  दि ओरिजिन अफ स्पिसिज बाई मीन्स अफ नेचुरल सिलेक्सन (प्राकृतिक छनोटद्वारा प्रजातिहरूको उत्पत्ति।) त्यस बेलाको रोचक कुरा के थियो भने डार्विनले त्यस्तो कडी पत्ता लगाएका थिए, जसले सबै जनावरहरूलाई एकअर्कासँग जोड्थ्यो। तर डार्विन स्वयंलाई भने त्यो सबै कसरी हुन्छ भन्ने थाहा थिएन।

क्रमिक विकासको संयन्त्र कसरी हुन्छ भन्ने कुरा उनले पत्ता लगाउन सक्ने अवस्था पनि थिएन। उनको विचार प्रक्रियाबाट मात्र निस्केको थियो प्राकृतिक छनोटको सिद्धान्त। दक्षिण अमेरिकाको इक्वेडरस्थित ग्यालापेगस टापु जाँदा उनले देखेका जनावरको बनावट र तिनका समानताबाट जनावरहरू एउटा मूल वंशबाट छुट्टिएर आ–आफ्नो वासस्थानमा बस्न सक्ने जनावरमा अनुकूलित भएका थिए भन्ने तथ्य पत्ता लगाएका थिए।

क्रमिक विकासबारे थोरै पृष्ठभूमि जोडौँ।

एउटा मूल वंशबाट हजारौँ वर्ष लगाएर विभिन्न प्रकारका जनावरको विकास हुने प्रक्रियालाई 'क्रमिक विकास' भनिन्छ। ग्यालपेगसमा डार्विनले धेरै प्रजातिका चरा देखे, तर झट्ट हेर्दा उस्तै देखिए तापनि तिनको चुच्चो भने फरक थियो। फरक चुच्चो भएका चरा फरक वासस्थानमा पाइन्थे। बीउ धेरै हुने ठाउँमा बीउ खान सक्ने खालका चुच्चो भएको चरा, फूलको रस पाउने क्षेत्रमा फूलको रस लिन सहज लामो चुच्चो भएको चरा, ठूला–ठूला ओखरजस्ता बीउ हुने ठाउँमा ठूला–ठूला चुच्चा भएका चरा देखे उनले।

उनको अनुमान (र, अहिलेको अवस्थामा वैज्ञानिक अध्ययनको प्रमाण)अनुसार ती चरा एउटा मुख्य टापुबाट भिन्न टापुमा सरेका र आफू बसेको वासस्थानमा भएका खाने कुराअनुसार तिनको चुच्चोको विकास हुँदै गएको थियो। डार्विनसँग त्यति बेला सो तथ्य प्रमाणित गर्ने प्रविधि थिएन न आनुवंशिक अध्ययन आजझैँ यो स्तरमा विकसित भएको थियो।

आजका दिन यी सबै कुरा प्रमाणित भइसकेका छन्। क्रमिक विकासको प्रक्रियाका धेरै कुरा डार्विनलाई थाहा थिएन, तर उनले त्यसको ढोका भने पहिलो पटक खोलेका थिए। आज धेरै अध्ययनले क्रमिक विकासका धेरै पाटा देखाइसकेका छन्, जसमा भिन्नता र उत्तराधिकार, अस्तित्व र प्रजनन, समय र अनुकूलनजस्ता विषय पर्छन्।

समय र ठाउँको कुरा गर्नुपर्दा यसमा अलगावको कुरा जोड्न सकिन्छ। कुनै समयमा एउटा ठाउँको एउटै वासस्थानमा बसिरहेका जनावरबीच केही प्रकारको भौतिक अवरोध आई उनीहरूबीच धेरै लामो समयसम्म प्रजनन वा केही प्रकारको सम्बन्ध नै नरहेको खण्डमा ती दुइटा प्रजाति बिस्तारै छुट्टै बन्न सक्छन्। यसका लागि एकदमै रोचक उदाहरण पेश गरौँ:

