फलोअप

एनपीएल अनियमितताः क्यान बैठकमा बबन्डर, पारसले बुझाएको हिसाबमै ‘गोलमाल’

भ्रष्टाचार र अपारदर्शी खेल भएको एनपीएलको पहिलो सिजनबारे प्रश्न उठिरहँदा क्यानसचिव पारस खड्काले बोर्ड बैठकमा बुझाएको हिसाब–विवरणले थप प्रश्नहरू उब्जाएको छ।

काठमाडौँ– गत बिहीबार साँझ नेपाल क्रिकेट संघ (क्यान) को लेटेरहेडमा नेपाल प्रिमियर लिग (एनपीएल)को हिसाब भन्दै केही आर्थिक विवरण सार्वजनिक भयो। एनपीएल सम्पन्न भएको करिब आठ महिनापछि क्यान प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक हिसाबले क्यानका कैयौँ पदाधिकारी र बोर्ड सदस्यहरूलाई भने अचम्मित तुल्यायो।

कारण के भने, बिहीबार दिनभर क्यानको बोर्ड बैठक बसेको थियो। बैठकमा एनपीएलको हिसाब सार्वजनिक गर्नेबारे कुनै निर्णय भएको थिएन। तर बेलुकी अचानक क्यानको लेटरहेडमा प्रवक्ताकै हस्ताक्षरमा हिसाब सार्वजनिक गरियो।

त्यसरी सार्वजनिक भएको हिसाबमा गत मंसिर–पुसमा सम्पन्न एनपीएलको पहिलो सिजनबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी हुँदा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। यसरी प्रतियोगिताबाट क्यानलाई कुल आम्दानी सात करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ भएकोमा त्यसको ५० प्रतिशत (चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ वटा फ्रेन्चाइज टोलीलाई वितरण गरिएको विज्ञप्तिमार्फत् सार्वजनिक हिसाबमा उल्लेख छ।

आठ वटा फ्रेन्चाइज टोलीलाई वितरण गरेपछि बचेको तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँबाट ७० लाख प्रदेश क्रिकेट संघहरूलाई उपलब्ध गराइएको, बाँकी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानलाई बचत भएको आय–व्ययको त्यो विवरणमा उल्लेख छ।

null

अनौठो त के भने, यो विवरण सञ्चारमाध्यममा सार्वजनिक भइरहँदा मूलपानीस्थित क्यान मुख्यालयमा बोर्ड बैठक सकिएको आधा घण्टा पनि भएको थिएन। बिहान साढे ११ बजे शुरू भएको बैठक राति अबेरसम्म पनि निष्कर्षमा पुगेको थिएन। त्यहीबेला, राति करिब आठ बजे प्रेस विज्ञप्तिबाट हिसाब सार्वजनिक हुँदा अधिकांश बोर्ड सदस्य अनभिज्ञ थिए।

क्यान उपाध्यक्ष रोशन सिंहले बोर्डका बहुमत सदस्यले हिसाब पारित गर्न नहुने बताइरहेकै बेला प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा हिसाब सार्वजनिक गरिँदा आश्चर्यमा परेको बताए। 

“हिसाब सार्वजनिक गर्नु भनेको कागजमा अंक देखाउनु मात्र त होइन, त्यसका सपोर्टिङ डकुमेन्ट पनि हुनुपर्छ,” उनले उकालोसँग भने, “हामीले अंक हेरेर मात्र हुन्न, सपोर्टिङ डकुमेन्ट नभएसम्म हिसाब पास गर्न नसकिने भन्यौँ। त्यसपछि उहाँ (सचिव पारस खड्का)ले चाँडै बिल पनि दिने भन्नुभयो। हामी बिल कुरिरहेका थियौँ, उहाँले हिसाब नै मिडियालाई बाँडिसक्नुभएछ।”

पहिलो सिजनमै क्यानको ‘प्राइड प्रोजेक्ट’का रूपमा चर्चा बटुलेको एनपीएलमा अनियमितता र अपारदर्शी काम भएको आवाज सबभन्दा पहिले क्यानमै उठेको हो। यसअघिका बोर्ड बैठकमा पनि एनपीएल परिचालन परिषद्का संयोजकसमेत रहेका क्यानसचिव पारस खड्कासँग हिसाब माग भएको थियो। पछि सार्वजनिक रूपमा समेत यो विषय उठेपछि पारसले ‘बोर्ड बैठकमा हिसाब दिने’ बताउँदै आएका थिए।

