भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।
काठमाडौँ– जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते आक्रोशित प्रदर्शनकारीको समूह मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका गेट तोडेर भित्र प्रवेश गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्य भवन र गृह मन्त्रालयको भवनमा आगो सल्किइसकेको थियो। त्यो आगोले प्रधानमन्त्री कार्यालयको मुख्य भवनमा रहेका सबै कागजात, अभिलेख र सामग्री खरानी बने। अनि गृह मन्त्रालयका केही शाखाका दस्ताबेज र उपकरण पनि पूर्णरूपमा नष्ट भए।
बाँकी बचेका कागजात, इलेकट्रोनिक सामान र फर्निचर बोकेर कर्मचारीले गृह मन्त्रालयका लागि तयार पारेको नयाँ भवनमा हतार–हतार प्रधानमन्त्री कार्यालय खडा गरे। किनभने त्यहाँ तत्कालै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्ष तयार पार्नु थियो। अहिले सामान्य प्रशासन मन्त्रालयको स्वामित्वमा रहेको, तर परराष्ट्र मन्त्रालयले प्रयोग गर्दै आएको भवनमा भने गृह मन्त्रालय सञ्चालनमा ल्याइएको छ।
अब त करिब तीन साता बित्यो। यसबीचमा सिंहदरबारको मुख्य भवन मात्र नभई त्यस परिसरमा रहेका सम्पूर्ण सरकारी निकाय जलेर खरानी बनेको आशयका खबर सामाजिक सञ्जालमा भाइरल बने। कतिपय सञ्चारमाध्यमले यही नै सत्य हो झैँ गरी समाचार प्रवाह गरे। अनि आममानिसमा सिंहदरबार सखाप भएको विश्वास हुनु अनौठो भएन।
के भएको यही हो त? हामीले गरेको खोजबिनमा केही फरक परिदृश्य देखिए। सिंहदरबार परिसरमा रहेका कैयौँ मन्त्रालय र सरकारका अरू निकाय मात्र होइन, त्यहाँका महत्त्वपूर्ण अभिलेख, कागजात, र सरकारी सम्पत्ति आगोबाट जोगिएका रहेछन्। त्यसमा केही कर्मचारी र कार्यालय सहयोगीहरूले जोखिम मोलेर देखाएको साहसले भूमिका खेलेको छ।
रेडियो नेपाल भन्दै जोगाइएको उद्योग मन्त्रालय
सिंहदरबारको पश्चिमतर्फको गेट भत्काएर पसेका प्रदर्शनकारीले भवनहरूमा आगजनी शुरू गरेसँगै आकाशमा निस्किएको धुवाँको मुस्लोले ठूलै संकटको संकेत गरिरहेको थियो। त्यसबेला नजिकै रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यालय सहयोगी वसन्त रिमाल मात्र थिए। सबै कर्मचारी असुरक्षाको डरले घर गइसकेका थिए। वसन्त पनि डरविहीन त थिएनन्। तर मनमा एउटै कुरा मात्र थियो– जसरी भए पनि कार्यालय बचाउनुपर्छ।

यही अठोटसहित उनले हतार–हतार मन्त्रालयका सबै ढोका बन्द गरे। आफूले लगाएको सरकारी पोसाक बदले। र भवनबाट बाहिर आए। त्यतिबेला आगजनी र तोडफोड गर्दै अघि बढेको एउटा समूह रेडियो नेपालतर्फ सोझिइसकेको थियो। रेडियो नेपालको गेटभित्र कर्मचारीहरूले हात जोडेर बिन्ती गरिरहेका थिए, “रेडियो नेपाल देशको इतिहास हो, यहीँबाट जनताको आवाज पुग्छ। कृपया नजलाउनुहोस्।”
यो कुराले भीड केही रोकियो। र, उद्योग मन्त्रालयतर्फ लाग्यो। त्यहीबेला वसन्त अगाडि सरे। डरले काँपेको स्वरमा भने, “यो भाग पनि रेडियो नेपालकै हो हजुर।”
