आयोगका सदस्यले विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए।
प्राचीन भारतको कोशल गणराज्यका राजा प्रसेनजित युद्धबाट थाकिसकेका थिए। छिमेकी मगधनरेश बिम्बिसार युद्धपिपासु हुनु उनको लागि एक प्रकारको श्रापजस्तै भएको थियो। मगधले कोशलको व्यापारिक, आर्थिक, राजनैतिक तथा प्राज्ञिक प्रगतिप्रति सदैव वक्रदृष्टि राख्ने गर्दथ्यो र स–साना बहानामा पनि आफ्नो शैन्यशक्तिको झमेला कोशलमाथि थोपथ्र्यो। पछि भगवान् बुद्ध दार्शनिक शास्ता भई मगध र कोशलमा बराबरी आउजाउ गर्न थालेपछि बुद्धकै मध्यस्थतामा मगधकी राजकुमारी वसवखतीदेवीसँग राजा प्रसेनजितको वैवाहिक सम्बन्ध कायम भयो र युद्धको विभीषिका पनि कम हुँदै गयो।
मगध र कोशल जनपदलाई अभयारण्य नामक विशाल वनले जोडेको थियो। विशालकाय साल, सिमल, साज, बर्रो, राजवृक्षजस्ता वृक्षहरूले अभयारण्य सुशोभित थियो। त्यस निविड वनमा बाघ, हात्ती, गैँडालगायत अनेकौँ सानाठूला जन्तु जनावर तथा गरुड, चील, कर्याङकुरुङ, राजधनेषलगायत अनेकन पन्छी सानन्द रमाउँथे। त्यस वनका बीचबीचमा रहेका नदी, खोल्सा, तालतलैयामा पनि सानाठूला चरापन्छी, गोही, घडियाल, कछुवा, सर्प भ्यागुताहरू निर्भयतापूर्वक रमण गर्थे। वनेली चौरहरूमा मृगका झुन्ड देखिन्थे। सबै ऋतुमा उक्त अभयारण्य नामको वन हरियो र जीवन्त रहन्थ्यो। वनको बीचैबीच मगध र कोशललाई जोड्ने प्रमुख रथमार्ग थियो। दुवै जनपदका नागरिक आ–आफ्नो उद्देश्यअनुसार उक्त रथमार्गबाट आउजाउ गर्ने गर्थे। लुटेरा दस्युहरूबाट नागरिकलाई सुरक्षा प्रदान गर्न ठाउँ–ठाउँमा सुरक्षा चौकी स्थापना गरिएका थिए र नियमानुसार सबै यात्रुको सुरक्षाजाँच हुन्थ्यो।
अभयारण्यको कोशलक्षेत्रमा राजधानी श्रावस्तीनजिकै जेतवन थियो। जेतवनमा प्राज्ञिक छलफल गर्ने आश्रम थियो। पछि उक्त आश्रम प्रसेनजितले दार्शनिक भगवान् बुद्धका शिष्य अनाथपिण्डकलाई अथाह स्वर्णमुद्रा लिएर स्थायी रूपले बिक्री गरेका थिए। र उक्त जेतवनलाई अनाथपिण्डकले अनेक तरहले सिँगारेर अत्यन्त शान्त र शोभादयी बनाएका थिए। भिक्षु, आध्यात्मिक जिज्ञासु, दीनहीन ऋणी, साहुमहाजन, शिक्षक तथा व्यापारीहरू आफ्ना मनका समस्या सुनाउने, सुल्झाउने वा केही नयाँ कुरा जान्नका लागि त्यहाँ भेलाजम्मा हुने गर्थे। यसरी भेलाजम्मा भएका भद्र भलाद्मीलाई भगवान् बुद्धले जीवनको सत्यबारे अत्यन्त सरल विधिमा स्थानीय सहज भाषाको प्रयोग गरेर प्रेमपूर्वक सम्झाउँथे। बुद्धले जीवनमा दुःखको सत्यलाई स्विकार्न सुझाउँथे र त्यसबाट निदान पाउने उपाय बताउँथे। चित्तको कुशलता र अकुशलतालाई चिरफार गरेर बताइदिन्थे।
बुद्धको निरन्तरको आउजाउ, उपस्थिति र प्रवचनले मानिस उत्तेजित र प्रसन्न देखिन्थे। जताततै बुद्धको चर्चा हुन्थ्यो। कोही बुद्ध अत्यन्त लाछी मान्छे हो भन्थे भने कोही बुद्धलाई मुक्त महापुरुष भगवान् हो भन्थे।
