अछेता: आँसु पनि त प्रतिरोध हो

कर्णाली प्रदेशका गरिब र दलितले बाँचिरहेको जीवनलाई महसुस गराउने नाटक अछेता मात्र नाटक होइन, एउटा समाज नियाल्ने ऐना हो।

कर्णाली प्रदेशको राजधानी, सुर्खेतकी दलित बालिकाको बलात्कारपछिको हत्या मुद्दामा उच्च अदालत सुर्खेतमा वैशाख २४ गते बहस गरेर २५ गते काठमाडौँ फर्कँदै थिएँ। अदालतले दिएको प्रारम्भिक आदेशका कारण पनि न्याय पर्ने आशा थपिँदै थियो। तर कर्णाली प्रदेश र सुर्खेत छाड्दै गर्दाको यात्रामा छेउमै सुसाउँदै गरेको भेरी नदीसँगै यादहरू पनि बग्दै थिए।त्यसमा बग्दै थिए बाध्यताका चाङहरू पनि। मुद्दाको फाइल (मिसिल)मा रहेका बीभत्स तस्वीरहरू, सँगसँगै कर्णालीको न्यानो मायासमेत तँछाडमछाड गरी मेरो मानसपटलमा आइरहे। चाहेर पनि भुल्न नसकिने स्मृतिहरू लुकामारी खेल्नथाले।

अनिद्रा र थकान आकाशमा बिलाइरहेझैँ, अनि बादलसँग आफ्नै संवाद भइरहेझैँ लाग्थ्यो। लाग्थ्यो, हाम्रो कर्णाली साँच्चै कहिले बिउँझिएला? झ्यालबाहिर हेर्दा बादलमाथि आकाशमा कसैको वेदना र विद्रोहको स्वरले मलाई डोर्‍याइरहेको पो छ कि झैँ हुन्थ्यो। मानौँ, क्षितिजदेखि कसैले बोलाइरहेछ।

काठमाडौँ पुगेको साँझ कान्तिपुर थिएटरमा पुगेँ। त्यहाँ हलभित्रको अँध्यारोमा कर्णालीको खस भाषामा मागल गुन्जिरहेथ्यो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तीन दिने त्रिदेशीय (नेपाल, भारत र श्रीलंका सहभागी) नाटक महोत्सव शुरू भएको थियो। र त्यसको पहिलो दिन नेपालबाट कर्णाली समूहको नाटक ‘अछेता’ मञ्चन हुँदै थियो। यसले एकखाले गर्वको अनुभूति गरायो। अनि मेरो ध्यान स्टेजतर्फको प्रकाशमा केन्द्रित हुनपुग्यो। 

मञ्च (स्टेज) मा गीत गुन्जिरहेथ्यो। बाजा बज्दै थियो। नृत्य पनि चल्दै थियो। हलको चहलपहल र मौनता जिज्ञासामा बदलिँदै थियो। कर्णाली भेगको परम्परागत घर पृष्ठभूमिको निलो प्रकाशमा चम्किरहेको थियो। त्यसको एक छेउमा राता, सेता र पहेँलो रङका ध्वजा टाँगेर देवीदेउताको स्थान (थान)  बनाइएको थियो। लाग्थ्यो, कान्तिपुर थिएटरमा कर्णालीको एउटा झल्को नै आएर बसेको छ। दमाहा बजाउँदै कथा डोर्‍याउँदा कौतुहलता थपिँदै थियो। स्टेजमा झ्याप्प अँध्यारो हुनेबित्तिकै मन एक संवेदनादेखि अर्कोमा कुदे झैँ कथा बदलिन थाल्यो। 
स्टेजमा सेतो कमेरो र रातो माटोले लिपेको घर छ। घर छेउमा छ आरन। घरको पिँढीमा पानीको गाग्री र गिलास। गीता झ्यालमा बसेर गाउँछिन्। गीत सुनेर दल मुस्कुराउँछ। आरन चलाउँछ। 

null

गीता र दल नाटकका प्रमुख पात्र हुन्। उनीहरू श्रीमान् र श्रीमतीको भूमिकामा छन्। नाटकको कथाले मानिसको जात र वर्गमा आधारित जीवन संघर्ष बोकेको छ। यसका प्रमुख पात्र दल कामीलाई समाजमा अपहेलना गरी दले कामी भनेर बोलाउँने गरिन्छ। दलेले वर्षभर आरनमा फलाम पिटेर आफ्नो परिवारको भविष्य बनाउन सकेको छैन। समाजमा उसको सीप र श्रम चलेको छ, तर मन्दिरमा अछेता चलेको छैन। मिठोमसिनो खाने परकै कुरा भइगयो, बिहान बेलुका छाक टार्नसमेत धौ–धौ छ। न पेटमा पोष, न मनमा सन्तोष। सधैँ शोक र चिन्तामा पिरोलिएको यो जोडी अर्थात् दले र गीताको जोडीले तेस्रोपटक नवजात शिशु गुमाइसकेको छ। 

