व्यक्ति होस्, परिवारको मुखिया होस्, कुनै संस्थाको प्रमुख होस् वा सरकार– आलोचना सुन्न सक्दैन भने उसले आत्मालोचना कसरी गर्छ?
तपाईंले यो नाममा पुस्तक नै लेख्नुभयो। खासमा यो संरचनात्मक लाभांश भनेको के हो?
हामी जीवनमा जति पनि उपलब्धि हासिल गर्छौं, ती उपलब्धि कति हाम्रो मिहिनेत वा प्रतिभाको कारणले हुन्छन् त? पक्कै पनि सबै मानिसमा कुनै न कुनै किसिमको प्रतिभा र मिहिनेत हुन्छ। मैले मिहिनेत र प्रतिभालाई नकारेको होइन, त्यो त चाहिन्छ। तर, त्योबाहेक हामीले जन्मिँदै केही फाइदा वा सुविधा पाउँछौँ। त्यसले पनि हाम्रा उपलब्धिलाई सघाइरहेको हुन्छ।
ती फाइदा विभिन्न प्रकारका हुन्छन्। यसका धेरै तह हुन्छन्। धेरै कारण हुन्छन्। जस्तो, तपाईं कुनै उच्च वर्ग, उच्च–मध्यम वर्ग वा मध्यम वर्गीय परिवारमा जन्मिनुभयो भने त्यसका लागि तपाईंले कुनै मिहिनेत गर्नुपरेन। कुनै विशेष प्रतिभा पनि चाहिएन। तपाईं त्यो परिवारमा जन्मिनु नै एउटा लाभ भयो। त्यस्तै, तपाईं पुरुष भएर जन्मिनुभयो। हाम्रो समाज अझै पनि धेरै हदसम्म पितृसत्तात्मक छ। यस्तो समाजमा पुरुष भएर जन्मिनुको आफ्नै फाइदा हुन्छ। त्यसका लागि पनि तपाईंले कुनै मिहिनेत गर्नुपरेन, कुनै प्रतिभा चाहिएन। जन्मकै आधारमा प्राप्त भएको संरचनात्मक लाभ हो त्यो।
त्यसैगरी, तपाईं कथित उच्च कहलिएको जातमा जन्मिनुभयो भने त्यसले पनि केही लाभ दिन्छ। त्यसका लागि पनि तपाईंले केही मिहिनेत गर्नुपरेको हुँदैन। त्यो पनि संरचनात्मक लाभांश भयो। अर्को कुरा, तपाईं कुन भूगोलमा जन्मिनुभयो? काठमाडौँमा जन्मिनुभयो वा कुनै दुर्गम गाउँमा जन्मिनुभयो? त्यो तपाईंको नियन्त्रणमा त हुँदैन, तर काठमाडौँमा जन्मिँदा शिक्षा, स्वास्थ्य, अवसर र पहुँचका हिसाबले केही अतिरिक्त लाभ पाउनुहुन्छ। त्यो पनि संरचनात्मक लाभांश हो।
शारीरिक अवस्था, जस्तै आँखा देख्नुहुन्छ, हातखुट्टा राम्रोसँग चल्छन् भने त्यसका लागि पनि तपाईंले मिहिनेत गर्नुभएको होइन। कोही मानिस जन्मँदै वा पछि दुर्घटनाका कारण दृष्टिविहीन वा अपांग हुन सक्छन्। उनीहरूको तुलनामा तपाईंले शारीरिक रूपमै केही लाभ पाउनुभएको हुन्छ। यसरी हेर्दा, संरचनात्मक लाभांशका धेरै रूप हुन्छन्। मानिस जन्मँदै ती लाभ लिएर आएको हुन्छ। मैले भन्न खोजेको यही हो।
पुस्तकमा राहदानी विभागको उदाहरण दिएर संरचनात्मक लाभांशले कसरी काम गरेको छ भनेर व्याख्या गर्नुभएको छ। राहदानी विभागकै अगाडि भर्खरै गणेश नेपालीले आफैलाई आगो लगाएर जीवन त्यागे। संरचनात्मक लाभांशको दृष्टिबाट यो घटनालाई कसरी हेर्नुहुन्छ?
