सचिनको कीर्तिमान पछ्याउँदै विराट कोहली

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्।

तस्वीरः एपी

भनिन्छ क्रिकेटमा भाग्यको भूमिका धेरै नै हुन्छ। पहिलो खेलमा शतक प्रहार गर्ने क्रिकेटर दोस्रो खेलमा शून्यमै आउट हुन सक्छन्। तर, क्रिकेट कौशलको पनि खेल हो। अहिले भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले यही कौशलका साथ उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्।

आइतबार श्रीलंकाविरुद्धको एक दिवसीय खेलमा कोहलीले शतक प्रहार गर्दै १६६ रनको अविजित इनिङ्स खेले। उनी म्यान अफ द सिरिज र म्यान अफ द म्याच घोषित भए। कोहलीको इनिङ्सका कारण भारतले एक दिवसीय इतिहासमा सबैभन्दा ठूलो जित ( ३१७ रन) दर्तासमेत गर्‍यो। १५ वर्षअघि न्युजिल्यान्डले आयरल्यान्डलाई २९० रनले हराएको थियो।

कोहली तिनै खेलाडी हुन्, जसले ३ वर्षसम्म लगातार सम्झनलायक रन बनाउन सकेका थिएनन्। तर, निरन्तर संघर्ष र अभ्यासले उनी पुनः लयमा फर्किन थालेका छन्। कोहलीले २३ डिसेम्बर २०१९ मा बंगलादेशविरुद्धको टेस्ट खेलमा शतक प्रहार गरेका थिए। यो उनको अन्तर्राष्ट्रिय करियरको ७०औँ शतक थियो। त्यतिबेला उनी ३१ वर्षका थिए। 

क्रिकेटप्रेमी तथा खेलविज्ञहरू सबैभन्दा धेरै शतक बनाउने सचिन तेन्दुलकरको रेकर्डलाई ब्रेक गर्नसक्ने क्षमता कोहलीमा रहेको बताउँछन्। ४० वर्षको उमेरसम्म क्रिकेट खेलेका सचिनले एक सय शतक जोडेका थिए।

कोहली ३१ वर्षको उमेरसम्म सानदार फर्ममा थिए। उनले प्रत्येक तेस्रो-चौथो खेलमा शतक प्रहार गर्दै आएका थिए। त्यसपछि उनको ब्याट एकएक मौन हुन थाल्यो। उनको ब्याटबाट शतक आउन नै रोकियो। उनको शतकको खडेरी झण्डै ३ वर्षसम्म जारी रह्यो। कोहलीको शतकको ग्यारेन्टी लिने समर्थक र खेल विज्ञहरूले उनलाई सन्यास लिन दबाब दिन थाले।

गत वर्ष सेप्टेम्बरमा आयोजित एशिया कपका क्रममा कोहलीले शतकको खडेरी अन्त्य गरे। उनले अफगानिस्तानविरुद्धको टी–२० खेलमा शतक बनाएका थिए। त्यसपछि पछिल्लो चार एक दिवसीय खेल शृंखलाको उनले तीनवटामा सयको आँकडा पार गरे। कोहली फर्ममा फर्किएसँगै बहसको विषय बनेको छ- के उनी १०० शतक पार गर्नसक्लान्?

कोहलीले हालसम्म सन्न्यास लिने कुनै संकेत गरेका छैनन्। अर्थात्, उनी अझै क्रिजमा देखिने छ। तर, कहिलेसम्म खेल्लान्? यो प्रश्नपनि उत्तिकै उब्जिन थालेको छ। फिटनेसको मामिलामा उनी भारतीय टोलीमा धेरै युवा स्टारभन्दा राम्रो अवस्थामा छन्। उनको हैसियत पनि यस्तो छ कि उनी आफैँले सन्न्यास नलिएसम्म टोलीबाट कसैले हटाउन सक्दैन।

राहुल द्रविडले सचिनभन्दा एकवर्ष कम अर्थात् ३९ वर्षको उमेरसम्म भारतका लागि क्रिकेट खेले। महेन्द्रसिंह धोनी ३८ वर्षको उमेरसम्म भारतीय टोलीको संकटमोचक बनेर उभिए। कोहलीले पनि उल्लिखित खेलाडीकै बाटो पछ्याए उनी ४ देखि ५ वर्षसम्म आरामसँग खेल्न सक्छन्।

अब अर्को प्रश्न उठ्छ- अझै ४–५ वर्ष खेल्ने हो भने कोहलीले थप २६ शतकसहित सचिनको कीर्तिमानसँग बराबरी गर्न सक्लान् त? 

कोहलीले क्रिकेटका तीनवटै ढाँचामा प्रत्येक शतकका लागि ७.३३ इनिङ्सको औसत लिने गरेका छन्। यस सन्दर्भमा उनलाई २६ शतकका लागि १९० इनिङ्सको आवश्यकता पर्नेछ। उनले आफ्नो १६ वर्षको करियरमा हरेक वर्ष औसत ३४ इनिङ्स खेलेका छन्। जसअनुसार उनले १९० इनिङ्सका लागि करिब साढे ५ वर्ष खेल्नुपर्ने हुन्छ। तर, उनी ५ वर्ष अघिको पुरानो फर्ममा फर्किए भने आगामी ३ वर्षमै सचिनको रेकड ब्रेक गर्न सक्नेछन्।

कोहलीले सन् २०१७ र २०१८ सहित ९९ इनिङ्समा २२ शतक बनाएका थिए अर्थात् हरेक ४.५ इनिङ्समा १ शतक। यही गतिमा उनले फेरि शतक बनाउन थाले भने करिब ११७ इनिङ्समा थप २६ शतक बनाउनेछन्। कोहलीले हाल जसरी ब्याटिङ गरिरहेका छन्, त्यसले उनी २०१७–२०१८ को फर्ममा फर्किने संकेत दिन्छ।

कोहलीले एक सय शतकको आँकडा पार गर्छन् कि गर्दैनन् भन्ने कुरा लय र फिटनेसका साथै उनले लिने ब्रेकमा भर पर्नेछ। उनले पछिल्ला केही वर्षमा ब्रेक लिएका छन्। भारतले जनवरी १, २०२० देखि हालसम्म १३७ अन्तर्राष्ट्रिय खेल खेलेको छ। तीमध्ये कोहलीले ५१ खेल गुमाए भने ८६ खेल खेले। 

उनले यति धेरै संख्या खेल गुमाइरहे भने एक सय शतक पूरा गर्न गाह्रो पर्नसक्छ। टी–२० खेल कम खेल्दा पनि उनलाई आफ्नो लक्ष्यमा अघि बढ्न समस्या हुनेछैन। यस फर्म्याटमा उनले ११५ इनिङ्समा १ शतक मात्र बनाएका छन्। उनले एक दिवसीय र टेस्ट शृंखलाबाट विश्राम लिनबाट जोगिनुपर्नेछ।