राष्ट्रिय जनगणना २०७८ अनुसार शिशु मृत्युदर प्रति हजार जन्ममा १७ जना छ। त्यस्तै, स्वास्थ्य सर्वेक्षण अनुसार नवजात शिशुको मृत्युदर प्रति हजारमा २१ जना रहेको छ। यसमध्ये कर्णाली प्रदेश उच्च शिशु मृत्युदर भएको प्रदेश हो। त्यसमा पनि दलित समुदायका शिशुको संख्या अझ धेरै छ। पोषणको कमी, स्वास्थ्य संस्थासम्मको कमजोर पहुँच, अशिक्षा र गरिबीका कारण मातृ स्वास्थ्य र शिशु मृत्युदर नाजुक अवस्थामा छ। जात व्यवस्थाको जाँतोमा पिल्सिएर ज्यान गुमाउनेको संख्यामा नवजात शिशुको आँकडा पनि उच्च हुनु अर्को उदेकलाग्दो तथ्य हो।
कर्णाली प्रदेश प्रकृतिपूजक र मस्टोपूजक मान्ने समाज हो। अन्यत्र जस्तो यहाँ हिन्दूत्ववादीको चर्को जडता नभए पनि रुढीवाद र अन्धविश्वास व्याप्त छ। एउटै देउता पुकार्दा उच्च वर्ग र जातका लागि शक्ति निर्माण गर्ने खुड्किलो बनिरहेको देखिन्छ। निम्न वर्गीय दलितलाई भने केवल वेदना र निराशा पैदा गरिरहेको देखाइन्छ। धर्म र राजनीति कथित माथिल्लो जात र हुनेखाने वर्गको आडमा हुन्छन् भनेर अछेताले प्रष्टसँग देखाउन खोजेको अनुभूति हुन्छ। 

खस सभ्यताको केन्द्र मानिने कर्णालीतिर मस्टो पुज्ने चलन छ। नाटकमा पनि बाह्रभाइ मस्टो खेल्दा प्रत्येकको  शरीर काँप्दै पवित्र भएको अभिनय गरिन्छ। शरीर काँपिरहेको अवस्थामा कथित उच्च वा निच जात छुट्टिँदैन। तर रोकिने वित्तिकै पुनः छुत र अछुत छुट्टिएको देखाइन्छ। जात, वर्ग र लिङ्गका आधारमा धार्मिक विभेद नाटकमा प्रष्ट देखिन्छ। वास्तविक रंगमञ्चजस्तै स्टेजमा पनि कलाकार जात, वर्ग वा लिंग तोकिएको सीमारेखा भित्रै बसिरहेका छन्। बाबिराको धामीले जालदेवी महिलालाई महिनावारी भएर संसार मैलो पारिस् भन्ने लान्छना लगाउँछन्। दले कामीलाई ‘देउताको थानमा आएर आँसु नझार्, तँलाई राम्रो नहोला’ भनेर पीडा पोख्नबाटै रोकिन्छ। 

null

(सिन परिवर्तन हुन्छ) हजारौँ वर्षदेखि आगोमा फलाम गाल्ने, धातु पगाल्ने र मूर्ति कुँदेर आएको समुदाय आज पनि मान्छे बन्ने अस्तित्वको लडाइँमा छ। श्रीमतीले बच्चा खेलाउँदै गर्दा दले आरनमा दलिएको हुन्छ। त्यतिबेला कथित उच्च जात र वर्गलाई प्रतिनिधित्व गर्ने गाउँको नेता आरनमा आइपुग्छ र एउटा सुन्दर मूर्ति बनाउन आदेश दिन्छ। विभाजनका रेखाहरू अदृश्य छैनन्। अन्जुलीभरि थापेका दलेका हातमा धामीले अलग्गैबाट २–४ गेडा अछेता बर्साएका छन्। थानको मन्दिरभित्र देउतासँग कथित उच्च जातका मानिस बसेका छन्। दले कामी मन्दिर बाहिरैबाट सुस्केरा हालिरहेछ।

