खबर थाहा पाउँदा डा.राजेन्द्रप्रसाद विमलको प्रतिक्रिया थियो, ‘पुस्तक जलाएर खाना पकाउनु भनेको दुनियाँको कुनै पनि तानासाहले गरेको जुनसुकै अपराधभन्दा जघन्य अपराध हो।’
आइतबार नेपालमा पुस्तकालय दिवस मनाइयो। २०६५ भदौ १५ (अगस्ट ३१, २००८) बाट नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। पुस्तकालय दिवस मनाउन थालिएको तीन चार वर्षअघि जनकपुरमा जे भयो, त्यो साह्रै दुखद थियो।
सन् २०११/१२ तिर भारत सरकारको सहयोगमा गंगासागर, धनुषसागर र बाह्रबिघा रंगभूमि मैदानको सौन्दर्यीकरण आयोजना सञ्चालित थियो। दुवै सागर बीचको पुरानो कल्भर्ट पुनर्निर्माण हुँदै थियो। काममा खटाइएका अधिकांश कामदार जनकपुर बाहिरका थिए। अतः उनीहरूको आवास तथा निर्माण सामग्रीको भण्डारण दुवै सागरको मध्यमा अवस्थित सार्वजनिक पुस्तकालयको भवन गरियो।
तत्कालीन बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायले ठेकेदारलाई उक्त सुविधा प्रदान गराएका थिए। त्यसपछि पुस्तकालय भवनमा कामदारसँगै ठेकेदार र बृहत्तरका कर्मचारीहरूको रजगज सुरु भयो। पुस्तकालय परिसर इँटा, ढुंगा, बालुवा, फलामका डन्डी र सानाठूला औजारले भरिभराउ भयो। ज्येष्ठ नागरिकदेखि स्कुल कलेजका विद्यार्थीहरू अध्ययन गर्ने पुस्तकालय भवनभित्र सिमेन्ट, कोदालो, गैँचीलगायत निर्माण सामग्रीहरू थन्काइए। भवनभित्र कामदारको चुल्हो, सामल, लत्ताकपडा र ओछ्यानको चाङ लाग्यो। पुस्तकप्रेमीहरू विस्थापित भए। आम नागरिकको अपराह्नको जमघट हुने गुँड भत्कियो।
पुस्तकालय भवनमै बस्ने, खाना पकाउनेदेखि मासु–रक्सीको भोज पनि हुन थाले। शिक्षाको मन्दिर ठेकेदारको गोदाम र भट्टीमा परिणत भयो। कडा केमिकल र साह्रो चुनढुंगाबाट बनेको सिमेन्टको निकटता र पुस्तकको महत्त्व नबुझेका ठेकेदार र कामदारहरूको संगतले कोमल किताब बिग्रन थाले। अझ कामदारहरूले पुस्तक डढाएर चुलोमा आगो सल्काउन थाले। जाडोको महिनामा किताब डढाएर जिउ तताउन थाले। यस प्रकार सात दशक पुरानो पुस्तकालयका अधिकांश किताब कि त बिग्रे कि आगोमा स्वाहा भए।
सन् २०१० को डिसेम्बर २५ तारेखको दिन गोरखापत्रमा सूचना प्रकाशन गरी भारतीय दूतावासले गंगासागर र धनुषसागर सौन्दर्यीकरणका लागि ३ करोड ६४ लाख ७९ हजार र बाह्र बिघा रंगभूमि मैदान सौन्दर्यीकरण र घेरा–बेरा गर्न ३ करोड ५८ लाखको ठेक्का आह्वान गरेको थियो। क्रमशः डाँफे सगरमाथा जेभी र चन्द्रा एन्ड वसन्त जेभीले ठेक्का हात पारेको थियो। ठेक्का झन्डै आधी मूल्यमा सकार गरिएकाले बाँकीको रकमबाट गंगासागर र धनुषसागर बीचको पुरानो कल्भर्ट मर्मत शीर्षकमा खर्च गर्ने निर्णय गरिएको थियो। यसका ठेकेदार थिए– शैलेन्द्र कुमार यादव। ठेकेदार नेपाली कांग्रेसका नेता हुन् र पछिल्लो दुई कार्यकालयता महोत्तरी लोहारपट्टी नगरपालिकाका प्रमुख छन्।