बिहीबारको बोर्ड बैठकमा पारसले एनपीएलमा भएको आम्दानी–खर्चको ‘मोटामोटी हिसाब’ दिएका थिए। क्यानका बोर्ड सदस्य प्रदीप मजगैयाले त्यो हिसाब अधुरो र अपुरो रहेको उकालोलाई बताए। “बैठकमा धेरै जनाले त्यो हिसाबमा प्रश्न उठाउनुभयो। हामीले हिसाबको थप विवरण मागेका छौँ,” उनले भने, “त्यो आएपछि अध्ययन गरेर पारित गर्ने प्रक्रियामा जाने होला। उहाँले नदिने पनि भन्नुभएको छैन।”

तर बोर्डले यसबारे निर्णय नगर्दै पारसले बिहीबार साँझ चलाखीपूर्ण तरिकाले सञ्चारमाध्यममा हिसाब सार्वजनिक गरेको अर्का बोर्ड सदस्यले बताए। उनले कागजातसहित हिसाबको विस्तृत विवरण अध्ययन भएपछि मात्र अनुमोदन प्रक्रियामा जाने कुरा भएको, त्यहीबीच अचानक सञ्चारमाध्यममा हिसाब आएको बताए।

“बैठकमा कागजमा अंक लेखेर मात्रै बुझाइएको हो,” उनले भने, “मिडियामा दिइएको हिसाब पाँच मिनेट पहिला हाम्रो ह्वाट्सएप ग्रुपमा हाल्नुभयो। अधिकांशले बोर्डले अनुमोदन गरेपछि मात्र मिडियामा दिनुहोला भन्नुभएको थियो। तर उहाँले बेवास्ता गरेर सार्वजनिक गरिदिनुभयो।”  

हिसाब सार्वजनिक गरेका क्यान प्रवक्ता लामालाई हामीले यसबारे सोध्यौँ। लामा क्यानमा पारसनिकट मानिन्छन्। उनले बोर्ड बैठककै निर्णय गरेर हिसाब सार्वजनिक गरिएको दाबी गरे। “बोर्डमा पेश भएको हिसाब सार्वजनिक गर्न पाउने कुरा भएर नै मैले प्रेस विज्ञप्ति निकालेको हुँ,” उनले भने।

जबकि, क्यान अध्यक्ष चतुरबहादुर चन्दले नै हिसाब सार्वजनिक गर्ने निर्णय बैठकमा नभएको बताए। “बैठकमा साथीहरूले थप विवरण माग्नुभयो, उहाँ (पारस)ले पनि दिने कुरा गर्नुभएको छ,” चन्दले उकालोसँग भने, “म अध्यक्ष भएकाले मलाई धेरै हिसाब थाहा छ, तर अरू बोर्ड सदस्यले हिसाबमा केही त्रुटि निकाल्नुभयो भने परिषद्को संयोजकको नाताले र सबैले विश्वास गरेको हुनाले उहाँ (पारस खड्का) नै जिम्मवार हुनुहुनेछ।

बैठकमा चर्काचर्की, पारसको भूमिकामा प्रश्न
करिब चार महिनापछि बसेको क्यानको बोर्ड बैठक शुरू हुनसाथ प्रवक्ता लामाका बारेमा कुरा उठेको थियो। क्यान सदस्य दुर्गाराज पाठकले लामाले चाहेको भए एनपीएलमा भएको अनियमितता रोक्नसक्ने, तर अनियमितताको सारथि बनेको उल्लेख गर्दै यहीकारण उनीमाथि प्रश्न उठेको बताए।

“उहाँ त राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट क्यानमा आउनुभएको हो, परिषद्को प्रतिनिधि क्यानको प्रवक्ता स्वीकार्य हुँदैन। पछिल्लो बैठकमा पनि उहाँले मार्गप्रशस्त गर्छु भन्नुभएको थियो, खोइ त?,” पाठकले बैठकमा आफैले बोलेको उद्धृत गर्दै सुनाए, “हामीसँग क्यानको प्रवक्ता बन्नलाई निर्वाचित सदस्यहरू हुनुहुन्छ नि, राखेपको प्रतिनिधिलाई किन क्यानको प्रवक्ता बनाउने?” 

