हिमाली र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत  बागमती र  गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ।  

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ। 

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र  गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशका हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।