अरू कसैको सामान नचोरेर, अरू कसैलाई शारीरिक, मानसिक र वचनले घोचपेच वा हिंसा नगरेर, अरू कसैसँग झुटो नबोलेर, कुनै प्रकारको व्यसन नलिएर, व्यभिचारबाट टाढा रहेर एक महिना बाँच्ने कला बुद्धले सामूहिक ध्यान शिविर चलाएर सिकाउँथे। ध्यान शिविर समाप्त भएपछि मानिसहरू आश्चर्यजनक रूपले बुद्धका अनुयायी बन्थे। र तिनीहरू हँसिला, सन्तुष्ट, आनन्दित र तृप्त देखिन्थे। यसरी हजारौँ मानिस बुद्धका उपदेशले उज्याला भएका थिए। तिनले आफ्नो आसपासका मानिसबाहेकका जनावर, चरा, कीटपतंग, बोटबिरुवासमेत सबै ढुंगामाटोलाई अत्यन्त आदर र सम्मान गर्न थाल्थे।
यसरी जेतवन हुँदै सिंगो अभयारण्य झन्भन्दा झन् सुन्दर हुँदै आएको थियो। बुद्ध र उनका अनुयायीको अभिधम्म पिटक, सुत्तपिटक र विनय पिटकका मन्त्रोच्चारण र उपदेश पालनाले उक्त सम्पूर्ण क्षेत्र नै पुलकित भएको आभास हुन्थ्यो। बोटबिरुवा पनि मुस्कुराएजस्ता वा बोल्न लागेजस्ता भएका थिए। नभन्दै एक दिन एकजना भिक्षु अभयारण्यको निविड वन क्षेत्रमा एकान्तिक ध्यान गरेर बसेको बेला उनले आत्यन्तिक दृष्टिबाट एउटा अनौठो घटना महसुस गरे।
वनका एक–एक बोटबिरुवा बोल्दै थिए, “जसरी बुद्धका वरिपरि मानिस भेला भएका छन् हामी यहाँ कसका कारणले भेला भएका हौँ? मानिसहरूको नायक बुद्ध हो भने हाम्रो नायक को हो?”
अर्को कुनै रूखले भन्दै थियो, “बुद्धका कारणले मानिस भेला भएका होइनन्। बरु कोशल नरेश प्रसेनजित र मगधसम्राट बिम्बिसारका कारणले मानिस भेलाजम्मा भएका हुन्। राजाहरूले बुद्धलाई स्थान नदिने हो भने मानिस त्यहाँ भेलाजम्मा हुन पाउने थिएनन्। तसर्थ बुद्धभन्दा राजा नै ठूला हुन्। उनकै शासनको प्रतापले मानिस विधिविधान र नियममा चल्छन्।”
अर्को रूखले भन्दै थियो, “मानिसहरूको नियम कानून र विधि विधानसँग हामीले चासो राख्नुहुन्न। तिनीहरू अत्यन्त क्षुद्र स्वभावका हुन्छन्। तिनीहरूको मनभित्र ‘दिने होइन, लिने मात्र’ भावना हुन्छ। तिनीहरू निम्नचित्तका असन्तुष्ट प्राणी हुन्। तिनीहरूको अनुकरण गर्नुपर्ने कुनै कारण नै छैन।”
साधकभिक्षुले आफ्नो ध्यानावस्थामा वनका रूख, बोटबिरुवाहरूको छलफल, विमर्श र वादविवाद सुने। अभयारण्यको वृक्षसमाज दिनप्रतिदिन उत्ताउलो र असहिष्णु बन्दै गएको देखे। ठूला रूख विचारमा विभाजित थिए। सालवृक्ष राजा बन्न पाइने अनौठो अवसर आउँदै गरेको हो कि झैँ गरेर आशावादी थियो र सोही अनुसार नरम, उदात्त र शिष्ट बन्दै अन्य वृक्ष समुदायलाई कोही न कोही नायकको संरक्षणमा रहनु ठीकै कुरा हो भनेर शान्तिपूर्वक आफ्ना कुरा राख्दै थियो। सिमलवृक्ष पनि मौका आउन सक्छ भन्ने आशामा विश्वस्त थियो। किनभने सिमलवृक्ष पनि उचाइ र मोटाइमा कम थिएन। साजको बोट पनि साल र सिमललाई पन्छाउन सकियो भने आफ्नो अभयारण्यमा आधिपत्य कायम हुनसक्ने कुरामा ढुक्क थियो।
भिक्षुले ध्यानावस्थामा देखे, “साल, सिमल र साजका विशाल वृक्षहरू अन्य बोटबिरुवालाई आफू नै अभयारण्यको नेतृत्व गर्न, राजकाज सम्हाल्न योग्य छु भनेर साँझबिहान, रातबिरात लुकीछिपी स–साना भेला, गोष्ठी, कानेखुशी र कुराकानी गरिरहेका थिए।”
साल भन्थ्यो, “जस्तोसुकै हावाहुरी आए पनि म जस्ताको तस्तै खडा रहन सक्छु र अन्य सबै वनस्पतिलाई सुरक्षा दिन सक्छु। त्यसकारण म सालबराबर अरू कोही पनि वनको नेतृत्व गर्न सक्षम छैन।”
