विश्व मौरी दिवस

घारबाहिरको साँचो कथा

हामीले परागसेचनलाई मह मौरीसँग मात्र जोड्न थालेका छौँ। जसले परागसेचन भनेको मह मौरीकै काम हो भन्ने गलत बुझाइ पनि बनाएको छ।

हरेक वर्ष मे महिना लागेपछि एउटा सन्देश धेरै सुनिन्छ, मौरी बचाऔँ। मे २० मा मनाइने विश्व मौरी दिवसको आसपास यो सन्देश कक्षा कोठादेखि सामाजिक सञ्जाल, अभियानदेखि नीतिगत छलफलसम्म फैलिन्छ। यसको प्रभाव स्पष्ट छ, किनकि यसले परागणजस्तो महत्वपूर्ण विषयलाई आम मानिसको ध्यानमा ल्याएको छ। मौरी भनेपछि हामी मह सम्झिन्छौँ, फूल सम्झिन्छौँ, खेती सम्झिन्छौँ। अनि जब मौरी संकटमा छन् भनिन्छ, तिनलाई जोगाउनुपर्छ भन्ने भावना सहज रूपमा आउँछ। यसले मानिसलाई प्रकृतिसँग जोड्ने काम पनि गर्छ। तर यतिमै रोकिँदा एउटा ठूलो कुरा छुट्छ। समस्या जति सरल देखिन्छ, वास्तविकता त्यति सरल छैन।

हामीमध्ये धेरैले 'मौरी' भन्नेबित्तिकै मह बनाउने मौरीकै (मह मौरी) कल्पना गर्छौं। घारमा बस्ने, मानिसले पाल्ने, मह दिने मौरी। यो बुझाइ गलत होइन, तर अपूर्ण अवश्य हो। किनकि परागसेचन कुनै एक प्रजातिको काम होइन, यो धेरै किसिमका किराहरूले मिलेर गर्ने साझा प्रक्रिया हो। जङ्गली मौरी, झिँगा, पुतली र खपटे जस्ता अनेकौं किराहरूले फूलबाट फूलमा पराग सार्छन्। तिनीहरूमध्ये धेरैजसो न त मानिसले पाल्छन्, न त सजिलै देखिन्छन्। तर यिनै किराहरूको निरन्तर उपस्थितिले बोटबिरुवाको प्रजनन सम्भव हुन्छ, जैविक विविधता टिकिरहन्छ र हाम्रो खाद्य प्रणाली चलिरहन्छ। हामीले नदेखेका यिनै साना जीवहरूले हाम्रो जीवन सम्भव बनाइरहेका छन्।

प्रकृतिमा एउटै कामका लागि धेरै जीवहरूले फरक-फरक तरिकाले योगदान गर्छन्। केही किराहरू बिहान सक्रिय हुन्छन्, केही दिउँसो। केही चिसो मौसममा पनि काम गर्छन्, केही तातोमा। केही विशेष प्रकारका फूलमा मात्र जान्छन् भने केही धेरै ठाउँमा पुग्छन्। केहीले कम भ्रमणमै प्रभावकारी रूपमा पराग सार्छन्। यी सबै मिलेर एउटा सन्तुलन बनाउँछन्, र यही सन्तुलनले प्रणालीलाई स्थिर राख्छ। जब कुनै एक प्रजाति घट्छ, अर्कोले केही हदसम्म त्यसको काम सम्हाल्न सक्छ। यही विविधताले प्रणालीलाई बलियो बनाउँछ। प्रकृतिमा कुनै पनि काम एक्लैले हुँदैन, सधैँ सहकार्य हुन्छ।

तर हाम्रो सोच क्रमशः साँघुरिँदै गएको छ। हामीले परागसेचनलाई मह मौरीसँग मात्र जोड्न थालेका छौँ। 'मौरी बचाऔँ' भन्ने सन्देशले अरू परागसेचनकर्ताहरूलाई ओझेलमा पारेको छ। यसले परागसेचन भनेको मह मौरीकै काम हो भन्ने गलत बुझाइ पनि बनाएको छ। यस वर्षको विश्व मौरी दिवस 'मानिस र पृथ्वीका लागि सँगै' भन्ने सन्देशसहित आएको छ। यसलाई गहिराइमा बुझ्ने हो भने परागसेचन एउटा साझेदारी हो भन्ने कुरा स्पष्ट हुन्छ। यो केवल मानिस र मौरीबीचको सम्बन्ध होइन, प्रकृतिका धेरै जीवहरूबीचको सम्बन्ध हो। यो सम्बन्ध बुझ्न सकेनौँ भने समाधान पनि अधुरो रहन्छ।