आधुनिक जनकपुरका खोजीकर्ता, जानकी मन्दिरका आदिमहन्त सूरकिशोर दासले झन्डै १ सय २५ वर्ष अघि लेखेका ‘मिथिला विलास' सहित नेपाली, हिन्दी, मैथिली र अंग्रेजीका विभिन्न विधाका झन्डै एक लाख पुस्तक रहेको सार्वजनिक पुस्तकालय यसरी तहसनहस भयो। कामदार, लोभी ठेकेदार र गैरजिम्मेवार बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीको यस्तो अपराधबारे साहित्यकार डा.राजेन्द्रप्रसाद विमललाई जानकारी गराउँदा उनी झन्डै विचलित बन्न पुगे। १० मिनेटको चुप्पीपछि उनको प्रतिक्रिया थियो, ‘यसरी पुस्तक जलाएर खाना पकाउनु भनेको दुनियाँको कुनै पनि तानासाहले गरेको जुनसुकै अपराधभन्दा जघन्य अपराध हो।’
यतिखेर अधिकारकर्मी मलाला युसफजईको त्यस भनाइको स्मरण हुन्छ, ‘ख्याल राखौँ, एउटा पुस्तक, एउटा कलम, एउटा बालक र एउटा शिक्षकले दुनियाँ परिवर्तन गर्न सक्छ।’ दुर्भाग्य, दुनियाँ परिवर्तन गर्ने ल्याकत राख्ने ७२ वर्ष पुरानो सार्वजनिक पुस्तकालयका किताबहरू स्वाहा भइरहँदा जनकपुरवासी मौन थिए।
‘इतिहास र वर्तमान’ शीर्षकको लेखमा किशोर पौडेलले मल्लकालमा भक्तपुरमा सकोठा नामक पुस्तकालयको अस्तित्व रहेको उल्लेख गरेका छन्। पौडेलका अनुसार पृथ्वीनारायण शाहले विभिन्न राज्यमा फेला परेका हस्तलिखित पाण्डुलिपिहरूलाई १८२७ सालतिर हनुमानढोकामा संकलन गरेर राखेका थिए। उनका पनाति गीर्वाणयुद्ध विक्रम शाहले पुस्तकालयसम्बन्धी नियम बनाई वि.सं. १८६९ भाद्र १५ गते ‘पुस्तक चिताई तहबिल’ नामक प्रथम औपचारिक पुस्तकालय स्थापना गरेका थिए। २०१३ सालमा हेमराज शर्मा पाण्डेयको निजी पुस्तकालय किनेर राष्ट्रिय पुस्तकालय नामकरण गरिएको थियो। तर यी पुस्तकालयसम्म सर्वसाधारणको पहुँच भने थिएन।
मोफसलमा पुस्तकालय खुल्ने क्रम सुरु भएसँगै जनकपुर उपमहानगरपालिका–४ मा अवस्थित गंगासागर र धनुष सागरको डिलमा वि.सं. २०१२ सालमा सो सार्वजनिक पुस्तकालय स्थापना भएको थियो। सामाजिक अगुवाहरूको पहलमा स्थापना भएको उक्त पुस्तकालयका तत्कालीन सञ्चालकहरूले डिभिजनल इन्स्पेक्टर अफ स्कुल अफिस, डिभिजन न. २ जनकपुरमा २०१२ भदौ २७ गते पुस्तकालय दर्ताको लागि आवेदन दिएको देखिन्छ। प्राप्त अभिलेखअनुसार अफिसका पदाधिकारीहरूले निरीक्षणपश्चात् २०१२ असोज २७ गते पुस्तकालय सञ्चालन गर्न म्यादी स्वीकृति प्रदान गरियो। डिभिजनल कार्यालयले दिएको अनुमति पत्रमा ‘सरकारी आर्थिक सहायताका लागि, त्यहाँ पुस्तक संख्या र अरू व्यवस्थामा सन्तोषजनक उन्नति देखिएमा, अगामी बजेटमा सिफारिस गरी पठाइने’ उल्लेख छ।
