टी–२० विश्वकप : बंगलादेशमाथि भारतको रोमाञ्चक जित

बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।

काठमाडौं– ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतकमा भारतले आईसीसी टी–२० विश्वकपमा तेस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ ओभरमा ६६ रन जोड्दै सानदार शुरूआत गरेको थियो। तर, वर्षाको कारण खेल रोकिएपछि १६ ओभरमा बंगलादेशले १५१ रनको नयाँ लक्ष्य पाएको थियो। तर, वर्षापछि भने बंगलादेशले राम्रो गर्न सकेन। बंगलादेशले ६ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लिटोन दासले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए। यता, नाजमुल होसेनले २५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडे।

नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे। कप्तान शकिब अल हसनले १३ रन बनाए। भारतका अर्शदीप सिंह र हार्दिक पाण्डयले २/२ विकेट लिए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो। भारतका लागि विराट कोहलीले अविजित रहँदै ६४ रन प्रहार गरे। उनले ४४ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

यता, लोकेश राहुल ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। सूर्यकुमार यादव ३० रनमा आउट हुँदा रविचन्द्रन आश्विन १३ रनमा अविजित रहे।

बंगलादेशका मोहम्मद हसनले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। सकिब अल हसन ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।

जितसँगै सुपर १२ को समूह २ मा रहेको भारतले ४ खेलबाट ३ जित र १ हारसहित ६ अंक जोडेको छ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो। तर, दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो।

यता, बंगलादेश समान खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो। तर, दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग १०४ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको थियो।