सिमल भन्थ्यो, “सिमललाई ढाल्नसक्ने आजसम्म कुनै हुरीबतास लागेको छैन। साक्षात् गरुड देवता मेरो शाखामा वास गर्छन्। हावाहुरीको त कुरै छोडौँ म खोला किनारमै खडा रहेर बाढीपहिरोबाट समेत सबै बोटबिरुवाको रक्षा गर्छु। तसर्थ ढुक्क हुनुस् म नै सबैलाई बराबरी व्यवहारले पालन र रक्षा गर्न सक्षम छु।”
साजको रुखले भन्थ्यो, “उचाइ मात्र सबैथोक होइन, म साल र सिमलभन्दा पुड्को छु र? मेरो योग्यता साल र सिमलभन्दा कम हो र? आजसम्म म के कुनै हावाहुरी, बाढीपहिरो, आगोले ढलेको छु र? जलेको छु र? ढल्नु मेरो स्वभाव होइन। सदावहार ठिङ्ग उभिएर सबै वन–वनस्पतिलाई आत्मबल प्रदान गर्दै सबै वनस्पतिको शिर उँचो राख्नु मेरो धर्म हो। कुन चराले मकहाँबाट भोकै फर्किनु परेको छ? कुन रूखले मेरो छायाँबाट तर्सिनु परेको छ? म पक्षपातविहीन तरिकाले वनको नेतृत्व गर्न सक्षम छु। यथार्थ योगदानलाई सम्झिनुहोस् र मलाई अभयारण्यको सत्ता सुम्पिनुहोस्।”
अचम्म त के थियो भने वर, पीपल र शमीका रूख पनि साल, सिमल र साजसँगसँगै अभयारण्यको राजकीय बागडोर प्राप्त गर्न भूमिगत रूपमा उत्तिकै सक्रिय थिए।
अभयारण्यको राजकीय सत्ता हातपार्न बडाबडा रूख सक्रिय हुँदा वनको आर्द्रता घटेर तापक्रम एकाएक बढेको थियो। बोटबिरुवा तनावमा थिए। साँचो अर्थमा को योग्य हो भनेर छुट्याउन अन्य बोटबिरुवा अन्योलग्रस्त भएका थिए। उनीहरू पनि विभाजित हुँदै गए। कोही सालतिर लागे, कोही सिमलतिर र कोही साजतिर गोलबन्द हुँदै गए भने कोही त भित्रभित्रै वर, पीपल र शमीतिर पनि लागे।
बौद्धसाधक यी सबै परिदृश्य दिव्य दृष्टिले हेरिरहेका थिए।
वनमा बढ्दै गएको मत विभाजनको कारणले गर्दा अब त्यहाँ को ठूलो हो र कसले अभयारण्यको नेतृत्व गर्छ भन्ने कुराको टुंगो लगाउन सजिलो थिएन। पीपलले एकदिन विचार गर्यो कि यहाँ मेरो जनमत खासै बढ्लाजस्तो छैन। बरु यो झगडाबीचमा मध्यस्थकर्ताको भूमिकामा म गएँ भने मैले वनमा निःसर्त सम्मान पाउँछु। यसको लागि म वर र शमीको मद्दत लिन पनि सक्छु। यो उपाय राम्रै होला।
बौद्ध भिक्षु पीपलको चातुर्य देखेर छक्क परे।
पीपलले वर र शमीसँग आफ्नो मूल आशय लुकाएर वनमा बढिरहेको तापक्रम घटाउनु हाम्रो कर्तव्य हो र यसमा हामीले भूमिका खेलेनौँ भने वनको सत्यानाश हुनु अनिवार्य रहेको कुरा गरेर आफ्नो समन्वयकारी भूमिका स्थापित गर्यो र भन्यो, “हामी तीन जनाको एउटा न्यायिक आयोग बन्छ। यसले गरेको फैसला नै अन्तिम हुन्छ र हाम्रो फैसलामा कसैले पनि कुनै प्रकारको प्रश्न उठाउन पाउने छैन। हामी यो न्यायिक आयोगका सार्वभौमिक सदस्य हुनेछौँ र यसको व्यवस्था मिलाउन म राजवृक्षलाई उकास्छु। उसले सबैसामु प्रस्ताव राख्छ र हामीले अनकनाएजस्तो गरेर स्वीकार गर्नुपर्छ। आयोग बनिसकेपछि सबैलाई आ–आफ्नो कुरा राख्न लगाउने र अन्तिम फैसला हामीले गर्ने। यति गरेपछि आफै राजा हुनु पनि परेन बनेको राजाले हाम्रो कुरा काट्न पनि सक्दैन। पर्दापछाडिबाट सत्ता हाम्रै चल्छ। के गर्ने हो? लौ भन्नोस्।”
वर र शमी आपसमा हेराहेर गरे र पीपलको कुरा सुनेर चकित परे। एकक्षण गम खाए र पीपलको कुरा अनुमोदन गरे र भने, “के राजवृक्षले हामीलाई प्रस्ताव गर्ला त?”
