शिक्षामा एआई: जटिलतासँगै अवसर

शिक्षामा एआई समावेश गर्ने विषय बृहत् र जटिल छ। शिक्षण–सिकाइको हरेक तहमा एआई उपयोगी भए पनि यसको संरचना, घटक, कार्यक्षमता र उद्देश्य बुझ्नुपर्ने आवश्यकता झनै बढेको छ।

विश्वभर तीव्र गतिमा विस्तार हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले  शिक्षा क्षेत्रमा पनि व्यापक प्रभाव पार्न थालेको छ। शिक्षामा एआई को प्रयोगले शिक्षक, विद्यार्थी, र सम्पूर्ण शिक्षा प्रणालीलाई सहयोग पुर्‍याएको देखिन्छ। यसले ज्ञान वितरण मात्र नगरी विद्यार्थीको व्यवहार विश्लेषण, सिकाइ शैलीको पहिचान, गरी शिक्षा क्षेत्रमा योगदान पुर्‍याको छ भने यसले शिक्षकका लागि पाठ योजना बनाउने, मूल्याङ्कन गर्ने, रिपोर्ट तयार गर्ने, तथा कक्षा व्यवस्थापनमा सहयोग पुर्‍याको देखिन्छ।

तर यसको उपयोगका क्रममा आवश्यक प्रमाणीकरण, डाटा व्यवस्थापन र नैतिक मापदण्डप्रति पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता देखा पर्न थालेको छ। यसको प्रयोग जति आवश्यक छ, त्यति नै आवश्यक छ—सचेतता, जिम्मेवारी, नैतिकता र विश्लेषणात्मक क्षमता। एआई सही तरिकाले प्रयोग गरियो भने शिक्षा प्रणालीको रूपान्तरण असम्भव छैन । तर अव्यवस्थित वा अज्ञानतापूर्वक प्रयोगले शिक्षा क्षेत्रमा अनपेक्षित सङ्कटसमेत निम्त्याउन सक्छ।

हाल एआईबाट प्राप्त जानकारीलाई बिना प्रमाणीकरण स्विकार्ने प्रवृत्ति बढ्दै गएको छ। एआईको सामग्रीलाई ‘जे आयो त्यही सत्य’ ठान्ने मानसिकताले शिक्षा क्षेत्रमा गलत अभ्यास जन्माइरहेको छ। एआईले दिने नतिजा तथ्यगत रूपमा कति ठोस छ, कुन डाटा व्यवस्थापन प्रणालीमा आधारित छ र त्यहाँ कस्ता प्रकारका डाटाहरू प्रयोग भएका छन्—यी सबै प्रश्नलाई बेवास्ता गर्दा शिक्षण–सिकाइ प्रक्रियामा गलत धारणाहरू स्थापित हुने खतरा बडेको छ। यही कारण, शिक्षा क्षेत्रमा एआईको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोगका लागि विभिन्न शैक्षिक संस्था र एआई विज्ञहरू सक्रिय हुँदै आएका छन्।

शिक्षामा एआईको प्रभाव
एआईलाई शिक्षामा 'सहायक' वा 'मद्दतकार'को रूपमा प्रयोग गर्न सकिन्छ। यसले शिक्षक र विद्यार्थी दुवैको क्षमता वृद्धि गर्न सक्छ। एआईले मानव क्षमतामा सहयोग पुर्‍याए पनि, कतिपय अवस्थामा यसको परिणाम मानव क्षमताभन्दा उच्च देखिनाले विश्वसनीयता र पारदर्शितामा प्रश्न उठ्छ। वैज्ञानिक दृष्टिले हेर्दा, एआईले विविध शैक्षिक सामग्री निर्माण, विश्लेषण र नयाँ ज्ञान सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकै छ।

विद्यार्थीको सिकाइ शैली, क्षमता, गति र रुचि अनुसार अनुकूल सामग्री उपलब्ध गराउन सक्ने एआई प्रणालीले परम्परागत शिक्षण पद्धतिभन्दा धेरै प्रभावकारी परिणाम दिन सक्छ। तर यसका लागि डाटा संकलन, विश्लेषण र गोपनीयताको व्यवस्थापन कडाइपूर्वक गर्नुपर्छ। शिक्षकले पनि केवल ज्ञान हस्तान्तरण गर्ने भूमिकामा मात्र सीमित नभई एआईले तयार गरेको सामग्रीको व्याख्या, विश्लेषण र प्रयोगको मार्गदर्शन गर्ने जिम्मेवारी लिनुपर्छ।

