कसरी फर्किन्छ प्रहरीको मनोबल?

जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयको परिदृश्य र प्रहरीको दैनिकी बदलिएको छ। भदौ २९ गतेदेखि प्रहरीहरू पूर्णरूपमा काममा फर्किए पनि मनोबल आन्दोलनअघिकै अवस्थामा छैन।

काठमाडौँ– सफा, चिटिक्क हुने शहरी क्षेत्रका धेरै प्रहरी कार्यालयमा अहिले खरानी मात्र छ। भित्तामा कालो कस बसेको छ। साइनबोर्ड डढेर कालै छन्।

अहिले प्रहरीका कार्यालय सरसफाइ त भएका छन्, तर आगजनीको कालो यथावत् छ। प्रहरी कसैसँग पोसाक छैन। कतिपय कार्यालयमा सुरक्षाका निम्ति चाहिने हतियार र गस्तीमा जान सवारी साधन पनि छैनन्।

जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयको परिदृश्य र प्रहरीको दैनिकी बदलिएको छ। आन्दोलनकारीको निशानामा परेका प्रहरी भदौ २९ गतेदेखि पूर्णरूपमा काममा खटिएका छन्। तर आन्दोलनका क्रममा भएको क्षतिबाट खस्किएको प्रहरीको मनोबल आन्दोलनअघिकै अवस्थामा पुगेको छैन।

प्रहरी प्रधान कार्यालय नजिकै खटिएका एक प्रहरीले जस्तोसुकै परिस्थितिबाट गुज्रिए पनि ड्युटीमा खटिनुपर्ने बाध्यता भएको बताए। “शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम हाम्रै हो,” ती प्रहरीले भने, “अहिले पनि सपनाजस्तै लागिरहेको छ। त्यस दिनको घटनाले काम गर्न नसक्ने स्थिति छ। त्यही विषय दिमागमा घुमिरहन्छ।”

आन्दोलनका क्रममा प्रहरीलाई कार्यालयमै आत्मसमर्पण गर्न लगाएर उनीहरूका हतियार, पोसाक र अन्य सामग्री लुटिए। तिनै पोसाक लगाएर हतियार प्रदर्शन गर्दै प्रदर्शनकारीले भिडियो, तस्वीर खिचेर सामाजिक सञ्जालमा पनि हालेका थिए। 

सामाजिक सञ्जालमा ती दृश्य हेर्दा निकै पीडा हुने काठमाडौँको एक वृत्तका डीएसपी बताउँछन्। “हाम्रो पोसाकको अपमान गरिएको छ। सामाजिक सञ्जालमा जताततै कोही एसपीको पोसाक लगाएर ड्युटीको नाटक गरिरहेको छ, कसैले हतियार प्रदर्शन र ट्राफिक बनेर टिकटक बनाएको छ। यस्तो देख्दा पीडा भइरहेको छ,” उनी भन्छन्।

पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंह जेनजी आन्दोलनमा प्रहरीले ठूलो क्षति बेहोर्नुपरेको बताउँछन्। प्रहरी प्रधान कार्यालयले अहिलेसम्म क्षतिको विवरण यकिन गर्न सकेको छैन। क्षति संकलनका लागि डेस्क स्थापना गरेर काम शुरू गरिएको प्रधान कार्यालयले जनाएको छ। 

उपत्यकाका तीन जिल्लामा रहेका १८ वृत्तमध्ये मालीगाउँ वृत्त मात्र जोगिएको छ। अन्य १७ वृत्त प्रदर्शनकारीले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालयदेखि देशभरका अन्य ७४ जिल्लामा रहेका प्रहरीका युनिटहरूमा कुनै न कुनै रूपमा क्षति पुर्‍याइएको छ।

ठूलो क्षति बेहोर्न पुगेको प्रहरी संगठनका कर्मचारीको मनोबल उच्च बनाउन समुदायस्तरबाट नै साथ दिनुपर्ने पूर्वमहानिरीक्षक सिंहको भनाइ छ। यसका लागि समुदायस्तरबाट पहल पनि शुरू भइसकेको छ। ठाउँठाउँमा प्रहरी कार्यालय पुनर्निर्माणलगायत कामका लागि समिति निर्माण भइरहेका छन्। कतिपयले व्यक्तिगत रूपमा सामग्री दिन थालेका छन्। अवकाशप्राप्त प्रहरीदेखि विभिन्न सामाजिक संघसंस्थाले पहल अघि बढाएका छन्।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ पनि अहिलेको विषम परिस्थितिमा समुदायले नै प्रहरीलाई कार्यालयमा फर्काउने अभियान थालेको बताउँछन्। आइतबार बेलुकी जारी भिडियो सन्देशमा उनले संगठन र नेतृत्वका हैसियतले आफू साथमा रहेको भन्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्। 

