व्यंग्य

सबैभन्दा ठूलो देउता को?

सेवकहरू भन्दैछन्, "त्रीदेवमध्ये यिनै मूल हुन्। प्रजातन्त्रको मियो यिनै इष्टदेवको निवासमा गाडिएको छ। अन्यत्रका खम्बा सबै फलामका, यहाँको स्वर्णस्तम्भ। महाभेला गरेर प्रभुको शक्तिउपर सन्देह गर्नु पाप हो।"

सृष्टिको प्रारम्भमा विष्णु र ब्रह्माजीबीच 'को ठूलो?' भन्ने विषयमा गम्भीर विवाद भएछ। "मैले सृष्टि गरेको हुनाले म ठूलो" भन्ने दाबी ब्रह्माको रह्यो भने "मैले पालनपोषण गर्ने हुनाले म ठूलो" भन्ने तर्क विष्णुको। विवाद बढ्दै गएर युद्धको रूप लिन थाल्यो। यस्तो अनर्थ देखेर युद्ध रोक्ने र सत्यको बोध गराउने ध्येयले दुईका बीचमा अचानक विशाल, सुरु र अन्त्य नदेखिने ज्योतिर्लिंग (शिवलिंग) प्रकट भयो।

त्यसपछि आकाशवाणीमार्फत श्री महादेव (शिव) को स्वर सुनियो,"तिमीहरू व्यर्थैमा झगडा नगर। तिमीहरूमध्ये जसले यस लिंगको फेद र टुप्पो पत्ता लगाउन सक्छ, उही नै ठूलो ठहरिनेछ।" महादेवको चुनौती स्वीकार गर्दै वराह (सुँगुर) को रूप धारण गरेर विष्णु शिवलिंगको फेद पत्ता लगाउन पातालतिर गए भने ब्रह्मा: हाँसको रूप धारण गरेर शिवलिंगको टुप्पो पत्ता लगाउन आकाशतिर उड्छन्।

हजारौँ वर्ष खोजी गर्दा पनि लिंगको फेद भेट्टाउन सकेनन् र निराश भई फर्किए विष्णु। ब्रह्माजी पनि धेरै माथि पुगे, तर टुप्पो भेट्टाएनन्। थकित भई फर्कने क्रममा आकाशबाट तलतिर झरिरहेको एउटा फूल (स्वस्थानीमा असुरोको फूल उल्लेख छ) देखे उनले। उनले फूललाई सोधे, "तिमी कहाँबाट आउँदै छौ?" फूलले जवाफ दिइन्, "म धेरै वर्षदेखि यो स्तम्भको शिरबाट खसिरहेको छु, तर अझै फेद पुगेको छैन।"

टुप्पो नभेटे पनि आफूलाई ठूलो देखाउने लोभमा ब्रह्माले त्यस फूललाई झूटो गवाही दिन अनुरोध गर्छन्, "विष्णुको अगाडि गएर 'ब्रह्माजीले टुप्पो देख्नुभयो र म त्यहीँबाट आएको साक्षी हुँ' भनी झूटो बोलिदिनू।" दुवै जना पुनः मिलन बिन्दुमा आइपुग्छन्। विष्णु हार स्वीकार गर्छन्, तर ब्रह्मा आफूले टुप्पो भेटेको झुटो बयान दिन्छन्। फूलले पनि ब्रह्माले टुप्पो भेटेको सत्य भएको भन्दै गवाही दिन्छिन्।

ब्रह्माको झूट सुन्नासाथ ज्योतिर्लिङ्गबाट स्वयं महादेव क्रोधित मुद्रामा प्रकट हुन्छन् र विष्णुको संसारभर अलग मन्दिर र पूजा हुने, तर सृष्टिकर्ता भएर समेत झूट बोलेका कारण आइन्दा संसारमा तिम्रो पूजा हुनेछैन र कुनै मन्दिर बनाइने छैन भन्दै ब्रह्मालाई श्राप दिन्छन्। फूललाई पनि श्राप दिँदै आफ्नो पूजामा आइन्दा नचढ्ने र चढाउनेको पूजासमेत व्यर्थ हुने ठहर गर्छन्। यही कथाको प्रभावका कारण होला, त्रीदेवमध्ये एक भनिने ब्रह्माका मन्दिरहरू संसारमा दुर्लभ छन्। शिवपुराणको यो कथा सनातनीहरूको कान्छो ठानिइने पुस्तक स्वस्थानीमा समेत छ। दुवै पुस्तक शिव अर्चनासँग सम्बन्धित भएकाले दुवैले शिवलाई नै श्रेष्ठ ठहर गर्नु स्वाभाविक रह्यो।