लामा राखेपले क्यानमा पठाउने दुई जना प्रतिनिधिमध्येका एक सदस्य हुन्। बिहीबारको बैठकमा उनीमाथि पाठकसहित अरू बोर्ड सदस्यहरू पनि खनिएका थिए। उनलाई तत्कालै बोर्डबाट हटाउनुपर्नेसम्मको माग उठेको थियो।

null

त्यसपछि लामाले भने आफूलाई केही समय क्यान प्रवक्ताको रूपमा काम गर्न दिन आग्रह गरेको बैठकमा सहभागी एक सदस्य बताउँछन्। लामाले उकालोसँगको कुराकानीमा आफूलाई हटाउन बैठकमा कुरा उठाइएको, आफूले आगामी साधारणसभासम्म रहन दिन आग्रह गरेको बताए।

त्यसलगत्तै बैठकमा क्यानसचिव पारसले ‘स्लाइड शो’मार्फत् एनपीएलको हिसाब पेश गर्न शुरू गरेका थिए। उनले करिब ५–७ मिनेट प्रस्तुति दिइसकेपछि बोर्ड सदस्यहरूले बीचमै रोकेका थिए।

“साथीहरूले औपचारिकताका लागि ल्याइएको हिसाबको बिस्तृत आधार नबुझाएसम्म मान्य छैन भनेर पारसजीलाई प्रष्टै भन्नुभयो,” क्यानका एक बोर्ड सदस्यले त्यहाँ उठेका कुरा उद्धृत गर्दै भने, “अख्तियारमा उजुरीका कुरादेखि सञ्चारमाध्यममा खबरहरू आएका छन्। ती विषयहरू नसुल्झिएसम्म तपाईंले दिएको यस्तो अपुरो हिसाब यहाँबाट पारित हुँदैन।”  

एनपीएलमा भएको अपारदर्शी खेल र अनियमितताको फेहरिस्त गत जेठ २७ गते उकालोमा प्रकाशित उकालोखोज पत्रकारिता केन्द्रको संयुक्त खोजबिनले उजागर गरेको थियो। उकालोले त्यसपछि फलोअप रिपोर्टमार्फत् यसका थप पाटा उजागर गर्दै आएको छ। अर्का बोर्ड सदस्यले बैठकमा यिनै तथ्य उद्धृत गरेर प्रश्न उठाइएको, तर पारसले त्यसबारे कुनै जवाफ नदिएको बताए।

बैठकमा राखेपबाट मनोनीत सदस्य दुर्गानन्द चौधरीले हिसाब आउन यति ढिलाइ किन भयो भन्ने प्रश्न उठाउँदै भनेका थिए, “हिसाब समयमै बोर्डबाट अनुमोदन गराएर सार्वजनिक गरेको भए अख्तियार र मिडियामा क्यानको बदनामी हुँदैन्थ्यो।” 

बैठकमा पारसले प्रस्तुत गरेको हिसाबलाई लिएर बोर्डका १७ जनामध्ये नौ जना विपक्षमा उभिँदा अध्यक्ष चन्द केही बोलेनन्। आयुष श्रेष्ठ र श्रीधर केसी तटस्थ बसेको बोर्डका अर्का एक सदस्यले बताए।

बैठकमा एनपीएल परिचालन परिषद्कै औचित्यमाथि प्रश्न उठाइएको थियो। “यो परिषद्लाई विघटन गरेर स्वतन्त्र व्यक्तिहरू सहभागी अर्को परिचालन परिषद् गठन गरौँ,” बैठकमा एक बोर्ड सदस्यले नै यस्तो प्रस्ताव गर्दै भनेका थिए, “पारसजी क्यानको सचिव, उहाँ हिसाब माग्ने ठाउँमा हुनुहुन्छ। तर उहाँलाई नै हिसाब बुझाउने जिम्मेवारी थोपर्नु त पटक्कै राम्रो भएन।”

उनले एनपीएलमा अनियमितता भएको वा नभएको विषय छानबिनबाट किनारा लाग्ने भए पनि यहीकारण सचिव पारसमाथि लागेको आरोपले पुर्‍याएको क्षति त्यसले पुर्ताल गर्न नसक्ने हुँदा उनलाई परिषद्को भारी बोकाउन नहुनेमा जोड दिए।

त्यसपछि पारसले एनपीएलको दोस्रो सिजन घोषणा भइसकेको, नयाँ परिचालन परिषद् गठन गर्न समय लाग्ने भएकाले अहिलेकै परिषद्लाई निरन्तरता दिन आग्रह गरेका थिए। त्यसपछि तीन जना रहने परिचालन परिषद्‍मा पाँच जना पुर्‍याउने बैठकले तय गरेको थियो।

परिषद्‍मा थपिने दुई सदस्यको नाम बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने भनिए पनि प्रवक्ता लामाले निकालेको विज्ञप्तिमा यो विषय समेटिएन। “प्रेस विज्ञप्तिमा त अधुरो हिसाब मात्र आयो, बैठकका अन्य निर्णय केही आएनन्,” बोर्ड सदस्य वीरेन्द्र चन्दले भने, “एनपीएलबाहेक बैठकले अरू १२ वटा निर्णय पनि गरेको थियो।” 

