यस्तो रहनेछ आजको मौसम

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ।

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।