ज्योतिर्लिंगको आदि र अन्त्य नभएझैँ मर्त्य लोकको नेपाल खण्डका कतिपय 'देवगण'को पनि बयान गरीसाध्य छैन। दक्षप्रजापितको यज्ञमा वीरभद्र र महाकालीको प्रलय भएझैँ यस भूखण्डमा जेनजी प्रलय भयो गत भदौ २४ मा। त्यसो हुँदा समेत आजका दिनमा पनि खड्गदेव, शेरदेव र प्रचण्डदेव यस भूखण्डका त्रिदेव हुन्। यी जता पुगे पनि जयजयकार जारी छ। 

तीन दशकयता आलोपालो पुजित यीमध्ये कोचाहिँ शक्तिशाली भन्ने प्रश्न उत्तिकै कठिन छ। तीन दशकमा जगतले झन्डै झन्डै यिनकै मात्र लीला देख्यो। यिनकै कलह र लीलाले 'ने' मुनीको यस तपोभूमीका जन व्याकुल भए भने त्रिदेवकै दयाले शान्त। यी तीनको शक्तिको आदि र अन्त्य अझै पत्ता लागेको छैन।

खड्गदेव
भाद्र प्रलयपछि खड्गदेव सैनिक वाहनमार्फत कुनै गुप्त इलाका अन्तर्ध्यान भए। च्यासल-लोकमा झन्डै दुई हप्ता शून्यता र शोक छायो। दुई हप्तासम्म कुलदेव प्रकट नहुँदा दर्शनार्थ सेवक जन व्याकुल बने। 'हा जेनजी, हा जेनजी' भन्दै ती विचेत भए। 'महाईश'ले गुन्डुमा देवपुर स्थापना गरेपछि भने प्रलय केही हदसम्म टरेको आभास भएको छ। देवपुर अहिले गुल्जार छ, भजनकृतन जारी छ।

भूतप्रेत, प्रथम गण आदि थुप्रिँदै र थपिँदै भन्दैछन्, "यो नेपाल खण्ड स्वयं खड्गदेवको कृपा हो। उहाँकै राष्ट्रवादको प्रतापले यो भूमि स्थिर छ। लोकतन्त्रका यी सबै पात उनकै इसारामा हल्लिरहेछन्। जाबो टिकटको के कुरा, सर्वै ज्ञान उहाँ अधीनस्थ छ। जेनजी प्रलय त दैत्यहरूको षड्यन्त्र हो। गुन्डुबाट एकै बाण हानेर प्रभोले हाम्रा सबै संकट अब दूर गराउँछन्, महाभेला त आउन पाओस्!" 

शेरदेव
जेनजी प्रलयमा अर्का महारथी शेरदेवमाथि त दैत्यहरूको नृशंस प्रहारै भयो, ज्यानमाथि धावा बोलियो, दरबारै दहन भयो। तर दैत्यका यस्ता उद्दण्ड हरकतबाट कति पनि विचलित हुनुहुन्न शेरदेव। ज्योतिषीको भविष्यवाणीलाई गलत ठहराउनु पाप हो भन्ने उहाँको सन्देश काठमाडौँको कुनै गुप्त आवास क्षेत्रबाट अहिले पनि प्रवाहित भइरहेको छ। सेवकहरू भन्दैछन्, "त्रीदेवमध्ये यिनै मूल हुन्। प्रजातन्त्रको मियो यिनै इष्टदेवको निवासमा गाडिएको छ। अन्यत्रका खम्बा सबै फलामका, यहीँको स्वर्णखम्वा। लोक चुनाउभन्दा पहिले नै महाभेला गरेर प्रभुको शक्तिउपर सन्देह गर्नु पाप हो। लोकको उन्नति उनकै निरन्तर सेवा र भक्तिमा निहित छ।" कृष्ण र कल्याण अहिले भजन गाइरहेछन्।