संसारको धेरै ठाउँमा एक प्रकारको 'गुफा माछा' पाइएको छ। नामले भनेझैँ यी माछा गुफामा बस्छन्। र, केही माछा छन्, जुनचाहिँ गुफाबाहिर बस्छन्। डार्विनको 'चरा'हरूझैँ यी माछा भने भिन्न प्रजातिका भने हैनन्। गुफाभित्र र बाहिरका एउटै प्रजाति हुन। तर, यहाँ झन् रोचक कुरा छ। एउटै प्रजातिका भए तापनि यो दुई माछामा एकदमै फरक छ। बाहिर बस्ने माछाको आँखा छ भने गुफामा बस्ने माछाको आँखा छैन। ती माछालाई 'ब्लाइन्ड केभ फिस' भनिन्छ।

धेरै लामो समय छुटिएर बस्दा यिनीहरू वासस्थानअनुसार अनुकूलन भएका हुन्। गुफाको अँध्यारोभित्र बस्दा माछालाई आँखा आवश्यक पर्दैन। र, आफैँमा आँखा बनाउनु धेरै ऊर्जा लाग्ने कुरा हो। र, त्यसमा खर्च हुने ऊर्जा जोगाउन सक्दा सो अरू कुरामा प्रयोग गर्न सकिन्छ। तर, फेरी यहाँ उल्लेख गर्नुपर्ने एउटा कुरा के छ भने गुफामा बस्ने माछाले अँध्यारोमा मलाई आँखा चाहिँदैन भनेर आँखा हटाएको भने होइन। यसमा कुरा आउँछ 'आनुवंशिक भिन्नता'को। सबै जनावरमा आनुवंशिक भिन्नता हुन्छ। जसरी दुइटा फरक रङको कुकुरद्वारा जन्मिएको बच्चा अर्कै रङको हुन सक्छ, त्यसरी नै ती माछामा पनि कसैको आँखा सानो वा कसैको ठूलो हुन सक्छ।

यो पनि– बाँदर हाम्रा पुर्खा होइनन्, नातेदार हुन्

अँध्यारोमा वा त्यो गुफामा बस्दा आँखाको प्रयोग नहुने हुँदा सानो आँखा नै प्राकृतिक छनोटमा पर्छ, किनकि त्यसमा थोरै ऊर्जा लाग्छ। यसलाई वैज्ञानिक भाषामा 'फिटनेस' भनिन्छ। यो 'केस'मा आँखा सानो हुनेको फिटनेस धेरै हुन्छ र उ नै प्राकृतिक छनोटमा पर्छ। र, बिस्तारै धेरै लामो समयमा त्यो आँखा क्रमशः सानो सानो हुँदै गई एउटा समयमा पुगेर आँखा नै हराउँछ। भुईंमुनि बस्न रुचाउने छेपारामा पनि यस्तै उदाहरण देखिन्छ। अझ केही छेपारोमा त खुट्टा पनि हराउँदै गएको देखिन्छ। उनीहरू एक प्रकारले सर्पजस्तै बन्छन्। धेरै समय माटो मुनि बस्ने भएकोले उनीहरूलाई त्यो हातखुट्टाको काम नै हुँदैन। माथि नै भनियो, काम नहुने कुरामा धेरै ऊर्जा खर्च गरेर फाइदा छैन!

यी दुई चरा हेर्दा उस्तै देखिए पनि नजिकका नातेदार होइनन्।

शायद यहाँसम्म क्रमिक विकासको अलिअलि पृष्ठभूमि जोडियो होला। अब फेरि कुरा गरौँ, क्रमिक विकासको अर्को रमाइलो पाटोबारे, जसलाई 'कन्भर्जेन्ट इभलुसन' भनिन्छ।

यो यस्तो खालको क्रमिक विकास हो, जसमा दुई भिन्न प्रकारका जनावरले एकै प्रकारको विशेषता वा व्यवहार देखाउँछन्। कतिसम्म भने उनीहरूको शरीरको आकार, रङ र आनीबानी नि उस्तै हुन सक्छन्। यसको अर्थ दुई जनावरले स्वतन्त्र रूपमा यी व्यवहारको विकास गर्छन्। यस्तो स्वभाव र विशेषता यी जनावरको वासस्थानअनुसार प्रकृतिले छानेर बनाएको हुन्छ।