पूर्व डीआईजी हेमन्त मल्ल प्रहरीको मनोबल फर्काउने जिम्मा प्रहरी नेतृत्वको नै भएकाले त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको बताउँछन्। “असहज परिस्थितिमा संगठन आफ्नो साथमा छ भन्ने विश्वास हुनुपर्‍यो। मनोबल माथि नउठेसम्म शान्तिसुरक्षा र अपराध नियन्त्रण हुन सक्दैन,” उनले भने, “सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्छ। उनीहरूको मनोबल उठाउने हिसाबले क्षतिग्रस्त संरचना निर्माण, स्रोतसाधनको उपलब्धतामा ध्यान दिनसके केही सहज हुन्छ।” 

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आक्रमण र आगजनी गर्ने, प्रहरीका पोसाक तथा बर्दीको दुरूपयोग गर्ने, हतियार लुटपाट र सवारीसाधन जलाउने गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन तत्काल कदम नचाल्ने हो, भने त्यसले पनि सुरक्षाकर्मीको मनोबल फर्काउन नसक्ने पूर्वप्रहरीहरूको बुझाइ छ। 

पूर्वप्रहरी महानिरीक्षक सिंह प्रहरीका कार्यालय आगजनी गर्न तथा पोसाक र हतियार लुट्न सक्रियलाई कानूनी कारबाही गर्नुपर्ने बताउँछन्। “प्रहरी मारिएका छन्, कुटपिट भएको छ। आगजनी, तोडफोड भएको छ। हतियार खोसिएका छन्। यो कमजोरी किन भयो र कोको जिम्मेवार छन्, अनुसन्धान हुनुपर्छ,” उनले भने, “भिडियो, तस्वीर सार्वजनिक भएकै छन्। त्यसका आधारमा कानूनी दायरामा ल्याउन ढिलाइ गर्नहुन्न।”

उनले प्रहरीको मनोबल उच्च बनाउने विषय प्रहरी महानिरीक्षकको मात्रै हातमा नरहेको र प्रधानमन्त्रीकै तहबाट पहल हुनु आवश्यक रहेको बताए। “क्षतिग्रस्त ठाउँको निरीक्षण गर्ने, त्यसको पुनर्निर्माण र प्रहरीलाई आवश्यक पर्ने स्रोत, साधनलगायत लजिस्टिक सामग्री पहिलेभन्दा राम्रो उपलब्ध गराउन सकियो भने मात्र कर्मचारीमा हौसला थपिन्छ,” उनले भने, “नागरिकस्तरबाट पनि शुरूआत भइसकेको छ। सबै क्षेत्रको पहल भयो भने चारपाँच महिनाभित्र दक्ष प्रहरी पाउन सक्छौँ।”

जेनजीको एक समूहले भदौ २३ गते प्रदर्शनका लागि अघिल्लो दिन नै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएको थियो। उक्त दिन आन्दोलनमा प्रहरीको दमनबाट १९ जना प्रदर्शनकारीको मृत्यु भयो। दोस्रो दिन भदौ २४ गतेको प्रदर्शन झन् उग्र भयो।

संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्चलगायतका अदालत, राष्ट्रपति निवास, अन्य सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र नेताका निवासमा आगजनी भयो। व्यापारिक प्रतिष्ठानमा आगजनी, तोडफोड र लुटपाट भयो।

अघिल्लो दिन प्रहरीको कारबाहीमा ठूलो मानवीय क्षति भएपछि दोस्रो दिन उग्र बनेको प्रदर्शनको निशानामा धेरैजसो प्रहरी र तीनका कार्यालय परेका थिए। अघिल्लो दिन प्रदर्शनलाई नियन्त्रणबाहिर जान नदिन रणनीति बनाउनुको साटो एकैचोटि गोली नै चलाउने अवस्था निम्तिएको र दोस्रो दिन आगजनी र तोडफोडका घटना हुँदा पनि गोली चलाउन आदेश नै नभएको एक प्रहरी अधिकृत बताउँछन्।

उनी भन्छन्, “हामीमाथि नै आक्रमण, कार्यालय आगजनी र लुटपाट हुँदा पनि प्रतिरक्षा गर्न सकिएन। कुनै पनि हालतमा गोली नचलाउनु भन्ने आदेशले आफ्नो प्रतिरक्षा गर्न सकिएन।”

What we need is empowered police for civilised socity or let criminals run the show. Gvt needs to create a powerful DIGP position to coordinate 3 IGPs. Lack of coordination by a bureaucrat contributed to this disaster

suman pandit

2 months ago