यस्ता घटना बेलाबेला भइरहेका छन्। केही समयअघि प्रेमप्रसाद आचार्यको यस्तै घटना भयो। त्यही बेला रामदेव मरिक डोमको घटना भयो। उहाँहरू सबै संरचनाको पीडामा परेका मानिस हुनुहुन्थ्यो। रामदेव मरिक डोम त प्रेमप्रसाद आचार्यभन्दा संरचनात्मक रूपमा अझ बढी बञ्चित हुनुहुन्थ्यो। उहाँ दलित हुनुहुन्थ्यो, मधेशी हुनुहुन्थ्यो। नेपाली उहाँको मातृभाषा थिएन। उहाँले आत्मदाह गर्दा त्यो समाचार धेरै चर्चामा आएन। मुख्य समाचार नै बनेन। प्रेमप्रसाद आचार्यको घटना भने अलि बढी चर्चामा आयो। त्यसको एउटा कारण उहाँ नेपाली भाषामा राम्रोसँग लेख्न सक्नुहुन्थ्यो। उहाँले लेखेको नोटले धेरै मानिसलाई छोयो र देशमा केही तरंग आयो।
यसले के देखाउँछ भने संरचनामा को कति तल छ भन्ने कुराले पनि समाजको प्रतिक्रिया फरक पार्दो रहेछ। संरचनाको पीडामा परेका मानिसको बाध्यता र भोगेको जीवनलाई हामी (जो संरचनात्मक रूपमा अलि माथि छौँ) ले सजिलै बुझ्न गाह्रो हुने रहेछ।
अहिले गणेश नेपालीको घटनामा मैले सोसल मिडियामा धेरै टिप्पणी देखिरहेको छु। कतिपयले उहाँमा मानसिक समस्या थियो, त्यसैले यस्तो भयो लेखिरहेका छन्। यसरी भन्नसाथ हामी संरचनाको प्रश्नबाट हटेर व्यक्तिमा केन्द्रित हुन्छौँ। समस्या व्यक्तिको मात्र थियो भन्ने निष्कर्षमा पुग्छौँ। तर उहाँको जीवनलाई नियालेर हेर्ने हो भने हामीले अरू विभिन्न पक्ष हेर्नुपर्छ। गणेश नेपाली वर्गीय हिसाबले निकै कमजोर अवस्थामा हुनुहुन्थ्यो। उहाँ पुरुष हुनुहुन्थ्यो, त्यो एउटा संरचनात्मक लाभ थियो। तर उहाँ गरिब हुनुहुन्थ्यो। दलित समुदायको हुनुहुन्थ्यो। आर्थिक अवस्था अत्यन्त कमजोर थियो। उहाँले ऋण लिएर मोटरसाइकल किन्नुभएको थियो र त्यो ऋण तिर्नुपर्ने दबाब पनि थियो। घटनाको दिन पनि उहाँ पार्किङ गरेर बस्नुभएको थिएन भन्ने कुरा आएका छन्। उहाँ यात्रु कुरेर बसिरहनुभएको थियो। यस्तो अवस्थामा नगर प्रहरीले चिट काट्नुअघि संवाद गर्न सक्थ्यो कि सक्दैनथ्यो भन्ने प्रश्न पनि छ।
बृहत् नागरिक आन्दोलनसँग जोडिएपछि मैले नगर प्रहरीसँग धेरै पटक भेटेको छु। उहाँहरू राज्यको कानून कार्यान्वयन गर्ने कर्मचारी हुनुहुन्छ। तर मलाई लाग्छ, उहाँहरूलाई संवेदनशीलता सम्बन्धी पर्याप्त प्रशिक्षण पुगेको छैन। मैले यस विषयमा उच्च तहका प्रहरी अधिकारीसँग पनि कुरा गरेको छु। मेरो प्रश्न के हो भने, कानून कार्यान्वयन गर्ने व्यक्तिलाई मानवता भनेको के हो, जातीय विभेद भनेको के हो, संरचनात्मक असमानता भनेको के हो भन्ने विषयमा पनि प्रशिक्षण आवश्यक छ। धेरैजसो अवस्थामा उहाँहरू आफूलाई राज्यको एउटा शुद्ध औजारका रूपमा प्रस्तुत गर्नुहुन्छ। ‘मेरो काम चिट काट्ने हो, म चिट काट्छु’ भन्ने ढंगको व्यवहार देखिन्छ। बोल्ने शैली पनि त्यस्तै हुन्छ। उहाँहरूले हामीलाई नै धेरै पटक हप्काएर बोलेको अनुभव छ।

कानून लागू गर्नु आवश्यक छ। तर लागू गर्नेक्रममा मानवीय संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ। त्यही संवेदनशीलताको अभावलाई मैले संरचनात्मक असंवेदनशीलता भनेको हुँ। कुनै व्यक्तिको व्यक्तिगत असंवेदनशीलता एउटा कुरा हो, तर जब त्यही असंवेदनशीलता व्यक्ति, संस्था, प्रशासन र राज्यका विभिन्न संयन्त्रमा दोहोरिँदै जान्छ, त्यसले अन्ततः राज्यकै संरचनात्मक असंवेदनशीलताको रूप लिन्छ। गणेश नेपालीको घटना राज्यको असंवेदनशीलताको परिणाम हो।
सामाजिक सञ्जाल र सदनमै कतिपय सांसदले पनि यो विषय उठाए। तर नेपालमा दैनिक आत्महत्या गर्नेको संख्यासित जोडेर यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा सामान्यीकरण गर्ने प्रयास पनि गरियो। यस्तो व्याख्या कत्तिको खतरनाक छ?
