देशभर वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदरभन्दा दक्षिण तथा पूर्वतिर सरदरभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी तथा मधेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाखाशाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीसमेत भल्ने महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। 

भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवन हुने सम्भावना छ।

यसबाट हुनसक्ने क्षति तथा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।