जनकपुर नगर पञ्चायतका प्रथम चेयरमेन (प्रधान पञ्च) श्यामसुन्दर शर्मा नेतृत्वमा गठित सार्वजनिक पुस्तकालय सञ्चालक समितिले २०१२ सालमा पुस्तकालय स्थापना गरेको देखिन्छ। पछि गुठी संस्थानको स्वामित्वमा रहेको सिट नम्बर– १३९५–०५, कित्ता नम्बर– ३७ को ३ कठा १४ धुर गुठी तैनाथी जग्गामा जनकपुर नगरपालिकाबाट विधिवत् नक्सा पास गरी सुविधासम्पन्न भवन निर्माण भई पुस्तकालय सञ्चालनमा आएको थियो। पुस्तकालय स्थापना तथा व्यवस्थापनमा जनकपुर नगरपालिकाका दोस्रो प्रधानपञ्च राधाप्रसाद चौधरी, नेपाली कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधि, पूर्वमन्त्री मकेश्वर प्रसाद सिंह, अधिवक्ता रामनगिना सिंह, मदन थापा, महावीर सिंह, जनार्दन मण्डल, चन्द्रकिशोर लाभलगायत सामाजिक अभियन्ताको उल्लेखनीय भूमिका थियो।
यसैगरी, कांग्रेस नेता सरोजप्रसाद कोइरालाको अगुवाइमा वि.सं. २०११ सालमा जनकपुर–९ ब्रह्मपुरीमा सुहृद पुस्तकालय स्थापना गरिएको थियो। साहित्यकार रोशन जनकपुरी सुनाउँछन्, ‘‘सार्वजनिक पुस्तकालय र सुहृद पुस्तकालय प्रजातन्त्रवादी नेताहरूको साधना स्थलजस्तै थियो। जहाँ उनीहरू भेला हुन्थे। पत्रपत्रिका र पुस्तक पढ्थे। चेस खेल्थे। अनि लोकतन्त्र स्थापनार्थ विमर्श गर्थे। प्रजातन्त्रवादीहरू फागुन ७ गतेको प्रजातन्त्र दिवस र मानव अधिकार दिवसको अवसरमा यिनै पुस्तकालयमा कार्यक्रम आयोजन हुने गर्थे। त्यति बेला पुलिसहरू पनि पुस्तकालयभित्र छिरेर नेताहरूलाई समात्दैनथे।’’
२०४६ सालको राजनीतिक परिवर्तनअघि विद्यार्थी तथा आम नागरिकको अध्ययन, विमर्श तथा चेस, लुडो आदि इन्डोर खेलका लागि पुस्तकालय मुख्य केन्द्र थियो। जनकपुरमा सार्वजनिक पुस्तकालयका अतिरिक्त जनकपुर–९ ब्रह्मपुरीमा सुहृद पुस्तकालय, जनकपुर–१४ मुजेलियामा २०२२ सालमा भारत सरकारको सहयोगमा निर्मित राधाकृष्ण पुस्तकालय, जानकी मन्दिरमा अवस्थित धार्मिक पुस्तकालय सञ्चालनमा थियो। यसका अतिरिक्त ग्रामीण भेगमा पनि पुस्तकालय र वाचनालयलगायत व्यक्तित्व विकास गर्ने केन्द्रहरू थिए। सम्बन्धित पञ्चायत तथा स्थानीयवासीको सहयोगमा सञ्चालित थिए ती पुस्तकालयहरू। पुस्तकालयहरूमा भारत, चीन र रुस सरकारले समेत पुस्तक उपलब्ध गराउने गरेका थिए।
साहित्यकार प्रफुल्लराज घिमिरेका अनुसार, २०४६ को राजनीतिक परिवर्तनसँगै स्थानीय सरकारको प्राथमिकता परिवर्तन भयो। स्थानीय सरकार शिक्षा, स्वास्थ्यभन्दा पनि भौतिक संरचना निर्माणलाई प्राथमिकता दिन थाले। पठन संस्कृतिमा ह्रास आयो।