अपहेलना गर्नेका स्वरहरू अलुने छैनन्। दले मूर्ति बनाउँछ। मन्दिर पुगेपछि भने आफैले बनाएको मूर्तिसमेत छुन पाउँदैन। श्रमको मूल्य समाजले दिएको छैन। उसको श्रम र भावनाको शोषण गर्दै दमन र विभेद गरेको प्रसंग नाटकमा देखिन्छ। दलेको छोरा बिरामी पर्दा मूर्ति बनाएको मूल्य माग्दा पछि ‘खलो लैजालास्’ भनेको सुनिन्छ। ‘खलो’ भनेको कथित उच्चजातका मानिसको काम गरिदिएबापत् दलितलाई दिइने कमसल खालको रहेपहेको अन्न हो। बालीघरे पनि भनिने यस्तो प्रथा कर्णाली भेगमा अझैसम्म पनि प्रचलित छ। खलखली पसिना बगाएर श्रम गरेका दलितले उचित पारिश्रमिक नपाई अझ खलो पनि नपाउँदा मन खल्लो हुन्छ। तर दलेले आरनमा फलाम पिटिरहँदा त्यसमा प्रतिरोधको आवाज बोलिरहेको अनुभूति हुन्छ

कथानकसँग विम्बात्मक हुनेगरी राखिएका सिन र विशेष अवसरमा गाइने गीतहरूको प्रयोगले दर्शकलाई मन खोलेर हाँस्ने पनि बनाउँछ। नाटकमा परम्परागत शैलीमै गाइएका ठाडिभाका, मांगल, देउडा, असारे भाका र बालो नाचलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। सुदूर कर्णालीको पहाडबाट यहाँसम्म आइपुगेका यी भाका महसुस गर्न मात्रै भए पनि  ‘अछेता’ हेर्ने मौका टिप्नैपर्छ।

समग्रमा नाटकको कथाले जात व्यवस्था, पितृसत्ता र वर्ग व्यवस्थाले आफ्नो गर्भमा हुर्काएका विभेद, दुःख र संघर्षका दृश्यहरू देखाएको छ। नाटकमा महिला पात्रको सशक्त भूमिका छ। र पनि पुरुषले उसको निर्णय मान्न नसकेको देखिन्छ। दले र गीताको छोरा विरामी पर्दा दले ‘देउताकोमा जाने, अछेता हेराउने’ भन्छ। गीता भने छोरालाई अस्पताल लैजाने भन्छिन्। रूढीवाद र अन्धविश्वासबाट माथि उठेकी महिलाको नेतृत्व स्वीकार्न नसकेको यो कथाले महिलाले भोग्नुपरेको अर्को उत्पीडन पनि देखाउँछ। प्रसव पीडा सहेर बच्चा जन्माउने महिला।

कहिलेकाहीँ त त्यहीक्रममा ज्यानै गुमाउँछन्। पाती फूल (कर्णाली र आसपासका ठाउँमा छोरा जन्मेपछि पितालाई परिवार र आफन्तहरूले लगाइदिने एउटा बिरुवा तितेपातीको पात र फूल) लगाउने र बधाई पाउने पुरूष? धन्यवाद र जयजयकार भने देउताको गरिएको छ। सबैभन्दा गाह्रो समयमा श्रीमान् सुत्केरीसँग नभएर पाती फूल थाप्न घरबाट बाहिर निस्कन्छ। गरिबीको कारण सुत्केरीले पोषिलो खान पाइरहेकी हुँदिनन्। तर देउताका लागि मूर्ति र अछेता जसरी भए पनि बनेका छन्।

