नेपाल एसिया कपमा छनोट, यूएई ४४ रनले पराजित

यूएईलाई ४४ रनले हराउँदै नेपाली टोलीले दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान पक्का गरेको छ।

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो।

योसँगै नेपाली टोली सन् २०२७ मा बांग्लादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ। नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् २०२३ मा यूएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो।

गत संस्करणको विजेता बनेको यूएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। उसका लागि राहुल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन।

यस्तै, सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे। नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दोस्रो, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक/एक विकेट लिए।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ्स खेले। उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक थियो। यस्तै, आज गुलशनकुमार झाले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रन जोडे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो। यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे।

यूएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र अबीद उस्मानीले एक/एक विकेट लिएका थिए।