टी–२० विश्वकप: कोहली र हार्दिकको बलियो साझेदारीमा भारतको जित

पाकिस्तानले अब बिहीबार जिम्बावेसँग खेल्नेछ। भारतले बिहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ। सुपर १२ को समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन्।

आईसीसी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर १२ को पहिलो खेल अन्तिम बलसम्म रोमाञ्चक रह्यो। १६० रनको लक्ष्य पछ्याएको भारत एक समय ३१ रनमा ४ विकेट गुमाएर समस्यामा परेको थियो। त्यसपछि क्रिजमा आएका विराट कोहली र हार्दिक पान्ड्याले ७८ बलमा ११३ रनको साझेदारी गर्दै भारतलाई जित दिलाए।

हार्दिक अन्तिम क्षणमा आउट भए। तर,‘चेज मास्टर’ कोहली स्थिर रहे। अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो। अन्तिम ओभरको पहिलो बलमा हार्दिक बाबर आजमबाट क्याच आउट भए। हार्दिकलले ३७ बलमा १ चौका र २ छक्कासहित ३७ रन बनाए।

मोहम्मद नवाजले दोस्रो बलमा दिनेश कार्तिकलाई १ रन दिएका थिए। कोहलीले तेस्रो बलमा २ रन लिएपछि भारतलाई अन्तिम ३ बलमा जितका लागि १३ रन चाहिएको थियो।

कोहलीले चौथो बलमा छक्का हानेपछि ७ रन आवश्यक परेको थियो। तर, अम्पायरले नो बल दिए। लगत्तै नवाजले अर्को बलमा वाइड फ्याले।

लगत्तै ३ रन वाइडको रूपमा लिएपछि भारत जितनजिक पुगेको थियो। अर्को बलमा दिनेश कार्तिक स्टम्पिङ आउट भए। अन्तिम बलमा २ रन चाहिएको थियो। फेरि वाइड फ्याले। आश्विनले १ रन लिँदै जित पक्का गराए। 
कोहली उत्कृष्ट इनिङ्सका लागि ‘म्यान अफ द म्याच’ घोषित भए।

सन् २०२१ को आईसीसी टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ‘फ्लप’ सावित भएका ओपनर केएल राहुल र रोहित शर्मा भने यसपटक पनि चल्न सकेनन्। पाकिस्तानका फास्ट बलर नसिम शाहले राहुललाई ४ रनमा पेभिलियन पठाए।

सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध शून्य रनमा आउट भएका कप्तान रोहित पनि क्रिजमा लामो समय टिक्न सकेनन्। उनी ४ रन बनाएर हरिस रौफको शिकार बने।

भारतीय टोलीले सूर्यकुमार यादवबाट धेरै आशा राखेको थियो। उनले राम्रो शुरुवात गरे पनि १० बलमा १५ रन बनाएर हरिसको बलमा आउट भए। सूर्य ‘स्लिप’मा माथिल्लो कट बनाउन चाहन्थे। तर, उनले प्रहार गरेको बल विकेटकिपर मोहम्मद रिजवानको ग्लोभ्समा पुगेको थियो।

पाकिस्तानका हरिसले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए। नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। मोहम्मद नवाजले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए।

चलेनन् पाकिस्तानी ब्याट्सम्यान
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। पाकिस्तानका लागि शन मकसुद ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ५२ रनमा अविजित रहे। इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए।

दुवैले ओपनरलाई शुरूमै गुमाएको पाकिस्तानी टोलीलाई सम्हालेका थिए। उनीहरूले ५० बलमा ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए। तीव्र गतिका बलर मोहम्मद शामीले इफ्तिखरलाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए। त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

त्यसअघि इफ्तिखारले खेलमा जीवनदान पाएका थिए। उनले प्रहार गरेको बल अश्विनले मिस गरे। पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। यता, हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। मोहम्मद शामीले र भुवनेश्वर कुमारले १/१ विकेट लिए।

पाकिस्तानले अब बिहीबार जिम्बावेसँग खेल्नेछ। भारतले बिहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ। सुपर १२ को समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन्।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन्। हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन्।