मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।

काठमाडौँ– मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबार दिउँसो देशभर पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनीका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्नेछ।

त्यसैले भारी वर्षा, मेघगर्जन, चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।