null

हुन पनि यहाँ मन्दिरका लागि बजेट छुट्याइएकै छ। देउताका लागि छरिएका अछेता मानिसको जीवन बचाउन समेटिन सकेका छैनन्। ‘अछेता त सबै सकिगया, अब भाउकन क्या ख्वाउन्या’ भन्ने संवाद सुन्दा दर्शकलाई नै फलामको चिउरा चपाएको महसुस हुन्छ। अन्तरसम्बद्धताकै दृष्टिकोणबाट हेर्दा कथित उच्च जात र वर्गका दम्पत्ति सन्तान लाभको लागि लखनऊ उपचार गर्न जान्छन्। तर दले कामी र गीताले आफ्नो बिरामी छोरालाई सदरमुकामसम्म पुर्‍याउन सक्दैनन्। यस्ता कैयौँ कुराले बिझाउँछन्। नाटकमा बालो नाचपछि भाग्य लेख्ने सिनमा ‘भावीले भाग्य लेख्न्या भया हामीकन मात्र यस्तै दुःख हुँदो होला?’ भन्ने प्रश्नले उमेरले पाका देखिने महिला पात्र पनि भाग्यवादमा विश्वास गर्न हिच्किचाइरहेको महसुस हुन्छ। 
नाटकका निर्देशक गोविन्द सुनार नाटक सकिएपछि भन्दै थिए– ‘यो मेरो कथा हो। मैले जिएको स्मृति हो। यत्ति नै भन्छु, बाँकी महसुस गर्ने जिम्मा तपाईँको।’ कर्णालीकै दलित समुदायका प्रतिनिधि गोविन्दको लेखन तथा निर्देशन रहेको नाटकका अधिकांश कलाकार कर्णालीकै दलित र गैरदलित समुदायका छन्। नाटकमा बाल कलाकारको भूमिकामा रहेकी शिवानी परियारको अभिनय बुलन्द छ।

आफ्नै समाजको, आफैँले देखेभोगेको कथामा कलाकारको प्रशस्त मिहिनेत देखिन्छ। तर मुख्य भूमिकामा रहेका पात्रले कथालाई जति सक्नुपर्ने हो, त्यति महसुस गर्न नसकेको हो कि झैँ भान हुन्छ। कलाकारहरूले स्टेजको सेट दायाँ–बायाँ मात्र धेरै प्रयोग गरेको पनि अलि बेमेल देखिन्छ। धामी हेराउँदा रिसाउने पात्रको अभिनय गरिरहेकी जालदेवीको अभिनय अझै खुल्न सक्थ्यो। सुत्केरी बेथा लागेको बेला ‘उर्मिला तातोपानी ल्याऊ’ भन्दा उर्मिलाले तातोपनी दुवै हातको अँजुलीमा ल्याएर प्रसव पीडामा रहेकी महिलाको मुखमा खुवाएको जस्तो अभिनय गरेको देखिन्छ। यो देख्दा तातोपानी कसरी हातको अँजुलीमा? पोल्दैन त? बरू गिलासमा फू–फू गर्दै ल्याउन सकिन्थ्यो कि? भन्ने प्रश्नहरू स्व्तः उब्जिन्छन्। 

मुख्य पात्रको भूमिकामा रहेका दम्पत्तीको सशक्त छ। तर बिरामी नवजात शिशुलाई माया, वास्ता र प्रेम देखाउने भूमिकामा चुकेको जस्तो महसुस हुन्छ। शिशु स्याहार्दा प्रेम र भावनाका साथ सुस्तरी सुम्सुम्याउनु पर्नेमा जोडजोडले हल्लाउँदा खल्लो अभिनय देखिन्छ। (शिशु रबर वा प्लास्टिकको हुँदा हल्का महसुस भएको पनि हुन सक्छ। यदि त्यसो हो भने लत्ताकपडाको गुडिया वा अन्य कुनै गह्रौँ गुडिया प्रयोग गर्न सकिन्थ्यो।) स्तनपान गराउँदा एउटा चोलीको तुना खोलेर देखाउन सकिन्थ्यो। अनि बिरामी शिशुलाई काखमा च्यापेर श्रीमान् दलेलाई अस्पताल जान गुहार्न सकिन्थ्यो कि?

