इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ ।
इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ।
विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ।
उनलाई सर्वोच्च नेता अयातुल्ला मोहतबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित समूहभित्र रहेको विश्वास गरिन्छ। रिपोर्टअनुसार फेब्रुअरी २८ मा भएको इजरायली आक्रमणमा अयातुल्ला मोहतबा खामेनी परेका थिए र उक्त आक्रमणमा उनका पिता अयातुल्ला अली खामेनीको मृत्यु भएको पनि दाबी गरिएको छ।
इरानभित्र सत्ता संरचनाको शीर्ष तहमा रहेको अनिश्चितता र प्रतिस्पर्धाबीच निर्णय प्रक्रिया अत्यन्तै जटिल बनेको देखिन्छ। युद्ध शुरू भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ। युद्ध शुरू हुनुभन्दा केही हप्ताअघि फेब्रुअरी ८ यता वाहिदी सार्वजनिक रूपमा नदेखिएको उल्लेख छ।
लामो समयदेखि सुरक्षा संरचनाभित्र सक्रिय रहेका वाहिदीले इरानको क्षेत्रीय मिलिसिया समूहहरूलाई समर्थन गर्ने नीतिहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनीमाथि सन् १९९४ मा अर्जेन्टिनाको यहुदी केन्द्रमा भएको बम विस्फोटमा संलग्नताको आरोप समेत लगाइएको छ। साथै, सन् २०२२ मा देशभित्र भएको प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको नेतृत्व गरेको आरोप पनि उनीमाथि छ।
युद्ध शुरू भएपछि गार्ड नेतृत्वमा पुगेका वाहिदीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली र पर्सियन खाडी क्षेत्रमा सक्रिय साना नौसैनिक इकाइहरूको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ। उनी नेतृत्वमा आएपछि इरानको सैन्य रणनीति अझ आक्रामक बनेको विश्लेषकहरूको टिप्पणी छ।
“वाहिदी र उनको नजिकको समूहले इरानको सैन्य प्रतिक्रिया मात्र नभई, वार्ता रणनीतिमा पनि नियन्त्रण बढाएका छन्”, वासिङ्टनस्थित इन्स्टिच्युट फर द स्टडी अफ वारले जनाएको छ।
इरानको रणनीतिमा स्टेट अफ हर्मुज नियन्त्रण, तेल तथा ग्यास आपूर्ति अवरुद्ध गर्ने क्षमता र खाडी क्षेत्रमा दबाब सिर्जना गर्ने नीति समावेश रहेको बताइन्छ। साथै खाडी अरब राष्ट्रका ऊर्जा संरचना र पूर्वाधारलाई लक्षित आक्रमणहरू पनि बढेको उल्लेख गरिएको छ।
वार्ता प्रक्रियामा इरानले अत्यधिक समृद्ध युरेनियम भण्डार आत्मसमर्पण गर्नुपर्ने अमेरिकी मागको प्रतिवाद गर्दै आफ्नो ऊर्जा सुरक्षा र रणनीतिक अधिकारलाई केन्द्रमा राखेको छ। विश्लेषकहरूका अनुसार यो रणनीति इरानको दीर्घकालीन दबाब–राजनीतिक दृष्टिकोणसँग मेल खाने देखिन्छ।
न्युयोर्कस्थित सौफान ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता केनेथ काट्जम्यानले वाहिदीको सोचलाई ‘अनन्त प्रतिरोध र निरन्तर संघर्षको मानसिकता’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार वाहिदीले प्रत्येक चरणमा अमेरिका र उसका नीति निर्माणकर्तालाई चुनौती दिने दृष्टिकोण राख्छन्।
सन् २०२६ को जनवरीमा वाहिदीले इरानको रक्षा क्षमताले कुनै पनि शत्रु सैन्य कारबाहीलाई उच्च जोखिममा पुर्याउन सक्षम भएको दाबी गरेका थिए।