बोर्डमा बुझाइएको हिसाबमाथि प्रश्नै प्रश्न
बिहीबारको बोर्ड बैठकमा आठ वटा बुँदा समेटिएको हिसाब पेश गरेपछि क्यान सचिव पारससँग बोर्ड सदस्यहरूले त्यसको ‘ब्रेकडाउन’सहितको विस्तृत विवरण मागेका थिए। तर त्यसमा आलटाल भएपछि बैठकको माहोल नै बिग्रियो। त्यो माहोल जस्ताको तस्तै बाहिर जाने स्थिति बनेपछि पारसले आठ पानामा समेटिएको विवरणको फोटोकपी बोर्ड सदस्यहरूलाई उपलब्ध गराएका थिए।

तर ती आठ पानाले पनि २७ करोडभन्दा बढीको आर्थिक कारोबारमाथि बोर्ड सदस्यहरूले उठाएका प्रश्नको उत्तर दिन सकेनन्। त्यसले यो कारोबार कसरी र कुन माध्यमबाट भयो भन्ने आधार नदिएको, आफूहरूले यसको आधार माग्दा अर्को बैठकमा दिने वाचा गरेपछि बैठक टुंगिएको बोर्ड सदस्य माधव कर्माचार्य बताउँछन्।

“हामीले त्यो विवरण हेर्दा २७ करोडभन्दा धेरै रकम उठेको र त्यसबाट २० करोड खर्च भएको भनेर पत्याउने आधार भेटेनौँ,” कर्माचार्यले उकालोसँग भने, “यहीकारण बैठकले हिसाब अध्ययन गर्ने, त्यसपछि मात्र अनुमोदन गर्ने भनेर अहिले अनुमोदन नगरेको हो।”

हामीले प्राप्त गरेको आठ पानाको हिसाब विवरणमा कैयौँ अनौठा विवरण भेटिन्छन्, जो यसअघि सार्वजनिक भइसकेका तथ्यसँग मेल खाँदैनन्। जस्तो, कमर्सियल राइट्स बिक्रीबाट क्यानले पाँच करोड ९२ लाख प्राप्त गर्ने जानकारी क्यानले एनपीएल शुरू हुनुअघि प्रेस विज्ञप्ति जारी गरेरै दिएको थियो। उकालोमा गत जेठ २७ गते प्रकाशित खोज रिपोर्टमा त्यसबापत क्यानले पाँच करोड १५ लाख ५५ हजार ५५५ रुपैयाँ पाउने सम्झौता भएको उल्लेख छ।

तर बिहीबारको बैठकमा बोर्ड सदस्यहरूलाई दिइएको विवरणमा भने कमर्सियल राइट्स बिक्रीबापत क्यानले ६ करोड ६ लाख ५३ हजार ५९४ रुपैयाँ प्राप्त गरेको उल्लेख छ। सम्झौताभन्दा धेरै रकम कसरी प्राप्त भयो भन्ने यसबाट खुल्दैन।

त्यस्तै, ‘एनपीएल सोसल मिडिया एक्टिभेसन’ शीर्षकमा ५६ लाख ५८ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। उस्तै प्रकृतिको शीर्षक ‘डिजिटल एन्ड क्रिएटिभ्स’, ‘ईभेन्ट एक्टिभेसन कस्ट’ र ‘अफिसियल एन्थम विथ मार्की प्लेयर भिडियो एक्सपेन्सेस’ शीर्षकमा क्रमशः ४९ लाख २३ हजार ७४९, १३ लाख ५४ हजार ८८७ र १८ लाख ४८ हजार ६६५ रुपैयाँ खर्च भएको देखाइएको छ।

अझ अनौठो त, ‘स्लट कस्ट’ र ‘प्रड्क्सन कस्ट’ जस्ता अस्पष्ट शीर्षकमा क्रमशः दुई करोड ९३ लाख र एक करोड ३४ लाख रुपैयाँ खर्च देखाइएको छ। अस्पष्ट शीर्षकमा यति धेरै रकम खर्च भएको विवरण खासमा के हो त? हामीले यसबारे बुझ्न क्यानकै एक पदाधिकारीलाई सोध्यौँ। उनले यो रकम भारतीय कम्पनी ट्वान्टी फस्ट सेन्चुरी म्यानेजमेन्ट (टीसीएम) र स्टार स्पोर्टसलाई गएको बताए।