अन्त्यमा,
आर्थिक अभावका कारण उपचार नपाएर शिशुको मृत्यु हुन्छ। बुवाले नै उपचार नगरी धामीको अछेतामा विश्वास गर्दा नवजात शिशु गुमाउनुपरेको नाटकले देखाउँछ। तीन सन्तान (नवजात शिशु) को मृत्यु भइसकेपछिको वियोगान्त दलेले देउताका थानका ध्वजा, घण्टी र अछेतासँगै मृत शिशु गाडेको सिनसँगै नाटक सकिन्छ। यसमा अझै विद्रोह र प्रतिकार (सम्भवतः) देख्न चाहने दर्शकको चाहना नाटकले पूरा गर्दैन।

विम्बात्मक रुपमा बालकको मृत्यु कर्णालीका सुइनाको मृत्यु हुनु हो। नाटकमा सबै कलाकारको सक्रिय उपस्थिति देखिए पनि लेखनमा थप्न सकिने थुप्रै विषय सीमाभित्र रहेको महसुस हुन्छ। यस्ता नाटक हाम्रो समाज हेर्ने ऐना हुन् भन्दै गर्दा दलित र महिला पात्रलाई सधैँ दुःखी र बिचरा रुपमा प्रस्तुत गरिन्छ, त्यो यहाँ पनि छुटेको छैन। अनि उनीहरूले गरेको संघर्षको विजय देखाउनु पनि समाजप्रति कलाको दायित्व हो। अक्षेता नाटक राज्यले नाङ्गो आखाले हेर्न सकोस्– रोइरहेको कर्णाली, लासैलास गाडिएको माटो र संकल्पसाथ रोपिएका अछेता समेटिएको कर्णाली कथा!

हरेक पात्रको उही नियति भएको हेर्ने रहर अब छैन। जात व्यवस्थाविरुद्ध लडेका हरेक योद्दाका कथा लेखिऊन्। राज्यले स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र सचेतनाका लागि बलिया नीति निर्माण गरोस्। उपेक्षित कर्णालीका मान्छेको क्रन्दनले सिंहदरबारको निद्रा चाँडै खुलोस्। कर्णालीका मान्ठाका अनुहार सबैले उज्याला र खुसी देखून्। कर्णाली रुँदै मात्र होइन, ब्युँझिँदै पनि छ। कर्णालीका सुइना लाग्दा विरहको मात्रै होइन, हर्ष होस् भन्ने आशासहित नाटकको सम्पूर्ण टिमका लागि ताली बजाउँदै हलबाहिर निस्कँदासम्म पार्श्वमा अझै रुवाईको आवाज आइरहे झैँ लागिरह्यो। साँझ बिस्तारै रातमा बदलिँदै गर्दा अन्धकारमा प्रकाश खोजिहिँड्ने पात्रको खाँचो महसुस भइरहेथ्यो। आफ्नै छाँया पछ्याउँदै, गहको आँसु पुछ्दै, दृढ हुँदै फेरि अर्को यात्रा शुरू गर्ने संकल्प गर्दा मलाई लाग्यो– आखिर आँसु पनि त प्रतिरोध हो।

‘अछेता’ नेपाली समाजको यथार्थ चित्रण गर्ने एक उत्कृष्ट सन्देशमूलक नाटक हो भन्दा फरक पर्दैन। यस नाटकमा समाजमा रहेका अन्याय, विभेद, गरिबी तथा मानिसले भोग्नुपर्ने संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। कथावस्तु सरल भए पनि प्रभावकारी र भावनात्मक छ। नाटकले मानवता, आत्मसम्मान र सामाजिक चेतनाको महत्त्वलाई उजागर गरेको छ। नाटकका मुख्य पात्रहरूको अभिनय स्वाभाविक र जीवन्त देखिन्छ। उनीहरूको भूमिकाले दर्शकलाई कथाभित्रै डुबाउँछ। संवाद सरल, मिठासपूर्ण तथा सन्देशमूलक छन्। कतिपय संवादले समाजका विकृति र विसंगतिमाथि गहिरो प्रहार गरेका छन्।

मञ्च सजावट, प्रकाश व्यवस्था तथा संगीतले नाटकलाई अझ आकर्षक र प्रभावकारी बनाएको छ। निर्देशकको मिहिनेत र कलाकारको लगनले कतिपय दृश्यहरू असाध्यै भावुक तथा हृदयस्पर्शी बनेका छन् जसले दर्शकको मन छुन्छ। यद्यपि कतिपय दृश्य अलि लामो जस्तो लाग्छन्। समग्रमा अछेता समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सफल छ। नाटक अछेता शिल्पी थिएटर, बत्तिसपुतलीमा शनिबारदेखि मञ्चन भइरहेको छ। नाटक बुझ्न अछेता हेर्नैपर्छ, इच्छुकले हेर्न सक्नुहुन्छ।

(सामाजिक न्यायको क्षेत्रमा रुचि राख्ने लेखक अधिवक्ता हुन्।)