शिक्षामा एआई समावेश गर्ने विषय बृहत् र जटिल छ। शिक्षण–सिकाइको हरेक तहमा एआई उपयोगी भए पनि यसको संरचना, घटक, कार्यक्षमता र उद्देश्य बुझ्नुपर्ने आवश्यकता झनै बढेर गएको छ। यसका साथै शिक्षक, विद्यार्थी र सम्पूर्ण शैक्षिक प्रणालीमाथि एआईले पार्ने प्रभाव जटिल बन्दै गएको छ। एआईलाई शिक्षामा एकीकृत गर्दा तथ्याङ्क कसरी संकलन गर्ने, स्मार्ट सामग्री कसरी निर्माण गर्ने, सिकाइ विश्लेषण कसरी गर्ने, एआई र आइसीटी (सूचना प्रविधि) उपकरणहरूको प्रयोग कसरी गर्ने लगायतका प्रश्नहरूमा छलफल गर्नुपर्ने आवश्यकता देखिन्छन्।

यता, काठमाडौँ विश्वविद्यालयको डिजिटल लर्निङ रिसर्च ल्याबमा गरिएको अध्ययनले एआई-शिक्षामा उपयोगी हुनसक्ने विभिन्न पक्षहरूको पहिचान गरेको छ। गेमिफिकेसन, व्यक्तिगत सिकाइ, विद्यार्थी व्यवहार विश्लेषण, पूर्वानुमान प्रणाली, भाषा बुझाइ तथा अनुकूल सामग्री उत्पादनजस्ता सुविधाले एआईलाई सशक्त शैक्षिक उपकरण बनाएको देखिन्छ। यिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकमा न्यूनतम एआई साक्षरता अनिवार्य हुनुपर्छ।

तर नेपालमा सामान्यतः 'एआई आफै चलाउन आउँछ' भन्ने गलत बुझाइका कारण उपकरणहरू दुरुपयोग भइरहेका छन्, जसले सिकाइभन्दा बढी भ्रम, ज्यादा निर्भरता र त्रुटि सिर्जना गरिदिएको छ। यही चुनौतीलाई मध्यनजर राख्दै 'डिजिटल लर्निङ रिसर्च ल्याब'ले शिक्षक, शिक्षाविद् र आइटी व्यवसायीहरूलाई लक्षित गर्दै एआई शिक्षासम्बन्धी विस्तृत पाठ्यक्रम तयार पारेको छ, जसले एआई प्रयोगका आधारभूत अवधारणादेखि डाटा सुरक्षा, गोपनीयता, नैतिकता, मूल्याङ्कन र लर्निङ एनालिटिक्ससम्मका आवश्यक पक्षहरू समेटेको छ।

अब एआईले शिक्षकहरूको भूमिकामा पनि परिवर्तन ल्याउनेछ। शिक्षकहरू अब केवल ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई एआईद्वारा उत्पन्न सामग्रीको व्याख्या, विश्लेषण र उपयोगका मार्गदर्शक हुनेछन्। तर यदि शिक्षक स्वयं एआई-साक्षर छैनन् भने सिकाइ प्रणाली उल्टै भ्रम, निर्भरता र गलत अभ्यासतर्फ उन्मुख हुनसक्छ।

विद्यार्थीको मूल्याङ्कनमा एआईले क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ। विद्यार्थीको  प्रगति,  कमजोरी र गल्तीहरूलाई वास्तविक समयमा ट्र्याक गर्न सके उचित मूल्यांक गर्न सकिन्छ। तर पूर्वाग्रही एल्गोरिदम, गलत डाटा, पक्षपातपूर्ण विश्लेषणजस्ता समस्या आएमा मूल्याङ्कन नै अन्यायपूर्ण हुनसक्ने जोखिम पनि रहन्छ।