यो एकदमै गलत हो। हाम्रो समाजमा यस्ता घटनालाई सामान्यीकरण गर्ने प्रवृत्ति छ। जस्तो, रुकुममा दलित युवाहरूको हत्या भएको घटना सम्झनुस्। त्यसबेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस्तै प्रकारले घटनालाई सामान्यीकरण गर्न खोज्नुभयो। उहाँजस्तो सशस्त्र संघर्षको नेतृत्व गरेको व्यक्ति त झन् पीडित समुदायप्रति बढी संवेदनशील हुनुपर्नेमा उल्टो यस्ता घटना त भइरहन्छन् भन्ने जसरी व्याख्या गर्नुभयो। यो भनेको घटनाको सामान्यीकरण हो। जब हामी कुनै गम्भीर घटनालाई यसरी सामान्य बनाउँछौँ, हाम्रो संवेदनशीलता बिस्तारै हराउँदै जान्छ। अहिले समाजमा संवेदनशीलता हराउँदै गएको छ।
१५–२० वर्षअघि सानो घटनाले पनि धेरैलाई छुन्थ्यो। अहिले सोसल मिडियाका टिप्पणीहरू हेर्नुभयो भने मानिसमा संवेदनशीलता निकै घटेको देखिन्छ। गणेश नेपालीको घटनाले केही मानिसलाई झस्काएको देखिए पनि समग्रमा हेर्दा, हाम्रो समाजमा संवेदनशीलता घट्दै गएको छ। धेरैले ‘यस्तो त भइरहन्छ’, ‘यो त सामान्य हो’ भन्ने ढंगले प्रतिक्रिया दिन थालेका छन्।
मानसिक स्वास्थ्यको विषयलाई पनि हामी प्रायः व्यक्तिगत समस्याका रूपमा मात्रै बुझ्छौँ। धेरै सैद्धान्तिक बहसमा नजाऔँ, ‘पागल’ भन्ने अवधारणा कहाँबाट आयो? समाजले कसरी कसैलाई ‘पागल’ भनेर परिभाषित गर्न थाल्यो भन्नेबारे दार्शनिक मिचेल फुकोले विस्तृतमा चर्चा गर्नुभएको छ। मैले पनि पुस्तकमा केही चर्चा गरेको छु। पागलपनका व्यक्तिगत कारण पनि हुन सक्छन्, तर यसका सामाजिक कारण पनि छन्। अमेरिकाको तथ्यांक हेर्नुभयो भने तुलनात्मक रूपमा पागल भनिएकाहरूमा अश्वेत अमेरिकी, श्रमिक वर्ग र नेटिभ अमेरिकी समुदायको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ। मानसिक स्वास्थ्य समस्या उच्च वर्ग, मध्यम वर्ग, महिला वा पुरुष सबैलाई हुनसक्छ। तर तथ्यांकले जति मानिस संरचनाको पिँधमा पर्दै जान्छ, उसलाई मानसिक रूपमा अस्थिर भनेर समाजले परिभाषित गर्ने सम्भावना बढी देखाउँछ। त्यसकारण, पागलपनलाई केवल व्यक्तिगत समस्याका रूपमा हेर्न मिल्दैन।
नेपालमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने संस्कार अझै विकास भएको छैन। जसरी हामी मधुमेह वा अन्य शारीरिक रोगबारे खुलेर कुरा गर्छौँ, मानसिक स्वास्थ्यबारे पनि खुला रूपमा छलफल हुनुपर्छ। त्यसो भन्दैमा आत्महत्या वा आत्मदाह गर्ने व्यक्तिलाई सिधै ‘ऊ त मानसिक रूपमा अस्थिर थियो’ भन्ने होइन, बरु त्यसको सामाजिक कारणहरूमा जानुपर्छ। यस्ता घटनामा सामाजिक कारण पनि हेरिनुपर्छ।
