जलवायु संकटः १५ वर्षमा आधा घट्यो लिमी उपत्यकाको जनसंख्या

आकस्मिक आउने बाढीले घर, खेत बगाइदिन थालेपछि हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा १५ वर्षयता आधा जनसंख्या घटेको छ। जलवायु संकटबाट जीवन, संस्कृति र सभ्यता जोगाउने संघर्षको कथाः

लिमी, हुम्ला– २०८२ जेठ १ गते राति १० बजेतिर तिल गाउँकी पेमा याङ्छे लामाको कानमा जहाज ठोक्किएको जस्तो आवाज आयो। अढाइ वर्षको छोरा च्यापेर सुतेकी उनले आँखा नखोली कान थापिन्– गाउँका मान्छे चिच्याएको आवाज सुनेपछि हत्तपत्त ओछ्यानबाट उठिन्। 

घरैछेउको खोलामा नपत्याउने बाढी आएर गाउँले आत्तिएका रहेछन्। उनी भन्छिन्, “त्यसपछि  भागाभाग भयो। कोही जुत्ताचप्पल विनै, कोही सुतेकै लुगामै भागे। म पनि सानो छोरो लिएर बस्तीभन्दा टाढाको बारीमा गएर बसेँ।”  विपत्तिको त्यो रातमा उनीहरूले न कसैसँग सम्पर्क गर्न सके न कोही उद्धारका लागि आउन सक्ने अवस्था थियो। नजिकको हल्जी गाउँ पुग्न २/३ घण्टा हिँड्नुपर्थ्यो। फेरि हल्जी पुग्ने तीन वटै पुल बाढीले बगाइदिएको थियो। मध्यरातमा वडाध्यक्षसँग सम्पर्क त भयो तर उनी पनि आउन सक्ने अवस्था थिएन। 

बिहान वडाध्यक्ष पाल्जोर तामाङ सुरक्षाकर्मी लिएर तिल पुगे। घरहरू केही भत्किएका, केही चर्किएका थिए। गाउँले बारीका पाटामा पाल टाँगेर बसेका थिए। विभिन्न संघ–संस्थाको राहत सहयोगमा एक महिना पालमा बसेपछि उनीहरूलाई लाग्यो– कहिलेसम्म यसरी बस्ने? अनि जोखिम मोलेरै भए पनि भत्किएका र चर्किएका घरमै बस्न थाले।

null

महिना दिन नबित्दै २०८२ साउन १८ मा उही घटना दोहोरियो। अर्कोपट्टिको खोलामा अकस्मात् लेदो सहितको बाढी आयो। उनीहरू फेरि भागेर अघिल्लो पटक बाढी आएको खोलापारि पुगे। जहाँ सानो काठको पुल बनाएर उनीहरू ओहोरदोहोर गर्थे। त्यहाँ गुम्बा थियो। उनीहरूले त्यसैलाई आफ्नो वासस्थान बनाए। 

जलवायु संकटका कारण जतिबेला पनि आउन सक्ने हिमबाढी (हिउँ जमेका तालहरू फुटेर आउने बाढी) बाट लिमीको तिल गाउँका बासिन्दाले एक वर्षयता भोगेको हैरानीको दृष्टान्त हो यो। एक वर्षपछि २०८३ असारमा तिल गाउँ पुग्दा उनीहरूको दुःख कम भएको थिएन। 

बल्लतल्ल बिजुली पुग्दैथियो। बाढीले दुई वटा निर्माणाधीन १५ किलोवाट क्षमताका जलविद्युत् आयोजना ध्वस्त बनाइदिएको थियो। सोलारबाट स–सानो टर्चलाइट र मोबाइल चार्ज गर्ने अनि साँझ–बिहान बत्ती बाल्ने गरेर स्थानीयले आफ्नो गुजारा चलाइरहेको भेटियो। 

खानेपानीको मुहान बाढीले बगाइदिएकाले उनीहरूले महीनौँसम्म टाढाबाट पानी ओसार्नुपर्‍यो। गाउँले मिलेर बल्लतल्ल एउटा धारो बनाए। “पुरानो धारो बाढीले बगाइदियो। यताउता जोहो गरेर अर्को एउटा धारो जोडेका छौँ,” पेमाले भनिन्, “गाउँमा खेतीका लागि बनाएका सिँचाइ कुलो पनि बाढीले बगायो। अब त्यो कसरी बनाउने भन्ने चिन्ता छ।” लिमी खोलामा रहेको मोटरेबल पुल बग्यो, जसले तिल गाउँलाई हल्जी र अन्य बस्तीहरूसँग जोड्थ्यो। बल्लबल्ल गाउँमा गाडी आइपुग्ने बाटो बनेको थियो। गाडीबाट सामान ल्याउन सकिन्थ्यो। पेमाका अनुसार, अब हल्जीबाट सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ।

null

२०८३ असार पहिलो साता पेमाको चुलोमा घट्टले पिसेको दाल पाकिरहेको थियो। पाकेको दाल कचौरामा लगाउँदै उनले भनिन्, “अघिल्लो वर्ष पिसाएर राखेको। यो नै अन्तिम छाक हो। अब बिजुली छैन, गाउँका दुई वटा घट्ट बाढीले बगाइहाल्यो। पेट्रोल र डिजलबाट चल्ने मेसिन ल्याएर के गर्नु, यहाँ तेलै पाइँदैन।”  

