रंगमञ्च
महाभारत कथामा कर्ण पात्रको क्षमता उसको जन्मभन्दा ठूलो छ, तर समाजले उसलाई जन्मकै आधारमा मापन गर्छ। योग्यता हुँदाहुँदै पनि स्वीकार नपाउने पीडा आज पनि हजारौँ युवाहरूको अनुभव हो।
कतिपय नाटकहरू कथा सुनाउँछन्, कतिपयले मनोरञ्जन दिन्छन्। तर केही नाटक यस्ता हुन्छन्, जसले दर्शकलाई आफ्नै समाज, आफ्नै इतिहास र आफ्नै वर्तमानको मौनतासँग सामना गराइदिन्छन्। कान्तिपुर फिल्म एकेडेमीको पाँचौँ प्रस्तुति ‘महाभारत’ त्यस्तै एउटा महत्त्वाकांक्षी रंगप्रयोग हो, जसले पुराणको परिचित आख्यानलाई केवल धार्मिक वा ऐतिहासिक कथाका रूपमा मात्र होइन, समकालीन समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक, वर्गीय र जातीय संरचनालाई पढ्ने माध्यमका रूपमा प्रस्तुत गरेको छ।
महाभारतको कथा हजारौँ वर्ष पुरानो भए पनि त्यसका प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। सत्ता कसको हातमा रहन्छ? न्याय कसका लागि हुन्छ? इतिहास कसले लेख्छ? र युद्धको मूल्य सधैँ किन कमजोर, गरिब र किनारामा उभिएका मानिसहरूले मात्रै चुकाइरहनुपर्छ? नाटकले यिनै प्रश्नहरूलाई दर्शकको अगाडि राख्छ।
नाटकको सबैभन्दा बलियो पक्ष यही हो कि, यसले महाभारतको कथामा भएको जस्तै द्वन्द्वमा मात्रै सीमित राख्दैन। अर्जुनहरूको महत्त्वाकांक्षाको मूल्य सामान्य मानिसले तिर्नुपर्छ भन्ने यथार्थलाई दृश्य–दृश्यमा महसुस गराउँछ। जस्तोकि, महाभारत कथामा सिंहासनका लागि शुरू भएको युद्धमा सबैभन्दा धेरै रगत ती मानिसहरूको बग्छ, जसको निर्णय प्रक्रियामा कुनै स्थान हुँदैन। यस नाटकका दृश्यमा पनि आजको समाजको वर्गीय र जातीय संरचनासँग गहिरो समानान्तर सम्बन्ध स्थापित छ।
महाभारत पढ्दा वा सुन्दा प्रायः अर्जुन, भीष्म, दुर्योधन, कर्ण वा कृष्णको चर्चा हुन्छ। तर नाटकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकलव्य जस्ता आदिवासी, गरिब र किनारिकृत समुदायका ती अनगिन्ती मौन पात्रहरूको उपस्थिति पनि सम्झाउँछ, जसको पीडा इतिहासका पानामा लेखिएन। बरू उनीहरूका शक्ति र पहिचान सधैँ खोसियो र दबाइयो। त्यही मौनता आज पनि समाजका गरिब, आदिवासी, जनजाति, दलित र अन्य किनाराकृत समुदायहरूको जीवनमा दोहोरिइरहेको देखिन्छ।
जात व्यवस्था केवल सामाजिक पहिचानको प्रणाली मात्र होइन, यो शक्ति र अवसरको वितरण गर्ने एउटा संरचना पनि हो। इतिहासदेखि आजसम्म यही संरचनाले केही समुदायलाई केन्द्रमा राख्यो र केहीलाई सधैँ सीमान्तमा धकेल्यो। उनीहरूको श्रम स्वीकार गरियो, तर नेतृत्व होइन; उनीहरूको उपस्थितिलाई उपयोग गरियो, तर आवाजलाई स्वीकार गरिएन।
नाटक हेर्दा बारम्बार लाग्छ— महाभारतको युद्ध समाप्त भयो होला, तर बहिष्करणको युद्ध अझै समाप्त भएको छैन। महाभारत कथामा कर्ण पात्रको क्षमता उसको जन्मभन्दा ठूलो छ, तर समाजले उसलाई जन्मकै आधारमा मापन गर्छ। योग्यता हुँदाहुँदै पनि स्वीकार नपाउने पीडा आज पनि हजारौँ युवाहरूको अनुभव हो। यो पात्र केवल पुराणको पात्र नभएर, अवसरबाट वञ्चित बनाइएका सम्पूर्ण समुदायहरूको प्रतीक बनेर उभिन्छ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेल, रमेश बुढाथोकीको पात्रानुकूल सुन्दर अभिनय देख्न सकिन्छ। सन्दीप श्रेष्ठ एकलव्यको भूमिकामा छन्। प्रतिक चौधरी, सुप्रज्ञा शर्मा, किरण चापागाईंलगायत कलाकारहरूको पात्र अनुसारको सुन्दर अभिनय छ।
