फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाएको छ।

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
रोयटर्स

काठमाडौँ– स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाएको छ।

डलासमा मंगलबार राति सम्पन्न सेमिफाइनलमा स्पेनका लागि मिकेल ओयारजाबालले २२औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। लुकास डिनले लामिन यामालमाथि फउल गरेपछि प्राप्त पेनाल्टीलाई ओयारजाबालले गोलमा परिणत गरेका थिए। त्यसपछि ५८औँ मिनेटमा दानी ओल्मोको पासमा पेड्रो पोरोले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

खेलभर स्पेनले बल नियन्त्रण र लय कायम राख्दै फ्रान्सलाई प्रभावकारी आक्रमण गर्ने अवसर नै दिएन। केलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे जस्ता स्टार खेलाडी रहेको फ्रान्स स्पेनको रक्षापङ्क्ति तोड्न असफल रह्यो।

यस जितसँगै स्पेन विश्वकपको फाइनलमा पुगेको छ। उपाधिका लागि उसले इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।