अहिले तिल गाउँका बासिन्दा पहिले भण्डारण गरेर राखेको पीठो र चाम्पा (उवाबाट बनेको सातु) खाएर गुजारा गरिरहेका छन्। अहिले आवश्यक सामान आधा दिन टाढाको हल्जीबाट बोकेर ल्याउनुपर्छ। हल्जीसम्म चाहिँ सिमकोटबाट गाडीले सामान बोक्छ। चीनको ताक्लाकोटतिरबाट ल्याइएका सामान पनि हल्जीमै राखिन्छन्। हिउँदमा कामबाट फर्किएका मानिसले बोकेर ती सामान गाउँसम्म ल्याउने गर्छन्।

तिल गाउँ सहित लिमी उपत्यका घुमेर काठमाडौँ फर्किएको महीना दिन नबित्दै ह्वाट्सएपमा पेमाको एउटा ‘भ्वाइस नोट’ आयो। हस्याङ्फस्याङ् गर्दै उनी भनिरहेकी थिइन्, “दाइ अहिले भर्खरै फेरि बाढ आयो। अस्ति भर्खर बनाएको त्यो नीलो पुल थियो नि त्यो पनि बगायो। मान्छे त सुरक्षित छौँ भन्नुपर्छ। भागेर गुम्बामा आएर बसेका छौँ।”

आकाशमा बादल नलागी आउने यस्तो बाढीले पेमा सहितका गाउँलेको उठीवास लगाएको छ। उनीहरू गाउँ छाड्ने कि बस्ने दोधारमा छन्। पेमा तिलमै जन्मिइन्। यहीँका खर्कमा चौँरी हेर्दै हुर्किइन्। स्कूल यहीँ पढिन्। तर ३० वर्ष बिताएको गाउँमा अहिले उनी डर पालेर बसेकी छन्। बाल्यकालमा हजुरआमासँग याक हेर्न जान्थिन् उनी। गाउँमा याक, झुमा (याक र चौँरी गाईको क्रसबाट जन्मिएको गाई), झोपा (याक र चौँरी गाईको क्रसबाट जन्मिएको गोरु) भेडा पाल्ने चलन थियो। घरमा टन्नै घिउ हुन्थ्यो। खानेकुराहरू पछिसम्मका लागि ‘स्टोर’ गरेर राखिन्थ्यो। 

तर, अहिले गाउँमा ठूलो परिवर्तन आइसकेको छ। अकस्मात् आउने बाढीले जुनसुकै बेला उठीवास लगाउन सक्छ। त्यसैले उनका धेरै साथीभाइले गाउँ छोडिसकेका छन्। अब उनलाई पनि कतै सुरक्षित ठाउँमा जान पाए हुन्थ्यो भन्ने लाग्छ। तर कहाँ जानु? 

श्रीमान् काम गर्न चीनको ताक्लाकोट बस्छन्। उनीसँग कहिलेकाहीँ सल्लाह हुन्छ। यहाँबाट हिँडौं, बाहिर गएर बाँच्न सक्ने आधार छैन। बसौँ गरिखाने ठाउँ नै छैन। यहाँ अब न भेडाबाख्रा पाल्न सकिन्छ, न घाँस हुन्छ, न ढुटोपिठो। तर पनि गाउँलेसँग गाउँ छाड्न नसक्ने केही कारण छन्। ती हुन्, आफ्नो परम्परा र यहाँको माटोसँगको सम्बन्ध। “माटो, संस्कार र संस्कृति छाडेर हिँड्न मुस्किल पर्दोरहेछ”, उनले भनिन्।

१५ वर्षयताका विपत्ति
हुम्ला सदरमुकाम सिमकोटबाट न्यालु पास (४,९९५ मिटर उचाई) पार गरेर लिमी पुग्न गाडीमा झण्डै १० घण्टा लाग्छ। करीब १०० किलोमिटर कच्ची सडकको यो दूरी पार गर्न दिनभरि जसो लाग्छ। लिमी ‘यु’ आकारको उपत्यका हो, प्राचीन हिमनदीहरूको कटानबाट बनेको।  

यहाँको भूभाग भिरालो, चट्टानी पहाड, ठाडा भीर र साँघुरा नदीका करिडोरहरूले बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), खानेपानी तथा भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागको संयुक्त अध्ययन अनुसार, करीब ३ हजार ६०० मिटरबाट शुरु हुने यो उपत्यकाका हिमाल र चुचुराहरू ७ हजार मिटरभन्दा बढी उचाइका छन्। उपत्यकामा मुख्य तीन वटा बस्ती छन्— तिल, हल्जी र जाङ। 

null

प्राधिकरणका अनुसार, उपत्यकाको माथिल्लो भेगमा साना उपत्यका, हिमनदीहरू, ग्लेसियल मोरेन (ग्रेगानको थुप्रो) र साना हिमतालहरू रहेको अध्ययनहरूबाट देखिन्छ। तिल गाउँमा हिम बाढी आउन थालेपछि प्राधिकरण, खानी तथा भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरूको टीमले ‘तिल गाउँ एरियामा आएको हिउँ पहिरो’ सम्बन्धमा अध्ययन गरेको थियो।