हालका वैज्ञानिक अध्ययनहरूले पनि यही कुरा देखाएका छन्। किराहरू धेरै देखिँदैमा परागसेचन सधैँ बढ्छ भन्ने हुँदैन। शुरूमा किराहरूको फूल भ्रमण बढ्दा परागसेचन पनि बढ्छ। तर एक निश्चित बिन्दुमा पुगेपछि यो वृद्धि स्थिर हुन्छ। त्यसपछि थप मह मौरी थपिँदैमा उत्पादनमा खासै फरक पर्दैन। त्यसैले समाधान केवल मह मौरीको संख्या बढाउनु होइन। कुन किरा कति प्रभावकारी छ, कुन मौसममा सक्रिय छ, र परागसेचन प्रणाली कति विविध र सन्तुलित छ भन्ने कुरा झन् महत्वपूर्ण हुन्छ।

हामीले लामो समयदेखि एउटा सरल सोच बनाएका छौँ, मौरी धेरै भए परागसेचन धेरै हुन्छ र उत्पादन पनि बढ्छ। तर वास्तविकता त्यति सीधा छैन। परागसेचन संख्या मात्र होइन, समय, मौसम, बोटबिरुवाको प्रकार र किराहरूको व्यवहारसँग पनि जोडिएको हुन्छ। फूलले आवश्यक पराग पाइसकेपछि थप किरा आउँदैमा फल वा बीउ उत्पादन बढ्छ भन्ने हुँदैन। त्यसैले केवल मह मौरी बढाएर समस्या समाधान हुन्छ भन्ने सोच पर्याप्त छैन। कहिलेकाहीँ एउटै प्रजाति धेरै हुनु आफैँमा समस्या पनि बन्न सक्छ।

अर्को अध्ययनले एउटा महत्वपूर्ण कुरा देखाएको छ। जहाँ मह मौरी धेरै हुन्छन्, त्यहाँ अरू परागसेचन गर्ने किराहरूको व्यवहार बदलिन सक्छ। विशेषगरी जंगली मौरीहरू पहिले जस्तो धेरै किसिमका बोटबिरुवामा नजाने, सीमित ठाउँमा मात्र केन्द्रित हुने देखिएको छ। यसको अर्थ, मह मौरी धेरै हुँदा अरू किराहरूबीच प्रतिस्पर्धा बढ्न सक्छ र सबैलाई पर्याप्त स्रोत नपुग्न सक्छ। यसले परागसेचनको समग्र सन्तुलनमा असर पार्न सक्छ। यस्तो परिवर्तन तुरुन्तै नदेखिए पनि दीर्घकालमा यसको प्रभाव गहिरो हुन सक्छ।

यसको अर्थ मह मौरी महत्वहीन हुन् भन्ने होइन। खेतीपातीमा उनीहरूको भूमिका ठूलो छ, र धेरै किसानको जीविकोपार्जन पनि मौरीपालनसँग जोडिएको छ। नेपालमा करिब २ लाख ४९ हजार ६८० मह मौरीका घार छन्, जसमध्ये १ लाख १५ हजार १८३ घार दर्ता भएका किसानले व्यावसायिक रूपमा व्यवस्थापन गरेका छन्। नेपालमा वार्षिक करिब ६ हजार मेट्रिक टन मह उत्पादन हुन्छ। यसले मौरीपालनको आर्थिक र कृषि महत्व देखाउँछ। तर समस्या तब आउँछ, जब हामी मह मौरीलाई मात्र केन्द्रमा राख्छौँ र अरू परागसेचनकर्ताहरूलाई बिर्सन्छौँ। अहिलेसम्म विश्वभर करिब २१ हजार प्रकारका मौरी अभिलेख भएका छन्। नेपालमै पनि ५ प्रजातिका मह मौरी र १७३ भन्दा बढी जंगली मौरीहरू अभिलेख भएका छन्, जसमा कम्तीमा ३४ प्रजातिका भँवरा पनि पर्छन्। यस्तो विविधता हुँदाहुँदै परागसेचनजस्तो महत्वपूर्ण प्रक्रियालाई एउटै प्रजातिसँग मात्र जोडेर हेर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ। विविधता नै सुरक्षा हो।

नेपालको सन्दर्भमा यो कुरा अझ स्पष्ट देखिन्छ। यहाँको खेती प्रणाली प्रकृतिसँग नजिकै जोडिएको छ। खेत मात्र होइन, वरिपरिका वन, झाडी, घाँसे मैदान, खेतका कान्ला र खाली जमिन पनि परागसेचनका लागि महत्वपूर्ण हुन्छन्। तर अहिले यिनै वासस्थानहरू विस्तारै हराउँदै गएका छन्। शहरीकरण बढ्दै गएको छ, जमिनको प्रयोग बदलिँदै गएको छ, र धेरै ठाउँमा विषादीको प्रयोग पनि बढेको छ। जलवायु परिवर्तनले पनि थप दबाब दिएको छ। यी सबै परिवर्तन विस्तारै भइरहेका छन्, तर यसको प्रभाव गहिरो छ।