तपाईंले पुस्तकमा ‘जसलाई जति बढी संरचनात्मक लाभांश प्राप्त हुन्छ, उसको संरचनात्मक असंवेदनशीलता पनि त्यति नै मौलाउँदै जान्छ’ लेख्नुभएको छ। यसलाई अलि व्याख्या गरिदिनुस् न।
समाजशास्त्र, मानवशास्त्र वा अन्य सामाजिक विज्ञानमा हामी प्रायः समाजलाई बाहिरबाट हेर्छौं। समाजमा विभेद छ, महिलामाथि विभेद छ, दलितमाथि विभेद छ भनेर विश्लेषण गर्छौं। विश्लेषण गर्न आवश्यक पनि छ। तर आफैतिर फर्केर हेर्न भने अलि गाह्रो हुन्छ। यहाँ म आफ्नै उदाहरण दिएर प्रष्ट पार्न चाहन्छु।
कुनै बेला मलाई लाग्थ्यो– मैले जीवनमा जे–जति लेखेँ, पढेँ, गरेँ, त्यसको कारण मेरो आफ्नै प्रतिभा र मिहिनेत हो। बिस्तारै आफूलाई प्रश्न गर्दै, घोत्लिँदै जाँदा मलाई के महसुस हुन थाल्यो भने मिहिनेत र प्रतिभा त थिए नै, त्यसको पछाडि विभिन्न संरचनाहरूले पनि काम गरेका रहेछन्। म एउटा निश्चित वर्गमा जन्मिएँ। त्यो वर्गले पनि मेरो सफलतालाई सघाएको रहेछ। म जत्तिकै वा म भन्दा बढी प्रतिभाशाली मानिसहरू पनि समाजमा छन् भन्ने मलाई थाहा छ। मेरा कतिपय साथीभाइले यदि मेरो जत्तिकै वर्गीय लाभांश प्राप्त भएको भए उनीहरू म भन्दा धेरै माथि पुग्न सक्थे होलान् भन्ने लाग्न थाल्यो। त्यस्तै, महिलाको बारेमा सोच्न थालेँ। यदि पुरुष भएर जन्मिएको भए अझ अगाडि बढ्न सहज हुन्थ्यो होला कि!
मैले आफैलाई प्रश्न गर्न शुरू गरेपछि यी विचार मनमा आउन थाले। मैले त्यसअघि वर्ग, जात, लिङ्ग र भूगोलसँग जोडिएका धेरै असंवेदनशीलता रहेछन् भन्ने महसुस गरेको थिइनँ। त्यसपछि ती असंवेदनशीलतासँग निरन्तर जुध्न थालेँ। अहिले पनि म त्यसबाट पूर्णरूपमा मुक्त भइसकेँ भन्ने होइन। यो त जीवनभर चलिरहने प्रक्रिया हो। आत्मालोचना र आत्मसमीक्षा निरन्तर गरिरहनुपर्ने काम हो। म धेरै कुरामा पहिले भन्दा सचेत भएको छु। तर आफूलाई थाहा नभएका कति असंवेदनशीलता अझै पनि म भित्र हुन सक्छन्।

जति धेरै संरचनात्मक लाभांश तपाईंले प्राप्त गर्नुभएको हुन्छ, त्यति नै तपाईंको जीवन सहज हुँदै जान्छ। जीवनका धेरै ढोकाहरू तपाईंका लागि सजिलै खुल्छन्। जब जीवन सहज बन्छ, त्यसपछि मानिसले धेरै कुरा सोच्दैन। त्यसैले, जति धेरै संरचनात्मक लाभांश प्राप्त हुन्छ, त्यति नै संरचनात्मक असंवेदनशीलता पनि बढ्दै जान सक्छ।
पुस्तकमा आत्मालोचनालाई प्राथमिकतासाथ उठाउनु भएको छ। आत्मालोचना जरुरी छ भन्नुभएको छ, त्यो कसरी हुनसक्छ?