अध्ययन अनुसार, उक्त बाढी वर्षाका कारण आएको थिएन। बाढी आएको दिन तिल गाउँ क्षेत्रमा कतै पानी परेको थिएन। करीब ५ हजार ३५० मिटर उचाइमा रहेका दुई हिमतालबाट ठूलो परिमाणमा पानी एक्कासि बाहिरिएपछि तिलमा बाढी आएको थियो। अध्ययन अनुसार, तालको बाँध अर्थात् हिमनदीले थुपारेको गेग्रान प्रत्यक्ष रूपमा फुटेको वा भत्किएको प्रमाण चाहिँ भेटिएन। तर, तालको सतहमुनि रहेको जमेको बरफ अर्थात् ‘पर्माफ्रस्ट’ पग्लिंदै जाँदा तालको बाँधको भित्री भागमा सानो ओडार वा सुरुङ जस्तो संरचना बनेको भेटिएको थियो। 

अध्ययन अनुसार, निरन्तर क्षयीकरण हुँदै जाँदा उक्त सुरुङ तालसम्म पुगेपछि पानी सतहबाट नभई बाँधको भित्री भागहुँदै एक्कासी बाहिरिएको थियो। यसरी हिमतालबाट ठूलो परिमाणमा निस्किएको पानीले तल झर्ने क्रममा बाटोमा रहेका माटो, ढुंगा र गेग्रानहरू बगाउँदै लग्यो। करीब १ हजार ४०० मिटरको ठाडो भूभाग हुँदै तल झरेको त्यो पानी शक्तिशाली भेल पहिरो (डेब्रिस फ्लो) मा परिणत भएको थियो। नदीका साँघुरा भागमा बहाव केहीबेर थुनिँदा पानी र गेग्रानको दबाब झन् बढेको र त्यसपछि तीव्र गतिमा ठूलो भेल–बाढी आएको अध्ययनमा उल्लेख छ। 

‘तापक्रमको वृद्धि हुँदै जाँदा हिमतालहरू अस्थिर बन्ने र भविष्यमा यस्ता घटना दोहोरिन सक्ने जोखिम रहेको’ अध्ययनको निष्कर्ष छ। लिमी उपत्यकामा १५ वर्षयता पटक–पटक यस्तो विपत्ति आइरहेको छ। तिलसँगैको हल्जी गाउँमा पनि १६ असार २०६८ मा ठूलो हिमबाढी आएको थियो। गाउँभन्दा माथिल्लो क्षेत्रमा रहेको हिमताल विस्फोट भएर आएको यस्तो बाढीले गाउँमा ठूलो क्षति पुर्‍याएको थियो। 

null

त्यसबेला बाढीले दुई वटा घर बगाएको थियो। मानिस भने सुरक्षित स्थानमा भाग्न सफल भएका थिए। केही पशुचौपाया र करीब दुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन्। उनका भनाइमा, चरन र खेतीयोग्य जमीन गुमाएका यी परिवारलाई त्यसयता सधैँ खाद्यान्नको समस्या परिरहेको छ। 

‘सूचना दिने प्रणाली नै छैन’ 
लिमी उपत्यकामा तालको जलस्तर, तापक्रम र वर्षाको निरन्तर अनुगमन गर्ने तथा जोखिमको पूर्वसूचना दिने प्रणाली छैन। त्यसैले बाढी वा हिमताल विस्फोटको जोखिमबारे स्थानीयले समयमै सूचना पाउन सक्दैनन्। 

पूर्वसूचना प्रणाली भए सम्भावित जोखिमका घटना हुनुअगावै उनीहरू सुरक्षित स्थानमा पुग्नसक्ने स्थानीयको भनाइ छ। तर अहिलेसम्म पनि घटनापछि तत्कालै उद्धार तथा राहतका लागि टोली समेत पुग्न नसक्ने अवस्था छ।

प्राधिकरणकै अध्ययनले जोखिमको वैज्ञानिक मूल्याङ्कन, हिमतालको निरन्तर निगरानी, पूर्वचेतावनी प्रणालीको स्थापना र भौगोलिक रूपमा संवेदनशील क्षेत्रको उचित व्यवस्थापन आवश्यक रहेको औँल्याएको छ। तर, हालसम्म नयाँ ताल कति बने, कहाँ–कहाँ जोखिम छ भन्नेबारे अध्ययन भएकै छैन। नेपालका केही ठूला हिमतालका बारेमा बाहेक अन्यत्र सूचना प्रणाली पनि राखिएको छैन। 