एआईको प्रयोगले विद्यार्थी र शिक्षक बीचको मानविक सम्बन्ध कमजोर बन्ने सम्भावना उत्तिकै छ। सिकाइ अत्यधिक प्राविधिक हुँदै जाँदा भावनात्मक, सामाजिक र नैतिक विकासका पक्षहरू कमजोर बन्न सक्ने खतरा पनि छ। शिक्षा केवल ज्ञान हस्तान्तरण मात्र होइन—'मानविकता', चरित्र निर्माण र सामाजिक विकासको प्रक्रिया पनि हो। एआईले यी पक्षमा कति योगदान दिन सक्छ वा कति क्षति पुर्‍याउन सक्छ — एआईको प्रयोग बढेसँगै यो विषय ठूलो प्रश्नको रूपमा उभिएको छ।

एआईले शिक्षा प्रणालीमा नयाँ सम्भावनाहरू खोले पनि यसको अव्यवस्थित प्रयोगले नैतिकता, गोपनीयता, सत्यता र विश्वासजस्ता मूलभूत मूल्यहरूमा खतरा ल्याउन सक्छ। यही कारण शिक्षामा एआईको उपयोगलाई सरल वा सरसरती रूपमा लिन मिल्दैन। यसको प्रयोग सुसंगठित रणनीति, दक्ष जनशक्ति, स्पष्ट नीति, प्राविधिक पारदर्शिता र गहिरो शैक्षिक बुझाइपछि मात्र गर्नुपर्छ।

एआई र शैक्षिक असमानता
डिजिटल पहुँच, डाटा र प्राविधिक ज्ञानको कमी भएका विद्यालय तथा समुदायहरू एआई प्रयोगमा पछि पर्न सक्छन्। यसले शैक्षिक असमानतालाई बढावा दिने खतरा उत्पन्न गर्छ। साथै, एआईको अव्यवस्थित प्रयोगले नैतिकता, गोपनीयता, सत्यता र विश्वासजस्ता मूल्यहरूमा पनि चुनौती प्रस्तुत गर्दछ।

एआईले शिक्षामा वर्ग विभेद बढाउने खतरा पनि हुनसक्छ। पर्याप्त डिजिटल पहुँच, डाटा, प्रविधि र ज्ञान नभएका विद्यालय र समुदायहरू एआई प्रयोगमा पछि पर्न सक्छन्, जसले शैक्षिक असमानता बढाउन सक्छ।

सुरक्षित र पारदर्शी प्रयोगका लागि प्राविधिक पारदर्शिता, दक्ष जनशक्ति, स्पष्ट नीति र गहिरो शैक्षिक बुझाई आवश्यक छ। यसका लागि एआई उपकरणहरूले विद्यार्थीको सिकाइ शैली पहिचान, मूल्याङ्कन र आवश्यकताअनुसार सामग्री उपलब्ध गराउन सक्ने क्षमता राख्नुपर्छ। तर त्यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र एआई विशेषज्ञमा आधारभूत ज्ञान अनिवार्य छ।

एआईमा निर्भरता बढ्दै गइरहेको अवस्थामा प्रयोगकर्ताले 'कुन सन्दर्भमा, कुन उद्देश्यका लागि, कुन उपकरण उपयुक्त हो' भन्ने आधारभूत जानकारी अनिवार्य रूपमा राख्नुपर्ने आवश्यकता छ। स्लाइड बनाउनेदेखि अनुसन्धान-विश्लेषण गर्ने सम्मका टुलहरू अलग–अलग उद्देश्यका लागि बनेका हुन्छन्। जानकारीबिना प्रयोग गर्नु 'कुहिरोमा काग'जस्तै भ्रामक हुन सक्छ।

नैतिकता, गोपनीयता र सुरक्षा
एआई प्रयोगमा नैतिकता नङ–मासुजस्तै जोडिनु आवश्यक छ। विभेद, गोपनीयता उल्लङ्घन, सुरक्षा जोखिमजस्ता समस्या विश्वभर देखिएकै छन्। त्यसैले नेपालमा पनि एआई सामग्री, सुरक्षित र पारदर्शी रहे–नरहेको कडा रूपमा बुझेर प्रयोग गर्नु आवश्यक छ।

एआईले विशाल मात्रामा डाटा प्रयोग गर्छ। यसले गोपनीयता, विभेद, पूर्वाग्रह, सुरक्षा चुनौतीजस्ता मुद्दालाई थप गम्भीर बनाउँदै लैजान सक्छ। त्यसैले, एआई प्रयोग गर्दा—डाटा सुरक्षा, गोपनीयताका मापदण्ड, नीतिगत स्पष्टता, जिम्मेवारीको बोध यी सबै कुरामा प्रयोगकर्ता सचेत हुनैपर्छ।