यो मुख्यतः व्यक्तिगत प्रयासबाट शुरू हुने कुरा हो। तर, परिवार, समुदाय, विद्यालय र समाजका सबै तहमा हामीले अर्काको कुरा सुन्ने, एक–अर्कालाई प्रश्न सोध्ने र आलोचनालाई स्वीकार गर्ने संस्कारको विकास गर्नुपर्छ। हाम्रोमा अर्काको कुरा सुन्ने बानी नै कम छ। जहाँ गए पनि मानिसहरू आफ्नै कुरा भन्न हतारिएका देखिन्छन्। अरूको कुरा ध्यान दिएर सुन्ने, आफ्नो आलोचना सुन्ने बानी नै छैन। हामी प्रायः प्रशंसा सुन्न चाहन्छौँ। प्रशंसाले केही क्षण खुसी त बनाउँछ, तर त्यसले व्यक्तिलाई धेरै परिवर्तन गर्दैन। कसैले कठिन आलोचना ग¥यो भने शुरूमा रिस उठ्न सक्छ। तर पछि शान्त भएर सोच्दा ‘सायद यसमा केही सत्य थियो कि? मैले आफैलाई दोहोर्याएर हेर्नुपर्ने हो कि?’ भन्ने प्रश्न उठ्न सक्छ। त्यहीँबाट आत्मालोचना शुरू हुन्छ।
कसैले एक्लै कोठामा बसेर आफैलाई प्रश्न गर्दा पनि हुन्छ। त्यो पनि एउटा उपाय हो। बिहान हिँड्दा, एक्लै यात्रा गर्दा वा आफूलाई समय दिँदा पनि मानिसले आफैलाई प्रश्न गर्न सक्छ। तर आत्मालोचना सामूहिक अभ्यास पनि हो। परिवारमै हेरौँ। हाम्रो समाज अझै पनि धेरै हदसम्म पितृसत्तात्मक छ। परिवारमा प्रायः पुरुषलाई मुखियाका रूपमा हेरिन्छ। उसले श्रीमती वा सन्तानको कुरा कति सुन्छ? उनीहरूलाई बोल्ने वातावरण कत्तिको तयार भएको छ? जो शक्तिमा हुन्छ, उसैले अरूलाई बोल्न प्रोत्साहित गर्नुपर्छ। ‘मलाई कठिन प्रश्न सोध, म गल्ती गर्छु भने भन’ भन्ने वातावरण उसैले बनाउनुपर्छ।
यही कुरा समुदाय र सरकारमा लागू हुन्छ। लोकतान्त्रिक समाजमा आन्दोलनकारीले प्रश्न उठाइरहन्छन्। यदि सरकारले सुन्नै चाहँदैन भने त्यसले आलोचना पनि सहन सक्दैन। व्यक्ति होस्, परिवारको मुखिया होस्, कुनै संस्थाको प्रमुख होस् वा सरकार– आलोचना सुन्न सक्दैन भने उसले आत्मालोचना कसरी गर्छ? त्यसैले आलोचना सुन्ने वातावरण पनि बनाउनुपर्छ। ‘मेरो पनि कुनै ब्लाइन्ड स्पट हुन सक्छ’ भन्ने स्वीकार गर्ने संस्कार आवश्यक छ। मलाई लाग्छ, हाम्रो समाजमा यो अभ्यास कमजोर छ।
पुस्तकमा डिजिटल पूँजी र सांस्कृतिक पूँजीको पनि चर्चा गर्नुभएको छ। संरचनात्मक लाभांशले यसमा पनि प्रभाव पार्दोरहेछ? हामीले कोभिडको समयमा काठमाडौँका कतिपय विद्यालयमा विद्यार्थीले अनलाइनबाट पढ्न पाएको देख्यौँ, तर दूरदराजका विद्यार्थी विद्यालय जान र अनलाइन पढ्न पाएनन्। यसले आधारभूत शिक्षामा पनि संरचनात्मक असमानता देखायो होइन?