काठमाडौँ विश्वविद्यालयका हिमनदी अध्येता डा. रिजनभक्त कायस्थका अनुसार, लिमी क्षेत्रमा ठूला हिमताल भन्दा साना हिमताल र पोखरीहरू छन्। गर्मी याममा हिउँ र बरफ एकैपटक पग्लिँदा ती पोखरीमा पानीको मात्रा बढ्न सक्छ। कायस्थ भन्छन्, “कतिपय पोखरी भित्रभित्रै एकअर्कासँग जोडिएका हुनसक्ने र पानीको बहाव भइरहने भएकाले यिनको अवस्था बुझ्न थप अध्ययन आवश्यक छ। तर, लिमी क्षेत्रमा त्यस्तो तथ्यांक संकलन गर्ने जल तथा मौसम सम्बन्धी मापन केन्द्र समेत छैनन्।”

कायस्थका अनुसार, ठूला हिमतालमा सरकारको ध्यान पुगे पनि लिमीका साना हिमपोखरी र त्यहाँबाट आउन सक्ने जोखिममाथि पर्याप्त अध्ययन हुनसकेको छैन। हिमपोखरी र हिमाली खोला नजिकका बस्तीको जोखिम पहिचान गरेर आवश्यक परे सुरक्षित स्थानमा बसोबासको योजना बनाउन ढिलाइ गर्नु नहुने उनको सुझाव छ।

null

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विनोद पराजुली टाढाका हिमतालको अध्ययन रिमोट सेन्सिङ (स्याटेलाइट तस्बिरको विश्लेषण) मार्फत हुने गरेको बताउँछन्। त्यसबाट कतिपय बाढीको वास्तविक कारण स्पष्ट हुन नसक्ने उनको भनाइ छ। “विभागले प्रयोग गर्ने स्याटेलाइट तस्बिरको रिजोलुसन सीमित भएकाले साना हिमपोखरी वा भूभागमा भएका सूक्ष्म परिवर्तन स्पष्ट पहिचान गर्न कठिन हुन्छ,” उनले भने। 

२२ भदौ २०७७ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्त रूपमा गरेको एक अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी बेसिन क्षेत्रमा कुल ३ हजार ६२४ वटा हिमताल पहिचान गरेको छ। यीमध्ये नेपालको सिमानाभित्र २ हजार ७० वटा हिमताल पर्दछन्। तर सबै हिमतालहरूको स्थलगत अध्ययन भएको छैन। अधिकांश हिमतालको पहिचान ‘रिमोट सेन्सिङ’ (उपग्रहका तस्बिरहरू) प्रविधि मार्फत गरिएको हो।

अध्ययनले ४७ वटा हिमताललाई सम्भावित जोखिमयुक्त पहिचान गरेको थियो। जसमध्ये नेपालको सिमानामा २१ वटा, चीन (यी हिमतालहरू तिब्बतमा रहे पनि नेपालतर्फ बग्ने नदीहरूसँग जोडिएका छन्) मा २५ वटा र भारतमा एउटा छ। सो अध्ययनले नेपालको सिमानामा पर्ने २१ वटा हिमताललाई सम्भावित जोखिमयुक्त पहिचान गरेपछि विभागले तीमध्ये उच्च प्राथमिकतामा रहेका केही ठूला हिमतालमा जोखिम न्यूनीकरणको काम गरिरहेको छ। तर लिमी क्षेत्र यस्तो प्राथमिकतामा परेको छैन।

जलविज्ञ पराजुलीका अनुसार ठूला हिमताल फुटेमा व्यापक क्षति हुनसक्ने भएकाले राज्यले पहिले त्यस्ता ताललाई प्राथमिकतामा राखेको हो। तर १० भदौ २०८३ मा रसुवाको भोटेकोशी नदीमा आएको ‘हिम सुनामी’ बाट ज्यान गुमाउने र बेपत्ता हुनेको संख्या ६ हजार नाघेपछि हाम्रा अध्ययनहरूको गुणस्तरमाथि पनि उत्तिकै प्रश्नहरू उठ्न थालेका छन्। 

विज्ञका भनाइमा, पछिल्ला वर्षहरूमा साना हिमपोखरी र सुप्राग्लेसियल (स–साना हिमताल) हरू पनि फुट्न थालेपछि तिनको पनि जोखिम मूल्याङ्कनको आवश्यकता बढेको छ। “साना ताल र हिमपोखरीको पनि जोखिम मूल्याङ्कन गर्नुपर्छ,” पराजुली भन्छन्, “फुट्न सक्ने सम्भावना कहाँ छ भन्ने पहिचान भएपछि मात्रै कहाँ स्टेसन राख्ने र कसरी पूर्वसूचना दिने भन्ने तय गर्न सकिन्छ।”

लिमीमा हालसम्म बाढीको पूर्वचेतावनी प्रणाली स्थापना गरिएको छैन। हुम्लामा सिमकोट, यारी र हिल्सा नजिक केही मौसम तथा जलमापन केन्द्र भए पनि माथिल्लो लिमी क्षेत्रमा तापक्रम, वर्षा, हिउँ र नदीको बहाव निरन्तर मापन गर्ने संयन्त्र छैन। यसको अर्थ हिमाल वा माथिल्लो क्षेत्रमा कुनै असामान्य घटना भए तिल, हल्जी र जाङ जस्ता तलका बस्तीलाई समयमै सूचना दिने प्रणाली हामीसँग छैन।

null

स्थानीय कृषक बने चिनियाँ श्रमिक 
हल्जी र तिलमा आएको आकस्मिक बाढीले खेतीयोग्य जमीन कटान गर्‍यो। त्यसपछि स्थानीयले गहुँ, उवा, तोरी, मटर, आलु र सागसब्जी लगाउनै छाडे। चांँरी र घोडा चरनमा छाड्ने ठाउँहरू बगरमा परिणत भए। पुर्खौंदेखि गरिआएको पेशा संकटमा पर्‍यो।  

