सिंहदरबारमै सुरक्षित हुने ‘विश्वास’मा खरानी भए ६७० सवारीसाधन

जेन-जी आन्दोलन हिंसात्मक बनेपछि त्यो दिन सरकारी कर्मचारीलाई गाडी सिंहदरबारमै राख्न निर्देशन दिइएको थियो। त्यहीकारण कतिपयले निजी गाडी पनि सिंहदरबारमै छाडेका थिए, तर ती सबै खरानी भए।

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको सिंहदरबारभित्र पस्नेहरूले करिब एक साता जलेका भवन र तिनका खण्डहर मात्र होइन, भग्नावशेष मात्र बाँकी रहेका जलेर असरल्ल गाडीहरूको तस्वीर मोबाइलमा कैद गरिरहे। त्यो दृश्य हेरेर भक्कानिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक वरिष्ठ कर्मचारी भनिरहेथे, “यो विनाशले सरकारी सम्पत्ति मात्र गुमेन, कर्मचारीमा ठूलो मानसिक आघात परेको छ।” 

कार्यालयका प्रवक्ता, सहसचिव रविलाल शर्मा सिंहदरबारभित्रका गाडी जलेर भएको क्षतिसम्बन्धी प्रतिवेदन हेरेर भन्दै थिए, “यति ठूलो क्षति यसअघि कहिल्यै भएको थिएन।” प्रतिवेदनअनुसार त्यस दिनको आगजनीमा प्रधानमन्त्री कार्यालयका ४७ वटा चारपांग्रे गाडी पूर्णरूपमा जलेर खरानी भएका छन्। थप १४ वटा चारपांग्रे तोडफोड भए पनि मर्मतपछि प्रयोगमा ल्याउन सकिने देखिन्छ। त्यस्तै, कार्यालयका ७४ वटा दुईपांग्रे सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन्।

आगजनी र तोडफोड गर्दै आएको भीड पश्चिम गेट तोडेर भित्र पसेसँगै पहिलो निशाना प्रधानमन्त्री कार्यालय बनेको थियो। अर्को समूहले कार्यालय परिसरमा रहेका गाडीमा तोडफोड र आगजनी गरेको थियो। सिंहदरबार परिसरमा जलेर भग्नावशेष मात्र बाँकी रहेका गाडीहरू अहिले त्यहाँबाट हटाउन थालिसकिएको छ।

६७० सवारी नष्ट, १६० वटा क्षतिग्रस्त
प्रधानमन्त्री कार्यालयमा आगजनी भइरहँदा नजिकैको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेको अर्को भीडले मन्त्रालय परिसरमा रहेका सरकारी गाडीमा आगजनी र तोडफोड गरेको थियो। मन्त्रालयका कर्मचारी बाबुराम खरेलको संयोजकत्वमा गठन गरेको कार्यदलले त्यहाँका गाडीमा भएको क्षतिबारे प्रतिवेदन तयार पारेको छ।

null

मन्त्रालयका प्रवक्ता, सहसचिव सागरराज गौतमका अनुसार ऊर्जा मन्त्रालयका २१ वटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा जलेर खरानी भएका छन्। ३९ वटा दुईपांग्रे पनि पूर्ण रूपमा नष्ट भएका छन्। क्षतिग्रस्त १७ वटा चारपांग्रे भने मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकिने देखिएको उल्लेख गर्दै गौतमले भने, “जलेर खरानी भएका गाडी पुनः प्रयोग गर्न सकिँदैन, तोडफोड भएका गाडी मर्मतपछि प्रयोगमा ल्याउन मन्त्रालय जुटिसकेको छ।”

ऊर्जा मन्त्रालय पछिल्तिर रहेको अर्थ मन्त्रालयका प्रवक्ता, सहसचिव टंकप्रसाद पाण्डेका अनुसार मन्त्रालयका १६ वटा चारपांग्रे र ५५ वटा दुईपांग्रे सवारी जलेर पूर्ण रूपमा नष्ट भएका छन्। तोडफोडबाट क्षतिग्रस्त २५ वटा चारपांग्रे सवारीलाई भने मर्मतपछि प्रयोगमा ल्याउन सकिने देखिन्छ। पाण्डेले भने, “पहिलो चरणमा फुटेका सिसा सुरक्षित पार्ने काम भइरहेको छ। दोस्रो चरणमा क्षतिग्रस्त गाडीको मर्मत अघि बढाइनेछ।” 