यसैबीच अप्रिलमा पाकिस्तानमा भएको वार्तामा इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोलीबीच छलफल भए पनि कुनै सहमति हुन सकेन। त्यसपछि इरानभित्रै वार्ता टोलीमाथि आलोचना बढेको थियो।
त्यसपछि वाहिदी वार्ताका लागि मुख्य सम्पर्क विन्दुका रूपमा उभिएको एक क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ। सर्वोच्च नेताको स्वास्थ्य र अवस्थाबारे अनिश्चितताले शक्ति केन्द्रहरूबीच प्रतिस्पर्धा बढाएको पनि बताइएको छ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेतासँग करिब दोघण्टा भेट गरेको विवरण सार्वजनिक भएपछि आन्तरिक शक्ति सन्तुलनबारे थप चर्चा भएको थियो। विश्लेषक होली डाग्रेसका अनुसार वर्तमान नेतृत्व अझ कठोर र गार्ड–अनुकूल नीतिमा उन्मुख देखिन्छ।
राजनीतिक विश्लेषक कामरान बुखारीका अनुसार वाहिदीजस्ता व्यक्तिहरूले केवल युद्ध व्यवस्थापन मात्र नभई राज्य संरचना र उत्तराधिकार प्रक्रियासमेत पुनःनिर्माण गरिरहेका छन्।
सन् १९५८ मा शिराजमा जन्मिएका अहमद शाहचेरागी अर्थात् अहमद वाहिदी १९७९ को क्रान्तिपछि रिभोलुसनरी गार्डमा प्रवेश गरेका थिए। उनले इरान–इराक युद्धका क्रममा सैन्य अनुभव विस्तार गरेका थिए।
त्यसपछि उनी गार्डको गुप्तचर संरचनामा प्रवेश गर्दै बाह्य अपरेसनको नेतृत्वसम्म पुगेका थिए। उनले सन् १९८० को दशकमा इरान–कन्ट्रा प्रकरणसँग सम्बन्ध रहेको आरोपसमेत सामना गरेका थिए।
पछि उनले कुद्स फोर्स (जेरुसेलम फोर्स) मा नेतृत्व भूमिका निर्वाह गर्दै मध्यपूर्वभरि इरान समर्थित समूहहरूको नेटवर्क विस्तारमा भूमिका खेलेको बताइन्छ। सन् १९९४ को अर्जेन्टिना बम विस्फोट र सन् १९९६ को खोबर टावर्स आक्रमणसँग पनि उनको नाम जोडिएको छ। यद्यपि इरानले ती आरोप अस्वीकार गर्दै आएको छ।
सन् १९९८ मा उनले कुद्स फोर्स छोडेका थे। पछि रक्षामन्त्री हुँदा सन् २०१० मा अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित आरोप लगाउँदै उनीमाथि प्रतिबन्ध लगाएको थियो।
हाल गृहमन्त्रीका रूपमा रहँदा सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको देशव्यापी प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको निरीक्षण गरेको आरोप पनि उनीमाथि छ।
उनले हिजाबसम्बन्धी नीतिलाई इस्लामिक गणतन्त्रको सुरक्षा र सांस्कृतिक संरचनासँग जोड्दै पश्चिमी प्रभावविरुद्धको विषयका रूपमा व्याख्या गरेका थिए।
विश्लेषकहरूका अनुसार वाहिदीको प्रभावले इरान–अमेरिका वार्ता एकल नेतृत्वभन्दा पनि बहु–शक्ति संरचनाबाट निर्देशित भइरहेको देखिन्छ। ट्रम्प प्रशासनले एक मात्र वार्ताकार चाहेको भए पनि इरानको निर्णय प्रणाली बहुकेन्द्रित बनेको विश्लेषण गरिएको छ।
“यो एकल व्यक्तिको शो होइन, वाहिदी केवल एक हिस्सा हुन्”, मध्यपूर्व विश्लेषक हमिद्रेजा अजिजीले टिप्पणी गरे। उनले इरानभित्रको शक्ति संरचना अझ जटिल र अस्पष्ट बन्दै गएको बताए। रासस/एपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