तिल गाउँको तल्लो भाग तिलजुङमा पहिले ४०० सम्म चौँरी चर्ने खर्क थियो। चउरको बीचमा घाँसै मैदान, छेउमा धूपीका रूख थिए। तर, गएको वर्षको बाढीले सबै बगाएर बगर बनाइदियो। त्यो बाढीले स्थानीय छिरिङ सोनाम (५०) को आधाजति खेत बगायो। बाँकी रहेको आधामा पनि अब खेती गर्न सक्ने अवस्था छैन। “पानी लगाउने ठाउँ नै नभएपछि त्यो खेतको के काम?”, उनले भने।

छिरिङका भनाइमा, गाउँका सबैको हालत यस्तै छ। त्यसै पनि हिउँ पर्ने सिजनमा केही उत्पादन हुँदैन। एउटा सिजनमा जेनतेन उत्पादन गरेर वर्षभरि पुर्‍याउनुपर्छ, अब त्यो अवसर पनि रहेन।  पहिले कुलो लाग्थ्यो, अहिले बाढीले गहिरोसँग कटान गरेपछि खेतमा कुलो लैजान सकिन्न। घरैछेउका बारीमा अलिअलि सागपात एकाध गरामा आलुबाहेक गाउँमा अहिले उब्जनी हुँदैन। जताततै सुख्खा छ। त्यही आलु खेतीमा पनि उनीहरूले धाराको पानी बोकेर लगाउने गरेका छन्।

null

छिरिङले करीब करीब गाउँ छाडे भन्दा हुन्छ। उनी अब गाउँमा खेतीपाती गरेर खान सकिन्न भन्नेमा पुगेका छन्। छिमेकीहरू जस्तै उनी पनि चीनतिरै कोठा भाडमा लिएर बस्न थालेका छन्। भर्खरै श्रीमतीलाई पनि उतै लगे। घर बनाउने, मजदूरी गरेर कमाएको पैसा लिएर हिउँदमा गाउँ फर्कन्छन्। चार्डपर्व मनाएर फेरि चीनतिरै लाग्छन्।   “हिजो वडाको मीटिङ थियो, त्यसका लागि आएको। यहाँ खेतीपाती छैन, घरमा बसेर खान पुग्दैन। अब त यहाँ बस्न पनि डर भइसक्यो” सोनामले दुःखेसो पोखे, “आफ्नै थातथलो सुरक्षित नभएपछि काम खोज्न चीनतिर नगएर के गर्नु?”

हल्जी गाउँको पनि कथा उही हो। यहाँको करीब २०० रोपनी भन्दा बढी जमीन बाढीले बगाएर बगर बनायो। बाढीले उठीवास लगाउनु अघि यहाँका हरेकजसो घरमा १० देखि २० सम्म चौँरी गाई हुन्थे। सामान ल्याउन–लैजान याक, घोडा हुन्थे। घरैपिच्छे दूध खान झुमा हुन्थ्यो। खेत जोत्न झोवा हुन्थ्यो। 

तर, अहिले गाउँमा अलिअलि भएको खेत पनि बाँझो छ। त्यहाँ न चौँरी भेटिन्छन्, न त झोवा। गाउँमा आकस्मिक रूपमा आउने बाढीले कटान गरेर बनेका बगरमा केही उत्पादन नहुने भएपछि गाउँलेले पशुपालन गर्न छाडिसके। आफूसँग भएका चौँरीहरू पनि धेरैले बेचिसके।  

null

तिल र हल्जीको मात्रै नभएर लिमी उपत्यकाभित्रको जाङ गाउँको अवस्था पनि यस्तै छ। त्यहाँ पनि पशुपालन र खेतीपातीबाट अब केही हुने नदेखेपछि गाउँले गाउँ नै छाडेर बसाइँ सरिरहेका छन्। हुन पनि कुनै समय ६० घरधुरीमा बसोबास रहेको यो गाउँमा अहिले जम्मा दुई घरमा बसोबास छ। 

स्थानीयका अनुसार, जाङमा पहिला उत्पादन प्रशस्त हुन्थ्यो। हिउँदमा कात्तिकदेखि माघ फागुनसम्म हिउँ पथ्र्यो। माघ–फागुनमा अलि धेरै हिउँ पथ्र्यो। हिउँ धेरै परेको बेला बाली पनि धेरै उब्जन्थ्यो। तर, अहिले पहिलेभन्दा कम हिउँ पर्छ। हिउँले जमीन राम्रोसँग नभिजेपछि बाली राम्रो नहुने उनीहरूको बुझाइ छ।    