प्रचण्डदेव
प्रचण्ड देवको तुमुल ध्वनि अहिले पनि पेरिसपुरमा गुन्जेकै छ। दैत्यातंकको केही हप्ता विलुप्त उहाँ अहिले झन्डै दश साम्यवादी टाउकाहरू थुपारेर 'दश:पूर'को निर्माणमा जुट्नुभएको छ। यो दश:पूर हुन्छ या दशापुर, त्यो भविष्यकै गर्तमा छ, तर केही बलिया कमरेड-गणहरूले साथ छाडे पनि प्रचण्ड देवको गर्जन उस्तै छ। रातो वस्त्रमा लडाकु नृत्यसँगै क्रान्तिकारी भजन चलिरहेकै छ। भजनकर्ताहरू भन्दैछन्, "मुक्ति र विजयको रातो झन्डा केबल प्रचण्डदेवकै पलङमा सुहाउँछ।"

यी त भए तीन मूलेश्वरको कुरा, मर्त्यलोकमा अचेल युट्युब, फेसबुक र टिकटकबाट पनि देवहरू जन्मँदैछन्।

रविदेव
सारा षड्यन्त्र र जेलको फलामे ढोका नाघेर रविदेवको प्रताप मर्त्य लोकमा फैलँदो छ। आखिर वसुदेव पनि कंसको जेलमै परेका थिए। कैदमै कृष्णोदय भएको थियो। लोकले यो कुरा नबुझेको कहाँ छ र? घण्टी बजाउँदै सकल पूजक आरतीमा लामबद्ध छन्। रविकिरणको तीव्रता सहन नसक्ने असन्तोषीहरू भने आँखा छोप्दै छहारी खोजिरहेछन्।

कूलदेव
देवगणको लाइनमा आफ्ना कुल र वंशको मानका खातिर, बिजुलीको 'गुलुप' बोकेर रण मैदानमा आइपुगेका छन् अर्का देव। उपासकहरूको ठहर छ–सूर्यको उज्यालोसमेत धेरै हदसम्म कुलकै कृपा हो, जुनसुकै अँध्यारोलाई चिर्न सक्ने उनैबाट यस लोकको कल्याण र मुक्ति सम्भव हुनेछ। भक्तजनहरू भन्दैछन्, "देशभरका विद्युत् प्राधिकरणका कार्यालयहरूलाई नै स्वतः प्रार्थना स्थल बनाउँदा पो हुन्छ कि!"  

हर्षदेव
बराह क्षेत्र नजिकै प्रकट भएका यी देव लोकको विशेष रत्न हुन्। उनी ढुंगामा प्रकट हुन्छन् र माटामा मिल्छन्। डोको उनको शोभा हो, नाम्लो उनको गहना। फेसबुक उनको क्रीडास्थल। ढुंगाबाटै सुन फलाउने हुंकार गर्ने यी श्रमदेवको प्रतापमा लोक हर्क-बढाइँ गरिरहेछ। लोक भन्दो छ, "पापाचारमा डुबेको यस लोकलाई हर्कदेवले ढुंगाले नै थिचेर ठिक पार्नेछन्। लोक-चुनाऊ त आओस्, पापीहरूको भागाभाग हुनेछ।" 

खगेन्द्रदेव
लोहा-कवचमा उत्रिएर राजेश हमालको शैलीमा गर्जँदै बैरीहरूको हुर्मत लिने खगेन्देव निःसहायहरूको आशा र भरोसाका केन्द्र हुन्। झन्डै चित्रका विश्वकर्माझैँ फलामे माला लगाउने उनी भक्तजनसामु भन्दैछन्, "संकटमा मलाई आह्वान मात्रै गर्नु, बुलेट बाइकमै प्रकट हुनेछु।" 