उनको कुराले आक्रोशित भीड केही अलमलियो। त्यही मौका छोपेर वसन्त नजिकै रहेको सेनाको टोलीसम्म दौडिए। सिंहदरबारभित्रको सैनिक गण त्यहीँ छेउमै छ। उनले सैनिकहरूलाई हात जोडेर गुहारे, “हजुरहरूले पनि हाम्रो मन्त्रालयलाई रेडियो नेपाल नै हो भनिदिनुहोस् है।” त्यसपछि सेनाले नै प्रदर्शनकारीलाई रोक्यो। यसरी उद्योग मन्त्रालय जल्नबाट जोगियो।
प्रदर्शनकारी त्यहाँबाट नफर्कँदासम्म वसन्तले रुघिरहे। कारण उनका लागि यो कार्यालय मात्रै थिएन, उनी बस्ने ठाउँ पनि त्यही थियो। उद्योग मन्त्रालयले उनलाई मन्त्रालय छेवैमा टिनको टहरोमा बस्ने व्यवस्था मिलाइदिएको थियो। “यतिका वर्ष काम गरेको कार्यालय, आफ्नै घर जस्तो माया लाग्छ नि!” वसन्त भन्छन्, “डरले मुटु काँपेको थियो, तर पनि प्रयास गर्नैपर्छ भन्ने लाग्यो। रेडियो नेपालका कर्मचारी देखेपछि मलाई पनि आँट आयो।”
महिला बालबालिका मन्त्रालय जोगाउने नन्दबहादुरको चलाखी
त्यस दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यालय सहयोगी नन्दबहादुर सहकारी मात्र थिए। बानेश्वरमा आन्दोलन चर्किरहेका बेला बुहारीले फोन गरेर भनेकी थिइन्, “सिंहदरबारमा पनि आन्दोलनकारी छिरेका छन्। तपाईं के गर्दै हुनुहुन्छ?”
त्यसबेला सिंहदरबारको दक्षिण गेटमा प्रहरी र सेना मात्र उभिएका थिए । तर पश्चिमतर्फ रहेको प्रधानमन्त्री कार्यालयबाट धुवाँ उड्न थालिसकेको थियो । नन्दबहादुरले सोचे– “यता आए भने कार्यालय जोगाउन अघि सर्छु, म जस्तो वृद्ध र गरिबलाई त मार्दैनन् होला नि!”
नभन्दै केही बेरमै दक्षिणी गेटबाट पनि आन्दोलनकारी छिरे। आसपासका कर्मचारी र प्रहरी भागे। तर नन्दबहादुर आत्तिएनन्। उनी बाहिरै बसिरहे। आँखा डरले झिम्किइरहँदा पनि मनमा एउटै आवाज थियो, “यो मन्त्रालय जोगाउनै पर्छ।”
प्रदर्शनकारीको एउटा समूहले मन्त्रालय परिसरमा रहेका सवारी साधनमा आगो लगाउन थाल्यो। अर्को समूहले मन्त्रालयको दर्ता गर्ने ठाउँको सिसा फुटाउन थालेपछि भने उनी अत्तालिए । हात जोडेर उनी बिन्ती गर्न थाले, “यो सिसा फुटाएर के हुन्छ? यहाँ जनताको चिठीपत्र आउँछ, यो कसैको घर होइन ।”

उनले यसो भन्दा त्यो समूह केही अलमलमा पर्यो। त्यहीबेला तीन युवा मन्त्रालयभित्र छिरेर मन्त्रीको कार्यकक्षमा रहेको टिभी बोकेर आए। नन्दबहादुरले सोधे, “यो कहाँ लैजाने?” उनीहरूले भने, “फुटाउने।”
नन्दबहादुरले फेरि हात जोडेरै बिन्ती गरे, “मेरो कोठामा राखिदिनु न बाबु। म गरिब हुँ, यत्रो वर्ष सरकारी नोकरी गरेँ, अझैँ टिभी हेर्न पाएको छैन।” युवाहरू झोक्किँदै टिभी फालेर हिँडे र भने, “ल, तँ बुढा आफै जोड्।”
नन्दबहादुरको यो चलाखी र आँटले सिंगो मन्त्रालय नै आगजनी र तोडफोडबाट जोगायो। त्यसपछि ढोकामा ताल्चा ठोकेर उनी भित्रै बसे। नन्दबहादुर सम्झन्छन्, “म बुढो मान्छे, कुट्लान् भन्ने डर पनि थियो। हात जोड्दा हातै काँपे। तर जनताको सेवा गर्ने ठाउँ जोगाउनुपर्छ भन्ने लाग्यो।”
कानून मन्त्रालय जोगाउन नक्कली आन्दोलनकारी बने केशव