यसको एउटा रोचक उदाहरण 'फ्याल्कन' भनेर चिनिने बाज हुन्। नेपालमा शाही बाज भनेर चिनिने 'पेरिग्रिन फ्याल्कन' संसारको सबैभन्दा द्रुत गतिमा उड्ने पक्षी हो। हेर्दा बाज या चिलजस्तो देखिए तापनि खासमा चिलभन्दा सुगासँग नजिकको सम्बन्ध भएको चरा हो। तर आकाशमा खाना खोज्ने बानीले गर्दा उसमा कन्भर्जेन्ट इभलुसन भएर ऊ बाजझैँ देखिएको हो।

नेपालमै पाइनेमध्ये, धेरै मान्छे झुक्किने जनावरको कुरा गरौँ। नेपालमा धेरैजसो डल्फिनबारे समाचार पढ्दा डल्फिनलाई समेत माछा भनिएको देखिन्छ। डल्फिन खासमा माछा होइन। यो स्तनधारी जीव हो। तर, पानीमा बस्ने बानीले गर्दा उसको शरीर माछाझैँ बन्न गएको छ। कारण? पानीमा माछाझैँ शरीर हुनुको फाइदा भएकोले। 

यो कुरा अझै पुष्टि गर्न पानीको नभई आकाशको उदाहरण लिऊँ। 

हामीले गौँथली चरा त पक्कै देखेका छौँ। घरमा माटोको गुँड बनाएर बस्ने ती साना चरा धुरन्धर उडान भर्नेमा पर्छन्। गौँथली दुई प्रकारका हुन्छन्, जसलाई अङ्ग्रेजीमा 'स्विफ्ट' र 'स्वालो' भनेर चिनिन्छ।

नेपालमा प्रशस्त पाइने घर-गौँथली प्यासेरिफर्मिस वर्गीकरणमा पर्छ भने थकल-गौँथलीजस्ता 'स्विफ्ट' भने एपोडिफर्मेस वर्गीकरणमा। यी चरा हेर्दा एउटै नै देखिन्छन्। तर, आकाशमा उड्दै कीरा-फट्याङ्ग्रा समाउने र खाने उनीहरूको बानीले गर्दा दुवैको शरीर र पखेटाको आकार उस्तै हुन गएको हो। किनभने त्यसरी आकाशमै उडेर कीरा समाउन उनीहरूलाई त्यस्तै शरीर उपयुक्त हुन्छ।

पुतली, कीरा-फट्याङ्ग्रा, चमेरा र चरामा हुने उडान पनि कन्भर्जेन्ट इभलुसनकै कारण हुन्। पुतलीको पखेटा कत्लाले बनेको हुन्छ। चराको प्वाँखले, चमेराको छालाले।

अमेरिकामा पाइने एउटा 'काठ फोर चरा'मा पनि यो देखिन्छ। डाउनी र हेरी भनेर चिनिने यी दुई चरा हेर्दा उस्तै देखिन्छन्। भर्खर चरा बुझ्न/हेर्न शुरू गरेकाहरूलाई त यी दुईबीच फरक छुट्टाउन नि गाह्रो हुन्छ। तर, यी दुई चरा एकअर्कासँग नजिकको सम्बन्ध गाँसिएका चरा भने होइनन्। यिनको व्यवहार र बस्ने ठाउँको 'प्रेसर'ले यिनको शरीर र रङ उस्तै हुन गएको हो।

आजका दिनमा उपलब्ध यी सबै वैज्ञानिक तथ्य पढ्न पाउन सम्भव हुन्थ्यो भने जीव विज्ञानको महत्त्वपूर्ण ढोका खोल्ने चार्ल्स डार्विन कति खुशी हुँदा हुन्!  शायद यस्तो पो हुने हो कि भनेर उतिखेर उनले शंका मात्र गरेका थिए। उनले छोडेर गएको गृहकार्य आजको दिनसम्म पनि वैज्ञानिकहरूले गर्दै आएका छन्। र, तिनै अध्ययनबाटै आफूले जान्न पाएका कुरा डार्विनको जन्मदिनको अवसरमा पाठकमाझ पुर्‍याउन यो लेख लेखेँ। ह्याप्पि डार्बिन्स डे!

(घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटी, अमेरिकाबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)