आज राति कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने
फाइल तस्वीर

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ। साथै, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।