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय देशका ऐतिहासिक कागजात र न्यायका दस्ताबेज सुरक्षित रहेको भवन हो। त्यस दिन मन्त्री यतै छन् भन्दै आक्रोशित भीड मन्त्रालयतिर सोझिँदा मन्त्रालयमा कार्यालय सहयोगी केशव मल्ल मात्र थिए । सिंहदरबारमा आगो सल्किन थालिसकेको देखेका मल्लले त्यतिञ्जेल मन्त्रालयका झ्याल–ढोकाहरू बन्द गरिसकेका थिए।
तर त्यो ताल्चाले मात्र मन्त्रालयको सुरक्षा गर्न सम्भव थिएन। भीड त्यतै आइरहेको देखेपछि मल्लले कार्यालय पोसाक फेरे र अर्को कपडा लगाएर मन्त्रालय पछाडिको सानो बाटोबाट त्यही भीडमा पुगेर मिसिए। त्यसपछि केही नाटक गरे। उनले त्यो भीडमा मिसिएर भन्न थाले, “साथीहरू, यो मन्त्रालयमा त धेरै ठूलो सन्धि सम्झौताका पत्र हुन्छन् । जल्यो भने त झन् न्याय पाइँदैन । नजलाऔँ, छोडिदिऔँ ।”
उनले यसो भनेपछि त्यो समूह केही हच्कियो। तर समूहका केही युवाले मन्त्रालयको भुईँ तलाको झ्याल फुटाउन थालिहाले। मल्ल फेरि अगाडि सरेर उनीहरूलाई सम्झाए। त्यसपछि झ्याल फुटाउन थालेकाहरू पछि हटे।
केहीले भने मन्त्रालय परिसरमा रहेका सरकारी गाडीमाथि ढुंगा हान्न थाले। अवस्था नियन्त्रणबाहिर जाँदै थियो। मल्ल आफ्नो जोखिम परवाह नगरी पछाडिपट्टि रहेका सैनिकहरूसम्म पुगेर बिन्ती गरे, “हाम्रा गाडीहरू बचाइदिनुहोस्, तिनले हाम्रो काम र जनताको सेवा गर्छन्।”

सेनाले मल्लको अनुरोध अस्वीकार गरेन। पाँच जना सैनिक जवान आएर गाडी तोडफोड गरिरहेका युवालाई सम्झाए। यो प्रयासले कानून मन्त्रालय र त्यहाँ राखिएका महत्त्वपूर्ण कागजातहरूमा हुनसक्ने क्षति जोगायो। “यो त मेरो घर जस्तै हो नि!,” मन्त्रालयको माथिल्लो तलामा बस्दै आएका कार्यालय सहयोगी मल्लले भने, “सरकारी सम्पत्ति तहसनहस हुँदै गरेको देखेर बस्न सकिनँ। त्यसलाई रोक्नु मेरो कर्तव्य थियो।”
हतारमा उचित निर्णय लिन सक्दा कानून मन्त्रालय जोगिएको उनी बताउँछन्।
राजकुमारको चलाखीले जोगियो सञ्चार मन्त्रालय
सञ्चार मन्त्रालयका अधिकृत राजकुमार दुलाललाई अघिल्लो दिन, भदौ २३ गते रातिबाटै लगाइएको निषेधाज्ञा र कर्फ्युबारे जानकारी थियो। तर परिस्थिति यति असहज भइसकेको थियो कि सरकारको तर्फबाट प्रवाह हुने सूचनाका लागि मात्र भए पनि कर्मचारी आवश्यक पर्न सक्ने ठानेर उनी २४ गते बिहान मन्त्रालय आइपुगेका थिए। अरू कर्मचारी भन्दा आफू अलि नजिकै (पुरानो बानेश्वर) बस्ने भएकाले उनी कार्यालय समयमै मन्त्रालय आइपुगेका थिए।
“सरकारको सूचना प्रवाहका लागि पनि संवेदनशील ठाउँ भएकाले हामी कोही न कोही आउनैपर्ने थियो। अरूभन्दा नजिक भएकाले म नै आएँ,” राजकुमार भन्छन्।

दिउँसो करिब ३ बजे सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेर आगो सल्काउन थालेको खबर पाएपछि उनी मन्त्रालयबाट आत्तिँदै बाहिर निस्किए। त्यहीबेला देखे, ४–५ जना युवा हातमा डिजेल र मट्टितेल लिएर सञ्चार मन्त्रालय परिसरमा रहेका गाडीहरूमा छर्किन थालिसकेका थिए। यो अवस्थामा के गर्ने के नगर्ने, राजकुमारले मेसो पाउन सकेनन्। धेरै सोचविचार नगरी उनले मन्त्रालयको अगाडि मोबाइल फ्रिक्वेन्सी मनिटरिङ सिस्टम रहेको, त्यसले वायरलेस डिभाइसलाई मनिटर गर्ने हुँदा त्यसलाई जलाए मनिटरिङ गर्ने काम नै बन्द हुनसक्छ भनेर उनीहरूलाई सम्झाए। उनीहरूले ठ्याक्कै के बुझे भन्ने त राजकुमारलाई पनि थाहा छैन। सम्भवतः मोबाइल पनि नचल्ने हुनसक्छ भन्ने बुझेर आगो लगाउन तम्सिएका युवाहरू रोकिए।