नीति निर्माण र राष्ट्रव्यापी छलफलको खाँचो
नेपालमा एआईबारे चर्चा तीव्र भए पनि शिक्षा क्षेत्रमा एआई प्रयोगका लागि ठोस र दीर्घकालीन नीति निर्माण अझै कमजोर छ। विद्यालयदेखि विश्वविद्यालयसम्म एकरूप-समझदारी र सहकार्यको आवश्यकता छ। शैक्षिक क्षेत्रका सबै पक्षले मिलेर प्रयोगकर्ता–मैत्री प्लेटफर्म निर्माण, सिकाइ व्यवस्थापन प्रणाली सुधार र एआईलाई जीवनोपयोगी साधनका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।

शिक्षा क्षेत्रजस्ता संवेदनशील क्षेत्रमा आवश्यक सहकार्यको कमी अझै छ। शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू, विद्यालय व्यवस्थापन तथा निजी क्षेत्र सबै आ–आफ्नै तरिकाले एआई उपकरणहरू प्रयोग गरिरहेका छन्, तर एउटै मापदण्ड, प्रयोग सीमा, गुणस्तर मापन तथा सुरक्षा गाइडलाइन नहुँदा उद्देश्य स्पष्ट भएको छैन।

शिक्षक, विद्यार्थी, प्राविधिक विशेषज्ञ, मनोवैज्ञानिक, अभिभावक र नीति निर्माता—सबैको आवाज सुन्ने, उनीहरूको अनुभव समेट्ने र आवश्यकताअनुसार नीति बनाउने प्रक्रियाले मात्र एआईलाई शिक्षा क्षेत्रमा सही ढंगले एकीकृत गर्न सक्छ। यसका लागि देशभर सार्वजनिक बहस, छलफल, सेमिनार, कार्यशाला र सामुदायिक संवाद आवश्यक छ।

शिक्षक र विद्यार्थीको एआई साक्षरताका लागि राष्ट्रिय तहको तालिम प्रणाली विकास गर्नुपर्छ। अहिले एआई उपकरण प्रयोग गरिरहेका धेरै शिक्षकहरू पर्याप्त तालिमबिनै प्रयोग गरिरहेका छन्, जसले सिकाइको गुणस्तरभन्दा बढी भ्रम, निर्भरता र त्रुटि जन्माएको छ। नीति निर्माणले विद्यालयदेखि विश्वविद्यालयसम्म एआई साक्षरताको न्यूनतम मापदण्ड र अनिवार्य तालिम संरचना बनाउनु अत्यावश्यक छ। कस्तो एआई चाहिन्छ?, कसरी प्रयोग गर्ने?, 'कसरी सुरक्षित राख्ने?' र 'कसरी जिम्मेवार बनाउने?' भन्ने मूलभूत प्रश्नहरूको जवाफ खोज्नका लागि साझा राष्ट्रिय संवाद अनिवार्य छ।

निष्कर्ष
अन्ततः एआई आफैँमा लक्ष्य होइन, लक्ष्य प्राप्तिमा सहयोग गर्ने शक्ति हो। यसलाई सही, जिम्मेवार र रणनीतिक प्रयोग गर्न सके नेपाली शिक्षामा समावेशी, गुणस्तरीय र भविष्यमुखी रूपान्तरण सम्भव छ।

शिक्षा क्षेत्रमा एआईको सही प्रयोगले विद्यार्थीको व्यक्तिगत विकास, शिक्षकको भूमिका सशक्तीकरण र समग्र शिक्षा प्रणालीमा नवीनता ल्याउने क्षमता राख्छ। तर यसको अव्यवस्थित प्रयोगले शिक्षामा असमानता, पूर्वाग्रह र नैतिक संकट निम्त्याउन सक्छ। त्यसैले एआईलाई अवसरको रूपमा लिँदै जिम्मेवारीपूर्वक, ज्ञानपूर्वक र नीति–नियमअनुसार प्रयोग गर्नुपर्ने आवश्यकता अहिलेभन्दा बढी देखिन्छ।

(लेखक काठमाडौँ विश्वविद्यालयको 'डिजिटल लर्निङ रिसर्च ल्याब'का एआई विज्ञ तथा प्रमुख हुन्। उकालोको बिचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)