घिमिरेको प्रतिक्रिया थियो, ‘‘पुस्तकालय र पुस्तक पसल चहार्नेहरू अचेल मोबाइल र अनलाइनमा रमाउन थालेका छन्। नगरपालिकाको प्राथमिकतामा पुस्तकालय रहेन। अनि पुस्तकालयहरू धराशायी हुने नै भयो।’’
धराशायी बन्न पुगेका अधिकांश पुस्तकालयको आफ्नै जग्गा र पक्की भवन छन्। अन्य भौतिक संरचना पनि छन्, जसको मर्मत सम्भार हुन सकेको छैन। पुस्तकको अभाव छ। पछिल्लो पटक युवा अभियन्ताहरू ती पुस्तकालयहरूलाई पुनर्स्थापना गर्ने अभियान सञ्चालन गरेका छन्। बिपती मण्डलको अगुवाइमा २०६९ चैत २७ गते बसेको बुद्धिजीवीहरूको बैठकले सार्वजनिक पुस्तकालय पुनर्स्थापना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकमा मण्डलका अतिरिक्त नेविसंघका पूर्व केन्द्रीय सभापति युवराज खाती, ललन चौधरी, विजय यादव, गणेश राय, बलराम मण्डल, कुशेश्वर ठाकुरलगायत अभियन्ता सहभागी थिए। बिपती मण्डलको अध्यक्षतामा पुस्तकालय सञ्चालक समिति गठन भयो। अचेल सार्वजनिक पुस्तकालय सञ्चालनमा रहे पनि पुस्तक, फर्निचर र शौचालय आदिको चरम अभाव छ।
बिपती मण्डलको प्रतिक्रिया थियो, ‘झन्डै भूमाफियाको कब्जामा गइसकेको सार्वजनिक पुस्तकालयलाई जोगाउन सफल भयौँ। अब यस पुस्तकालयलाई प्रादेशिक स्तरको पुस्तकालय बनाउने लक्ष्य छ।’
बिपती मण्डलको पहलमा सार्वजनिक पुस्तकालय पुनः दैनिक सञ्चालन हुन थालेको छ। दैनिक १०० जना पुस्तकालयमा आउँछन्। तीमध्ये कलेजमा अध्ययनरत तथा लोकसेवाको तयारीमा लागेका युवाहरूको संख्या अधिक हुन्छ।
जनकपुरका पुराना पुस्तकालयहरू धराशायी बन्दै गएको बेला मैथिली विकास कोष नामक संस्थाले करिब ८ करोड लागतमा सुविधासम्पन्न पुस्तकालय स्थापना गरेको छ, जसको दुई महिनाअघि उद्घाटन भयो। कोषको जनकपुरधाम–८ ज्ञानकूपमा नवनिर्मित मिथिला भवनमा सञ्चालित ‘विद्यापति पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्र’मा विभिन्न भाषा र विधाका पाँच हजार अधिक पुस्तक संग्रह भइसकेको छ। कोषका अध्यक्ष जीवनाथ चौधरी पुस्तकालयलाई पुस्तकालयको रूपमा स्तरोन्नति गर्ने गृहकार्यमा छन्। चौधरी भन्छन्, ‘‘आधुनिक युवाहरूमा पठन संस्कृतिमा ह्रास आएको अनुभव गरेर सुविधा सम्पन्न पुस्तकालय सञ्चालन गर्ने सोच बनाएका छौँ।’’
पुस्तक डढाइएको साह्रै दुखद विगत हामीसँग स्मृतिमा रहिरहँदा जनकपुरमा नयाँ पुस्तकालय बन्नु सुखद विषय हो। तर इन्टरनेट/सामाजिक सञ्जालमा उत्पादित अधिकांश भ्रमपूर्ण र सनसनीमा लोक अल्झिरहेको आजको चुनौतीपूर्ण अभ्यास घटाउँदै असल पुस्तक पढ्ने संस्कृति बढाउनुचाहिँ आफैमा पेचिलो र चुनौतीपूर्ण विषय हो। यसमा शिक्षक, विद्यार्थी, प्राज्ञ, जन साधारण सबै संवेदनशील हुनु आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