राजकुमारलाई केही आँट आयो। त्यहाँ मन्त्रालय मात्र नभई देशका महत्त्वपूर्ण सूचना प्रविधिका कुरा छन् भन्ने बुझाएपछि उनीहरु रोकिएको राजकुमार बताउँछन्।
“तैपनि युवाको जमात बढिरहेको थियो। त्यतिबेलै कसैले अकस्मात् गोली चल्यो भने। अनि युवाहरू मन्त्रालय अघिल्तिरका गाडीमा तोडफोड मात्र गरेर निस्किए,” राजकुमार भन्छन्, “अश्रुग्यास र गोली प्रहारबाट कसरी जोगिने भन्ने डरले म पनि धेरै बसिनँ। कर्मचारी पोसाकमै भएकाले लुक्दै अनामनगरतर्फ निस्किएँ।”
पदमकान्तले हात जोडिरहे
सिंहदरबारको पूर्वी गेटबाट पसेको आक्रोशित समूह संघीय मामिला तथा सामान्य मन्त्रालयमा छिर्दा त्यहाँ कार्यालय सहयोगी पदमकान्त तिम्सिना मात्र थिए। त्यस दिन असुरक्षा देखेर अरू सबै कर्मचारी घर गइसकेका थिए। अवस्था डरलाग्दो देखेपछि तिम्सिनाले तत्कालै मुख्य ढोकामा ताल्चा लगाए।

तर त्यो समूहले मन्त्रालय परिसरमा रहेका सवारीसाधनमा आगो सल्काउन शुरू गरिहाल्यो। ७० वर्षीय पदमकान्तका हात काँपिरहेका थिए। केही समय पहिले भाँचिएको खुट्टाको भर्खरै मात्र प्लास्टर खोलेका थिए। तर आफ्नो यो अवस्थालाई मतलब नगरी उनी हात जोडेर अनुनय गर्न थाले, “जो शासनमा आए पनि यो सार्वजनिक सम्पत्ति त चाहिएला नि, कृपया आगो नलाउनुहोस्।”
तर त्यो समूह उल्टै धम्कीमा उत्रियो, “बाँच्न मन छ भने यहाँबाट भाग् बुढा।”
पदमकान्तले फेरि भने, “म बुढो मान्छे, भाँचिएको खुट्टाको प्लास्टर भर्खरै झिकेको हुँ, भाग्न सक्दिनँ।” उनले हात जोडेर मन्त्रालयमा आगो नलगाउन अनुरोध गरिरहे। तर त्यो समूहले क्षणभरमै मुख्य गेट फोडेर मन्त्रालयको भुईंतलामा रहेको आन्तरिक प्रशासन शाखामा आगो सल्कायो। स्टोरसहित ६ वटा ढोका फोडेर ल्यापटप र अरू सरसामान लगे । तैपनि उनले हात जोडेर अनुनय गर्न छाडेनन्।
त्यसपछि त्यो समूह हिँड्यो। “म बुढालाई के गर्लान् र भन्ने लाग्यो, अनि नजलाउन, नतोड्न अनुरोध गरिरहेँ,” उनले भने, “६० वर्षको वृद्धले बारम्बार अनुरोध गर्दा आक्रोशित समूहले अन्तिममा दया देखाए जस्तो लाग्यो। मन्त्रालय बढी क्षति हुनबाट जोगियो।”
लुकेर बसे दिवस, ऊर्जा मन्त्रालय सखापै हुनबाट बचाए
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलिरहँदा छेउकै ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय कार्यालय सहयोगी दिवस थापा मात्र थिए। बाहिरपट्टि एक जना सुरक्षाकर्मी थिए। थापाले तत्कालै मन्त्रालयका सबै झ्याल–ढोका बन्द गरे। तर बाहिर प्रदर्शनकारीको चर्को नाराबाजी र ढुंगामुढाले स्थिति डरलाग्दो भइसकेको थियो। दिवस सम्झन्छन्, “त्यो क्षण मलाई आफ्नो ज्यान कसरी जोगाउने भन्ने चिन्ता पनि थियो, तर कार्यालय सखाप भएको हेर्न पनि मन थिएन।”