पक्कै देखायो। मैले पुस्तकमा पनि यही विषयमा चर्चा गरेको छु।
म विद्यालय पढ्दाको समय अहिलेको भन्दा धेरै फरक थियो। हाम्रो पालामा अंग्रेजी माध्यमका बोर्डिङ स्कुल थिएनन्। अधिकांशले सरकारी विद्यालयमै नेपाली माध्यमबाट पढ्यौँ। व्यक्तिगत रूपमा हेर्दा, त्यसबाट मलाई फाइदा नै भयो जस्तो लाग्छ। किनभने त्यतिबेला मेरो फरक–फरक पृष्ठभूमिका साथीहरू बने। उदाहरणका लागि, चर्चित साहित्यकार कृष्ण धरावासी मेरा साथी हुनुहुन्छ। हाम्रो वर्गीय पृष्ठभूमि फरक थियो, तर हामी एउटै सरकारी विद्यालयमा पढेकाले सँगै हुर्कियौँ। अहिले पनि उहाँ मेरा सबैभन्दा पुराना साथीमध्ये एक हुनुहुन्छ। केही दिनअघि पनि कृष्णजीसँग यही विषयमा कुरा भइरहेको थियो। यदि त्यतिबेलै अहिलेजस्तो अंग्रेजी माध्यमका निजी विद्यालय थिए भने सम्भवतः हाम्रो भेट नै नहुन सक्थ्यो। भन्नुको मतलब त्यतिबेला सबैजना एकै ठाउँमा आउने अवस्था थियो, अहिले छैन।
मैले त्रिभुवन विश्वविद्यालयमा पढाउँदा पनि यही कुरा अनुभव गरेको छु। मास्टर्स तहमा आउँदा एउटा विद्यार्थी नेपाली माध्यमको सरकारी विद्यालयबाट आएको हुन्छ, अर्को विद्यार्थी भने अंग्रेजी माध्यमको निजी विद्यालयबाट। अंग्रेजी माध्यमबाट आएका विद्यार्थीको अंग्रेजी स्वाभाविक रूपमा राम्रो हुन्छ। त्यसमा उनीहरूको कुनै गल्ती छैन, तर त्यसबाट साथी सर्कल नै छुट्टिँदै जाने रहेछ। उनीहरूको साथीको घेरा अलग हुन्छ, उनीहरू जाने क्याफे फरक हुन्छन्, संगीत, फिल्म र अन्य सांस्कृतिक रुचि पनि फरक–फरक बन्दै जान्छ। यसरी शिक्षा प्रणालीभित्रै सामाजिक विभाजन निर्माण हुँदै जाने रहेछ।

अहिलेको विश्वमा अंग्रेजी एक प्रकारको ग्लोबल करेन्सी जस्तै बनेको छ। भविष्यमा अर्को भाषा पनि हुन सक्छ। तर अहिलेको सन्दर्भमा अंग्रेजीमा दक्षता आफैमा एउटा सांस्कृतिक पूँजी हो। त्यसैले राम्रो निजी विद्यालयमा पढ्ने विद्यार्थी सांस्कृतिक रूपमा अतिरिक्त लाभ लिएर अघि बढिरहेको हुन्छ। यो सांस्कृतिक पूँजी चाहिँ डिजिटल पूँजीसँग पनि जोडिन्छ। अहिलेको डिजिटल संसारमा कसको इन्टरनेटमा कस्तो पहुँच छ, कसले कुन प्रविधि प्रयोग गर्न सक्छ, त्यो पनि महत्वपूर्ण बन्दै गएको छ।
मैले पुस्तकमा यसलाई प्राविधिक लाभांश भनेको छु। आगामी दिनमा हामी यसप्रति सचेत भएनौँ भने यो असमानता अझ बढ्न सक्छ। किनभने नयाँ–नयाँ प्रविधि आइरहेका छन्। एआई त अहिले शुरूवाती चरणमै छ। हामी अहिले च्याटजीपीटी, क्लाउड जस्ता एआईको प्रयोग गर्न थालेका छौँ। तर आगामी दिनमा अझ उन्नत संस्करणहरू आउनेवाला छन्। त्यसमध्ये धेरै प्लेटफर्म चलाउन पैसा तिनुपर्ने हुन्छ। आर्थिक रूपमा सक्षम व्यक्तिले ती उन्नत प्रविधि सहजै प्रयोग गर्न सक्नेछन्, तर आर्थिक स्रोत सीमित भएका मानिस त्यसबाट वञ्चित हुन सक्छन्। यसले पहिलेदेखि नै केही सहज अवस्थामा रहेका मानिसलाई अझ बढी सुविधा दिने सम्भावना हुन्छ। यही नै प्राविधिक लाभांश हो।