गाउँमा केही फल्न छाडेपछि जीविकोपार्जनका लागि स्थानीयले चीनलाई गन्तव्य बनाउन थालेका छन्। पहिले पनि काम गर्न चीन जाने परम्परा थियो। त्यसबेला एकाध मान्छे जान्थे। तर पछिल्लो समय बाढीले गाउँ सखाप पार्न थालेपछि काम खोज्न चीन जाने एउटा परम्परा नै बस्यो। अहिले हरेक घरका काम गर्न सक्ने मानिस चीनको ताक्लाकोट गएकै छन्। 

हिल्साबाट नजिकै पर्छ चीनको ताक्लाकोट। जुन चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने एक व्यापारिक तथा शहरी केन्द्र हो। ताक्लाकोट पछिल्लो समय लिमी उपत्यकावासीको ज्याला–मजदूरी, व्यवसाय, खाद्यान्न लगायत सामान खरीदका लागि मुख्य बजार भएको छ। उनीहरूलाई त्यहाँ जान अन्य जिल्लाका मानिसलाई जस्तो पासपोर्ट र भिसा चाहिँदैन। जिल्ला प्रशासन कार्यालय हुम्लाले एउटा अस्थायी पास बनाइदिन्छ। त्यही देखाएर उनीहरू सीमा वारपार गर्ने गर्छन्।

हल्जीका ३३ वर्षीय ग्याल्बो छिरिङ तामाङ चीनको ताक्लाकोटमा निर्माण कम्पनीमा हेल्परको काम गर्छन्। छोरी पढ्ने सुनखानी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका उनी बैठकका लागि हल्जी आएका बेला गाउँमा भेटिए।  सानी छोरी घरमा आमासँग छाडेर श्रीमती सहित ताक्लाकोटमा काम गरिरहेका ग्याल्बो भन्छन्, “पहिले  खेती राम्रो हुन्थ्यो। यहीँ काम गरिन्थ्यो। दुई–तीन ठाउँको खेत बाढीले बगायो। आफ्नो जग्गा बगर बनेको छ। काम गर्न चीन जानु परेको छ।”

नाम्खा गाउँपालिकाको वडा– ६ मा पर्छ लिमी उपत्यका। जनगणना २०७८ अनुसार, क्षेत्रफल (२४१९.६४ वर्ग कि.मी) का हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो नाम्खा। गाउँपालिकामा ६ वटा वडा छन्। तीमध्ये क्षेत्रफलका हिसाबले लिमी सबैभन्दा ठूलो वडा हो भने जनसंख्याका आधारमा गाउँपालिकाभित्रको दोस्रो ठूलो वडा हो। राष्ट्रिय जनगणना २०६८ अनुसार, लिमीमा १८१ घरधुरीमा ९०४ जना मानिस बसोबास गर्थे। २०७८ को जनगणना अनुसार १७९ घरधुरीमा ८१२ जनाको बसोबास रहेको देखिन्छ। तर गाउँको वास्तविकता भने जनगणनामा उल्लेख भए जस्तो छैन।

 

नाम्खा गाउँपालिका वडा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, लिमीको तिल गाउँमा १० वर्षअघिसम्म ४० घरधुरी थिए, अहिले १८ घरधुरी छन्। जाङ गाउँमा ६० घरधुरी थिए जहाँ अहिले दुई घर मात्रै छन्। यस्तै हल्जी गाउँमा भने यसअघि १०० हाराहारी घर भएकोमा अहिले ७८ घरधुरी छन्। 

जनगणनाको तथ्यांकमा उल्लेख भएको भन्दा गाउँमा आधा पनि मानिस बसोबास गर्दैनन्। गाउँ छाडेर जाने अधिकांशले बसाइँसराइको कागजात बनाउँदैनन्, जसका कारण जनसंख्या धेरै घटेको नदेखिने वडाध्यक्ष तामाङ बताउँछन्। “मुख्य त काम गर्न चीन जान पाइने भएकाले लिमी छाड्नेले पनि बसाइँसराइको कागज बनाएका हुँदैनन्। त्यसकारण जनसंख्या पहिलेदेखि नै उस्तै देखिन्छ,” उनले भने, “तर वास्तविकतामा गाउँमा मान्छे नै छैनन्।” उनका भनाइमा, वडाबाट वर्षभरिमा विभिन्न सिफारिस माग्न आउनेको संख्या १२ छ।  

वडाध्यक्ष तामाङका अनुसार, तिल गाउँमा सधैँ बस्ने जनसंख्या करिब ३७ जना हो। ताक्लाकोटतिर काम गर्न गएका मानिस फर्केर सबै भेला हुँदा यो संख्या ५० सम्म पुग्न सक्छ। हल्जीमा चाहिँ मौसम अनुसार फरक पर्छ। सामान्य समयमा गाउँमा ६० जना जति बसोबास गर्छन्, बाहिर काम गर्न गएका मानिस गाउँ फर्किएका बेला यो संख्या २०० सम्म पुग्छ। तामाङका भनाइमा जाङ गाउँमा भने दुई–चार जना मात्रै छन्। हिउँदको समयमा भने उनीहरू पनि गाउँ छाडेर जान्छन्। गाउँमा हुनेमा पनि वृद्धवृद्धा र केटाकेटी मात्रै हुन्छन्।