चन्द्रदेव
चन्द्रकान्त (सिके) प्रभो स्वयंलाई मुक्तिदाता बताउन अप्ठ्यारो मान्नुहुन्न। कुनै बेला स्वदेशकै दक्षिणी खण्डलाई 'देवराज्य'का रूपमा अलग परिचय दिने उहाँको पहल थियो। मनुवाको जन्ममा उहाँले लोकलाई वैज्ञानिक र विद्वान भएर सेवा गरेको सत्य हो, तर यताका केही वर्ष उहाँ त्रिदेवहरूको रथमा समेत नारिनुभयो। रथको डोरी चुँडिने बित्तिकै ताण्डव स्तोत्र गाउने उहाँको महिमा अपरम्पार छ।

दुर्गादेव
जगत् जननी दुर्गाको अटल नामसँग नझुक्किनुस्। यी दुर्गा मर्त्य लोकका मसिहा हुन्। यस भूखण्डका तीनै देवको सेवा गरी भ्याएका यिनले भूतप्रेत, प्रथम गणलगायत सबैको साधना गरिसकेका छन्। यिनको तीनकुने ताण्डव विशेष रह्यो। यी जहाँ पुग्छन्, त्यहाँका दुखियालाई मुक्तिको बतासे मार्ग देखाउन सफल रहन्छन्। त्यसैले, सञ्जालमार्फत हुरुरु जनसमक्ष पुगिहाल्छन् र कर्कश सन्देश छाड्न (छाद्न!) भ्याइहाल्छन्। कतिपय निमुखा गण अझै पनि यिनबाट आशा गर्छन् र इन्टरनेट-भजन गाउँछन्।

झन्डै टपटेनमध्ये केही देवताहरूको यहाँ महिमा गाइयो, तर हामीसँग धेरै देउता छन्, प्राय: सबै सञ्जालबाट प्रकट भएका। तिनको चर्चा गरिसाध्य छैन। कुनै अर्थशास्त्रको मार्कसिट देखाउँछन् त, कुनै अक्सफोर्डका पात्रो, कोही डाक्टरी स्टेथस्कोप देखाउँछन् भने कोही बहुराष्ट्रिय मजेत्रो। कोही आकाशमा नगर बसाउने कुरा गर्छन् त कोही समुन्द्रमा। कोही इन्द्रासन सिधै धर्तीमा झार्ने कुरा गर्छन् त कोही गाँजाको सर्कोबाटै रैतीलाई देश दुनियाँ घुमाउने पर्यटकीय योजना ल्याउँछन्। यस्ता विचित्र देवका भजनहरू सञ्जालमा व्याप्त छ, मात्र स्मार्टफोन खोल्नुपर्छ। 

तर सबै सेवकको उस्तै ठहर छ-तिनका देव महाश्रेष्ठ हुन्। प्रश्नभन्दा माथि, केवल अर्चनाका लायक। तिनकै देवको तेज ज्यादा छ। उनकै ख्वामितको कद ठूलो छ। आफ्नै मालिकको डाँक चर्को छ। तिनकै प्रभुको शक्ति अपरम्पार छ। आफ्ना अधिपतिबाहेक सबै धुलाका कण हुन्। जगतमा अगाडि जेजे हुनेछ, आफ्नै मालिकको योजना र कल्पनामा हुनेछ। यिनै आदि नायकको पछि लाग्नु लोकको लागि कल्याणकारी हुनेछ भन्दै सञ्जालमा प्रथम गणहरू नाद गरिरहेछन्। 

को ठूलो भन्ने ठहर गर्न खप्पिस देवादीदेव हामीमाझ मर्त्य लोकमा हुनुहुन्न। मंसिरको जाडोमा बाजे कैलाशमै शिरोक ओढेर गुँडुल्किएका होलान्। यहाँका छोटेमोटे देउतामध्ये को ठूलो भन्ने ठहर गर्न त आउँदो फाल्गुनकै चुनाऊ कुर्ने त होला नि!

(उकालोको विचारखण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)