केहीबेरमै प्रदर्शनकारीको समूह ऊर्जा मन्त्रालयमा आइपुग्यो। भीडले मन्त्रालय परिसरका सवारी साधनमा जथाभाबी आगो लगायो। आगोको लप्को भवनको किचनसम्म फैलियो। आन्दोलनकारीले भुईंतलाका झ्याल–ढोकामा तोडफोडसमेत गरे। भवनमा रहेका ऐतिहासिक कागजात, उपकरण र सम्पत्ति क्षतिग्रस्त हुने लगभग निश्चित भइसकेको थियो। आन्दोलनकारीको आक्रोश शान्त नहुँदासम्म थापा छेउमै लुकेर बसे। तर भीड बाहिरिएपछि उनी चुपचाप मन्त्रालय परिसरमा फर्किए।
उनले जोखिम मोलेर आगो निभाउने प्रयास गरे। तत्कालै आफ्ना वरिष्ठ अधिकारीहरूलाई सम्पर्क गरेर जानकारी दिए। केही सामानहरू सुरक्षित स्थानमा सारे। “आगो निकै ठूलो थियो,” थापा सम्झिन्छन्, “निभाउने कोशिश गरेँ। तर, सबै आगो भोलिपल्ट मात्रै निभाउन सकियो।”
थापाको सुझबुझले मन्त्रालयमा लगाइएको आगो भवनका अरू कोठाहरूमा फैलिन पाएन। नजिकै रहेका गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा भएको क्षतिको तुलनामा ऊर्जा मन्त्रालय कम प्रभावित रह्यो। “मलाई थाहा थियो, त्यो बेला मेरो ज्यान पनि जोखिममा थियो। तर, म भागिनँ। जति सकिन्छ, जोगाउने कोसिस गरेँ,” उनले सुनाए।
हतार–हतार ढोका बन्द गर्दा कम क्षति भएको अर्थ मन्त्रालय
अराजक समूह ऊर्जा मन्त्रालयमा छिर्दा पछाडि रहेको अर्थ मन्त्रालयमा कार्यालय सहयोगी मात्र थिए। त्यो समूहले ऊर्जा मन्त्रालय परिसरमा आतंक मच्चाएपछि उनले हतार–हतार अर्थ मन्त्रालयका सबैतिरका ढोका र झ्याल लक गरे। र, आफू पनि असुरक्षित महसुस गरेपछि उनी मन्त्रालयबाट बाहिरिए।

त्यो समूहले अर्थ मन्त्रालयको मूल ढोका खोल्न अनेक बल लगायो, तर सकेन। केही सीप नलागेपछि त्यो समूहले मन्त्रालयको मुख्य भवनसँग जोडिएको अर्थ मन्त्रालयकै एक तले टहरोमा आगो झोस्यो। त्यहाँ रहेका कागजात र मन्त्रालयको गोदाम घर जले। तर मुख्य भवन सुरक्षित भयो। अहिले त्यही भवनबाटै मन्त्रालय चलायमान भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डे भन्छन्, “कर्मचारी साथीहरूको सावधानीले मन्त्रालयको मूल भवन जोगियो। हामीले घटनालगत्तै काम गर्ने मौका पायौँ।”
सिंहदरबारभित्र आन्दोलनकारी छिरेपछि त्यस दिन लुकेर ज्यान जोगाएका एक प्रहरी जवान भन्छन्, “हामीलाई आन्दोलनकारीले खोजीखोजी मार्न चाहिरहेका थिए। तर मन्त्रालयका कर्मचारी (कार्यालय सहयोगी) हरू आगोको बीचमा पनि त्यहीँ डटेर बसे। केहीले आफ्ना कमजोर र दयनीय अवस्था देखाएर आन्दोलनकारीलाई सम्झाए, केहीले नेपाली सेनाको सहयोग लिएर संरचना जोगाए। उनीहरूलाई हामीले सम्मान गर्नुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
गोविन्द खत्री

Vautik mantralaya jalaauna baata bachaaune Driver Krishna Kumar Ranjitkar ra kaa sa Suman Shrestha ko naam ta aayena khaii j kura maa ni raajniti ,aafno scooter jalera kharaani vayeta Pani mantralaya jalna diyenan
Mala lama ranjitkar
1 month ago