प्रविधि आउनु आफैमा नराम्रो होइन। प्रविधि सबैका निम्ति एकै किसिमबाट नआउन सक्छ। यदि प्रविधिमा सबै मानिसको पहुँच समान भएन भने त्यसले नयाँ प्रकारको विभाजन सिर्जना गर्छ। प्रविधिले मानिसलाई नजिक–नजिक पनि ल्याउँछ। अहिले इन्टरनेटमा धेरैलाई समान पहुँच छ। विभिन्न वर्ग, जात र समुदायका मानिस पनि प्रविधिसम्म पुग्न थालेका छन्। यसले समान अवसर सिर्जना गर्ने सम्भावना पनि राख्छ। तर प्रविधि दुईधारे तरबारजस्तै हो। यसले समानता बढाउन पनि सक्छ, असमानता अझ गहिरो बनाउन पनि सक्छ। विशेष गरी अहिले विकास भइरहेका नयाँ प्रविधिहरूलाई हेर्दा डिजिटल डिभाइड अर्थात् प्राविधिक लाभांशको अन्तर अझ फराकिलो हुँदै जाने सम्भावना देखिरहेको छु।
मानिसले थाहा पाएर वा नपाएर पनि संरचनात्मक असमानतालाई मलजल गरेका छन्?
मलाई लाग्छ, यसमा दुवै कुरा हुन सक्छ। पहिलो, धेरै मानिसले त्यो कुरा नोटिस नै गरेका हुँदैनन्। उनीहरूको ध्यान त्यसतर्फ गएको हुँदैन। दोस्रो, कतिपयले अलिअलि बुझेका पनि हुन्छन्, तर त्यसबारे गम्भीर रूपमा घोत्लिँदैनन्। किनभने, संरचनात्मक लाभांशबारे साँच्चै सोच्न थाल्यो भने त्यसले आफ्नै जीवनलाई असहज बनाइदिन्छ। जस्तो, यदि मैले म पुरुष हुँ र त्यसकारण मेरो जीवन केही हदसम्म सहज भएको छ भन्ने स्वीकार गरेँ भने त्यसपछि मैले आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ। त्यो सजिलो हुँदैन। त्यसपछि मैले घरभित्र पनि आफ्नो भूमिका बदल्नुपर्छ। आफ्नो पार्टनरसँग घरको काम बाँड्नुपर्छ। मैले पहिले नजानेका सीपहरू सिक्नुपर्छ, घरायसी काममा हात बढाउनुपर्छ।
यही परिवर्तनका निम्ति मानिस तयार हुँदैनन्।
मलाई लाग्छ, हाम्रो समाजमा अर्को एउटा प्रवृत्ति पनि छ। मानिसहरू कुरा बुझेर पनि बुझ पचाउने गर्छन्। आफूलाई उदारवादी देखाउन खोज्छन्। ‘म त उदारवादी हुँ। महिलाप्रति मेरो कुनै पूर्वाग्रह छैन। म दलितसँग बसेर चिया खान्छु। म विभेद गर्दिनँ’ भन्नेहरूले साँच्चै त्यसरी नै सोचेका पनि हुन सक्छन्। मैले त्यसलाई पाखण्ड भन्न खोजेको होइन, तर त्यसपछि अझ गाह्रो प्रश्न आउँछ– यदि म साँच्चै उदारवादी हुँ भने मैले जुन सफलता पाएँ, त्यही पाउन कुनै दलित समुदायको व्यक्तिलाई किन गाह्रो भइरहेको छ? मेरो परिवारका महिलालाई त्यही अवसर किन प्राप्त भएन? उनीहरूका अगाडि रहेका अवरोध हटाउन मैले के गर्न सक्छु? यो प्रश्न सोध्नेबित्तिकै जिम्मेवारी पनि आउँछ। अनि केही काम गर्नुपर्ने हुन्छ। यही ठाउँमा धेरै मानिसलाई असहज हुन्छ।
त्यसकारण पनि धेरै मानिसले केही बुझ्छन्, केही बुझ पचाउँछन् र केही कुरा बुझ्नै पनि खोज्दैनन्।
हामीले प्रदर्शन गर्ने जति पनि असंवेदनशीलता छन्, ती सबै संरचनात्मक लाभांशका परिणाम हुन्? कि अन्य कारण पनि छन्?