यी सबै कारणले परागसेचनकर्ताहरूमा दबाब बढेको छ। विशेषगरी जंगली परागसेचनकर्ताहरू अझ संवेदनशील हुन्छन्। वासस्थान नष्ट हुँदा, विषादी बढ्दा वा वातावरण बदलिँदा उनीहरू छिट्टै प्रभावित हुन्छन्। तर उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। केही बालीका लागि त उनीहरू झनै आवश्यक हुन्छन्। उनीहरू घटे वा हराए भने त्यसको असर उत्पादनमा पर्न सक्छ। समस्या के हो भने, यो सम्बन्ध हामीले धेरैपटक तुरुन्तै देख्न सक्दैनौँ।

किसानका लागि यो प्रत्यक्ष असर गर्ने विषय हो। परागसेचनमा समस्या आयो भने उत्पादन घट्न सक्छ, वा वर्षैपिच्छे अस्थिर हुन सक्छ। यस्तो अवस्थामा खेती अझ जोखिमपूर्ण बन्छ, विशेषगरी साना किसानका लागि। त्यसैले परागसेचन केवल किराको विषय होइन। यो खाद्य सुरक्षा, आम्दानी, ग्रामीण जीवन र हाम्रो दैनिक खानासँग जोडिएको विषय हो। तर समाधान खोज्दा हामी अझै पनि मह मौरीमै केन्द्रित हुन्छौँ। किनकि उनीहरूलाई व्यवस्थापन गर्न सजिलो छ। उनीहरूलाई पाल्न, सार्न र गन्न सकिन्छ। तर जंगली परागसेचनकर्ताहरूलाई त्यसरी नियन्त्रण गर्न सकिँदैन। उनीहरूलाई जोगाउन वासस्थान जोगाउनुपर्छ। त्यसका लागि प्रकृतिलाई ठाउँ दिनुपर्छ र प्रकृतिसँग मिलेर बस्न सिक्नुपर्छ।

त्यसैले अब सोच बदल्नुपर्ने समय आएको छ। परागसेचन जोगाउने भनेको मह मौरीको संख्या बढाउनु मात्र होइन। फूल भएका बोटबिरुवा जोगाउनु, वासस्थान जोगाउनु, विषादीको प्रयोग घटाउनु र खेतीलाई प्रकृतिसँग मिलाएर चलाउनु आवश्यक छ। हामीले खेत वरिपरिका झाडी हटाउँदा जमिन सफा देखिन सक्छ, तर त्यही ठाउँ धेरै किराहरूको घर हुन सक्छ। विषादी प्रयोग गर्दा बाली जोगिएको जस्तो लाग्न सक्छ, तर त्यसले उपयोगी किराहरूलाई पनि असर पारिरहेको हुन्छ। हामीले खाली जमिनलाई बेकार ठान्दा पनि त्यही ठाउँ धेरै परागसेचनकर्ताहरूको बासस्थान हुन सक्छ।

परागसेचन प्रणाली देखिनेभन्दा धेरै जटिल हुन्छ। यसको धेरै भाग हाम्रो आँखाबाट टाढा हुन्छ, तर त्यसको असर हाम्रो जीवनसँग नजिकै जोडिएको हुन्छ। “मौरी बचाऔँ” भन्ने सन्देश राम्रो शुरूआत हो। यसले ध्यान खिचेको छ। तर अब यतिले मात्र पुग्दैन। हामीले अझ फराकिलो सोच्नुपर्छ। अबको सन्देश हुनुपर्छ, परागसेचनकर्ता बचाऔँ, वासस्थान बचाऔँ, प्रकृतिको सन्तुलन बचाऔँ।

यसले मह मौरीको महत्व घटाउँदैन। बरु उनीहरूलाई सही सन्दर्भमा राख्छ। घार महत्वपूर्ण छ, तर घार मात्र पर्याप्त छैन। प्रकृति सन्तुलनमा चल्छ, र त्यो सन्तुलन विविधताबाट आउँछ।
अन्ततः, परागसेचन कुनै एउटै मौरीको काम होइन। यो धेरै जीवहरूको साझा प्रयास हो। यसलाई दीगो बनाउने हो भने हामीले घारभन्दा बाहिर पनि हेर्नुपर्छ। किनकि परागसेचनको साँचो भविष्य घारभित्र होइन, घारबाहिर बनिरहेको हुन्छ। यही साँचो कुरा अब बुझ्न र स्वीकार गर्न जरुरी छ।

(लेखक १० वर्षभन्दा बढी समयदेखि किराको अनुसन्धानमा संलग्न छन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)