पहिरोमा पुरिएर कालीकोटमा दुई जनाको मृत्यु

कालीकोटको सान्नीत्रिवेणीमा सोमबार दिउँसो पहिरो जाँदा घट्टमा पिठो पिस्न गएका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

कालीकोट– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो।

सोमबार दिउँसो १:३० बजेको समयमा पानीघट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धामीगाउँका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गर्दा दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए। “घटनाका सम्बन्धमा स्थलगत थप अनुसन्धान गर्न आफूसहितको टोली त्यसतर्फ जाँदैछौँ”, उनले भने, “घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ।”

घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ। मृतकको शवपरीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए।