दशकयता मधेशले आफूलाई राजनीतिको केन्द्रमा प्रोजेक्ट गर्दै आए पनि नेपाली राजनीतिको केन्द्रमा भने झापा र डडेलधुरा रहन पुग्यो। यद्यपि, मधेशले राजनीतिको केन्द्रमा आफ्नै मियो खोजिरहेको थियो।
कांग्रेसका सभापति गगन थापा किन आधार इलाका छाडेर आसन्न निर्वाचनमा मधेशबाट प्रतिस्पर्धा गर्दैछन् भन्ने आम चासो हुनु स्वाभाविक हो। यसमा पगरीधारी विश्लेषकदेखि सामाजिक सञ्जाल प्रयोगकर्ता सर्वसाधारणले आ–आफ्नो गच्छे, झुकाव, सूचना र कोणबाट टिप्पणी गरेका छन्। कतिपयले गगनको चाललाई भय र आशंका-दृष्टिले हेरेका छन्, कयौँले रणनीतिक मुभका रूपमा। यो निर्णय संशयबाट हठात् लिइएको होइन, निकै सोची सम्झी, लामो गृहकार्य तथा पूर्व तयारीपश्चात् चालिएको रणनीतिक कदम हो भन्ने लाग्छ। गगन सभापति चुनिएपछि यो कदम चाल्न अनुकूल भने भएको छ।
गगनको मधेश ‘रिचआउट’
मधेशमा ‘रिच आउट’ गर्नकै लागि काठमाडौँ–४ भन्दा असहज सर्लाही–४ रोजेको देखिन्छ। भारतीय राजनीतिमा जति उत्तर प्रदेशको महत्त्व छ, नेपाली राजनीतिमा मधेशको भूमिका त्यस्तै छ। प्रतिनिधि सभामा ६४ जना सदस्य दिन सक्ने मधेशका ‘हिन्टरल्यान्ड’ले दह्रो साथ दिए जुन कुनै दल सत्ताको केन्द्रमा पुग्न सक्छ।
एकादेशमा मधेश कांग्रेसको आधार इलाका हुने गर्थ्यो। त्यहीँबाट यादव, ठाकुर, निधी, गुप्ता, झाहरूले कांग्रेसको वर्चस्व धानेका थिए। २०६२/६३ को जनआन्दोलन लगत्तै मधेश विद्रोहपछि क्रमशः बदलाव आएको देखिन्छ। कांग्रेसबाट चोइटिएर क्षेत्रीय पार्टी गठन तथा माओवादीको मूलधारको राजनीतिमा उदयसँगै मधेशमा कांग्रेस कमजोर बन्न पुग्यो। आगोमा घ्यू थप्ने काम कांग्रेस पार्टीकै टुटफुट र अन्तर्घात उत्तिकै जिम्मेवार छ।
पछिल्ला दशकमा जसै मधेश जनसंख्या र राजनीतिक विमर्शको केन्द्र बन्दै गयो, राजनीतिक शक्ति भने मधेशबाट टाढिँदै गयो। मधेशका मसिहाका रूपमा उदाएका क्षेत्रीय पार्टीहरू टुटफुट र सत्ता स्वार्थले छिन्नभिन्न भए। अघिल्लो चुनावसम्म आइपुग्दा, कुनै बेला केन्द्रीय राजनीति हल्लाउने उपेन्द्र यादव स्वयं चुनावमा पराजित हुने अवस्था आयो। उनले केन्द्रीय राजनीतिलाई धक्का दिन सक्ने सम्भावना रहेन। बरु, शक्तिको केन्द्र क्रमशः सुदूर पूर्व तथा सुदूरपश्चिमतर्फ टाढिँदै गयो। कांग्रेस र एमालेको नेतृत्वमा शेरबहादुर देउवा र केपी ओलीको उदयसँगै सिंगो मधेशले यो परिस्थिति टड्कारो महसुस गर्यो। कांग्रेसका तर्फबाट मधेशका मसिहा पनि कमजोर र निर्धा दरिए, जसको पटाक्षेप धनुषामा बिमलेन्द्र निधीको पराजयसम्ममा देखियो।
दशकयता मधेशले आफूलाई राजनीतिको केन्द्रमा प्रोजेक्ट गर्दै आए पनि नेपाली राजनीतिको केन्द्रमा भने झापा र डडेलधुरा रहन पुग्यो। यद्यपि, मधेशले राजनीतिको केन्द्रमा आफ्नै मियो खोजिरहेको थियो। सिंगो मधेशलाई प्रतिनिधित्व गर्ने केन्द्रीय 'फेस'को खडेरी थियो।