नाटकको अर्को उल्लेखनीय पक्ष यसको मञ्चीय भाषा हो। विशाल आख्यानलाई सीमित मञ्चमा प्रस्तुत गर्दा निर्देशक नवीन भट्टले दृश्य, प्रकाश, ध्वनि र सामूहिक अभिनयमार्फत कथालाई प्रभावकारी बनाएका छन्। अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले नाटकलाई ऊर्जा दिएको छ। समूह दृश्यहरूमा देखिने अनुशासन र लयले मञ्चलाई जीवन्त बनाउँछ भने, केही संवादहरूले दर्शकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछन्।
तर यो नाटकको वास्तविक शक्ति यसको दृश्य भव्यतामा होइन, यसले जन्माउने प्रश्नहरूमा छ। धर्मको नाममा भएको हिंसा, न्यायको नाममा भएको अन्याय र सभ्यताको नाममा गरिएको बहिष्करणलाई नाटकले सूक्ष्म रूपमा उजागर गर्छ। जित्नेहरू इतिहासका नायक बन्छन्, तर हार्नेहरूको कथा प्रायः इतिहासले लेख्दैन। अर्जुनहरूका लागि आज पनि एकलव्यका औँला बढी चढाइन्छन्। गरिब किसान, आदिवासी, श्रमिक, महिलाहरू र सीमान्तकृत समुदायहरू युद्धका पात्र त हुन्छन्, तर इतिहासका लेखक कहिल्यै हुँदैनन्।
आज पनि विकासका नाममा सबैभन्दा पहिले विस्थापित हुने आदिवासी र सुकुमवासी बस्तीहरू नै हुन्छन्। प्राकृतिक स्रोतको संरक्षणको बोझ पनि उनीहरूमाथि नै पर्छ, तर त्यसको लाभ पाउँदैनन्। जातीय विभेदका कारण अझै पनि धेरै मानिस सम्मानपूर्वक बाँच्न संघर्ष गरिरहेका छन्। अझै पनि जातका कारण कोठा पाउन सकस छ।
नाटकले यिनै यथार्थहरूलाई प्रत्यक्ष भाषण नगरी प्रतीक र सन्दर्भमार्फत दर्शकको चेतनामा पुर्याउँछ। यस अर्थमा ‘महाभारत’ केवल पुराणको पुनर्पाठ होइन, राज्य, सत्ता, जात व्यवस्था, ब्राह्मणवादी सोच र वर्गीय विभाजनको आलोचनात्मक पुनर्व्याख्या पनि हो। यसले एउटा असहज प्रश्न उठाउँछ— यदि समाजमा न्याय सबैका लागि समान हुन्थ्यो भने, इतिहासका धेरै युद्धहरू आवश्यक हुन्थे त? महाभारत रचिन्थ्यो त?
नाटक सकिएपछि दर्शक मञ्चबाट बाहिर निस्किन्छ, तर प्रश्नहरू सँगै लिएर निस्किन्छ। आखिर आजको महाभारत कहाँ भइरहेको छ? संसद्मा, सडकमा, अदालतमा, कि जात, वर्ग र पहिचानका आधारमा विभाजित हाम्रो दैनिक जीवनमै? शायद यही कारणले यो नाटक पुरानो कथा भएर पनि अत्यन्त समकालीन लाग्छ। किनभने समय फेरिएको छ, पात्र फेरिएका छन्, तर सत्ता र विशेषाधिकारको संरचना धेरै हदसम्म उस्तै छ।
जबसम्म न्यायको केन्द्रमा गरिब, आदिवासी, दलित र सबै किनाराकृत समुदायहरूको आवाज पुग्दैन, तबसम्म महाभारत केवल इतिहासको पुस्तकमा होइन, हाम्रो समाजको वर्तमानमा पनि दोहोरिइरहनेछ। जब अन्तिम दृश्यपछि पनि अनुप तिमल्सिनाको संगीत मनभित्र गुञ्जिरहन्छ, तब लाग्छ—महाभारत सकिएको छैन; प्रत्येक अन्याय, प्रत्येक विभेद र प्रत्येक बहिष्करणमा त्यो अझै जीवित छ।
नाटक ‘महाभारत’ युद्धको कथा होइन, अवसरबाट वञ्चित पारिएका मानिसहरूको कथा हो। यो एकलव्यको काटिएको औँलामा लेखिएको इतिहासको कथा हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
