दमकमा तीन सवारी एकापसमा ठोकिए

झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

झापा– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोकनजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्टको टाउको, दुवै हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात र खुट्टामा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।