सम्भवतः यही आकलन गरेर गगन मधेश ओर्लिएका हुन्। कांग्रेस सभापति तथा सम्भावित प्रधानमन्त्रीको रिचआउटले मधेशलाई पुनः राजनीतिको केन्द्रमा फर्काउन मद्दत गर्नेछ। यसमा गगन सफल भए उनी व्यक्ति वा पार्टी सभापतिका रूपमा मात्र सफल हुने छैनन्, सिंगो मधेशलाई केन्द्रसँग जोड्न सफल हुनेछन्, जसको केन्द्रमा सबैभन्दा बढी गरिबी, अशिक्षा र बेरोजगारी छ। मधेशले पनि राजनीतिको मियो केन्द्रीय फेस भेट्टाउने छ।
यस कदमले सर्लाही आसपासका जिल्लामा समेत एक किसिमको गगन–वेभ ल्याउन सक्छ। वेभले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुरबाट पश्चिमतर्फ तथा सभापति रबी लामिछानेले चितवनबाट पूर्वतर्फ फैलाउन सक्ने घण्टीको सम्भावित लहरविरुद्ध कांग्रेसलाई ‘हेज’ (सुरक्षा प्रदान) गर्ने मात्र होइन, ‘एन्टिवेभ’नै सिर्जना गर्न पनि सक्छ। गगनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गर्दा नै सर्लाहीका स्थानीय नेता कार्यकर्ताले 'अबकी बार, गगन सरकार' नारा उछालेका छन्।
उसै चुनावी वेभहरू प्रायः सुरुका भन्दा आखिरीतिरका कामयाबी हुन्छन्। नेपाल–भारत सीमा क्षेत्रका चुनावमा यस्ता प्रवृत्ति पटक–पटक दोहोरिएका छन्। विहार विधान सभाको पछिल्लो प्रतिस्पर्धाले पनि यसलाई पुष्टि गर्छ। हामीकहाँ चुनावको मुखमा एकाध हप्ता जसले लहर सिर्जना गर्न सक्छ, उसैले बाजी मार्ने गरेको पाइन्छ। कथं, गगन सर्लाहीबाट पराजित नै भए भने पनि उनको मधेश गमनले कांग्रेसलाई समानुपातिकमा कम्तीमा सिट अतिरिक्त बढाउन मद्दत गर्नेछ, जसको क्रेडिट सभापतिका हैसियतमा उनैलाई जानेछ।
लामो गृहकार्य
२०७९ को निर्वाचनमा पनि गगनले काठमाडौँ–४ मा अर्थशास्त्री स्वर्णिम वाग्ले (हाल रास्वपाका उपसभापति) लाई छाडेर सर्लाही झर्ने मनस्थिति बनाएका थिए। गगन तथा उनको टिमले बुद्ध एयरको टिकट काटेर मधेश झर्नै लाग्दा, पार्टी सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकटै दिएनन्, बरु आफू निकट नैनसिंह महरलाई दिने निर्णय गरे। आफ्नो आधार इलाकामै सूपबाट महर उठ्ने भएपछि गगन काठमाडौँमै थामिए।
यस अतिरिक्त, गएको जाडोमा कांग्रेस-एमालेको संयुक्त सरकारलाई दिशानिर्देश गर्ने संयन्त्रमा रहँदा पनि गगनले आफूलाई भावी पार्टी सभापति र प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्न हुलाकी राजमार्गमार्फत झापादेखि कञ्चनपुरसम्म यात्रा गरेका थिए। त्यस क्रममा पनि रात बिताउने ठाउँमा सर्लाही ४ पनि पारेका थिए। साथै, जेनजी विद्रोहपछि पार्टीमा विशेष कि नियमित महाधिवेशन भन्ने विवाद चर्किँदै गर्दा, गएको मंसिरमा समेत उनी त्यसै निर्वाचन क्षेत्रका एक प्रभावशाली कांग्रेसी नेताको छोराको बिहेका निम्ति स्वयं सर्लाही झरेका थिए। सम्भवतः यी दुवै भ्रमणबाट उनमा थप उत्साह र आत्मविश्वास बढेको हुनुपर्छ।
फेरि, गगनले यो भन्दा धेरै पहिलेदेखि बोल्दै आएको के हो भने, कुनै पनि उम्मेदवारले कुनै क्षेत्रबाट पटक–पटक चुनाव लड्दा सोही क्षेत्रका पार्टीका अन्य प्रतिस्पर्धीले मौका नपाउने र स्थानीय जनता पनि फरक जनप्रतिनिधिबाट वञ्चित हुने धारणा राखेका थिए। साथै उनले एकै व्यक्ति हिमाल, पहाड र तराई जहाँसुकैबाट पनि उम्मेदवार बन्न सक्नुपर्ने धारणा राखेका थिए। यसरी हेर्दा कुनै दिन उनले पुर्ख्यौली थलो सोलुखुम्बुबाट उम्मेदवार बने अचम्म नमाने भयो। कतिपयले गगनलाई नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहालझैँ ठाउँ फेर्दै हिँडेको तर्क गरे पनि खासमा गगन आफूलाई सुरक्षित राख्न इलाका फेर्दै हिँडेका होइनन्, बरु जोखिम मोलेर मधेश झरेका हुन्।