पीपलले भन्यो, “त्यसको जिम्मा मलाई छाडिदिनुस्। म मिलाउँछु।”
नभन्दै वनमा उखरमाउलो अशान्ति छाइरहेको बेला राजवृक्षले सबैलाई भेलाजम्मा गराएर भन्यो, “यसरी एक्लाएक्लै मै राजा भनेर कुदेर हुन्छ? सबैको योग्यता जाँच्ने एउटा न्यायिक आयोग चाहिँदैन? कोही तटस्थ भूमिकामा रहेर फैसला दिने, न्याय दिने आयोग चाहिन्न?”
प्रतिस्पर्धामा उत्रिएका साल, सिमल र साज पनि सहमत भए, “हो त नि। फैसला दिने कोही न कोही त चाहिन्छ।” उनीहरूले सहमति जनाए। र राजवृक्षले प्रस्ताव राख्यो, “आजसम्म सबैप्रति समानभावले व्यवहार गरेका, प्राज्ञिक कर्म गरेका र सदैव पूजनीय वर, पीपल र शमी तीन जनाको एउटा शक्तिशाली न्यायिक आयोग गठन गर्न म प्रस्ताव गर्छु। यी तीनजना न्यायमूर्तिले गरेको फैसलामा कुनै खोट हुने छैन। यो आयोगले गरेको फैसला अन्तिम हुनेछ र यस फैसलामा पछि कुनै तरहले प्रश्न उठाउन पाइने छैन।”
सबै प्रतिस्पर्धी रूखले यही बेहोरामा सहीछाप गरे। आगामी १० दिन सबै प्रतिस्पर्धी रूखले प्रचारप्रसार गर्ने, आफ्नो श्रेष्ठता साबित गर्न तयारी गर्ने र एघारौँ दिनमा पर्ने एकादशीको रविबार आयोगसमक्ष सबैले आ–आफ्ना तर्क राख्ने र आयोगले सोही दिन सुनुवाइ गरी साँझ सूर्यास्त पूर्व नै निर्णय दिने भनी राजवृक्षले घोषणा गर्यो।
सबैले सहर्ष सर्वसम्मत रूपले समर्थन गरे।
ध्यानसाधक बौद्ध भिक्षु आश्चर्यचकित भइरहे।
एकादशीको दिन आयो।
आयोगका सदस्यत्रय वर, पीपल र शमी व्यासासीन थिए।
सालले सर्वप्रथम आफ्नो श्रेष्ठताको जिकिर गर्यो।
सिमलले पनि आफ्नो योग्यता प्रस्तुत गर्यो।
साजले पनि आफ्नो क्षमता सबैसामु राख्यो।
अन्त्यमा, भोर्लोको लहराले आफ्नो कुरा यसरी राख्यो, “श्रीमान् मेरो उचाइ नापियोस्। मेरो जीवन आयुको अनुसन्धान होस्। मेरो बलियोपनको मापन गरियोस्। मेरो उपयोगिता र बहुपक्षीय क्षमताको हिसाब निकालियोस्। म यस अभयारण्यको नेतृत्व गर्न सक्षम छु। मलाई नै अभयारण्यको सत्ताको बागडोर हस्तान्तरण होस् भन्ने निवेदन गर्छु। श्रीमान्को जो आदेश।”
आयोगको इजलासमा केहीबेर ठूलै हल्लीखल्ली भयो। आयोगका सदस्यले गम्भीरतापूर्वक मुखामुख गरे। उनीहरूले सबै विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए।
यसपछि नियमअनुसार भोर्लोको लहरो अभयारण्यको राजा भयो। तर पूजा भने वर, पीपल र शमीको भयो।
ध्यानारूढ बौद्ध भिक्षु चकित परिरहे र उनले यो सबै कुरा भगवान् बुद्धलाई सुनाए।
बुद्धले भन्नुभयो, “संसार नश्वर छ। भवतु सब्ब मंगलम्।” अस्तु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