सबै प्रकारका असंवेदनशीलता संरचनात्मक लाभांशकै कारण हुन्छन् भनेर त म भन्न सक्दिनँ। त्यसका अन्य कारण पनि हुन सक्छन्। तर हामी जन्मँदा जुन सामाजिक स्थान वा लोकेसन लिएर आउँछौँ, त्यसले हाम्रो धेरै असंवेदनशीलता निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ।

हामी सबैसँग कुनै न कुनै प्रकारको संरचनात्मक लाभांश हुन्छ। कसैसँग धेरै हुन्छ, कसैसँग कम। तर समस्या त्यहाँ होइन। समस्या त्यो लाभांशप्रति हामी सचेत नहुनु, सचेत हुन नखोज्नु वा केही हदसम्म सचेत भएर पनि त्यसलाई बुझ पचाउनु हो। यही कारणले संरचनात्मक असंवेदनशीलता अझ बढ्दै जान्छ। किनभने त्यो असंवेदनशीलतालाई तोड्न मिहिनेत गर्नुपर्छ। यो कुराले असर पारिरहेको हुन्छ जस्तो लाग्छ।
तपाईंले चौरजहारी घटनाबारे धेरै विदेशी डिग्री बोकेका बौद्धिकहरू पनि बोलेनन् भन्नुभएको छ। यो घटना लगायत अन्य विषयमा पनि कोही बोल्नु वा नबोल्नु वा व्यक्तिगत रुचि र चाहना अनुसार अभिव्यक्ति दिनुमा संरचनात्मक लाभांश जोडिन्छ?
हो, त्यो मैले एउटा निश्चित सन्दर्भमा लेखेको थिएँ। यसको अर्थ सार्वजनिक क्षेत्रमा हरेक व्यक्तिले हरेक विषयमा बोल्नैपर्छ भन्ने होइन। त्यो सम्भव पनि हुँदैन। मलाई नै पनि धेरै विषय थाहा नहुन सक्छ, अरू काममा व्यस्त हुन सक्छु वा जीवनमै कुनै व्यक्तिगत संकट चलिरहेको हुन सक्छ। त्यसैले सबैले सबै विषयमा प्रतिक्रिया दिनैपर्छ भन्ने मेरो आशय होइन।
तर चौरजहारी घटना भएको बेला परिस्थिति फरक थियो। त्यो घटना केवल पत्रपत्रिका वा सोसल मिडियामा सीमित थिएन। घर–परिवार, साथीभाइको भेटघाट, चिया पसल, सार्वजनिक स्थल लगायत जताततै त्यसबारे बहस भइरहेको थियो। समाजकै प्रमुख विमर्शको विषय बनेको थियो। त्यतिबेला धेरै पढेलेखेका, आफूलाई प्रगतिशील वा आलोचनात्मक चेतनायुक्त भन्ने व्यक्तिहरू पनि त्यस घटनाप्रति प्रतिरक्षात्मक देखिनुभयो। ‘यो दुर्घटना हो’, ‘यस्ता घटना त भइहाल्छन्’ भन्ने किसिमका प्रतिक्रिया आइरहेका थिए। गृहमन्त्रीले नै यस्तै आशयको अभिव्यक्ति दिनुभएको थियो। पूर्वगृहमन्त्री जनार्दन शर्माले पनि लगभग त्यही प्रकारको धारणा सार्वजनिक गर्नुभएको थियो। उहाँहरू सबै अनुभवी र आफूलाई परिवर्तनकारी राजनीति गर्ने नेताका रूपमा चिनिनुहुन्थ्यो। त्यसैले उहाँहरूको अभिव्यक्तिलाई समाजको एउटा प्रतिनिधि मानसिकताका रूपमा हेर्न सकिन्छ।
मैले त्यस्तै प्रकारका अभिव्यक्ति नेताहरूबाट मात्र होइन, अन्य धेरै पढेलेखेका र बौद्धिक मानिने व्यक्तिहरूबाट पनि विभिन्न भेटघाटमा सुनेको थिएँ। त्यसै सन्दर्भलाई आधार बनाएर मैले पुस्तकमा त्यो टिप्पणी गरेको हुँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