यद्यपि, पहाडी जिल्ला तथा शहरी इलाकामा जेजस्ता चुनावी रणनीतिले काम गर्छन्, मधेशमा पर्याप्त हुँदैन। स्थानीय र जातीय फ्याक्टर बिर्सन मिल्दैन। तर, विशेष महाधिवेशनबाट सभापति चुनिएसँगै गगनलाई ती फ्याक्टर मिलाउन निकै सहज भएको छ। यसको संकेत, छिमेकी जिल्ला रौतहटमा सद्भावनाका नेता अनिल झालाई कांग्रेसको उम्मेदवार बनाउँदै पार्टीमा भित्राएबाट मिल्छ।
गगनका निम्ति सर्लाहीबाट विजय निकाल्न तुलनात्मक रूपमा काठमाडौँभन्दा कम सहज होला, तर जोखिमपूर्ण क्षेत्र होइन। कांग्रेसकै बागी अर्थात् अमरेश सिंहले जितेको ठाउँ हो त्यो, जसमा निकटतम प्रतिद्वन्द्वी पनि कांग्रेसकै उम्मेदवार थिए। सिंह यस क्षेत्रमा पाँचौँ पटक उठ्दैछन्। बितेका चुनावको स्कोर ३–१ छ। पहिलो संविधान सभा (२०६४) चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमका शिवपुजन रायले चुनाव जित्दा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर दोस्रो र कांग्रेसका अमरेश तेस्रो स्थानमा थिए।
गगनलाई एमाले वा माओवादीले हराउन नसके कांग्रेसले हराउँछ भन्ने गरिन्थ्यो। आज विशेष महाधिवेशनबाट गगन सभापति हुँदा पनि सम्भवतः उनका समर्थकलाई यो भयले डोर्याउन छाडेको छैन। त्यसैले, आफ्नै कार्यकर्ताबाट हराउनबाट जोगाउने नयाँ आधार इलाका हुनसक्छ सर्लाही, जहाँबाट अधिकांश पार्टी प्रतिनिधिले उनलाई विशेष महाधिवेशनमा साथ दिएका थिए।
गगनले यो कदम चाल्दै गर्दा पार्टीभित्रका विभिन्न निर्वाचन क्षेत्रमा व्यक्तिगत ‘स्ट्रङहोल्ड’ भएका पुराना नेतालाई सन्देश पनि दिएका छन्। त्यो के भने, नेताले जोखिमरहित ठाउँमा होइन, चुनौतीपूर्ण ठाउँमा जितेर देखाउने हो। बरु,स्ट्रङहोल्डमा नयाँलाई उम्मेदवार बनाएर राजनीतिमा स्थान बनाइदिने हो। आधार इलाकामा आफ्ना विश्वासपात्र तथा 'चियरलिडर' सचिन तिमल्सिनालाई टिकट दिएर सायद उनको रणनीति दुई वटा स्थान सुरक्षित बनाउने देखिन्छ।
अन्तमा, मेरो बुझाइमा रास्वपाको पक्षमा जनकपुरदेखि झापासम्म घण्टी बजे पनि झापामा एमाले अध्यक्ष ओली र सर्लाहीमा गगन कमजोर छैनन्। कथं ओली तथा दुवै पराजित हुने अवस्था आयो भने पनि त्यसको सन्देश र अर्थचाहिँ फरक–फरक लाग्नेछ। ओली आधार इलाकामै बढारिए भन्ने सन्देश जान्छ। गगन भने जोखिम मोलेकाले चिप्लिए भन्ने हुन्छ। यद्यपि, जहाँसम्म सर्लाही ४ मा रास्वपाबाट उम्मेदवारी दिएका अमरेश सिंहले “म पराजित भएँ भने आत्मदाह गर्छु,” “मलाई हराउन कांग्रेसको सभापति नै आउँदैछ” भन्नेजस्ता अभिव्यक्ति दिएका छन्, त्यसबाट गगनका निम्ति सर्लाही ४ फलामे च्युरा होइन भन्ने नै बुझिन्छ।
(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

गगन याे युगले जन्माएकाे नेता हाे ।
shasma narayan
4 months, 1 week ago