null

संस्कृति—सभ्यता नै संकटमा
सिमकोटबाट न्यालु पास हुँदै गाडीमा दिनभरि कच्ची सडक पार गरेपछि तुङ्लिङ पुगिन्छ। त्यहाँबाट दायाँतर्फ उकालो लाग्दा पुगिने ठाउँ हो, लाप्चा। जुन नेपाल र चीनको सिमाना हो। लाप्चा नेपालबाट कैलाश हिमाल र मानसरोवर ताल अवलोकन गर्ने प्रसिद्ध ठाउँ हो। तर, तुङ्लिङबाट दायाँ नलागी सिधै अगाडि बढ्दा जाङ, हल्जी र तिल पुगिन्छ। ती क्रमैसँग करिब १० किलोमिटरको दूरी अन्तरमा पर्छन्।  

तुङ्लिङबाट लिमी खोलाले डोर्‍याउँदै गाउँसम्मै पुर्‍याउँछ। बाटो दुवैतर्फ अग्ला हिमशृंखलाहरूले घेरिएको छ। देब्रेतर्फ लिमी खोला दौडिरहेको भेटिन्छ। सिमकोटबाट अलिक अघि बढेपछि टेलिफोन नेटवर्कले काम गर्दैन। एकैपटक हल्जी पुग्नु अघिल्लो कुइनेटोमा ‘नेटवर्क’ भेटिन्छ। त्यसपछि नेटवर्क भेट्न हल्जी नै पुग्नुपर्छ। अनि एकैपटक तिलमा। 

गाउँमा आफ्नै किसिमका संस्कृति, भेषभूषा र मौलिकता छन्। घरहरूको बनावट भिन्न छ। हरेक घर ढुंगाले बनेका छन्, एकअर्कासँग जोडिएका छन्। बीच–बीचमा हिँड्ने साना गल्लीहरू छन्। प्रत्येक जसो घरको भुइँतलामा सामान राख्ने ठाउँ हुन्छ, माथिल्लो तलामा बस्ने, खाने र सुत्ने। 

null

ती घरहरूमा बैठक र भान्सा एकै जस्ता हुन्छन्। हरेक घरका भान्सामा बैठक जस्तो वरिपरि बस्ने ठाउँ हुन्छ। एकछेउमा हुन्छ फलामे चाइनिज चुलो। जसको धुवाँ घरका कौसीमा ठडिएका पाइपबाट निस्किरहेको हुन्छ। कोठा वरिपरि आफ्नो संस्कृति झल्किने आकर्षक भाँडाकुँडा सजाइएका हुन्छन्। 

लिमीको सामाजिक जीवनमा सामूहिक जिम्मेवारीको परम्परा बलियो छ। गाउँमा सार्वजनिक भवन छ, जहाँ निश्चित समयमा स्थानीय सरोकार माथि छलफल गर्न ‘गाउँ समिति’ को बैठक बस्छ। कात्तिक र चैत/वैशाख गरी हुने दुई बैठकमा गाउँका सबै मानिसको उपस्थिति अनिवार्य जस्तै हुन्छ। 

यो बैठकमा कसले के जिम्मेवारी लिने भन्ने निर्णय गरिन्छ। समितिमा पालैपालो नेतृत्व परिवर्तन हुन्छ र सबैले आफ्नो पालोमा सामाजिक कामको जिम्मेवारी सम्हाल्नुपर्छ। गाउँमा बन्ने यस्तै समितिले गाउँमा आउने पाहुनाको व्यवस्थापन पनि गर्छन्। 

पाहुनाका लागि आवश्यक खाना, दाउरा, नून लगायत सामग्री पहिले नै सामूहिक रूपमा संकलन गरेर भण्डारण गर्ने चलन छ। कुनै पाहुना टोली गाउँ आएमा समितिले उनीहरूको खानपान र बसोबासको निःशुल्क व्यवस्थापन गर्छ। 

भण्डारणमा रहेको सामूहिक सामग्रीको प्रयोगमा भने कडा निगरानी हुन्छ। त्यसका लागि छुट्टै ‘निगरानी समिति’ समेत रहन्छ। भण्डार खोल्दा सबैको रोहबरमा ‘लाहाछाप’ खोलिन्छ र प्रयोग हुने सामग्री तौलिएर निकालिन्छ। पाहुनालाई खुवाइसकेपछि कति खर्च भयो र कति बाँकी रह्यो भन्ने हिसाब राखिन्छ। त्यसपछि फेरि निगरानीकर्ताकै उपस्थितिमा भण्डार बन्द गरेर ‘लाहाछाप’ लगाइन्छ।

लिमीमा मनाइने चार्डपर्वमा पनि सामूहिकता हुन्छ। उनीहरूले मनाउने एउटा चाड ल्होसार हो। ल्होसारमा गाउँले स्थानीय गुम्बामा भेला भएर पूजा गर्छन्। यो चाड १५ दिनसम्म मनाइने वडाध्यक्ष पाल्जोर बताउँछन्। फागुनतिर अर्को पर्व मनाइन्छ, जसमा स्थानीय देवताको पूजा गरिन्छ। त्यस्तै, ‘रिमछोद्’ नामको पर्व गाउँमा रोगव्याधि नलागोस् भनेर मनाइन्छ। 