क्यानसचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारसले हामीसँगको कुराकानीमा टीसीएमसँग कुनै कारोबार नभएको, स्टार स्पोर्टस‍्को भुक्तानी कमर्सियल राइट्स किनेको ब्रान्ड डिजिटल लजिकले गरेको बताउँदै आएका छन्। जबकि आठ पानाको विवरणमा कतिपय उपशीर्षकहरूमा टीसीएमका लागि गरिएको खर्च रकम नै उल्लेख छ।

null

जस्तो, ‘फ्लाइ नेपाल ट्राभल्स्’बाट टीसीएमका लागि हवाई टिकटमा १२ लाख ४३ हजार ४९७ रुपैयाँ खर्च देखाइएको छ। त्यस्तै, ‘लाइफस्टाइल होलिडेज’ र ‘सक्सेस टुर्स र ट्रेक’बाट क्रमशः ३७  हजार र ३५ हजार ९०० रुपैयाँ खर्च देखाइएको छ।

त्यस्तै, ‘अर्गनाइजिङ टिम अलाउन्स’ शीर्षकमा एक करोड ५२ लाख ५३ हजार ४३३ रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्ता अरू पनि थुप्रै अस्पष्ट विवरण आठ पानामा छन्। जस्तो, प्रतियोगिताको टाइटल स्पोन्सर रहेको सिद्धार्थ बैंकबाट प्राप्त रकम र एनपीएलको आकर्षणका रूपमा ल्याइएका वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्रायन लारालाई तिरेको रकमबारे त्यसमा केही उल्लेख छैन।

एनपीएलको कमर्सियल राइट्स् ब्रान्ड लजिकले किनेकाले सिद्धार्थ बैंकले पैसा उसलाई नै तिर्नुपर्ने हो। तर जेठ २७ गते उकालोमा प्रकाशित रिपोर्टमा पारसले नै सिद्धार्थ बैंकले ब्रान्ड लजिकसँग नभई क्यानसँग सम्झौता गरेकाले पाँच वर्षसम्म क्यानलाई नै पैसा तिर्ने स्पष्ट पारेका थिए। टाइटल स्पोन्सर कति रकमको हो भन्नेबारे अहिलेसम्म क्यानले केही बताएको छैन। क्यानभित्र भने पाँच वर्षको २० करोड रकम हुने चर्चा हुने गरेको छ। यति ठूलो रकम उल्लेख नै नगरिनुले हिसाबमाथि थप प्रश्न जन्माएको छ।

विवरणमा ब्रायन लारालाई तिरिएको पैसा उल्लेख नै छैन। अझ अनौठो उनको हवाई टिकटबापतको खर्च भनेर ५५ लाख रुपैयाँ देखाइएको छ।

आठ पानाको विवरणमा फ्रेन्चाइजी आठ टिमबाट मात्र १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ उठेको उल्लेख छ। त्यस्तै, अन्य ६ शीर्षकसमेत जोड्दा कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ उठेको, खर्चतर्फ ३२ वटा शीर्षकमा २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको उल्लेख छ।

यो विवरणबारे बुझ्न हामीले क्यान सचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारसलाई सम्पर्क गर्‍यौँ। उनी सम्पर्कमा नआएपछि हामीले मेसेज गर्‍यौँ। त्यसको पनि उत्तर नआएपछि यो विषयमा बुझ्न चाहेको भनेर मेसेज पठायौँ। त्यसपछि उनले यस विषयमा आफूले ‘कुरा गर्न नसक्ने’ जवाफ पठाए।

पद र सत्ता भनेको कस्तो विध्वंसकारी हुदोरहेछ भन्ने एउटा गतिलो उदाहरण बन्न पुगेको छ यो काण्ड!युवा,बुढा भन्नू चाहि फगत उमेरको नाममा दोष दिनु र आफू पानी माथिको ओभानो हुनु मात्र रहेछ। पैसाको अगाडि जस्तो सुकै कर्म गर्न नछाड्ने र आफ्नो चाहाना पूरा गर्न अहिलेसम्म कमाएको इज्जतनै बिक्री गर्न पनि पछि नपर्ने हाम्रो समाजले फेरि अरुको अगाडि आदर्शको भासण गर्न भने पछाडि परेको देखिन्न।चाहे राजनीतिको होसं चाहे अरु कुनै संघ सस्थाको नै किन नहोस् सबैको नजर लक्ष्मीमा नै अडिएको हुन्छ। यथाशीघ्र येस्को सत्यतथ्य बाहिर आउनु र ल्याउनु नै पर्छ र अभयुक्तलाई कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउन पछि हट्नु हुदैन। इफ,बट यो काण्डमा पनि लागू भएको खण्डमा सदाचार,पारदर्शिता भन्ने कुरा कुनै पनि युवा भनौदाले नखोकेको नै राम्रो होला।

सन्तोष बाबु सेढाई

3 months, 1 week ago