आगजनी र तोडफोडमा ठूलो क्षति ब्यहोरेको ठाउँ गृह मन्त्रालय पनि हो। मन्त्रालयको भवन आगोले जलेर लगभग नष्ट नै भएपछि सामान्य प्रशासन मन्त्रालयको मातहतमा रहेको तर परराष्ट्र मन्त्रालयले प्रयोग गरिरहेको भवनमा गृह मन्त्रालयलाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। 

null

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहका २२ वटा चारपांग्रे सवारी पूर्ण रूपमा नष्ट भएका छन्। ३१ वटा गाडी आंशिक रूपमा क्षतिग्रस्त छन् जसलाई मर्मतपछि प्रयोग गर्न सकिन्छ। त्यहाँ १० वटा चारपांग्रे सवारी मात्र जोगिएको उल्लेख गर्दै काफ्लेले भने, “भवन प्रयोग गर्न नमिल्ने भएपछि कर्मचारीहरूले आफ्नो दैनिकी फेरि शुरू गर्नुपर्‍यो कार्यालय स्थानान्तरण गर्दा पुराना कागजात, फाइल र उपकरण सुरक्षित राख्न ठूलो चुनौती भयो। जलेका र क्षतिग्रस्त सवारी मर्मत गर्ने तयारी भइरहेको छ।”

छेउमै रहेको परराष्ट्र मन्त्रालयको भवन जोगिए पनि त्यहाँ रहेका गाडी जोगिएनन्। आन्दोलनकारी भनिएकाहरूले मन्त्रालयको पार्किङमा रहेका गाडीहरूमा आगो झोसेर तोडफोडसमेत गरे। मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार परराष्ट्रमा मन्त्रीसहितले चढ्ने ६ वटा चारपांग्रे सवारी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आंशिक क्षति पुगेका ३० वटा चारपांग्रे सवारी मर्मतपछि फेरि प्रयोगमा ल्याउन सकिने त देखिन्छ, तर त्यसका लागि १४ करोड ८७ लाख ९२ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

आगजनीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता मधुप्रसाद घिमिरेका अनुसार त्यहाँ २६ वटा चारपांग्रे सवारीसाधन आगजनीमा पूर्ण रूपमा नष्ट भएका छन्। ४५ वटा दुईपांग्रे पनि खरानी बनेका छन्। मन्त्रालयको एउटा चारपांग्रे र दुइटा दुईपांग्रे सवारी भने मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले बताए। घिमिरे भन्छन्, “जलेका गाडी भौतिक सम्पत्ति मात्र होइनन्, यसबाट शिक्षाको जग नै भत्काउन खोजिएको हामीले महसुस गरेका छौँ।” 

null

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पनि मन्त्री चढ्ने गाडीसहित पाँच वटा चारपांग्रे र दुइटा दुईपांग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। १३ वटा चारपांग्रे भने मर्मतपछि प्रयोग गर्न सकिने अवस्थाका छन्। 

वन तथा वातावरण मन्त्रालयमा पनि १७ वटा चारपांग्रे र १० वटा दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महाशाखाका सम्पूर्ण कागजातसँगै ३५ वटा चारपांग्रे सवारी जलेर खरानी भएका छन्। बाँकी ६ मध्ये दुइटा चारपांग्रे सवारीसाधन उपसचिवहरूले घरमा राखेकाले सुरक्षित भए भने चार वटा मन्त्रालय परिसरमै तोडफोड गरिएका छन्। यसबाहेक मन्त्रालयका ८५ वटा दुईपांग्रे सवारीसाधन पनि आगजनीमा पूर्ण रूपमा नष्ट भएका छन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईका अनुसार मन्त्रालयका दुइटा चारपांग्रे र १५ वटा दुईपांग्रे सवारी‍साधन जलेर नष्ट भएका छन्। थप ६ वटा चारपांग्रे र सात वटा दुईपांग्रे सवारी साधनमा तोडफोड भएको छ। 

null

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नौ वटा चारपांग्रे र ३९ वटा दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। मन्त्रालयका एक कर्मचारी भन्छन्, “यसबाट कृषि र पशुपालन क्षेत्रमा काम गर्ने हाम्रा संयन्त्रको मनोबल नराम्ररी खस्किएको छ।”

युवा तथा खेलकुद मन्त्रालयमा १९ वटा चारपांग्रे र २३ वटा दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। अरूको तुलनामा सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयमा केही कम क्षति भयो। त्यहाँ दुइटा गाडी मात्र नष्ट भएका छन्। १२ वटा चारपांग्रे सवारी तोडफोड भए पनि मर्मतपछि प्रयोगमा ल्याउन सकिने खालका छन्। मन्त्रालयका प्रवक्ता, सहसचिव गजेन्द्र ठाकुरले भने, “मन्त्रालयको भवन त बल्लतल्ल जोगियो, तर गाडी जोगिएनन्।”

शहरी विकास मन्त्रालयका सहायक प्रवक्ता, सिनियर डिभिजन इन्जिनियर नवराज अधिकारीका अनुसार मन्त्रालयका आठ वटा चारपांग्रे र १४ वटा दुईपांग्रे सवारीसाधन आगजनीमा पूर्ण रूपमा नष्ट भएका छन्। तीन वटा चारपांग्रे र ६ वटा दुईपांग्रे सवारीसाधन तोडफोड गरिएको छ। 

राष्ट्रिय सतर्कता केन्द्रका १४ वटा चारपांग्रे सवारीसाधनमध्ये १३ वटा जलेर खरानी भएका छन्। बाँकी एउटा गाडी मर्मतपछि प्रयोग गर्न मिल्ने खालको छ। कार्यालय भवनको बेसमेन्टमा रहेका १२ वटा दुईपांग्रे सवारीसाधन पनि पूर्ण रूपमा नष्ट भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका नौ वटा दुईपांग्रे सवारीसाधन पनि जलेर नष्ट भएका छन्। 