लिमीको संस्कृति र सभ्यतालाई त्यहाँको गुम्बाले जोगाएको छ। हरेक गाउँमा विभिन्न कालखण्डमा बनेका गुम्बा छन्। त्यसमध्ये हल्जी गुम्बा सबैभन्दा पुरानो र ठूलो हो। स्थानीय बासिन्दाका भनाइमा, “तत्कालीन धर्मगुरु लोचाओ रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्ये अन्तिम गुम्बाको रूपमा यसलाई लिइन्छ।” जुन आज जलवायु संकटका कारण संरक्षणको पर्खाइमा छ।

null

लिमीको सामाजिक जीवनमा गुम्बा धार्मिक आस्थाको केन्द्र मात्रै होइन; गाउँको सामाजिक संरचना, ज्ञान, संस्कार र निर्णय प्रक्रियासँग जोडिएको संस्था भएको पूर्वसांसद तथा लिमी संस्कृतिका जानकार छक्कबहादुर लामा बताउँछन्। “लिमी सभ्यता धेरै पुरानो हो। यहाँका मानिसहरू आफ्नो मुटुभन्दा पनि प्यारो मानेर गुम्बा जोगाइरहेका हुन्छन्। यत्रो विपद् आउँदा पनि गुम्बासँगको गहिरो सम्बन्धकै कारण धेरै मानिस अझै पनि गाउँसँग जोडिइरहेका छन्”, उनी भन्छन्।  

लिमीबारे जानकार अर्का स्थानीय मंगल लामाका अनुसार, तिब्बत क्षेत्रमा राजनीतिक र धार्मिक उथलपुथलका क्रममा धेरै गुम्बा र धार्मिक सम्पदा नष्ट भए पनि हल्जी गुम्बा नेपालतर्फ परेकाले त्यो जोगिएको छ। “चीनमा सांस्कृतिक क्रान्तिपछि धेरै गुम्बा मासिए। त्यसैले धेरै पुराना गुम्बा अहिले छैनन्” मंगल भन्छन्, “तर हल्जी गुम्बा नेपालमा पर्‍यो। त्यसैले ११औं शताब्दीका पुराना सामग्री, पूजा सामग्री र मूर्तिहरू यहाँ अहिलेसम्म जस्ताको तस्तै सुरक्षित छन्।”  

मंगलका भनाइमा, “अब वर्षैपिच्छे आउने बाढीबाट यसलाई जोगाउनु चाहिँ ठूलो चुनौती भएको छ।”  गाउँको सामूहिक जीवनसँग गुम्बा यति गहिरो रूपमा जोडिएको हुन्छ कि जोखिमका कारण गाउँ छाड्ने कुरा उठ्दा पनि मानिसहरू गुम्बाबाट आफूलाई टाढा राख्न तयार हुँदैनन्। हल्जी क्षेत्रमा पहिलो पटक ठूलो बाढी आएपछि गाउँमा जोखिम बढेकोले आफूले अन्यत्र सर्न सुझाव दिँदा गाउँलेले नमानेको मंगल बताउँछन्। “मैले पहिले नै यहाँ जोखिम हुन्छ, सर्नुपर्छ भनेको थिएँ” उनी भन्छन्, “तर गाउँले भन्थे– गुम्बा छाडेर कसरी जाने?” 

हुन पनि गाउँले र गुम्बाबीच हजारौँ वर्षदेखि बनेको सम्बन्ध छ। गाउँमा मानिस बिरामी पर्दा गुम्बामै जाने, सामूहिक निर्णय गर्नुपर्दा गुम्बामा बसेर सल्लाह गर्ने जस्ता धेरै सामाजिक कामका लागि गुम्बाको भूमिका रहने गर्छ। लिमीको परम्परा अनुसार घरमा दुई वा तीन छोरा भएमा कम्तीमा एक जनालाई गुम्बामा पठाउने चलन रहेको मंगलको भनाइ छ। 

छक्कबहादुर लामाका भनाइमा, हरेक संस्कृति र सभ्यतामा आफ्नै ज्ञान हुन्छ। लिमीमा पनि आफ्नै भाषा, भेषभूषा, परम्परा र पुस्तौँदेखि सञ्चित ज्ञान छ। राज्यका नीतिका कारण त्यो ज्ञान र संस्कृतिको राम्रो संरक्षण हुनसकेको थिएन। अहिले जलवायु संकटले मानिस आफ्नो थातथलो छाड्दैछन्।

जसले लिमीको संस्कृति र सभ्यता नै मासिने जोखिम बढाएको छ।“यदि गाउँ रित्तियो भने हामीले त्यहाँको आदिवासी ज्ञान, इतिहास, भाषा, संस्कृति र जीवन पद्धति गुमाउँछौँ” छक्कबहादुर भन्छन्, “तर राज्यले अहिलेसम्म यहाँका मानिस र उनीहरूको सभ्यता संरक्षणलाई प्राथमिकतामा राखेन।”