सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नेपालले चालेका कदम अपर्याप्त देखिएपछि निगरानी निकाय एफएटीएफले रणनीतिक सुधार र स्पष्ट कार्ययोजनाको सर्तसहित नेपाललाई 'ग्रे लिस्ट'मा नै निरन्तरता दिएको छ।
काठमाडौँ– सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स - एफएटीएफ)ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ (खैरो सूची)मा नै रहेको जनाएको छ।
नेपालले सुधारका प्रयास जारी राखे पनि ती अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक भएको एफएटीएफले जनाएको छ। एफएटीएफले यही असार ५ गते (१९ जुन) मा सोसम्बन्धी निर्णय भएको उल्लेख गरेको छ।
एफएटीएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी त्यसको कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझावसमेत दिएको छ। उसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्त पोषणसम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ बनाउन सुझाव दिएको छ।
सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिँदै एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाइ आवश्यक रहेको उल्लेख गरेको छ।
वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्नसमेत सुझाव दिइएको छ।
हुण्डीलगायत गैरकानूनी कारोबारको पहिचान र रोकथाम गर्न, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि गर्न तथा यसको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप चुस्त बनाउन सुझाव दिइएको छ।
वित्तीय समावेशीकरणमा बाधा नपुर्याई, अवैध मुद्रा तथा मूल्य हस्तान्तरण सेवा तथा हुण्डी कारोबार सञ्चालन गर्ने महत्त्वपूर्ण सेवा प्रदायकको पहिचान गरी उनीहरूलाई कानुनी कारबाही तथा सजाय गर्नुपर्नेमा जोड दिइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्ने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान एवं अभियोजनको संख्या र प्रभावकारिता बढेको प्रमाणित गर्नुपर्ने शर्त राखिएको छ।
जोखिमको प्रकृतिअनुसार अपराधबाट प्राप्त आय तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत तथा आवश्यकताअनुसार राज्यको स्वामित्वमा ल्याउने कार्य प्रभावकारी रूपमा गर्नुपर्नेछ। साथै, कार्ययोजनाअन्तर्गत रहेका रणनीतिक कमजोरी हटाई आफ्नो प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप प्रभावकारी बनाउनुपर्नेछ।
यसअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाललाई वि.सं. २०८१ फागुनमा खैरो सूचीमा राखिएको थियो। त्यसलगत्तै नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी)सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो।
यसअघि नेपाल सन् २०१४ मा खैरो सूचीबाट बाहिर निस्किएको थियो। त्यसबेला नियामकीय सुधार गर्ने स्पष्ट मार्गचित्र तयार पारी कार्यान्वयनमा ल्याएपछि एफएटीएफको प्रत्यक्ष निगरानी हटाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