यी सबै जोड्दा सिंहदरबारभित्र मात्र ६७० सवारीसाधन पूर्णरूपमा नष्ट भएको र १६० वटा सवारीसाधन क्षतिग्रस्त भएको देखिन्छ।

null

सिंहदरबारभित्रै निजी गाडी पनि जले
सिंहदरबारमा गरिएको आगजनीमा सरकारी गाडी मात्र होइन, कतिपय कर्मचारीका निजी गाडी पनि नष्ट भएका छन्। तीमध्ये धेरैजसोले घरभन्दा सिंहदरबारभित्रै सुरक्षित हुने विश्वासमा गाडी त्यहीँ राखेका थिए। अहिलेसम्म क्षति पुगेका सरकारी गाडीहरूको विवरण संकलन गरिए पनि निजी गाडीको क्षतिको पूर्ण विवरण भने तयार भएको भेटिएन। 

हामीले आफ्नै खोजबिनमा प्राप्त गरेको विवरणअनुसार ऊर्जा मन्त्रालयका तीन कर्मचारीका चारपांग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका एक कर्मचारीको गाडी नष्ट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तीन कर्मचारीका निजी गाडी पनि जलेर नष्ट भएका छन्। यसबाहेक सामान्य प्रशासन मन्त्रालयमा पनि एक कर्मचारीको गाडी जलेर नष्ट भएको पुष्टि भएको छ।

आफ्नो चारपांग्रे सवारीसाधन जलेपछि स्तब्ध बनेका एक कर्मचारीले सुनाए, “गाडी मात्र गुमेन, हाम्रो भरोसा र आत्मविश्वास पनि गुम्यो।” 

मुख्यसचिवको त्यो निर्देशन
जेनजी आन्दोलनको पहिलो दिन, भदौ २३ गते प्रहरीको गोलीबाट १९ युवा मारिएपछि देशैभर तनाव एक्कासि बढेको थियो। त्यसपछि बिग्रिन सक्ने परिस्थितिलाई ध्यानमा राखेर २४ गते बिहानैदेखि कर्फ्यु आदेश जारी गरिए पनि प्रदर्शनकारीहरू कर्फ्यु उल्लंघन गर्दै सडकमा उत्रिएका थिए।

यो अवस्थाको आकलन गरेरै मुख्यसचिव एकनारायण अर्यालले २३ गते साँझ नै सबै मन्त्रालयका सचिवहरूलाई सरकारी गाडी सिंहदरबारमै राख्न र बाहिर नलैजान निर्देशन दिएका थिए। आन्दोलन र प्रदर्शनमा सरकारी गाडी नै निशाना बन्न सक्ने भएकाले त्यस्तो निर्देशन दिइएको थियो।

सचिवहरूले यो निर्देशन तत्कालै आफ्नो मातहतमा प्रवाह गरे। “आन्दोलन बानेश्वरतिर केन्द्रित थियो, हामी अरू रुटबाट घर फर्कने तयारीमा थियौँ,” एक सहसचिवले भने, “तर गाडी नलैजाने निर्देशन पाएपछि गाडी यहीँ छाडेर म पैदल नै घरतिर लागेँ।” अर्का सहसचिवले थपे, “म गाडी लिएरै बाहिरिन खोजेको थिएँ, तर गेटबाट अनुमति पाइएन।”

null

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रविलाल शर्माका अनुसार मुख्यसचिवले सिंहदरबारमै छाडेमा गाडीहरू सुरक्षित हुने विश्वासमा यस्तो निर्देशन दिएका थिए। “हामीले पनि यहीँ छाडेर गयौँ। सिंहदरबारमै यस्तो होला भन्ने त कसले पो सोचेको थियो र?” उनले भने। 

गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सरकारी गाडीलाई निशाना बनाइएको थियो। कैयौँ सरकारी गाडीमा आगजनी गरिएको थियो। त्यो घटनाबाट पाठ सिकेर पनि प्रदर्शन हुन थालेपछि सरकारी गाडी बाहिर नलैजाने निर्णय भएको सिनियर कर्मचारीहरू बताउँछन्। 

“चैत १५ गते सरकारी सवारीसाधनमा क्षति पुर्‍याइयो। त्यसमा चढ्ने कर्मचारीहरूलाई ज्यान जोगाउनै मुस्किल भएको थियो,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सिनियर कर्मचारीले भने, “यसपटक पनि त्यस्तो अवस्था नआओस् भनेर सरकारी सवारीसाधन सिंहदरबारबाट बाहिर नलैजान निर्देशन भएको हो। तर सिंहदरबार नै नजोगिएपछि गाडी पनि जोगिएनन्। यहाँ सुरक्षित हुन्छन् भन्ने विश्वासमा राखिएका कर्मचारी साथीहरूका निजी गाडी पनि जले।”